बिर्सिने रोग : अनुसन्धानमा उल्झन



अल्जाइमर विश्वव्यापीरूपमा ज्येष्ठ नागरिकहरुले झेल्दै आएको ठूलो समस्या हो । पछिल्लो समय अमेरिकालगायतका मुलुकले यसबारेमा अनुसन्धान गरेर खोप पत्ता लगाई परीक्षणका रूप्मा प्रयोगमा ल्याएका छन् । यो उत्साहजनक कुरा भए तापनि यसको औषधि उत्पादनमा भने ठूला कम्पनीहरुले चासो नदिनु आश्चर्यकै विषय भएको छ । अल्जाइमर मानिसको दिमागलाई शिथिल बनाउने रोग हो । रोगको शुरुवातमा सामान्य बिर्सने व्यक्ति अन्तिमसम्म पुग्दा आफ्नै सन्तान, परिवार र आफैंलाई समेत बिर्सने अवस्थामा पुग्छन् । अल्जाइमर रोग लागेपछि मानिसको दिमागको न्युरोन कोशिकाहरुले काम गर्न छोड्छन् । त्यसपछि व्यक्ति एक–अर्कामा कुराकानी गर्न पनि छोड्दै जान्छ ।

विश्वका ख्यातिप्राप्त वैज्ञानिक एवं अनुसन्धानकर्ताहरुले हालै मात्र अल्जाइमर रोगका बारेमा एउटा प्रतिवेदन सार्वजनिक गरेका छन् । यसअनुसार अल्जाइमर रोग भाइरस र दुई थरी ब्याक्टेरियाले गर्दा हुन्छ ।

अमेरिकाको द युनिभर्सिटी अफ म्यानचेस्टर्स स्कुल अफ केमेस्ट्री एन्ड म्यानचेस्टर इन्स्टिच्युट अफ बायोटेक्नोलोजी विभागका प्रोफेसर डुग्लास किल्लीको नेतृत्वमा भएको अनुसन्धानको प्रतिवेदनअनुसार मानिसको शरीरमा आइरन राम्रोसँग पुगेन भने अल्जाइमर लाग्ने किटाणु सक्रिय हुन सक्छन् । त्यस्तै उक्त अनुसन्धान टोलीका सदस्य तथा युनिभर्सिटी अफ पिटोरियाका प्रोफेसर रिसियाका अनुसार रोगका किटाणुह्रु रगतमा उपस्थित भएको कारणले पूरै जीउभरि फैलने सुजन हुन सक्छ । जुन अल्जाइमर रोगको विशेषता हो ।

उच्च रक्तचाप, मधुमेह, मोटोपन, आधुनिक जीवनशैली, टाउकोमा चोट लागेको कारणले पनि अल्जाइमर हुने सम्भावना हुन्छ । साथै एक्लोपन पनि यसको अर्को कारण हुन सक्छ ।

अल्जाइमरले मस्तिष्कलाई नै निष्क्रिय बनाउँछ । अनि अमालाइडबाट पालक्यु बन्न सहयोग गर्छ । अल्जाइमर भएका बिरामीको दिमागमा पालक्युहरु देखिन्छन् । अनुसन्धान प्रतिवेदनअनुसार उपचारले अल्जाइमर रोगलाई ढिलो अथवा लाग्नै नदिने अवस्था ल्याउन सकिन्छ । लामो समय मानिसमा गरिएको अनुसन्धानअनुसार शुरुमा मानिसलाई हरपिस सिम्पलेक्स भाइरसका कारण ज्वरो आउँछ । त्यसपछि बिरामीमा दिन–प्रतिदिन बिर्सने समस्या शुरु हुन्छ । यो नै अल्जाइमरको संकेत हो । अनुसन्धानको क्रममा अल्जाइमर रोग लागेका मानिसको रगतमा फंगल संक्रमण र असामान्य खालका किटाणु (माइक्रो बायोटा) ह्रु पाइएको थियो ।

औषधि नबनाउने
फाइजर नामक अमेरिकाको चर्चित औषधि कम्पनीले पनि अल्जाइमर तथा पार्किन्सन्स रोगको प्रभावकारी उपचारकै लागि केही वर्षदेखि एउटा बृहत् अनुसन्धान गरिरहेको थियो । तर, फाइजरले गत जनवरीमा अचानक अल्जाइमर तथा पार्किन्सन्सजस्ता रोगको उपचारमा प्रयोग गरिने नयाँ औषधि नबनाउने घोषणा ग¥यो । फाइजरको यो घोषणाले बिरामी तथा शोधकर्ताबीच व्यापक निराशा छायो । त्यसअघि सो कम्पनीले अल्जाइमर रोगमा प्रयोग गरिने औषधिको खोजीका लागि लाखौं डलर खर्चिसकेको थियो । तर, एकाएक उक्त कम्पनीले सो रकम वैज्ञानिकह्रुको पकड मजबुत भएको अन्य क्षेत्रमा खर्च गर्ने घोषणा गर्‍यो ।

फाइजरको अनुसन्धान किन रोकियो ?

