महिनावारीको दुखाइ व्यवस्थापन



डा. सुमनराज ताम्राकार           स्त्रीरोग विशेषज्ञ

अधिकांश किशोरीहरू स्त्रीरोग विभागमा चेकअप गर्न आउनुको प्रमुख कारणमा महिनावारी गडबडी, असामान्य योनिश्रावको समस्या, अनिच्छित गर्भ र महिनावारी हुँदा तल्लो पेट दुख्ने समस्या पनि हो । कुनै पनि विषयमा समयसापेक्ष, सही सूचना नपाउँदा डर, पीडा वा त्यससम्बन्धी तनाव वृद्धि हुने प्राकृतिक नियम नै हो । यस्तै पीडामा धेरै किशोरीहरू परेका हुन्छन् ।

कुनै कारणले मानव अंगमा अक्सिजनयुक्त रगत पुग्न सकेन भने त्यो अंगमा स्वतः पीडा उत्पन्न हुन्छ । हृदयघात हुँदा स्वयं मुटुकै लागि आवश्यक अक्सिजन पुगेको हुँदैन भने प्रसव पीडाका अवस्थामा नियमित अन्तरालमा पाठेघरको खुम्च्याइसँगै तारन्तार पीडा हुनुको कारण यही सिद्धान्त हो । यसै गरी शरीरका अन्य कुनै अंगमा चोट लागेपछि स्नायुजन्य पीडासँगै रक्तप्रवाहमा समस्या आउनाले थप पीडा महसुस हुन्छ ।
यसै गरी किशोरी उमेरमा महिनावारीका बेला तल्लो पेट दुख्नुको कारण पनि अनियमित प्रकारको पाठेघरको खुम्च्याइ तथा पाठेघरमा अक्सिजन अभाव नै हो भन्ने विश्वास गरिएको छ । यस्तो पीडाले किशोरी वा महिला विशेषको दैनिक क्रियाकलापमा असर पुग्छ । पीडादायी महिनावारीका कारण प्रभावित किशोरी वा महिलाले प्रत्येक महिना अनाहकमा शारीरिक तथा मानसिक तनाव व्यहोर्नुपर्छ । यस्तो पीडादायी महिनावारी समस्या भएकामा सानो पेट दुख्न शुरु हुनाको कारण प्रस्ट हुँदैन ।

महिनावारीको शिक्षा
महिनावारी हुँदा किन तल्लो पेट दुख्छ ? यसलाई कसरी कम गर्न सकिन्छ ? महिनावारीमा तल्लो पेट दुख्न कम गर्ने औषधि के हो ? भविष्यमा प्रजननसँग यसको के सम्बन्ध हुन्छ ? आदिबारे माध्यमिक एवं प्लस टु तहका छात्राहरूलाई सही तवरले बुझाउन सकेको खण्डमा यो डिस्मेनोरिया भनिने समस्याबाट धेरै हदसम्म पार पाउन सकिन्थ्यो ।

किशोरी अवस्थामा हुने मानसिक तनाव, चिन्ता एवं पीडा खप्न सक्ने क्षमतामा कमी हुन्छ । साथै पाठेघरको मुख साँगुरिने, जन्मजातरूपमा पाठेघरमा हुने खराबी, महिनावारीको बेलामा अत्यधिक मात्रामा भ्यासोप्रेसिन (पाठेघर खुम्च्याउने रासायनिक तत्व) तथा प्रोस्टाग्लान्डिन (पाठेघरको मध्यम तहमा रक्तसञ्चार घटाउने रासायनिक तत्व) को उत्पादनले गर्दा महिनावारीको बेला पीडा हुन्छ ।
यस्ता खाले पीडा डिम्ब निस्कने खालको महिनावारीसँग सम्बन्धित हुन्छ ।

गर्भावस्था तथा योनिद्वारबाट सुत्केरी भएपछि यस्ता खाले समस्या निराकरण हुन सक्छ । महिनावारी शुरु भएको २ वर्षसम्म यस्ता खाले डिस्मेनोरिया हुन सक्छ । सभ्रान्त परिवारकी महिलामा बढ्ता देखिने यो समस्या प्रभावित किशोरीकी आमा तथा दिदी पनि प्रभावित भएको हुन सक्छ । महिनावारी शुरु हुनु केही घण्टाअगाडिदेखि सानो पेट दुख्ने कार्य शुरु भई २४ घण्टासम्म रहन सक्छ । तल्लो पेटमा केन्द्रित हुने यस्तो पीडा ढाडतिर वा भित्री तिघ्रातिर सर्न सक्छ । पीडासँगै वाकवाकी लाग्ने, उल्टी हुने, थकान महसुस हुने, टाउको दुख्ने हुन सक्छ । तर पेट वा जननेन्द्रियको आन्तरिक जाँचमा त्यस्तो कुनै खराबी भने भेटिँदैन ।

घरेलु उपचार
महिनावारीको बेला तल्लो पेट दुख्ने समस्या (डिस्मेनोरिया) लाई कम गर्न निम्न घरेलु उपायहरू अपनाउन सकिन्छ ।
तल्लो पेटको कडा मांसपेशी नरम बनाउन हलुका तरिकाले मालिस गर्न सकिन्छ । तल्लो पेट वा ढाडमा सेक्न तातोपानीलाई रबरको थैली वा शिशाको बोतलमा राखेर वा बाक्लो कपडा तातोपानीमा भिजाएर प्रयोग गर्न सकिन्छ । अदुवा–पानी तताएर पिउँदा पनि आराम मिल्छ । आफ्नो दैनिक क्रियाकलाप जारी राख्नाले एवं व्यायाम र घुमफिर गर्नाले ध्यान अन्यत्र मोडिने हुँदा फाइदै पुग्छ । यतिले पनि आराम नपुगे नजिकको स्वास्थ्यकर्मी वा चिकित्सकसँग परामर्श गर्नुपर्छ ।
उपचारको हकमा किशोरीको स्वास्थ्य स्थिति सुधार्न पोषिलो खानेकुरामा ध्यान दिनुका साथै पीडा हुनुको कारण प्रस्ट्याउने, ढाडस दिनेलगायत मानसिक टेवा दिनुपर्छ । यस्तो बेला खेलकुद, टेलिभिजन, योगलगायतका आफ्ना रुचिकर कार्यमा सम्लग्न हुनुपर्छ । नियमितरूपमा दिसा गरी तल्लो आन्द्रा खालि राख्नुपर्छ ।

