पहिलो घर पाठेघर : क्यान्सरको कहर



लक्ष्मण अधिकारी
मा निसको पहिलो घर पाठेघर । मानिस सृष्टिका दृष्टिले यो भन्दा महत्वपूर्ण अंग नै छैन । सरसफाइको कमी, महिनावारी गडबडीमा असावधानी, औषधि प्रयोगमा लापरबाहीजस्ता कारणले पाठेघर रोगग्रस्त बन्छ र सन्तान उत्पादनको काम गर्न नसक्ने मात्र होइन, झिकेर नफाले ज्यान नै जाने अवस्था उत्पन्न हुन्छ । झिकेर फाले पनि आत्महत्या गर्नेदेखि अनेक गम्भीर समस्याले घेर्न थाल्छन् । यति संवेदनशील पाठेघरलाई अझ सुरक्षित किन नगर्ने ?

वयष्क महिलाको पाठेघर औसत ५० ग्राम जतिको हुने भए पनि आवश्यकताअनुसार बढेर एक केजीसम्म हुन्छ र पाँच केजीसम्मका बच्चाहरू राख्ने क्षमता हुन्छ । यो यति धेरै तन्किन सक्छ कि जुम्ल्याहा, तिम्ल्याहा, चम्ल्याहा बच्चाहरू पनि एउटै थैलाभित्र अटाइदिन्छ । साँच्चै भनौँ भने यसको क्षमता अद्भूत हुन्छ ।

पाठेघर महिलाको शरीरमा हुने भए पनि पुरुषको सबैभन्दा बढी सरोकारको विषय हो, किनभने यो अंगविना सन्तान उत्पादनको न त कुनै प्राकृतिक विकल्प छ, न त कुनै प्रविधिको विकास नै भएको छ ।

पुरुषले आफूलाई जतिसुकै शक्तिशाली ठाने पनि वंश चलाउन महिलाको यही अंगको शरणमा पुग्नै पर्ने हुन्छ । यसैले पाठेघर संरक्षणको दायित्व पुरुषको पनि हुन
आउँछ, होइन र ?

पाठेघरको अद्भूत क्षमता

डा. उमा श्रीवास्तव

पाठेघर तीन तहको मासुले बनेको महिलाको एउटा महत्वपूर्ण अंग हो, जसले भु्रणलाई हुर्काएर नौ महिनासम्म बस्न दिन्छ । मासुको ब्याग भन्न मिल्ने यो अंग अत्यन्तै लचकदार किसिमले खुम्चिने र फुक्ने गर्छ ।

वयष्क महिलाको पाठेघर औसत ५० ग्राम जतिको हुने भए पनि आवश्यकताअनुसार बढेर एक केजीसम्म हुन्छ र पाँच केजीसम्मका बच्चाहरू राख्ने क्षमता हुन्छ । यो यति धेरै तन्किन सक्छ कि जुम्ल्याहा, तिम्ल्याहा, चम्ल्याहा बच्चाहरू पनि एउटै थैलाभित्र अटाइदिन्छ । साँच्चै भनौँ भने यसको क्षमता अद्भूत हुन्छ ।

पाठेघर स्वतन्त्र किसिमको नभई अरु अंगहरूसँगको सहकार्यमा परिचालन हुने अंग हो । प्रजनन स्वास्थ्य विशेषज्ञ (Reproductive Endocrinologist)  डा. उमा पोखरेल श्रीवास्तव भन्नुहुन्छ, ‘पाठेघरको कोर्डिनेसन मस्तिष्कदेखि रक्तसञ्चारसम्म रहेको हुन्छ । नसा र हर्मोनको सीधा सम्बन्ध पाठेघरसँग हुन्छ ।