अमेरिकी औषधि कम्पनी फाइजरले पनि अल्जाइमरका बारेमा लामो समयदेखि अनुसन्धान गरिरहेको थियो । तर त्यस कम्पनीले अचानक अनुसन्धान रोकी यसको अनुसन्धान र औषधि उत्पादनमा हाल लगानी नगर्ने कुरा प्रकाशमा ल्याएर सबैलाई आश्चर्यमा पारेको छ ।

अमेरिकी पत्रिका वासिङ्टन पोस्टले जनाएअनुसार उक्त कम्पनीको खोजबाट आएको नतिजा अल्जाइमरविरुद्धको लडाइँमा महत्वपूर्ण हुने हुँदाहुँदै पनि उक्त कम्पनीले शोधको नतिजा गोप्य राख्यो । आखिर, यो नतिजा उनीहरुले किन गोप्य राखे ?

उक्त कम्पनीको अनुसन्धान अनुसार र्‍युम्याटिक आर्थराइटिसमा सुजन (सुन्निएको) कम गर्न प्रयोग गरिने फाइजर कम्पनीको औषधि ‘एन्ब्रेल’ले अल्जाइमरको खतरालाई ६४ प्रतिशतसम्मले कम गर्न सक्छ । सन् २०१८ मा फाइजर कम्पनीले गठन गरेको समितिले दिएको प्रस्तुतिमा भनिएको थियो, ‘एन्ब्रेलले अल्जाइमरको बढ्दो गतिलाई रोक्न सक्थ्यो, अल्जाइमरको उपचारमा उपयोगी हुन सक्थ्यो ।’ तर वासिङ्टन पोस्टले चाहिँ उक्त कम्पनीले ३ वर्षसम्म अध्ययन गरी गरेको आन्तरिक समीक्षाका क्रममा एन्बे्रल नामक औषधि सीधै मस्तिष्कमा पुग्न नसक्ने भएकाले यो औषधि अल्जाइमरका लागि प्रभावकारी नहुने टिप्पणी गरको थियो । साथै सो औषधि अल्जाइमरविरुद्ध प्रयोग गर्नका लागि क्लिनिकल ट्रायलको सम्भावना पनि कम रहेको उल्लेख गरिएको थियो । तर फाइजरले यो रिपोर्ट सार्वजनिक गरेन ।

वासिङ्टन पोस्टका अनुसार फाइजरले यो नतिजा सार्वजनिक नगर्नुको पछाडि अल्जाइमरको प्रभावकारी उपचारको खोजमा लागेका वैज्ञानिकलाई योे नतिजाले भट्काउन सक्ने भएकाले गोप्य राखिएको हो । अल्जाइमरबारे शोध गरिरहेका शोधकर्ता हार्डबर्ड मेडिकल स्कुलका प्रोफेसर रुडोल्फ ई. टेन्जीले यो नतिजा सार्वजनिक गर्नु जरुरी रहेको बताएका छन् । अनुसन्धानकर्ता वैज्ञानिकका लागि यो जानकारी निकै उपयोगी हुन सक्थ्यो । चाहे उक्त जानकारी सकारात्मक होस् वा नकारात्मक ।

अल्जाइमरका लक्षण

अल्जाइमर भएपछि मानिस कुनै पनि निर्णय आफैंले लिन नसक्ने हुन्छ । उसको बोलीमा पनि समस्या आउँछ । सम्झना शक्तिमा कमी आउँछ । उसले आफन्त, छोराछोरी, साथीभाइलाई समेत बिर्सन थाल्छ । यति मात्र नभई बिरामीले आफू बसेको ठाउँ भुल्ने, घरबाहिर जाँदा घर फर्कन नसक्ने, हातगोडा कमजोर हुने, सम्झने शक्तिमा कमी आउने हुन्छ । उसलाई कुनै पनि निर्णय लिन कठिन हुन्छ ।

अल्जाइमरका बिरामीमा पुराना कुराह्रु दोहोर्‍याइरहने बानी हुन्छ । नयाँ विषय, ठाउँको हेक्का राख्न नसक्ने हुन्छ । शरीर बिस्तारै शिथिल हुँदै जान्छ । आफ्नो कपडा लगाउन नसक्ने, खाना खानका लागि हात माथि नउठ्ने, भोकप्यासको पनि सम्झना नहुने हुन्छ । कुनै पनि कुराको सम्झना नआउने, दिसा–पिसाब कहाँ गर्नेसम्म हेक्का नहुने हुन्छ । शरीर कमजोर भएर काम्ने र लड्नेजस्ता समस्या पनि हुन्छन् । तर पनि बिरामीलाई एकै ठाउँमा बस्न मन लाग्दैन, हिँडिरहन खोज्छन् । रिसाउने, अरुले कुरा गरेको पनि मन नपराउने, जिद्धी गर्ने, मनमा डर–त्रास आउने हुन्छ ।

अल्जाइमर भएका मानिसको रोग बढ्ने प्रवृत्तिलाई केही कम गराउन र समस्याअनुसार व्यवस्था गर्न सकिए पनि यसको प्रभावकारी उपचार हालसम्म विकास भइसकेको छैन । त्यसैले समृद्ध मुलुकका समृद्ध मानिसले पनि रोगलाई झेलिरहेका हुन्छन् । आशा गरौं, भविष्यमा यसको प्रभावकारी औषधि उपचारको विकास हुनेछ ।

(नोट : यो लेख विभिन्न पत्रपत्रिका, अनलाइन तथा जर्नलमा प्रकाशित सामग्रीको सँगालो हो ।)
प्रस्तुति : कल्पना तिमल्सिना,
हाल : न्युयोर्क

प्रतिक्रिया दिनुहोस्