शाकाहारी मासु र अण्डा



लक्ष्मण अधिकारी ।

हरेक वर्ष दसैँमा हामी एकैचोटि लाखौँजनावर तथा पक्षी मारेर खान्छौँ। चाडबाडबाहेकका दिनहरुमा पनि मासुको ठूलो खपत भइरहेको हुन्छ । मासुको माग बढेसँगै कुखुरा, बाख्रा पालनका लागि हरेक वर्ष शहरदेखि गाउँसम्म खोर र गोठ बनाएर जमिन साँघुरो पार्दै लगिएको छ ।

हाल भइरहेको जनसंख्याको वृद्धि गतिलाई हेर्दा भविष्यमा जमिनको ठूलो हिस्सा मानव बसोबासका लागि प्रयोग हुनेछ । धान, मकै, गहुँलगायतका अन्न, हरिया तरकारी र गेडागुडी उत्पादनका लागि पनि जमिनको थप आवश्यकता पर्ने नै छ । अनि खसी, बंगुर, कुखुरा, माछा पाल्नको लागि जमिनको अभाव त हुने नै भयो । त्यस अवस्थामा मानिसको वृद्धि विकासमा सहयोग गर्ने प्रोटिनको मुख्य स्रोत मासुको आपूर्ति कसरी हुन्छ त ? के हाम्रा सन्ततीले मूला काटेर दसैँमनाउने ? प्रोटिनको अभावमा शरीरको विकास, वृद्धिकै अवरोध सहन सकिने हो र ?

अब वास्तविक मासु वा छालाका लागि जनावर मारिराख्नुपर्दैन । दसैँमा मासु खान खसी काट्नुपर्दैन । बर्गरका लागि जनावर मार्नुपर्ने छैन । अब जन्मेका हाम्रा छोराछोरीले आफ्ना बाबुआमालाई तपाईंको जमानामा मासु खान जनावर मार्नुपथ्र्यो रे ! हो ? भनेर सोध्ने स्थिति आउँछ ।

होइन, त्यसका निम्ति खाद्य वैज्ञानिकहरुले केही उपाय सुझाइसकेका छन् । शाकाहारी मासु, शाकाहारी अण्डा र भेगन चिज (पशुजन्य सामग्री प्रयोग नभएको) को उत्पादन हुन थालिसकेको छ । मानिसले खाँदा मासु नै खाएको अनुभव गर्ने तर यथार्थमा प्रोटिनयुक्त शाकाहारी वस्तुको निर्माण भएर बजारमा आउन थालिसकेको छ । यस कार्यमा नेपालका खाद्य वैज्ञानिक नारायण घिमिरेले पनि करिब एक दशकदेखि महत्वपूर्ण योगदान गरिरहनुभएको छ ।

खाद्य वैज्ञानिक नारायण घिमिरे

वरिष्ठ खाद्य वैज्ञानिक नारायण घिमिरे हाल फुड इनोभेसनको ‘सिलिकन भ्याली’ मानिने क्यानडाको सबैभन्दा ठूलो फ्लेवर हाउस फ्लेवरक्यान इन्टरनेसनल इन्कमा टेक्निकल म्यानेजरका रुपमा कार्यरत हुनुहुन्छ । वस्तु वा सेवाको गुणस्तर व्यवस्थापनका लागि दिइने उच्च स्तरको प्रोफेसनल सर्टिफिकेसन ‘लिन–सिक्स–सिग्मा मास्टर ब्ल्याक बेल्ट’ ले विभूषित घिमिरे तनहुँको बन्दीपुर गाउँपालिकामा ४९ वर्ष पहिले जन्मिनुभएको हो ।

हालै केही दिनका लागि नेपाल आएका बखत शाकाहारी मासु, शाकाहारी अण्डा र भेगन चिज उत्पादन र नेपालमा यसको सम्भावनाबारे साधना हेल्थ म्यागेजिनका सम्पादक लक्ष्मण अधिकारीले गर्नुभएको कुराकानीको सार :

शाकाहारी मासु, अण्डा उत्पादनको आवश्यकता किन पर्‍यो ?

