कार्यक्रममा रक्त क्यान्सरको उपचार गराइरहेका पोखराका १३ वर्षीय बालक रिम्पो योल्मोले पोखेका भावनाले उपस्थित सबैलाई भावुक बनाएको थियो । ‘मर्ने रहर कसलाई लाग्छ र ? आज म मेरो प्रसंग जोड्न चाहन्छु’ भन्दै उनले भने– ‘दुई वर्षअगाडि म कक्षा ७ मा पोखरामा अध्ययन गर्दै थिएँ । मेरो बालापन साथीहरूसँग हाँस्दै–खेल्दै निकै रमाइलोसँग बितिरहेको थियो ।
एकदिन म सामान्य बिरामी परें । बाबाले बालरोग विशेषज्ञ डा. नवराज सुवेदीसँग चेकजाँच गरानुभयो । डाक्टरले तुरुन्त काठमाडौंको कान्ति बालअस्पताल लैजाने सल्लाह दिनुभयो । रिपोर्टमा के थियो, मलाई थाहा भएन । म ज्वरोले लठ्ठ थिएँ । घरपरिवारमा सुनसान छाएको थियो ।
भोलिपल्ट बिहान मलाई कान्ति बालअस्पतालमा ल्याउनुभयो । जाँच गरेपछि मलाई ब्लड क्यान्सर भएको थाहा भयोे । मजस्तै धेरै बालबालिकाहरू क्यान्सरविरुद्व लडिरहेको थाहा पाएँ । पछि ओम अस्पतालमा उपचार गराइयो । म ६ साइकल मेजर केमो सिध्याएर चौथो मेन्टिनेन्समा आइपुगेको छु ।
क्यान्सर सरुवा रोग होइन । क्यान्सर शब्द सुन्नेबित्तिकै केही मानिस डराएर लामो जिब्रो निकाल्नुहुन्छ । यसले मलाई पीडा त अवश्यै हुन्छ । अन्जानमा यो रोग लाग्यो । अझ अस्पतालमा केमो चढाएर बस्नुपर्दाको पीडा कसलाई सुनाउनु ?
खान मन लाग्दैन । खायो कि बान्ता हुन्छ । शरीरमा शक्ति हुँदैन । ठीक–ठीक समयमा औषधिहरू खानुपर्ने । सरसफाइमा विशेष ध्यान दिनुपर्ने । इन्फेक्सन हुन्छ भनेर जोसुकै मानिसलाई आफ्नो नजिक आउन दिनु नहुने । डाक्टर र डाइटिसियनको सल्लाहअनुसार सफा र पोषिलो खानेकुरा मात्र खानुपर्ने । यस्तो बेलामा कसलाई पीडा हुँदैन र ?
झन् हामी त बालबालिका । खान नहुने कुरा खान मन लाग्ने, जान नहुने ठाँउमा जान मन लाग्ने । हामीजस्तै साथीभाइहरू झोला बोकेर स्कुल गइरहेको देख्दा, हाँस्द–हाँस्दै यताउता दौडिरहेको देख्दा आफ्नो मन पनि चञ्चल हुन्छ । सबै साथीहरू पढ्दै–खेल्दै आफ्नो बालापन बिताइरहेका छन् । तर आफूचाहिँ अस्पतालको बेडमा घरी हातमा, घरी खुट्टामा सुईले घोचिँदै बस्नुपरिरहेको हुन्छ ।
अस्पतालको बेडमा या घरमा आराम गरिरहँदा म पनि उनीहरूजस्तै खेल्न पाए, झोला बोकेर स्कुल जान पाए कस्तो रमाइलो हुन्थ्यो जस्तो लाग्छ । तर के गर्नु ? हाम्रो विवशता । जन्म त पायौँ तर क्यान्सर रोगसँग लड्नुपर्ने हाम्रो भाग्य ∕ आज हामी क्यान्सरका बिरामीहरूले पनि सुन्दर भविष्यको सपना सजाएका छौं । त्यसैले हामी यो क्यान्सर रोगसँग लड्नै पर्छ ।