लक्ष्मण अधिकारी ।
दसैँ भन्नेबित्तिकै धेरैको अगाडि रक्सी, मासु र चिल्लोयुक्त खानाको तस्वीर झलक्क हुन्छ र मुख रसाउँछ । अनि डाक्टरहरुको अगाडिचाहिँ मुटुरोगी र पेटका रोगीहरुको पीडायुक्त तस्वीर । अझ यसमा पनि हृदयघातका बिरामीहरुको संख्या धेरै हुने गरेको चिकित्सकहरुको अनुभव छ ।
‘दसैँमा धेरै डाक्टरहरु बिदामा बस्ने भएकोले हृदयघातको आशंकामा रातको १२ बजेसमेत बिरामीहरु घरको ढोका ढकढक गर्न आउने गरेको’ अनुभव सुनाउनुहुन्छ वरिष्ठ मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मी । चाडबाडमा गलत तरिकाले खाएकै कारण मुटु र पाचन प्रणालीका धेरै समस्या आएकाले यसलाई न्यूनीकरण गर्न डा. रेग्मीले केही उपयोगी सुझाव तथा टिप्स पनि दिनुभएको छ ।
डा. रेग्मीका अनुसार दसैँका बेला मुख्यतः छाती दुख्ने, मुटुको धड्कन गडबड हुने र चक्कर लाग्ने समस्या लिएर धेरै बिरामी आएका हुन्छन् । ती मध्ये केहीलाई त हृदयघात भएको हुन्छ ।
पहिला दुई पेगसम्म मदिराले मुटुलाई राम्रै गर्छ भनिदै आएको थियो । तर मुटुलाई ठिक्कै भए पनि यसले शरीरको अन्य भागमा क्यान्सर गराउने लगायतका समस्या हुने नयाँ अध्ययनबाट पाइएकोले अब हामी सकेसम्म रक्सी नपिउने सल्लाह दिन्छौँ ।
करिब तीन दशक वीरलगायत विभिन्न सरकारी अस्पतालमा मुटुरोग विशेषज्ञ (फिजिसियन) का रुपमा काम गरिसक्नुभएका र हाल स्टार हस्पिटलमा कार्यरत प्रा.डा. रेग्मीको अनुभवमा अरु समयमा भन्दा दसैँको बेला अस्पतालका इमर्जेन्सीमा हृदयघातका बिरामी बढी आउने गर्छन् र दैनिक यस्ता चार–पाँच जना बिरामीको त एन्जियोप्लास्टी नै गर्नुपर्ने हुन्छ । युरोप, अमेरिकातिर आइतबारलाई मुटुको लागि सबैभन्दा खराब बार मानिन्छ भने नेपालमा दसैँलाई । यस बेला हृदयघात बढी हुने गर्छ । यसको मुख्य कारण चिल्लोयुक्त खाना, मासु, रक्सी, धूमपान र उच्च भावनात्मक सक्रियता नै हो ।
डा. रेग्मी भन्नुहुन्छ, ‘जो रक्सी धेरै खान्छ उसको मुटुको चाल गडबड हुन्छ, जो भावनात्मकरुपमा बढी उत्तेजित (खुसी वा दुःख) हुन्छ उसमा चक्कर लाग्ने समस्या बढी हुन्छ । एक त प्रेसरले चक्कर लाग्छ, अर्को इन्टरनल भावनात्मक प्mयाक्टरले इन्टरनल इएरमा गडबडी ल्याउँछ अनि मानिसको सन्तुलन बिगारिदिन्छ र चक्कर लाग्छ । मासु–चिल्लो बढी खाने, व्यायाम नगर्नेमा चाहिँ छाती भारी हुने समस्या हुन्छ । खप्न गाह्रो हुँदै आएपछि हृदयघातले अब मर्छु भन्ने त्रास हुन्छ अनि दौडेर डाक्टरकहाँ पुग्छन् । के गर्ने भन्ने ज्ञान नै नहुनेहरुको मृत्यु नै पनि हुन सक्छ ।
बच्ने तरिका
बिदा तथा चाडबाडमा खाने तरिका नजानेका कारण पनि धेरै मानिसलाई हृदयघातलगायतका स्वास्थ्य समस्या हुने गरेको चिकित्सकहरुको भनाइ छ । यसमा केही सचेतता अपनाएमा यस्ता समस्याबाट बच्न सकिने भएकाले डा. रेग्मीले महत्वपूर्ण ५ वटा टिप्स दिनुभएको छ ।
दसैँमा पत्थरीको पीडा
मुटुबाहेकको अर्को प्रमुख समस्या पाचन प्रणालीसम्बन्धी समस्या हो । चिल्लोयुक्त खाना, मासु र रक्सी बढी खानाले पाचन प्रणालीलाई प्रत्यक्ष असर पार्छ । परिणामस्वरुप पेट फुल्ने, दुख्ने र डायरिया हुने हुन्छ । यसमा पनि मोटा र पत्थरी भएका मानिसहरु बढी पीडित हुने गर्छन् ।