सन् २०५० सम्म विश्वको जनसंख्या ९ अर्ब पुग्ने अनुमान छ र त्यो विशाल जनसंख्याका लागि परम्परागत सुधारिएको कृषिबाट उच्च स्तरको प्रोटिनको स्रोत मासु पुर्‍याउन सम्भव हुने देखिएन । किनकि जमिन मानिसका लागि चाहियो, जनावर कहाँपाल्ने ? कुखुरालाई २५ किलो दाना खुवाएर एक किलो मासु निकाल्नुभन्दा त्यही पाँच किलो दानाबाट सीधै प्रोटिन सिजनिङ गरी एक किलो चिकेन बनाउने हो भने त्यो स्वास्थ्यवद्र्धक मात्र होइन, सारा ग्रीनहाउस समस्याको समेत विकल्प हुने भेटियो । यस्तै लाभदायक अवस्था अन्य मासु, अण्डा आदिमा पनि भेटियो र संसार यसको उत्पादनमा उत्साहित बनेको हो ।

के बजारमा पठाउने गरी कारखानामा मासु, अण्डा उत्पादन हुन थालेको छ त ?

किन नहुनु ? विज्ञहरुले प्रोटिन सयौँवर्षदेखि बनाएकै थिए । त्यो सिजनिङको भाग हामीजस्ता इनोभेटिभ उद्योगको भागमा आइपर्‍यो अनि बनाइयो । भेगन दूध र चिजको कहानी पनि लगभग त्यस्तै छ ।

प्रोटिनको स्रोत गेडागुडी मात्र होइन, लेउ, झ्याउजस्ता पानीमा हुने वनस्पति र बिरुवाका जरा, डाँठ, पात आदि पनि हुन् । अर्को कुरा, हामी जनावर मारेर मासु निकाल्छौँ। राम्रो मासु भनेको कुखुराको छाती, खसीको ह्याकुलो होला । त्यसको छाला, हड्डी, भित्री र बाहिरी भाग सबै खेर जान्छ । अब किन त्यस्तो दुःख गरी–गरी हुर्काउने ?

ल्याबमा सीधै जनावरबाट जुन अंगको मासु चाहियो, त्यसकै स्टिम सेल लिएर मासु उमार्ने प्रविधि पनि फेला परिसकेको छ । अब वास्तविक मासु वा छालाका लागि जनावर मारिराख्नुपर्दैन । दसैँमा मासु खान खसी काट्नुपर्दैन । बर्गरका लागि जनावर मार्नुपर्ने छैन । अब जन्मेका हाम्रा छोराछोरीले आफ्ना बाबुआमालाई तपाईंको जमानामा मासु खान जनावर मार्नुपथ्र्यो रे ! हो ? भनेर सोध्ने स्थिति आउँछ ।

जसरी पाउरोटी फ्याक्ट्रीमा बन्छ, त्यसरी नै मासु र छाला पनि फ्याक्ट्रीमै बन्नेछ । यसरी ल्याबमा बनेको मासुमा जनावरको मासुमा जस्तो रसिलोपन, रगत र दुर्गन्ध नहुने भएकाले फेरि हामीजस्ता सिजनिङ बनाउने इन्कुबेटरको काम आउँछ । हामी त्यसमा पनि काम गर्दै छौं ।

समयको माग, जिम्मेवारीबोध र कामबाट हुने उत्साहजनक मुनाफाका कारण जनावर नमारी उत्पादन सम्भव हुने मासु, छाला, रगत, अण्डा बजारमा आएका हुन् । भेजिटेरियन मासु, छाला, रगत, अण्डा हाल संसारका प्रायः अधिकांश डिपार्टमेन्टल स्टोरमा यहाँले फेक मिट (नक्कली मासु) का नाममा पाएको हुनुपर्छ । स्टिमसेलबाट बन्ने मासु, छाला, रगत, अण्डाको उत्पादन सफल बनिसके पनि केही कानुनी उल्झनका कारण बजारमा आउन सकेको छैन ।

शतप्रतिशत वनस्पतिबाट बनेको बर्गर प्याटी

शाकाहारी मासु नेपालको बजारमा कहिलेसम्म आउन सक्छ ?

