वर्षा याममा मासु किन नखाने ?



वर्षा याममा बादलका कारण घाम कम देखिने, पानी बढी पर्ने, घाम लागे पनि चर्को किसिमले लाग्ने र गर्मी धेरै हुनेजस्ता कारणले मानिसको पाचन प्रणाली कमजोर भएको हुन्छ । यसले गर्दा खाना नपच्ने, झाडा लाग्ने, जलवियोजन हुनेलगायतका समस्या यो मौसममा धेरैले भोगिरहेका हुन्छन् । यस कारणले गर्दा स्वास्थ्यका दृष्टिले यस मौसममा के खाने, के नखाने भन्ने बारेमा सचेत हुन आवश्यक छ ।

विशेषज्ञहरुले यस याममा निम्न किसिमका खाना खान सल्लाह दिने गर्छन् ।

*गर्मी याममा मासु त्यसमा पनि विशेष गरी रातो मासु हानिकारक हुन्छ । यस मौसममा मासुमा भएको उच्च मात्राको प्रोटिन पचाउन कठिन हुन्छ । यसैका कारण फुड प्वाइजनिङको समस्या पनि हुन सक्छ । त्यसकारण गर्मी याममा माछा, मासु नखानु नै उत्तम हुन्छ ।

*यस मौसममा तारे–भुटेका खाना, जंक फुड, चिसो तथा गुलिया हल्का पेयपदार्थ आदि खाँदा पनि अपच हुने, फुड प्वाइजनिङको समस्या हुन सक्ने भएकाले यस्ता खाना नखाँदा नै उत्तम हुन्छ ।

*दूध, बटर, चीज, आइसक्रिमले पनि शरीमा तातोपना उत्पन्न गर्ने र पेटमा बेचैनी पैदा गर्न सक्ने भएकाले सेवन नगर्नु नै ठीक हुन्छ ।

*यस मौसमको लोकप्रिय फल आँप हो । आँपले पनि गर्मी उत्पादन गर्छ । मौसमअनुसारको फल खानु उचित नै हो, तर दैनिक दुईवटाभन्दा बढी खानुहुँदैन । यसले पेटसम्बन्धी समस्या उत्पन्न गर्न सक्छ । आँपले शरीरमा धेरै गर्मी उत्पन्न गर्ने भएकाले पेट गडबड भई झाडा लाग्ने, छालामा बिबिराहरु आउने हुन सक्छ ।

*गर्मी मौसममा मसलेदार खानाबाट पनि टाढै रहनु स्वास्थ्यका लागि लाभदायक छ । गर्मीमा मसलाले पाचनक्रियालाई खराब बनाइदिन्छ । यसले पेट तथा शरीरमा विभिन्न समस्या उत्पन्न गरिदिन सक्छ ।

*गहुँका उत्पादन पनि गर्मी खाद्यवस्नु हुन् । यसको प्रयोग पनि गर्मी याममा ठिक्क मात्र गर्नु राम्रो हुन्छ ।

*यस मौसममा चिया, कफी पनि सकेसम्म कम खानु नै स्वास्थ्यका लागि लाभदायक हुन्छ । यस्तै गरी बियर, वाइन, कोल्ड कफी, फु्रट जुस, गुलियोको मात्रा उच्च भएका सोडाजस्ता पेयपदार्थ पनि गर्मी याममा स्वास्थ्यका लागि लाभदायक हुँदैनन् ।

प्रतिक्रिया दिनुहोस्