म २६ वर्षीया युवती हुँ । चाडबाड वा व्रत परेको बेला महिनावारी हुने समय आएको छ भने रोक्नका लागि कहिलेकाहीँ पसलबाट औषधि किनेर खाने गरेकी छु । साथीहरूले त्यस्तो औषधि धेरै खानुहुँदैन भन्छन् । के यस्तो औषधि खानु हानिकारक छ ? जानकारी पाऊँ ।
– रीतु पाठक, बालकोट, भक्तपुर
रीतुजी, तपाईंले खाने अनि औषधि पसलेले दिने महिनावारी सार्ने औषधि अरु केही नभएर परिवार नियोजनमा प्रयोग हुने गुलाफ चक्की हो । यो हर्मोन चक्की हो । यसले महिलाहरूको शरीरमा हर्मोनको सन्तुलन गडबडी पार्छ र गर्भ रहन दिँदैन । यसरी प्रकृतिले दिएको भन्दा फरक प्रणालीमा गएर गडबडी गर्ने हर्मोन औषधि सेवन गर्ने सल्लाह कदापि दिन सकिँदैन । यसले अन्य प्रतिकूल असर पनि पार्न सक्ने हुनाले यस्तो औषधि नखाने सल्लाह दिइन्छ । अरु विश्लेषण अनि निर्णय गर्ने जिम्मा यहाँकै हो ।
म मधुमेहको रोगी हुँ । औषधि लिइरहेको छु । मधुमेहीले यो पनि खानुहुँदैन, त्यो पनि खानुहुँदैन भनेर परिवार, साथीभाइले तर्साउने गर्छन् । आखिर मधुमेहीले खानै नहुने र खान हुने के–के हुन् ? सुझाव पाऊँ ।
– मनोज थापा, गोरखा ।
मनोजजी, मधुमेहीले खान नहुने भन्ने केही हुँदैन, सबै खान हुन्छ । तर मात्र खानेकुराको मात्रा अनि चिनीको गुणात्मक स्तर (ग्लाइसेमिक इन्डेक्स) हेरेर खानुपर्ने हुन्छ । शरीरको आवस्यकता, जीवनशैली, शारीरिक तौल, शारीरिक सक्रियता सबै हेरेर कति ऊर्जायुक्त खाना चाहिन्छ भन्ने निक्र्योल गरी पोषणविदले खानाको मेनु दिन्छन् । सोही अनुसार खाने हो र खुवाउने हो । सधैँ सुगर बढाउन सक्ने खानाहरू जस्तो– भात, चिउरा, आलु, चिनी, मिठाईजस्ता खानेकुरा खान नहुनेमा पर्छन् । साथै सुगर नबढाउने खानामा त्यति कडाइ नहुने हुन्छ । स्वतन्त्ररूपमा खान पाइने हुन्छ । मिलाएर खानु अनि हिँडडुल गर्नु आफैंमा उपचार नै हो, कुनै ट्याब्लेट खाएसरह नै यसको फाइदा हुने अध्ययनले देखाएको छ ।
काठमाडौंमा खानेपानीको सधैँ समस्या हुने गरेको छ । त्यसैले बर्सादको समयमा घरको छतको पानी अन्डरग्राउन्ड ट्याङ्कीमा जम्मा गर्न बाध्य भएको छु । सोही पानी खाना पकाउनेदेखि अन्य सरसफाइका काममा प्रयोग गर्ने गरेको छु । के यो पानी स्वास्थ्यका हिसाबले खानु उचित होला ? अन्य पानी र आकाशको पानीमा के फरक हुन्छ ?