नेपालमा भेजी ससेज, भेजी बर्गरको रूपमा आइसकेको सुनेको छु । नआएको भए पनि तुरुन्तै आउनेछ । मेरो तर्क त के छ भने, विदेशबाट नेपाल आउनेभन्दा पनि हामीले नेपालमै बनाएर विदेशमा समेत बिक्री गर्नुपर्ने वस्तु हो यो ।

नेपाल, नेपालकै रैथाने लगभग सात हजार मेडिसिनल र एरोमेटिक प्लान्टको व्यावसायिक मुकाम हुन सक्छ । मेडिसिनल र एरोमेटिक भ्यालु पहिचान, प्रशोधन र व्यावसायिक विधिको ‘बडी अफ नलेज’ हस्तान्तरण जरुरी हुन्छ । इनोभेटिभ इन्कुबेटरहरुलाई नेपालमा आमन्त्रण गरी काम गर्ने वातावरण प्रदान गर्नुपर्छ । यसपछि शाकाहारी मासु र भेगन चिज नेपालमा सजिलै उत्पादन हुन्छ ।

नेपाल संसारको आधा जनसंख्या बोकेका भारत र चीनको बीचमा छ । भारतमा ठूलो जनसंख्या शाकाहारी छ । आधाभन्दा बढी मानिस युवा छन् र हातमा डिस्पोजेबल मनी पनि छ । त्यस्ता युवाहरु नयाँकुरा तुरुन्तै किनिहाल्ने र प्रयोग गरिहाल्ने प्रवृत्तिका हुन्छन् । त्यसकारण भारत आशलाग्दो बजार हो ।

यस्तै लेउ, झ्याउ कीरालगायत हर्बलका लागि चीन स्वर्ण बजार हो । आजको चीनमा प्रत्येक नागरिकसँग राम्रै डिस्पोजेबल मनी पनि छ । त्यसैले आज अमेरिका, क्यानडाजस्ता मुलुक त्यही चिनियाँबजारमा यी कुरा पैठारी गरी व्यापार गरिरहेका छन् । नेपालले त्यसको बढी लाभ लिन सक्छ ।

के कारखानामा बनाइएको मासु, अण्डाको स्वाद जनावरको जस्तै हुन्छ त ? अनि मूल्य नि ?

कारखानामा बनाइएको भेजिटेरियन मासु, छाला, रगत, अण्डा र ल्याबमै बनेको वास्तविक मासु, छाला, रगत, अण्डा हाल बजारमा उपलब्ध पक्षीबाट आएको अण्डा र जनावर मारी आउने मासु, छाला र रगत पकाइसकेर खानका लागि प्लेटमा पुगेको अवस्थामा छुट्याउन सकिँदैन, तर पकाउनुअघिको कच्चा पदार्थ भने प्रस्टै छुट्टिन्छ ।

सैद्धान्तिकरूपमा कारखानामा बनाइएको शाकाहारी मटन, चिकेन, अण्डा आदि जनावरबाट प्राप्त हुने मटन, चिकेन, अण्डाको तुलनामा कम्तीमा पाँच गुना सस्तो हुन्छ । यो सस्तोभन्दा पनि मानव आवश्यकता पूर्ति गर्ने विकल्परहित उपाय हो भन्ने मलाई लाग्छ ।

शाकाहारी मटन, चिकेन, अण्डा, स्वास्थ्यका दृष्टिले राम्रो विकल्प हुन सक्छ त ?

