दसैँ-तिहारमा जीवनशैली



डा. क्षितिज बराकोटी (पाकृतिक चिकित्सक)

हामी संस्कृति र परम्पराका धनी छौं । हाम्रा चाडपर्व, जात्रा आदि अनेकौं सांस्कृतिक पक्षहरुले हाम्रो मौलिक पहिचान बोकेको छ । तर जति–जति सभ्य बन्दै गइरहेका छौं त्यति नै हामी चाडपर्वलाई आडम्बरी, देखावटी एवं भड्किलोरुपमा मनाउँदै छौं । यस्ता अवसरहरुलाई विकृत र जोखिमयुक्त जीवनशैलीले आफैंलाई विनाशतिर लगिरहेका छौं । दसैँ–तिहार तथा अन्य चाडबाडमा अपनाइने जीवनशैलीमा निकै परिमार्जन गर्नुपर्ने खाँचो छ ।

दसैँको सुसंस्कृति र परम्परा

दसैँ नेपालीको महत्वपूर्ण चाड हो । यसका धार्मिक, आध्यात्मिक तथा सामाजिक पक्ष निकै नै महत्वपूर्ण छन् । टाढा रहेका आफन्तहरु टीका आदानप्रदान तथा आशीर्वाद प्राप्त गर्न भेटघाट गर्ने र सानाले ठूलालाई सम्मान एवं ठूलाले सानालाई माया र आत्मीयता प्रकट गर्ने विशेष अवसरबाट पारिवारिक एकताको जग बलियो हुने हुन्छ ।

यदि तपाईंमा भिन्न आस्था भए पनि, नास्तिकै भए पनि वा दसैँ नमनाउने विचार भए पनि यो लामो चाडमा परिवार तथा साथीभाइसँग सहभागी हुनुहोस्, टीका र आशीर्वादको लेनदेन गर्नुहोस्, यसबाट तपाईंको पारिवारिक तथा सामाजिक सद्भाव र एकता कायमै रहिरहन्छ ।

गलत संस्कृति हटाऔं
दसैँमा शरीरको क्षमताभन्दा बढी मासु खाने, रक्सी, बियर आदि पिउने, जुवातासबाट मनोरञ्जन गर्ने गलत संस्कार विकसित हुँदै गएको पाइन्छ । यसका साथै तिहारमा पनि मिठाईको मात्रा अत्यधिक खाने गरिएको पाइन्छ । कतिपय ठाउँमा पटाका संस्कृति मौलाउँदो छ । यस्ता कार्यहरुबाट शरीरमा जोखिम र समाजमा विकृति बढ्ने निश्चित छ । तसर्थ यस्ता बानीहरु हटाउँदै जानुपर्छ । यदि हटाउन नसके न्यूनतम मात्रामा मात्र शरीरमा हानि नपुग्ने गरी प्रयोग गर्नुपर्छ ।

दसैँमा कसरी दिन कटाउने

बिहानै उठ्नुहोस् । आफूभित्र भएका रिस, द्वेव, घमण्ड, ईष्र्या, नकारात्मकता, गलत विचार र प्रवृत्तिहरुको बलि चढाउनुहोस् । योगाभ्यास (क्रिया, यौगिक–व्यायाम, आसन, प्राणायाम, ध्यान आदि) गर्नुहोस् । स्नानपश्चात् कुनै आध्यात्मिक पक्षमा ध्यान दिनुहोस् । जस्तो कि पूजाआजा, ध्यान, शक्तिपीठ वा मठमन्दिरको अवलोकन–दर्शन, भेटघाट, धर्म–संस्कृति वा आध्यात्मिक पुस्तकको अध्ययन, लेखन आदि । अथवा आफ्ना थाती रहेका कामहरुलाई पनि सम्पन्न गर्नेतिर लाग्नुहोस् वा अन्य जरुरी कार्यहरु गर्नुहोस् ।