डा. रेग्मी भन्नुहुन्छ, ‘दसैँमा पत्थरी भएका मानिस धेरै पीडित हुन्छन् । किनभने धेरै मानिसलाई पत्थरी भइसकेको हुन्छ र पत्थरी प्रायः साइलेन्ट बस्ने भएकोले नजाँची थाहा हुँदैन । पित्त भनेकै कोलेस्टेरोल (चिल्लो) पचाउने चिज हो । धेरैजसो पत्थरी चिल्लोबाट नै बन्छ । चिल्लो बढी खाने र मोटो मानिसलाई बढी हुन्छ । चाडबाडमा चिल्लो खाना बढी खाइने हुँदा चिल्लो पचाउन पित्तथैलीबाट धेरै पित्त निस्कनुपर्ने हुन्छ । यसले गर्दा पित्तथैली बढी हल्लिन्छ र पत्थरी यताउता चल्न जाँदा सहनै नसक्ने गरी पेट दुख्छ । अनि बिरामी इमेर्जेन्सीमा पुग्छन् । मदिरा धेरै खायो भने प्यान्क्रियाटाइटिस हुन्छ । मदिराले प्यान्क्रियाजलाई क्षति गर्छ । उल्टी हुने, बेस्सरी पेट दुख्ने हुन्छ । इमर्जेन्सी भएर भर्ना नै गर्नुपर्छ । यसको राम्रो उपचार गरिएन भने बढ्दै गएर मृत्यु नै हुन्छ । त्यस्तै गरी मदिरा धेरै खाँदा कलेजोमा क्षति पुग्छ र पछि सिरोसिस हुन सक्छ । सिरोसिस बढ्दै जाँदा मृत्यु पनि हुन सक्छ ।’
हलिडे हार्ट सिन्ड्रम’
चाडबाड वा बिदा मनाउँदा मानिसहरु मासुलगायत चिल्लो खाना दैनिक खानेभन्दा बढी खान्छन्, रक्सी पनि बढी पिउँछन् र रमाइलो गर्छन् । धेरैजसो घरै बस्छन्, शारीरिक क्रियाकलाप घट्छ ।
‘चाडपर्वमा कतिपयलाई धान्न नसकेर तनाव बढ्छ । दसैँ मनाउनै समस्या भएका, अरु नै पीडा भएकालाई त चाडपर्व झन् तनावमय हुन्छ । कोही अत्यधिक खुशी हुन्छन्, कोही दुखी । भावनात्मक पक्ष बढी सक्रिय हुँदा पनि हृदयघात हुन्छ । यस्तै कारणले छुट्टीको बेला उत्पन्न हुने मुटुका रोगको लक्षणलाई ‘हलिडे हार्ट सिन्ड्रम’ भनिन्छ ।
कसैलाई छातीको दुखाइको रुपमा, कसैलाई चक्कर लाग्ने रुपमा त कसैलाई मुटु धड्किने रुपमा ‘हलिडे हार्ट सिन्ड्रम’ देखा पर्छ । मुटु बेतालले धड्किँदा रगत राम्ररी पम्प हुँदैन । यसले मुटु फेलको अवस्थामा पुर्याउँछ । अर्को मुटु बेताल (घरी छिटो ढुकढुक गर्ने त घरी बिस्तारै ढुकढुक गर्ने) ले चल्दा रगतको थेग्रा उछिट्टिएर मस्तिष्क घात हुने खतरा बढ्छ । दसैँ र त्यसको लगत्तै आउने अधिकांश बिरामीमा ‘हलिडे हार्ट सिन्ड्रम’ देखिन्छ, डा. रेग्मी भन्नुहुन्छ ।
रक्सीलाई यसो गरौँ
पहिला दुई पेगसम्म मदिराले मुटुलाई राम्रै गर्छ भनिदै आएको थियो । तर मुटुलाई ठिक्कै भए पनि यसले शरीरको अन्य भागमा क्यान्सर गराउने लगायतका समस्या हुने नयाँ अध्ययनबाट पाइएकोले अब हामी सकेसम्म रक्सी नपिउने सल्लाह दिन्छौँ । तर नपिई नछोड्ने हो भने निम्न तरिकाले पिउने :