औषधि उपचारबाट नियन्त्रण
किशोरीमा भन्दा प्रजनन उमेरका अन्य महिलाको जननेन्द्रियमा उत्पन्न भएको रोग विशेषले पनि महिनावारीको सेरोफेरो स्त्री जननेन्द्रिय (पुठ्ठाभित्रको प्रजनन अंग) मा रक्तप्रवाह बढ्नाले यी अंगहरूमा तनाव बढ्ने र पीडा महसुस हुने हुन्छ । जीर्ण प्रकारको स्त्री जननेन्द्रिय सम्बन्धी संक्रमण, पाठेघरवरिपरि रगत जम्ने समस्या (इन्डोमेट्रिओसिस), पाठेघर समग्रमा बढ्ने समस्या (एडेनोमायोसिस), पाठेघरमा मासु पलाउने समस्या (फाइब्रोइड), पाठेघरको भित्री तहबाट मासुको त्यान्द्रो पलाउने समस्या (पोलिप) तथा पाठेघरमा राखेको कपर टीका कारण पनि महिनावारीका बेला पीडा हुन्छ ।

यस्तो खालको पीडा तल्लो पेट र ढाडमा हुन्छ । प्रायः महिनावारी शुरु हुनु ३ देखि ५ दिनअगाडि पेट दुख्न शुरु भई महिनावारीमा रगतको बहावसँगै पीडा कम हुन्छ । पीडाको शुरुवात तथा अवधि पीडाको कारक तत्वमा भर पर्छ । वाकवाकी लाग्ने, टाउको दुख्ने जस्ता अन्य लक्षण चिह्न हुँदैन । तर पीडादायी महिनावारी हुनाको कारण (जस्तै– इन्डोमेट्रिओसिस, एडेनोमायोसिस, फाइब्रोइड तथा पोलिप आदि) अनुसारका छुट्टै लक्षण चिह्नहरू भने देखा पर्दछ । पेट तथा जननेन्द्रियको आन्तरिक परीक्षण एवं अल्ट्रासाउन्ड, ल्याप्रोस्कोपी लगायतका विशेष खाले परीक्षणहरूबाट कारक तत्व निक्र्योल गर्न सकिन्छ ।

अधिकांश समस्यालाई शल्यक्रियाको आवश्यक परे पनि समस्याको गम्भीरता, प्रभावित महिलाको उमेर तथा बच्चा पाउने चाहनाअनुसार उपचारको छनोटमा भिन्नता आउँछ ।

यस प्रकारको पीडादायी महिनावारीको निराकरणका लागि कारक तत्वलाई लक्षित गरी उपचार गर्नुपर्दछ । अधिकांश समस्यालाई शल्यक्रियाको आवश्यक परे पनि समस्याको गम्भीरता, प्रभावित महिलाको उमेर तथा बच्चा पाउने चाहनाअनुसार उपचारको छनोटमा भिन्नता आउँछ । शल्यक्रिया नगरुन्जेल वा शल्यक्रिया गर्ने उपयुक्त समय पर्खुन्जेल अकारण पीडादायी महिनावारीको समस्यामा जस्तै कतिपय पीडा कम हुने औषधि सेवनबाट पनि दुखाइलाई नियन्त्रणमा राख्न सकिन्छ ।

मेफेनेमिक एसिड, ब्रुफेन, नेप्रोक्सिनलगायत पीडा कम हुने औषधिहरू महिनावारी भएको केही दिनसम्म प्रयोग गर्न सकिन्छ । बढ्ता रक्तबहाव हुने तथा पीडा कम हुने औषधिबाट पनि उल्लेखनीय सुधार नभएमा पिल्स चक्की चलाउन सकिन्छ । तर कसै–कसैलाई पाठेघरको मुख फुकाउने तथा स्नायु प्रणाली शिथिल बनाउने सामान्य शल्यक्रियाको जरुरत पर्न सक्छ । यसको असर मानवशरीरमा केही दिनसम्म मात्र रहने हुनाले पटक–पटकको यस्तो औषधि सेवनले भविष्यमा गर्भधारण गर्ने कार्यमा खासै असर गर्दैन ।

असह्य पीडा
महिनावारीमा हुने तल्लो पेटको पीडालाई लिएर गलत धारणा पालिराख्ने होइन । वैज्ञानिक युगमा कसैलाई पनि पहिले जस्तो आधारहीन विचार थोपर्नु राम्रो होइन । किशोरीहरूमा बढीजसो पीडादायी महिनावारी कारणयुक्त हुँदैन । असह्य पीडा छ भने पीडा कम गर्ने औषधि सेवन गर्दा हुन्छ । पीडादायी महिनावारी हुनुको कारण खुट्टियो भने त्यसको चाहिँ उपचारमा लाग्नुपर्यो । यस्तो औषधिको सेवन र निःसन्तानको समस्याबीचको सम्बन्धलाई प्रस्ट्याउन सम्बन्धित चिकित्सकको सल्लाह लिनु बुद्धिमानी हुन्छ ।

 

 

प्रतिक्रिया दिनुहोस्