दसैँ छुट्टी बिताउने र मनोरञ्जन गर्ने राम्रो अवसर पनि हो । मर्निङ वाक, छोटो हाइकिङ, बिहानको खेलहरुमा पनि त्यत्तिकै ध्यान दिनुहोस् । राति अबेरसम्म नसुती निद्रा बिथोल्ने बानी नगर्नुहोस् । सुत्ने र खाने मात्र गर्दा समस्या आउँछ । समय मिलाएर शारीरिक अभ्यास गर्नुहोस् । खेल्ने बानी भएकाहरुले ब्याडमिन्टन, टेबलटेनिस, दौडने आदि गर्न सकिन्छ । जुम्बा, एरोबिक्स, ताइ ची, कुनै पनि खालको नृत्य पनि शारीरिक अभ्यास एवं आनन्द प्राप्त गर्ने माध्यम हुन सक्छ । तर बिहान वा बेलुका गर्ने प्रभावकारी अभ्यासका लागि योग सबैभन्दा उत्तम विधि हो । नवरात्रिभरि व्रत बस्ने चलन पनि हामै्र संस्कृति हो । दसैँको फुर्सदमा कुनै सृजनशील कामहरु गर्ने, योजना गर्ने, लक्ष्य सम्पन्न गर्न कार्ययोजना बनाउने, अधुरा कामहरु पूरा गर्ने आदि पनि गर्न सकिन्छ भने कुनै स्थानको घुमघाम पनि गर्न सकिन्छ ।

जुवातास समस्या

मनोरञ्जनका नाममा दसैँ–तिहारमा तास, झन्डाबुर्जा, कौडा आदि जुवा खेल्ने गरेको भेटिन्छ । जुवाको रुपमा यसरी खेल्नु राम्रो होइन र अपराध ठहरिन्छ । खेल्नै परे घरकै सदस्यसँग मात्र स्वस्थ मनोरञ्जनका लागि खेल्नुपर्छ । हौसिएर हजारौं, लाखौं जाने गरी खेल्न हुँदैन । स्वस्थ मनोरञ्जनका लागि पनि हरेक दिन पूरा समय जुवातास खेल्दा अरुका लागि खल्लो हुन्छ र नराम्रो सन्देश जान्छ । लामो समय पलेटी मारेर बस्दा त्यसले डिस्क प्रोल्याप्स हुने, नसा च्यापिने, कम्मर दुख्ने आदि हुन्छ । बढी मोटा व्यक्तिहरुलाई यसले बढी समस्या ल्याउँछ । त्यसैले खेल्नै परे केही समयका लागि कुर्सीमा बसी टेबलमा खेल्नु उपयुक्त हुन्छ । अविवेकी ढंगले खेलिएको जुवाबाट पारिवारिक सम्बन्ध बिग्रने, सामाजिक सद्भाव गडबड हुने, आर्थिक संकट आउने, स्वास्थ्यमा पनि जोखिम आउने हुँदा सावधान हुनु जरुरी छ ।

खानपानको गलत शैली

चाडबाडमा रमाइलो गर्नकै लागि खानपान र भोजभतेरको प्रयोग भएको हो । दसैँ–तिहारमा आमनेपालीको खानपान असन्तुलित र अप्राकृतिक भएको पाइन्छ । खासगरी मांसाहार गर्ने व्यक्तिले बढी मासु खाने देखिन्छ । रगत, फोक्सो, कलेजो, आन्द्राभुँडी, फियो, छाला यस्ता भागहरु हुन् जहाँ पशुको पनि रोग भएको हुन्छ । यस्ता भागहरुमा धेरै व्यक्तिहरुमा रुचि रहेको हुन्छ । अलिकति असावधानी हुनासाथै खानेलाई समस्या आउन सक्छ । कतिपयले मासु पोलेर खान्छन्, जुन हानिकारक मानिन्छ । पोल्दा राम्ररी नपाकेको भएमा वा काँचै मासु खाएमा त्यसमा फित्ते जुका रहेछ भने त्यो मानिसको शरीरमा गएर ठूलो समस्या निम्त्याउन सक्छ ।

