दसैँ-तिहारको खाना आहा ! कि उफ !



डा. अरुणा उप्रेती (जनस्वास्थ्य विज्ञ)

दसैँ–तिहार आएपछि मन प्रसन्न हुन्छ । यो चाड हाम्रो जीवन र संस्कृतिको अभिन्न अंग हो । दसैँ–तिहारमा मीठो खान, राम्रो लगाउन पाइन्छ । यो चाडमा नयाँ लुगा र मासुप्रति विशेष चाख हुन्छ । यसै कारण पनि केटाकेटीमा हामी दसैँ आउँदा असाध्य खुशी हुन्थ्यौँ । मासु, चिउरा, पुलाउ, आलु, काउली खान पाइने लोभमा टाढा–टाढाको नाता लाग्ने मानिसहरुकहाँ पनि जान्थ्यौँ । ठूलो भएपछिचाहिँ दसैँमा खाना र नानाभन्दा नातागोता, साथीहरुसँग भेटघाट गर्नेतिर बढी रुचि बढेको छ । तर आममानिसको जीवनशैली हेर्दाचाहिँ दसैँ–तिहारमा स्वास्थ्यलाई जोखिममा पार्ने खानाको बढी नै उपभोग गरेको देखिन्छ ।

जिब्रोलाई लगाम

‘दसैँमा मासुभात नखाए के दसैँ ?’ भन्ने सोच प्रायः देखिन्छ । त्यसैले मासुको उपभोग बढी गरेको देखिन्छ । पहिले मासु खान प्रायः चाडपर्व नै पखर्नुपर्ने हुनाले यसो भनिएको होला । तर अहिले यो सान्दर्भिक छैन । मासुको उपलब्धता सधैँ सहज छ । तर पनि दसैँ–तिहारभरि मासुका अनेक मसलेदार परिकार दैनिकजस्तो खाएको देखिन्छ । यसले स्वास्थ्यलाई हानि गर्ने भएकोले दैनिक चिल्लो र मासुको स्वाद लिने जिब्रोलाई लगाम लगाउन जरुरी छ ।

दसैँ–तिहारलगायत चाडपर्वहरु परिवार र साथीहरुसँग मिलेर मनाउँदा यसले हाम्रो जीवनमा धेरै सकारात्मक भूमिका खेल्छ । घरबाहिर रहेका आफन्तहरु पनि दसैँ–तिहारको बेला फर्किने भएकाले वातावरण निकै रमाइलो हुन्छ, मनमा खुशी ल्याउँछ, सम्बन्धहरु नजिक पार्छ । यसले गर्दा मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पर्छ । तर बढी खाना खाइयो भने शारीरिक स्वास्थ्य समस्या देखा पर्छ । चाडबाडमा खानाप्रतिको मोह त्याग्न गाह्रो हुन्छ तर एकछिन्को स्वाद र रमाइलोको लागि कोची–कोची खाइयो भने त्यसले धेरै दिन बिरामी पारिदिन सक्छ । अझ मधुमेह, उच्च रक्तचाप, कोलेस्टेरोल सम्बन्धी समस्या, पेटसम्बन्धी समस्या भएकालाई त यसले दीर्घकालीन समस्या पारिदिन्छ । त्यसमा पनि बूढाबूढीलाई बढी समस्या भएको देखिन्छ । यसले गर्दा दसैँपछि अस्पतालमा सधैँजसो बिरामीको भीड लाग्ने गरेको पाइन्छ ।

कहिलेकाहीँ त समस्या यति बढ्छ कि औषधिहरु पनि ‘कमजोर’ साबित हुन्छन् । कतिपय औषधिको धेरै प्रयोग गर्दा त्यसले मृगौलामा समस्या पार्छ । यसले गर्दा चाडबाडमा खानाको आनन्द लिने मात्र होइन, स्वास्थ्यको पनि ख्याल गरेर खानामा संयमता अपनाउनै पर्छ । यसले हामीलाई चाडबाडको सही आनन्द लिन सहयोग गर्छ । चाडबाडमा बारम्बार गरिष्ठ भोजन गरेर घरमै बिताउनुभन्दा साथीभाइ, आफन्तसँगको भेटघाट, रमणीय स्थानहरुको भ्रमणलाई प्राथमिकता दिँदा शारीरिक एवं मानसिक दुवै स्वास्थ्य राम्रो हुन्छ । यस बेला मौसम पनि असाध्य रमणीय हुन्छ, वातावरण स्वच्छ हुन्छ, हिलो सुक्छ, फूलहरु फुल्छन्, हिमालहरु खुल्छन् ।