मानिस परम्परागतरुपमा शाकाहारी थियो, आगोको विकासपछि मांसाहारी बनेको पाइन्छ । हाम्रो शरीरले कम पकाइएको हरियो सागसब्जीबाट जति पौष्टिकता पाउँछ त्यति पाकेको सागसब्जीबाट पाउँदैन । जनावरले सागसब्जी खाएर, सागसब्जीको प्रोटिन टुक्र्याएर फेरि प्रशोधन गरी बनाएको प्रोटिनबाट जनावरको शरीरको मासु बन्छ । सागसब्जीको प्रोटिन प्रशोधन गरी बनेको जनावरको शरीरको प्रोटिनभन्दा सागसब्जीबाट सीधै प्राप्त गरिने प्रोटिन धेरै अर्थमा लाभदायक हुन्छ । शाकाहारी मटन, चिकेन, अण्डा, भेगन चिज आदि उच्च प्रशोधन गरिएको खाना हुँदाहुँदै पनि प्राकृतिकभन्दा स्वास्थ्यका दृष्टिले राम्रो विकल्प हुने देखिएको छ ।

कृत्रिम मासु बनाई प्याकिङ गर्ने तयारी

नेपालले किन यसलाई प्राथमिकता दिनुपर्छ ?

वस्तु वा सेवाको अमूल्यतालाई भ्यालु–एड भनिन्छ । कारखानामा बनाइने शाकाहारी मटन, चिकेन, अण्डा, भेगन चिज नेपालको समृद्धिका हिसाबमा अमूल्य भ्यालु–एडको विकल्प हो ।

मुलुकको १६ प्रतिशत खेतीयोग्य भनी मानिएको जमिनमा हाम्रो राष्ट्रको ८० प्रतिशत कृषिको लगानी खन्याउँदा पनि कृषकको जीवनपद्धति उँभो लाग्न सकेको छैन । मुलुकमा सजिलै उम्रने र हुर्कने जडीबुटीको आयुर्वेदिक, मेडिसिनल, सेनिटरी क्लिनर, एरोमेटिक फुड, फुड सप्लिमेन्ट र अन्य एस्सेसरिज बायोप्रडक्टको सम्भावना अत्यधिक रहेको छ । समयमै उचित लगानी गर्न सके कारखानामा बन्ने मटन, चिकेन, अण्डालगायत अन्य मेडिसिनल र एरोमेटिक उपजको लागि नेपालको ६८.०८ प्रतिशत भूभाग पकेट क्षेत्र हुन सक्छ ।

क्यानडा र अमेरिकी क्षेत्रका खाद्य र प्रविधिको नयाँ–नयाँसूचनाका आधारमा भन्नुपर्दा नेपालको विकासमा कायापलट आउने गरी प्रभाव दिन सक्ने कुनै क्षेत्र छ भने त्यो एरोमेटिक र मेडिसिनल मूल्य बोकेका वनस्पति र जीवाणु नै हुन् । त्यसैले नेपालले यस क्षेत्रलाई
प्राथमिकतामा राख्नुपर्छ ।

तपाईंले सिकेको ज्ञान र सीपलाई नेपालमा उपयोग गर्नेबारे के सोच्नुभएको छ ?

मैले जानेको नेपालमै गर्न सक्ने काम इनोभेसन को–क्रिएसन सेन्टर स्थापना र सञ्चालन हो । जुन नेपालको हावापानी सुहाउँदो ऊच्च जरुरतको क्षेत्र पनि छ । इनोभेसन को–क्रिएसन सेन्टरमार्फत नेपालको उद्यमशीलता विकासमा सहयोग पुर्‍याउने मेरो ड्रिम प्रोजेक्ट सरकारी उच्च अधिकारीहरुको दरिलो सहयोग र सरकारी लगानीविना सम्भव हुँदैन । यसको लागि परिस्थिति परिपक्क बनिसकेको छैन । परिपक्व बन्नासाथ नेपाल फर्कन अबेर गर्नेछैन ।

प्रतिक्रिया दिनुहोस्