सुदीप्त सुपर किड्स क्यान्सर…



नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टर हरिसिद्धिको सहयोग तथा नेपाल क्यान्सर सहयोग समूहको आयोजनामा हालै ‘सुदीप्त सुपर किड्स क्यान्सर सर्भाइभर र्याम्प वाक’ को आयोजना गरियो ।

‘बालबालिकाको क्यान्सर निको हुन्छ’ भन्ने सन्देश प्रवाह गर्ने उद्देश्यले आयोजना गरिएकोे ‘र्याम्प वाक’मा क्यान्सर रोगको उपचार गराइरहेका र क्यान्सर निको भइसकेका २ देखि १८ वर्ष उमेर समूहका काठमाडौं उपत्यका र विभिन्न जिल्लाका ५० बालबालिका सहभागी भएका थिए ।

कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुनले क्यान्सर रोगसँग लड्दै क्यान्सरलाई जितेका देशका होनाहार बालबालिकाको स्वास्थ्यप्रति सरकार उचित ढंगले अघि बढ्नुपर्ने बताउनुभयो ।

नेपाल क्यान्सर अस्पतालका कार्यकारी अध्यक्ष तथा निर्देशक डा. सुदीप श्रेष्ठले कार्यक्रममा उपराष्ट्रपतिलगायत विशिष्ट अतिथिहरूको उपस्थिति र चर्चित कलाकारहरूको प्रस्तुतिले क्यान्सरको पीडा भोगिरहेका बालबालिका, अभिवावक र चिकित्सकहरूलाई हौसला मिलेको बताउनुभयो ।

कार्यक्रमका संयोजक सुदिपा श्रेष्ठले आर्थिक अभावका कारण उपचार गर्दा निको हुने बालकालिकाको रक्त क्यान्सर उपचार गर्न नसकी जीवन नै जाने गरेको पीडादायी घटनालाई कमी ल्याउने उद्देश्यले राज्यको उपस्थितिमा कार्यक्रमको आयोजना गरिएको बताउनुभयो ।

कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुनले क्यान्सरबाट पीडित बालबालिकाको उपचारका लागि एक महिनाको पारिश्रमिक सहयोगस्वरूप उपलब्ध गराउने घोषणा गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्