– रेवती उपाध्याय, मध्यबानेश्वर, काठमाडौं ।
रेवतीजी, काठमाडौंमा हुने पानीको अभावमा वर्षादको पानी उपयोग गर्नु सराहनीय कार्य हो । साथै अरु छिमेकी तथा आफन्तलाई पनि यतातिर आकर्षित गर्न सके धेरैलाई राहत हुने थियो । कुरा रह्यो यस्तो पानी स्वस्थकर हुन्छ वा हुँदैन भन्ने । वायुमण्डलमा भएको प्रदूषण आकाशको पानीमा मिसिएर आउने हुनाले अलि सफा नहुन सक्छ । तर पनि यस्तो पानीको शुद्धता अनि पिउन योग्य छ÷छैन भन्नका लागि परीक्षण गर्नुपर्ने हुन्छ । परीक्षणपछि फिल्टर गरेर वा उमालेर पेययोग्य बनाएर पिउन सकिन्छ ।
गर्भको बच्चाको अवस्था थाहा पाउन भिडियो एक्सरे गर्दा झन्डै एक वर्षअघि मेरो मिर्गौलामा पत्थरी देखियो । अहिले बच्चा जन्मिएको पनि २ महिना भयो । तर मिर्गौलाको पत्थरले अहिलेसम्म समस्या पारेको छैन । नदुखे पनि अप्रेसन गर्नुपर्छ भनेको सुनेको छु । म के गरौं ? मेरा एक आफन्तको पत्थरी देखिएको ४ वर्ष भइसक्यो तर अप्रेसन गर्नुभएको छैन । उहाँलाई कुनै समस्या पनि छैन रे ।
– रमिता न्यौपाने, पेप्सीकोला, काठमाडौं ।
रमिताजी, मृगौलाको पत्थर सानो भएमा वा मृगौलाको बीचभन्दा माथितिर भएमा आफैं जान पनि सक्छ । तर ठूलो भएर मृगौलामा नै दुष्प्रभाव पार्न थालेमा, पिसाबको बहावलाई अवरोध भएर मृगौला सुन्निएमा वा मृगौला र मूत्रथैलीबीचको नलीमा अड्केमा अप्रेसन गर्नै पर्छ । कसले अप्रेसन गर्यो÷गरेन वा उसलाई केही भएन भनेर ढुक्क पर्नुभन्दा सम्बन्धित शल्यचिकित्सक भेटेर परामर्श गर्नु जरुरी छ । एकपटक युरो शल्यचिकित्सक भेटेर उचित सल्लाह लिन आग्रह गर्छु ।
मेरो खुट्टामा दुईवटा मुसा देखिएको छ । यो मुसा सरेर धेरै ठाउँमा निस्कन सक्छ भनेर साथीहरूले डर देखाउँछन् । यसलाई हटाउने कुनै उपाय भए बताइदिनुहुन्थ्यो कि ?
– बनिता बुढाथोकी, चौतारा, सिन्धुपाल्चोक ।
बनिताजी, मुसालाई चलाएर रगत शरीरको अरु भागमा लाग्यो भने सर्ने डर हुन्छ । यसको रगत अन्यत्र नलागे पनि फैलिने डर भैरहन्छ । त्यसैले उपचार भनेको यसलाई मिलाएर हटाउनु नै हो । त्यो उपचार छालारोग विज्ञकहाँ हुन सक्छ । त्यसको लागि वीर अस्पताल वा शिक्षण अस्पतालको छालारोग विभागमा गएर परामर्श वा सल्लाह गर्नुभएमा आवश्यक उपचार प्राप्त हुनेछ ।
मेरो बुबा ५५ वर्ष जति हुनुभयो । घरको भर्याङ चढ्दा होस् वा सडकको आकाशे पुल चढ्दा, शुरुमा समस्या हुँदैन तर माथि पुग्ने बेलामा पिँडुला फत्रक्क गल्छ भन्नुहुन्छ । खुट्टा उचालेर माथिल्लो खुर्किला उक्लनै सकिँदैन भन्नुहुन्छ । सीधा बाटोमा हिँड्दा भने यस्तो समस्या हुँदैन । यो के भएको र उपचार के होला ?
– साजन खड्का, डिल्लीबजार, काठमाडौं ।
साजनजी, तपाईंको कुरा बुझ्दा खुट्टाका कुनै–कुनै मांसपेशीमा समस्या आएजस्तो लाग्यो । किनभने हिँड्दा उकालोमा मात्रै पिँडुला गल्ने र उकालो सर्न गाह्रो हुने भन्नुभयो । त्यस्तै स्नायुको समस्या पनि होइन भन्न मिलेन । यो किन भयो, के हो भन्न सम्बन्धित चिकित्सकको सल्लाह चाहिने हुन्छ । तसर्थ एकपटक वीर अस्पताल वा शिक्षण अस्पताल गएर हड्डी तथा जोर्नी विभाग तथा न्युरो विभागमा परामर्श गर्ने सल्लाह दिन चाहन्छु ।
(सकेसम्म छोटो र एकपटकमा एउटा मात्र स्वास्थ्यसम्बन्धी जिज्ञासा [email protected], [email protected] वा पो.ब.नं.२०४५ काठमाडौंमा पठाउनुभएमा मुटुरोग विशेषज्ञ एवम् फिजिसियन डा. हरिहर खनालले सल्लाह सुझाव दिनुहुनेछ ।