मासु काट्ने ठाउँ, काटेको मासुलाई फ्रिजमा नराखी त्यसै झुन्ड्याएर सुकाउने, भुटेर धेरै दिन खाइरहने, बासी प्रयोग गर्ने, बढी मरमसला, तेल राखी पकाउने आदि कारणले मासु अस्वस्थकर हुन्छ । यसरी नै कतिपय पशुपक्षी पहिल्यै अनेक रोगले सिकार भएका हुन सक्छन् ।

खानपानको सही विधि

दसैँमा खानपान कम गरौं । यदि बढी खानपान गर्नुभएको छ भने त्यसलाई कटौती गर्न सोही अनुरुपका शारीरिक श्रम, व्यायाम हिँडडुल, योग आदिमा जोड दिऊँ । मासु नखानु राम्रो हो तर खानुपरे तारेभुटेको नखाई सामान्य किसिमले पकाएको मासु प्रयोग गर्नुहोस् । मासुले नै पेट भर्ने गरी नखानुहोस् । मासु खानुअघि सागपात, सलाद बढी खानुस् । कागती निचोरेर खानुस् । रातो मासुको सट्टा सेतो मासु प्रयोग गर्नुस् । बफाएर, चिल्लो निकालेर प्रयोग गर्नुस् । साकाहारीले प्रयोग गर्ने पनिर पनि सुरक्षित छैन । हरियो तरकारीलाई कम चिल्लो राखी पकाउनुस् । बेलुकाको खाना छिट्टै खानुस् र हल्का खानुुुस् । चिल्लो, नूनिलो र गुलियो कटौती गर्नुस् । खाना खाएको २–३ घण्टापछि मात्र सुत्नुस् । कथंकदाचित पेट खराब भएमा फलाहार, रसाहार वा पानी मात्र पिएर उपवास गर्नुहोस्, यसले निकै नै फाइदा गर्दछ ।

मद्यपान र सितन

दसैँमा मद्यपान गर्ने जमात बढ्दो छ । खुला र स्वतन्त्र जीवनका रुपमा अर्काको सिको गर्दै रक्सी, वाइन, बियर, जाँड आदि पिएको प्रायः भेटिन्छ । रक्सीको प्रयोग र तारेभुटेको चिल्लो मासुको सितन प्रयोगले उच्च क्यालोरीबाट समेत कलेजोमा समस्या आउने गर्दछ । खासगरी प्रायः नेपालीहरु उच्च रक्तचाप, मधुमेह, थाइराइड रोग, मुटुरोग, दम, पेटका रोगहरु, क्यान्सर आदिबाट
पीडित भइरहेका छन् ।

नसर्ने खालका यस्ता रोगहरुमा रक्सीको प्रयोग र बढी चिल्लोचाप्लो मासुको सितन निकै नै घातक बन्दछ । पहिल्यैदेखि फ्याट्टी लिभर वा कुनै अन्य कलेजोको समस्यामा यसले विषकै रुपमा काम गर्छ, रक्सी पिउनै हुँदैन । त्यसैले सकभर रक्सीको मात्रा शून्य वा कम गर्नुपर्छ । अथवा अल्कोहलको मात्रा कम भएको मद्यपान थोरै मात्रामा पिउनुपर्छ । बढी रक्सी पिउनेका साथमा रहेर वा कर गर्ने मान्छेसँग मिलेर कहिल्यै पिउनुहुँदैन । मन थाम्नै नसक्ने तर स्वास्थ्य सामान्य भएका व्यक्तिले आफूलाई सीमितमा राखेर नियन्त्रित किसिमले बढीमा तीसदेखि साठी मिलिलिटर रक्सी वा एक गिलास (बियर, वाइन र जाँडमध्ये कुनै एक) मा चित्त बुझाउने गरी हप्तामा एक–दुई दिन मात्र पिउने सर्तमा पिउनुपर्छ । सितनका रुपमा हरियो सलाद (मूला, काँक्रो, गाजर, बन्दाकोपी, सलादपात, चुकन्दर, गोलभेंडा आदिको बढी प्रयोग गर्नुपर्छ । शाकाहारीले पनि रक्सीमा बढी चिल्लो, उच्च क्यालोरीको पनिर वा तारेका तरकारी, चिप्सहरु आदि प्रयोग गरेको देखिन्छ, त्यसलाई कम गर्नुपर्छ ।