केटीहरूको मस्तिष्क परिपक्व भएपछि त्यहाँबाट डिम्बासयमा सिग्नल आउँछ र डिम्ब उत्पादन गर्न थाल्छ । डिम्बहरूमा हर्मोन बढ्न थाल्छ । हर्मोनको प्रभावले पाठेघरको भित्री तह (इन्डोमेट्री) बढ्न थाल्छ । रक्तसञ्चार पनि बढ्दै जान्छ । त्यहाँ ग्लान्डहरू बढ्दै जान्छन् । यसले तरल पदार्थ निकाल्न थाल्छ, जसले गर्दा ती महिला गर्भधारण गराउन सक्षम हुन्छन् ।

तर पाठेघरमा क्यान्सर भयो वा अरु कुनै रोग लागेको छ भने गर्भधारणमा समस्या आउँछ । कतिपय महिलामा चाहिँ जन्मिदै पाठेघर हुँदैन । नजँचाएसम्म उनीहरूले थाहा पाएका हुँदैनन् ।

बिहे गरेपछि बच्चा नहुँदा परीक्षणपश्चात् बल्ल थाहा पाउँछन् । मेरो क्लिनिकमा बर्सेनि पाँच–छ जना महिला पाठेघरविहीन अवस्थामा आउँछन्, जसको कुनै उपचार दिन सकिन्न ।’

क्यान्सर कसरी हुन्छ ?

पाठेघरमा क्यान्सर भयो भने सन्तान उत्पादनको सम्भावना हराएर जाने मात्र होइन, ज्यान नै जाने खतरा पनि हुन्छ । यस्तो खतरनाक रोग के कारणले हुन्छ त ?

डा. अञ्जु श्रेष्ठ

नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टरकी स्त्री तथा क्यान्सर रोग विशेषज्ञ (Gynaecologic oncologist) डा. अञ्जु श्रेष्ठ भन्नुहुन्छ, ‘वंशाणुगत कारणले पनि पाठेघरको क्यान्सर हुन्छ भने धेरै मोटो भएका कारण पनि हुन सक्छ ।

मोटोपनका कारण शरीरमा उत्पन्न हुने हर्मोनल असन्तुलनले पाठेघरको क्यान्सरको जोखिम बढ्छ । त्यस्तै हाई डोजका हर्मोन औषधिहरू, स्तन क्यान्सरको उपचारमा प्रयोग हुने केही औषधिको कारणले पनि पाठेघरको क्यान्सरको जोखिम बढ्छ ।’

बाँझोपनको उपचारको सिलसिलामा हर्मोनल औषधिहरूको प्रयोग हुन्छ । टेस्ट ट्युब बेबी प्रविधि अपनाउँदा अझ हाई डोजका हर्मोन औषधिहरूको प्रयोग हुन्छ । साथै गर्भनिरोधका पिल्सहरू (परिवारनियोजनका साधन, इमर्जेन्सी पिल्स) मा पनि कम डोज भए पनि हर्मोनको मात्रा हुन्छ । यस्ता औषधिहरूको प्रयोगले महिलाहरूको पाठेघरमा क्यान्सर गराउने
जोखिम बढाइदिन्छ ।

निःसन्तान केन्द्रको प्रमुखसमेत रहनुभएकी डा. उमा श्रीवास्तव भन्नुहुन्छ, ‘हर्मोन औषधिहरूको प्रत्यक्ष सम्बन्ध डिम्बासयसँग छ । हर्मोन उपचारले डिम्बासयको क्यान्सर गराउन सक्छ । डिम्बासयको क्यान्सरले पाठेघरको वरिपरि पनि असर गर्छ ।

जति पावरफुल हर्मोन प्रयोग ग¥यो क्यान्सरको खतरा त्यति नै धेरै हुन्छ । तर लो डोजका औषधिको असर कम हुन्छ । त्यसकारण हामी सकेसम्म उपचारमा लो डोजका हर्मोनल औषधिहरूलाई प्राथमिकता दिन्छौँ । प्रजननसम्बन्धी औषधिहरू पनि लामो समय चलाउँदा क्यान्सर गराउन सक्छ । तर हामीले यस्ता औषधिहरू कमसे कम चलाउँछौँ ।’

