जैविक विषादी प्रयोगमा जोड दिनुपर्ने



नेपाली कृषकले अन्य मुलुकका कृषकको तुलनामा किटनाशक औषधिको प्रयोग कम नै गर्ने भए पनि यसको असरचाहिँ नेपालमा नै बढी पर्ने गरेको सम्बद्ध विज्ञको भनाइ छ ।

प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्रले यससम्बन्धमा हालै आयोजना गरेको एक कार्यक्रममा प्लान्ट क्वारेन्टाइन एवम् विषादी व्यवस्थापन केन्द्रका प्रमुख डा. डिल्लीराज शर्माले भन्नुभयो, ‘नेपालमा प्रतिहेक्टर ३९६ ग्राम मात्र किटनाशक विषादीको प्रयोग गर्ने गरिएको छ भने जापानमा प्रतिहेक्टर १०.८ किलो, कोरियामा १६.६ किलो, इटालीमा १३ किलो विषादीको प्रयोग हुन्छ । तर ती मुलुकमा मिलाएर प्रयोग गरिने भएका कारण नेपालमा जतिको स्वास्थ्यमा गम्भीर असर देखिएको छैन ।’

फोरेस्ट एक्सनका कृष्ण पौडेलले खानेकुरामा मन्द विष रहेको जानकारी दिँदै मधुमेह, रक्तचाप, मुटुरोग, क्यान्सर र मिर्गौला रोगको एउटा कारक तत्व विषादीयुक्त खाना पनि भएको बताउनुभयो । उक्त कार्यक्रममा जनस्वास्थ्यविज्ञ डा. अरुणा उपे्रतीले विषादीयुक्त खानाले फोक्सो, कलेजो, श्वासप्रश्वास प्रणाली, प्रजनन प्रणाली र प्रतिरोधात्मक क्षमतामा दीर्घ असर पर्ने भएकाले रासायनिक विषादीको विकल्प खोज्नुपर्ने बताउनुभयो ।

सो कार्यक्रममा नेपालमा आउने विषादीमध्ये ८० प्रतिशत तरकारीमा प्रयोग हुने गरेको जानकारी दिइएको थियो । प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्रका कार्यकारी निर्देशक शान्तलाल मुल्मीले सदनमा अलपत्र अवस्थामा रहेको जीवनाशक विषादी व्यवस्थापनसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक अविलम्ब पारित गराउन पहल गर्नुपर्ने धारणा राख्दै विषादीकै कारण धेरै जनता अनाहकमा बिरामी हुनुपरिरहेको बताउनुभयो ।

उक्त कार्यक्रममा प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्रका अध्यक्ष प्रा.डा. शरदराज वन्तले नेपालमा २५ थरीका जैविक विषादीको प्रयोग भइरहेको र यसलाई प्रमाणीकरण गरी प्रयोग गर्न प्रोत्साहन गरेको खण्डमा जनता स्वस्थ रहन सक्ने विचार व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्