यो कुरा सदैव ध्यान दिऔं कि दुई–चार दिनको चाडबाडले सधैँका लागि समस्या ननिम्त्याओस् । पानीको मात्रा बढाउनुपर्छ । बढी रक्सीको बानी भएकाहरु यस्ता अवसरमा अनियन्त्रित भई पिउने गर्छन् र चाडबाडलाई विकृत बनाई परिवार वा साथीभाइलाई नै खल्लो बनाइदिन्छन् । यस्ताहरुलाई परिवार र साथीभाइले समयमै सीमित मात्रामा अंकुश लगाउनुपर्छ । मद्यपानकै कारण स्वयं सवारी चलाएर यात्रा गर्ने व्यक्तिहरु दुर्घटनाका सिकार हुन्छन् । चाडबाडमा मद्यपान बढी प्रयोग गर्दा ज्यानको खतरा हुने हुँदा सवारीसाधन चलाउँदा कदापि मद्यपान नगरौं ।

 

जोखिम र निराकरण

दसैँमा खानपान र जीवनशैली अव्यवस्थित हुनेहरुका लागि र पहिल्यैदेखि दीर्घरोग एवं यससम्बन्धी जोखिम भएका व्यक्तिहरुले सावधान नभएमा दसैँ घातक बन्दछ । खासगरी उच्च रक्तचाप, उच्च कोलेस्टेरोल, युरिक एसिड बढ्ने, मोटोपन, हृदयरोग, श्वासप्रश्वाससम्बन्धी रोग आदिले समस्या बढाउन सक्ने हुन्छ । दसैँमा अस्पतालका ओ.पी.डी. प्रायः बन्द हुने, डाक्टरहरु पनि छुट्टीमा बस्ने, औषधि–उपचार केन्द्रहरु बन्द हुने हुँदा नियमित औषधि खानुपर्ने बिरामीले समयमै डाक्टरको सल्लाह, आफूलाई चाहिने औषधिहरुको जोहो गर्नुपर्ने हुन्छ । दसैँ–तिहार वा अन्य समयमा लामो दूरीका यात्राहरुमा पनि केही आवश्यक औषधि साथमा राख्नुपर्ने हुन्छ । पखाला, आउँ, ज्वरो, दुखाइजस्ता आकस्मिक हुने समस्याहरुको लागि नियन्त्रणका निम्ति तथा चोटपटकमा लगाउने पट्टी र औषधि पनि पहिल्यै किनेर साथमा राख्नुपर्छ ।

तिहारको मिठाई, मसला

तिहारमा मिठाईहरुको प्रयोगका अतिरिक्त तारेभुटेका कुराहरु बढी खाने गरेको पाइन्छ । यसरी नै मांसाहार, मद्यपान आदिको पनि प्रयोग गरेको देखिन्छ । यसबाट शरीरमा अनावश्यक क्यालोरी, रसायन आदिको वृद्धि र मिसावटयुक्त मिठाई आदिले गर्दा समस्या सृजना हुने गर्छ । त्यसैले मिठाईको दैनिक उपभोगमा कमी ल्याउनुपर्छ ।

चाडबाड हाम्रो खुशीका लागि हो, पीडाको सृजना गर्न होइन । त्यसैले क्षणिक रमाइलोका लागि अनावश्यक खर्च नगरौं, स्वस्थ जीवनशैली अपनाऔं । स्वस्थ खानपान, स्वस्थ दिनचर्या र योग, पारिवारिक सुसम्बन्ध र सही ढंगले मनोरञ्जन गरौं । संस्कृतिको जगेर्ना गरौं, यसमा भएका विकृतिहरु घटाऔं । स्वस्थ बनौं र सुखी एवं समृद्धिको दिशामा अघि बढौं । दसैँ, तिहार, छठलगायतका चाडको यही शुभकामना !

प्रतिक्रिया दिनुहोस्