डा. उमा भन्नुहुन्छ, ‘सन् १९७८ मा शुरु भएको टेस्ट ट्युब बेबी प्रविधिमा आज धेरै परिमार्जन भइसकेको छ । त्यस बेला विश्वमा नै तीन–चारवटा इन्जेक्सन लगाएर धेरै अण्ड उत्पादन गर्ने गरिएको थियो । तर धेरै अण्ड उत्पादनले फाइदाभन्दा हानि बढी भएको पाइएकाले विश्वमा नै एउटा मात्र अण्ड उत्पादन गर्ने अवधारणा आइसकेको छ । त्यसैले आज सकेसम्म थोरै इन्जेक्सन लगाउने भन्ने छ ।

त्यसमा पनि इन्जेक्सनबाट दिने औषधि बन्द नै हुन लागेका छन् । यौनमार्गबाट राख्ने ट्याबलेटहरू र खाने ट्याबलेटहरू पनि आइसकेका छन् ।’परिवारनियोजनका हर्मोनल चक्कीहरू कम डोजका भए पनि आफूखुशी नखान र लगातार लामो समय प्रयोग नगर्न डा. श्रीवास्तवको सल्लाह छ । उहाँ भन्नुहुन्छ, ‘हर्मोनले शरीरको पूरा सिस्टमलाई छोइरहेको हुन्छ ।

कुन हर्मोनले शरीरको कुन भागलाई असर गर्छ भन्ने थाहा पाउने प्रविधि विश्वमा नै विकास भई नसकेकोले हरेकको परीक्षण गर्नुपर्ने स्थिति छ । परिवार नियोजनका चक्की जथाभावी प्रयोग गर्दा पछि गएर डिम्ब नै उत्पादन नहुने खतरा हुन्छ ।

कैयाँै युवतीहरू डिम्ब विकास नै गराउन नसक्ने अवस्थामा उपचारका लागि आएका केस थुप्रै छन् । क्यान्सर हुने डर त छँदै छ । त्यसैले उपचारका क्रममा बाहेक आफूखुशी हर्र्मोनल औषधिहरू प्रयोग नगर्न मेरो सल्लाह छ ।

क्यान्सर भयो कि ?

पाठेघरको क्यान्सरको शुरुवाती अवस्थामा नै लक्षण थाहा पाउन सकिने भएकाले यसलाई निको हुने क्यान्सरको रूपमा लिइन्छ । तर शुरुवातमा थाहा पाउन नसकेमा यसले पनि धेरै दुःख दिन्छ । क्यान्सर विशेषज्ञ डा. अञ्जु श्रेष्ठ भन्नुहुन्छ, ‘पाठेघरको क्यान्सरमा सबैभन्दा बढी देखाउने लक्षण भनेको महिनावारी गडबडी नै हो ।

कहिले १०–१५ दिनमै महिनावारी हुने, कहिले डेढ–दुई महिनामा हुने, कहिले लामो समय महिनावारी (८–१० दिनसम्म रगत गइरहने) भइरहने र महिनावारी सुकिसकेपछि रगत देखियो भने पनि क्यान्सरको शंका गर्नुपर्छ र जँचाउनुपर्छ ।

४० वर्ष नाछेपछि कसै–कसैको सुक्नका लागि पनि गडबड हुन्छ । तर यस्तोमा पनि कतै क्यान्सर पो हो कि भनेर एकपटक जँचाए सुरक्षित हुन्छ ।’

उहाँका अनुसार पाठेघरको क्यान्सरमध्ये इन्डोमेट्रियल क्यान्सर (EndometrialCancer) धेरैजसोचाहिँ शुरुमै पत्ता लगाउन सकिन्छ । शुरुमै पत्ता लगाएर उपचार गर्दा पूरै निको पार्न पनि सकिन्छ । युटेरिन सार्कोमा (Ureterina Sacromas) चाहिँ डरलाग्दो हुन्छ, उपचार गरेर पनि फर्किएर आउन सक्ने र छिटो फैलिने खालको हुन्छ, रोगीलाई बचाउन अलि गाह्रो हुन्छ ।