एकजना मेरा ६५ वर्षका साथी छन् । उनलाई उच्च रक्तचाप, फोक्सो, मुटु आदिको समस्या छ । जाँच गरेर समय–समयमा औषधि गरिरहेका थिए । तर उनी तौल घटाउने डाक्टरको सल्लाह मान्दैनथे, उनी स्वादिलो खाना बढी खाने बानीबाट पीडित थिए । ‘मासु नभई त्यो पनि दसैँको बेलामा त के गर्ने, खै ?’ वा ‘घिउ–भात नखाई मलाई निद्रा नै लाग्दैन’ भन्ने गर्थे । पोहोर सालको दसैँपछि उनी नराम्रोसँग थला परे । रगतमा चिनीको मात्रा बढेर अस्पताल भर्ना भए । उनलाई डाक्टरले तौल नघटाए गम्भीर समस्या हुन सक्ने भनेपछि बल्ल उनले चाडबाडमा पनि खान कम गर्न थालेका छन् । उनले मासु खान निकै कम गरेको र स्वास्थ्यमा निकै सुधार भएको बताएका छन् ।

रोग लाग्ने चिल्लो

प्रायः तिहारको बेलामा घर–घरमा पुरी, सेल पकाइन्छ वा बजारबाट किनेर ल्याइन्छ । किनेर ल्याएको सेल, पुरी कस्तो तेलमा पकाएका हुन्छ भन्ने हामीलाई थाहा हुँदैन । राम्रै तेलमा पकाए पनि एउटै तेलमा पटक–पटक पकाएपछि त्यो तेलमा विषालु तत्व पैदा हुन्छ । घरमा सेल, पुरी पकाएपछि तेल बाँकी रह्यो भने प्रायः फालिन्छ । तर पसलमा त त्यही तेल बारम्बार प्रयोग गरिन्छ । बारम्बार एउटै तेलमा पकाइएका जेरी, पुरी, लालमोहन, सेल आदि खाँदा जिब्रोमा स्वाद भए पनि थाहै नपाई मुटु र पेटलाई खराब गरिरहेको हुन्छ । सम्पूर्ण स्वास्थ्यमा नराम्रो असर पार्छ । यसको साटो ताजा तेलमा घरमै पकाउनु राम्रो हुन्छ ।

चिसो झोलका हानि
(खाना खानु भो ? पुस्तकबाट केही अंश साभार)

मधुमेह र हृदय रोग

चिनी सबै चिसो झोलहरुमा पाइने एक प्रमुख तत्व हो । अधिकांश चिसो झोलमा ४ देखि १५ चिया चम्चासम्म चिनी घोलिएको हुन्छ । चिनीले मानिसमा मधुमेहको जोखिम बढाउँछ । साथै हृदय रोग, अपच, छालाका समस्या तथा अन्य घातक रोगहरुको वृद्धि गर्नका लागि चिनी प्रमुख सहयोगीका रुपमा रहेको छ । एक चिया चम्चा चिनीले १६ क्यालोरी शक्ति पैदा गर्दछ । यदि १५ चम्चा चिनी भएको कुनै झोल पिएमा त्यसबाट २ सय ४० क्यालोरी उत्पन्न हुन्छ । वयष्क मानिसलाई दैनिक ४० देखि ५० ग्राम चिनी आवश्यक पर्दछ । यति मात्राको चिनी हाम्रो दैनिक भोजनबाट नै प्राप्त हुने गर्दछ । कोक, पेप्सीजस्ता चिसो झोलको सेवन गर्दा हाम्रो शरीरलाई आवश्यकभन्दा बढी चिनी प्राप्त हुन्छ । यसले तौल बढाउने लगायत अन्य विभिन्न समस्या उत्पन्न गर्छ ।

लत लगाउने क्याफिन

सबैजसो कोलायुुक्त चिसो झोलहरुमा क्याफिन राखिएको हुन्छ । क्याफिन केन्द्रीय स्नायु प्रणालीलाई उत्तेजित गराउने र लत लगाउने तत्व हो । यसले कृत्रिमरुपमा शरीरलाई उत्तेजित गराउँछ र हृदयगति बढाउँछ । यस्तो उत्तेजित अवस्थामा स्मरणशक्ति बढेको, स्फूर्ति बढेका र थकाइ मेटिएको अनुभव हुन्छ । तर यस्तो अवस्था क्षणिक हुन्छ । शारीरिक कसरतपछि चिसो पेयपदार्थ पिउँदा शरीरमा क्याल्सियम र पोटासियमको कमी हुन्छ । फलतः मांसपेशीहरु सुन्निन सक्छन् र कसरतपछि यथास्थितिमा फर्कन धेरै समय लाग्छ ।