रक्सी नसाको लागि पिउने हो । झुम्म पारेर रमाइलो हुने अवस्थालाई ‘किक’ भनिन्छ । यो हुनका लागि जति सक्यो छिटो रगतमा रक्सी जानुपर्छ । ब्रेनमा पुगेछि झुम्म पार्छ । यसका लागि हार्ड ड्रिङ्कसमा ३० देखि ६० एमएलले पुग्छ । तर स्न्याक्स खाँदै रक्सी खायो भने वा टन्न खाना खाएर रक्सी खायो भने यतिले किक प्राप्त हुँदैन, चार–पाँच पेग नै चाहिन सक्छ, कसैलाई अझ बढी । जति रक्सी खायो सबै लिभरमै पुग्छ । लिभरलाई पचाउन गाह्रो हुन्छ र शरीरका अन्य भागलाई पनि असर गर्छ । त्यसकारण किक प्राप्त गर्नका लागि खालिपेटमै विनास्न्याक्स रक्सी खाइदिए हुन्छ । पश्चिमाहरु पनि अचेल रक्सीसँग एक–दुईवटा काजु, बदाम खाएर किक प्राप्त गर्छन् अनि स्न्याक्स खान्छन् । विनास्न्याक्स खाँदा त्यही किक दुई पेगमा पाइन्छ भने धेरै रक्सी खाएर लिभरलाई किन जोखिममा पार्ने ?
साथै धूमपानचाहिँ ज्यादै जोखिमपूर्ण भएकाले गर्नु नै हुँदैन । अहिले रेस्टुराँहरुमा हुक्का तान्ने युवाहरु बढेको देखिएको छ । यो पनि हानिकारक हो । सार्वजनिक स्थानमा धूमपान नगर्ने व्यवस्था भएकाले सरकारले यसलाई पनि बन्द गराउनुपर्छ ।
पकाउने तरिका सुधारौँ
दसैँमा धेरै खाइने र हानि गर्ने भनेको मासु नै हो । चिल्लोको कारणले स्वास्थ्यलाई हानि गर्छ । सबैभन्दा हानि छाला र बोसोले गर्छ । कोलेस्टेरोल बढाउने तत्व छालाको भित्री भागमा हुन्छ, यो फालेकै राम्रो । पकाउँदा बोसोको सट्टा शुद्ध तोरीको तेल प्रयोग गरौँ तर थोरै । जिरा, मरिच, खुर्सानी, धनियाँ आदि इच्छाअनुसार राखे हुन्छ, हानि छैन ।
पहिला दसैँको सप्तमीमा पकाएको मासु पूर्णिमासम्म खाइन्थ्यो, अब भोलिपल्टै स्वाद फरक भएको पाइन्छ । त्यसैले अहिले पकाएको अहिले नै खानुस् । भरे–भोलिका लागि त्यही बेला पकाउनुस् । धेरै मासु हुँदा काँचो नै डिफ्रिजमा राख्नु ठीक हुन्छ । किनभने मासुको गुणस्तर पहिलेको जस्तो अहिले छैन ।
खाने तरिका बदलौँ
स्वस्थ रहनका लागि खाने तरिका पनि सही हुनुपर्छ । एकपटक खाँदा ठीक्क खाने । बढी खानेबित्तिकै त्यसले हानि गर्छ । पहिला खानाहरु शुद्ध हुन्थे । शुद्ध खाना अलि–अलि बढी खाँदैमा समस्या हुँदैनथ्यो । अहिलेचाहिँ खाना शुद्ध नभएका कारण अलि बढी हुनेबित्तिकै समस्या आउँछ । मासु खाँदा साथमा फाइबर बढी भएका फलफूल, हरियो तरकारी प्रशस्त खानुपर्छ । हरिया तरकारी, फलफूल पनि विषादी हालेर अस्वस्थकर बनाइएको हुन्छ, त्यसलाई कागती, नून, भिनेगर आदिमा डुबाएर शुद्ध गर्नुपर्छ ।
नेपालीहरु प्रायः साँझमा खाना बढी खान्छन् । साँझको खाना बढी हुँदा धेरै रोग लाग्ने गर्छ । खराब कोलेस्टेरोल पनि साँझकै खानाले बढ्छ । बिहानको खाना धेरै खाएमा तौल कम हुने, अल्सरको सम्भावना कम हुने हुन्छ । त्यसैले मासुलगायत खाना बिहान बढी खानु राम्रो । मासु त बेलुका नखाए पनि हुन्छ । अरु खाना पनि दिउँसो र साँझ कम, बिहान बढी खाँदा राम्रो हुन्छ । बिहान थोरै खाँदा दिनभरि खान मन लाग्छ, अनि तौल बढ्छ । बेलुका खाना खाएपछि एक–डेढ किलोमिटार हिँड्नु धेरै राम्रो हो ।
व्यायाम र भावना नियन्त्रण
दसैँमा अधिकांश मानिस घरै बस्छन् । खाने, कुरा गर्ने, टिभी हेर्ने, तास खेल्ने गर्छन् र व्यायाम पनि घटाउँछन् वा गर्दैनन् । चाडपर्वमा शारीरिक क्रियाकलाप बढी गर्नुपर्छ । व्यायाम नियमित गर्नुपर्छ । नजिकै भए पनि परिवारसहित घुम्न जानुपर्छ । केही मानिस दसैँमा टाढै घुम्न जान थालेका छन्, स्वास्थ्यका हिसाबले त्यो राम्रो हो ।
डाक्टरकहाँ कतिखेर जाने ?