क्यान्सरको शंका लागेमा परीक्षण गराउनुपर्छ । यो परीक्षण सुविधा अहिले नेपालमा सहजै उपलब्ध छ । डा. अञ्जु भन्नुहुन्छ, ‘क्यान्सरको शंका लागेपछि यकिन डाइग्नोसिस गर्ने विधि भनेको बायोप्सी नै हो ।

बायोप्सी गर्नलाई शहरी क्षेत्रका अस्पतालमा प्रायः सुविधा छ, ठूलो ट्युमर आइसकेको अवस्थामा भिडियो एक्सरेबाट पनि थाहा हुन्छ । अहिले पाठेघरभित्र दुरबिन राखेर हेर्ने नयाँ प्रविधि पनि आएको छ । यो सुविधाचाहिँ सीमित अस्पतालमा मात्र छ ।’

पाठेघर बचाउने उपाय

सकेसम्म शरीरमा कुनै पनि रोग लाग्न नदिनु नै उत्तम हो भन्ने सामान्य सिद्धान्तअनुसार पाठेघरमा पनि कुनै रोग लाग्न नदिने प्रयास गर्नु उचित हो । त्यसका लागि रोग लगाउने कारक तत्वहरूबाट सावधान रहनुपर्छ ।

डा. उमा श्रीवास्तव भन्नुहुन्छ, ‘पाठेघरलाई रोगबाट बचाउनका लागि सरसफाइ महत्वपूर्ण हुन्छ । त्यसमा पनि महिनावारी शुरु भएपछि सरसफाइमा विशेष ध्यान दिनुपर्छ ।

फोहोर भएका ठाउँमा दिसापिसाब नगर्ने र दिसापिसाब गेरपछि राम्ररी सफा गर्ने गर्नुपर्छ । महिलाको पिसाब र दिसा गर्ने अंगहरू नजिक भएका कारण एक–अर्कोमा संक्रमणको खतरा धेरै भएकाले सरसफाइमा विशेष ध्यान दिन आवश्यक छ ।’

यस सन्दर्भमा डा. अञ्जु श्रेष्ठ भन्नुहुन्छ, ‘मोटोपन हुन नदिने र भएमा नियन्त्रण गर्ने, महिनावारी गडबडी भएमा परीक्षण गराउने, एक्सरसाइज नियमित गर्ने गर्नुपर्छ । हर्मोन चक्कीहरू आवश्यक पर्दा डाक्टरको परामर्शमा मात्र खानुपर्छ । हाई डोजका हर्मोनहरू नखाएकै बेस हुन्छ ।

महिनावारी धेरै भयो भनेर हाई डोजका यस्ता औषधि खायो भने समस्या हुन सक्छ । इमर्जेन्सी पिल्स पनि धेरै खाँदा समस्या हुन सक्छ । यसले क्यान्सर हुने सम्भावनालाई बढाइदिन्छ ।’ पाठेघरको मुखको क्यान्सरको लागि चाहिँ अहिले भ्याक्सिन नै आएको छ । बेलैमा भ्याक्सिन लगाएर पनि बचाउन सकिन्छ ।

क्यान्सर विशेषज्ञ डा. अञ्जुका अनुसार ९ देखि २६ वर्षसम्मका अविवाहित महिलाका लागि भ्याक्सिन उपलब्ध छ । बिहे भएको छैन भने ४५ वर्षसम्म यो भ्याक्सिन लगाउन सकिन्छ । ३० वर्ष नाघेपछि एचपीभी डीएनए टेस्ट गरेर पाठेघरको मुखको क्यान्सर पत्ता लगाउन सकिन्छ ।