हाड कमजोर हुने

कार्बनडाइअक्साइड हाम्रो शरीरले अक्सिजन लिएर श्वासबाट निष्कासित गर्ने ग्यास हो । यो ग्यास शरीरलाई आवश्यक पर्दैन । चिसो झोलमा फोकाहरु उठाउनका लागि यो ग्यास राखिएको हुन्छ । चिसो झोल भनेको बास्ना, गुलियो स्वादलगायत फिँजहरु आउने ग्यासहरु राखिएको पानी हो । चिसो झोल सेवन गर्नेहरुको पिसाबबाट ठूलो परिमाणमा म्याग्नेसियम, क्याल्सियम र अन्य अदृश्य खनिजहरु निष्कासन हुने गरेको अध्ययनमा पाइएको छ । शरीरबाट जति बढी खनिजको निष्कासन हुन्छ त्यति नै बढी हाड कमजोर हुने, हड्डी बाथ सुजन हुने थाइराइड ग्रन्थिका कमजोरी हुने गरेको पाइएको छ ।

दाँतको दुश्मन

चिसो झोलहरुलाई ताजा राख्न र चखिलो बनाउन साइटिक एसिड, फोस्फरिक एसिड र कहिलेकाहीँ म्यालिक एवं टारटारिक अम्लहरु राख्ने गरिन्छ । अम्लहरुको कारणले नै चिसो झोल पिउँदा तिर्खा मेटिएको महसुस हुन्छ । गुलियो र अमिलो भएको चिसो झोलले दाँतको पालिस पखाल्छ । हामीले खाएको गुलियोबाट दाँत र मुखमा रहेका कीटाणुहरुले अम्लीय पदार्थ उत्पन्न गर्छन् । यी पेयवस्तुबाट दाँतमा प्वाल पार्ने र दन्तहर्ष हुने हुन्छ । हाल आएर दाँतको क्षय हुने समस्या पनि धेरै देखिन थालेको दन्तचिकित्सकहरुले बताएका छन् । चिसो झोल पिउँदा माथि तैरिने फोका र फिँज फोस्फोरिक अम्ल र कार्बनडाइअक्साइडबीचको प्रतिक्रिया भएर बन्दछन् । यी तत्वहरुका कारणले पेट पोल्ने र घाउ हुने गर्दछ । चिनी भएको अम्लीय चिसो झोल पिउनासाथ दाँत माझ्नाले दाँतको भित्री भाग पनि कोतरिन्छ ।

खाना नफ्याँकौँ

चाडपर्व र दसैँ–तिहारमा एउटा चित्त दुख्ने समस्या हो खाना फ्याँक्ने । काठमाडौँमा त दसैँ–तिहार आउनुअघि नै ठाउँ–ठाउँको बाटोमा खाना फालेको देखिन्छ । ठूला–ठूला टपरीमा सेल, पुरी, अचार, भटमास, चाउचाउ, बिस्कुट आदि राखेर चढाएको वा पन्छाएको देखिन्छ । यसरी भुतलाई पन्छाउँदा वा पितृलाई चढाउँदा थोरै खानेकुरा राखे राम्रो हुन्थ्यो । आखिरी खाने होइन । बरु कुनै भोकाएको मानिसलाई खानेकुरा दिएमा उसको पेट भरिन्थ्यो । प्रेत र पितृलाई चढाउनेबाहेक कतिपयले घरमा नै खाना खेर फाल्ने गर्छन् । वास्तवमा यो सामाजिक अपराध हो । खाना बढी हुने भए पहिले नै खानाको अभाव हुनेहरुलाई छुट्याऔँ । आफू पनि कोची–कोची नखाऔँ, पाहुनालाई कर गरेर पनि नखुवाऔँ । साथै केटाकेटीको पेट सानो हुने भएकाले उनीहरुलाई पनि आवश्यकताअनुसार मात्र खाना दिऔँ । जे भए पनि जीवनदायी खाना नफालौँ ।

दसैँ–तिहारमा खाना खाँदा आफ्नो स्वास्थ्यको रक्षा गर्नु जरुरी नै छ । युवावस्थामा काम गरेर भविष्यमा चाहिन्छ भनी बैंकमा पैसा जम्मा गर्छौं । तर युवावस्थादेखि नै आफ्नो स्वास्थ्य, भोजन, जीवनशैलीमा ध्यान दिने हो भने कतिपय स्वास्थ्य समस्या धेरै कम हुन्छ । । मोबाइल, कम्प्युटर आदि किन्दा हामी कुन प्रकारको बढी टिकाउ हुन्छ भनेर विचार गर्र्छौं । शरीरको टिकाउपन र स्वास्थ्य अवस्थाबारे पनि त विचार गर्नुपर्छ, होइन र ? यो दसैँ–तिहारमा एउटा बचन आफैंलाई दिन सकिन्छ, ‘धेरै नखाने, खाना नफाल्ने ।’

प्रतिक्रिया दिनुहोस्