भावनात्मक पक्षबारे अध्ययन गर्ने, बुझ्ने (प्रवचन सुन्ने, पुस्तक पढ्ने) र यसलाई नियन्त्रण गर्ने प्रयास गर्नुपर्छ । धेरै रोगहरु भावनाका कारण उत्पन्न हुने, सक्रिय हुने हुन्छन् । जस्तो– उच्च रक्तचाप । औषधि खाँदाखाँदै पनि भावनाको कारणले उच्च रक्तचाप बढ्ने, मस्तिष्कघात हुने हुन्छ । यसै गरी यसले सुगर, अल्सर बढाउने र मुटुको धड्कन बढाउने गर्छ । अल्सर तनावले हुन्छ, पिरो खाएर वा मसला खाएर हुने होइन । भावनात्मक तनाव भएका बेला एसिड धेरै आउँछ, यसैले अल्सर गराउने हो । धेरै खुशी हुँदा पनि निस्कने हर्मोनका कारण मुटुलाई असर गर्छ । सुगर पनि बढाउँछ । त्यसैले दसैँजस्ता चाडपर्वमा भावनाको नियन्त्रण आवश्यक छ ।
माथि बताइएका टिप्सको पालना गर्दा ‘हलिडे हार्ट सिन्ड्रम’ धेरै हदसम्म नियन्त्रणमा आउँछ । तर पनि निम्न अवस्था आएमा चिकित्सककहाँ जानुपर्ने मुटुरोग विशेषज्ञ डा. रेग्मीको सुझाव छ :
‘छाती बेस्सरी दुखेमा, मुटु हल्लिएमा, धेरै चक्कर लागेमा अस्पताल जानुपर्छ । नजिक अस्पताल छैन भने सर्वप्रथम अक्सिजन आउने स्थानमा आराम गर्ने । स्वास्थ्यकर्मी नजिकै भए बोलाउने । छाती धेरै दुख्दा सिटामोल खाए पनि हुन्छ । तर एस्पिरिनचाहिँ राम्रो हो । छातीको मध्यभागमा ढुंगाले थिचेजस्तो, छुरीले रोपेजस्तो, आगोले पोलेजस्तो, एकदम निचोरेको जस्तो गरी दुख्ने, पसिना खलखली आउने, वाकवाक लाग्ने र छातीको दुखाइ २० मिनेटभन्दा बढी लगातार लम्बियो भने हार्ट अट्याकको सम्भावना धेरै हुन्छ । दुख्न छोड्ने भएमा नहुन सक्छ । धेरै बेर कडासँग छाती दुखिरहेमा दुई चक्की (जम्मा ३ सय एमजी) एस्पिरिन चपाएर खाँदा फाइदा पुग्छ । अस्पतालनजिक हुँदा तुरुन्तै जानुपर्छ । धेरैलाई ग्यासका कारण पनि पेट, छाती दुख्ने हुन्छ । यस्तोमा प्यान टप, एसिलक, एन्टासिडजस्ता औषधि खान सकिन्छ । अरु घरेलु उपायले पनि ग्यास घटाउन सकिन्छ । दुखाइ लम्बिएमा चिकित्सककहाँ जानुपर्छ ।
यी आदि उपाय गर्दा दसैँलगायत चाडपर्वमा ‘हलिडे हार्ट सिन्ड्रम’ कम हुन सक्छ ।’