पाठेघरको मुखको क्यान्सर एचपीभी (ह्युमन प्यापिलोमा भाइरस) ले गराउने भएकोले यो भाइरस ३० वर्षपछि पनि शरीरमा छ भने क्यान्सर गराउन सक्छ । यो टेस्ट हरेक पाँच–पाँच वर्षमा गराइराख्यो भनेचाहिँ पाठेघरको मुखको क्यान्सरबाट बच्न धेरै हदसम्म सकिन्छ ।

पाठेघर झिक्दा आत्महत्या

पाठेघर सन्तान उत्पादनको मुख्य अंग भएका कारणले मात्र होइन, पाठेघर झिक्दा शरीरमा अन्य विभिन्न समस्या आउने भएकाले पाठेघरलाई जीवनभर आफ्नो ठाउँमा रहन दिनु उचित हो । तर रोगले निरन्तर पीडा दिने र मृत्यु नै गराउन सक्ने अवस्था आउँदा पाठेघर झिक्नुपर्ने स्थिति आउँछ ।

डा. उमा भन्नुहुन्छ, ‘हर्मोन गडबडीका कारण सधैँ रक्तश्राव भइरहने, ट्युमर देखिने, क्यान्सर देखिने समस्या हुँदा पाठेघर निकाल्नु नै पर्ने हुन्छ । शुरु अवस्थाको क्यान्सरमा पाठेघर निकाल्दा जीवन बचाउन सकिन्छ । ट्युमरका कारण गर्भ रहे पनि पटक–पटक गर्भपतन भइरहेमा पनि पाठेघरको औचित्य हुँदैन, निकाल्ने गरिन्छ ।’

पाठेघर निकालेपछि त्यसका कारण अन्य विभिन्न समस्या आउन सक्ने भएकाले यसतर्फ विशेष ध्यान दिनुपर्ने डा. उमा श्रीवास्तव बताउनुहुन्छ ।

उहाँका अनुसार पाठेघर निकालेपछि त्यसको ठाउँमा अन्य अंगहरू आएर बस्ने भएकोले अर्ली मेनोपोज वा सर्जिकल मेनोपोजका लक्षणहरू देखिने र त्यसको पीडा पनि खप्नुपर्ने स्थिति आउन सक्छ ।

यस अवस्थामा कसैलाई हातखुट्टा हल्का तात्ने, मुटुको धड्कन बढ्ने, निद्रा नलाग्ने, अलि डिप्रेसनजस्तो हुने, जीउमा सुख्खापन हुने, योनिमा सुख्खापनका कारण यौनसम्पर्कमा समस्या हुने हुन्छ ।

पाठेघर झिकेपछि देखिने समस्यालाई कसरी निराकरण गर्ने त ? डा. उमा श्रीवास्तव भन्नुहुन्छ, ‘दुवै डिम्बाशय निकालेको अवस्थामा हर्मोन उपचार दिइरहेको हुन्छ । चाँडै नै पाठेघर निकालेको अवस्थामा महिनावारी सुक्ने उमेरसम्म उपचार गर्नुपर्ने हुन सक्छ ।

सर्जिकल मेनोपोजमा कतिपय अवस्थामा आत्महत्या गरेका घटनाहरू पनि छन् । त्यसकारणले जुन डाक्टरले पाठेघर निकालेको हो, उहाँहरूले यससम्बन्धी केयर गर्नुपर्ने हुन्छ । साथै बिरामीले पनि यस्तो उपचार केही समय गरेर बीचमा छोडेमा त्यसको नकारात्मक असर ठूलै पर्न सक्ने भएकाले सचेत हुनुपर्छ ।’

सन्तान उत्पादनका दृष्टिले मात्र होइन, समग्र शरीरको स्वस्थताका दृष्टिले पनि पाठेघरको संरक्षण आवश्यक छ । यसको संरक्षणमा दम्पतीकै भूमिका र दायित्व हुन्छ ।

 

प्रतिक्रिया दिनुहोस्