दक्षिण एसिया र अफ्रिकामा भोकमरी



पछिल्लो तथ्यांकअनुसार विश्वका एक अर्ब मानिस अल्पपोषणबाट ग्रसित छन् । विश्व भोकमरी सूचकांक २०१९ ले बालकुपोषणको मुख्य कारण विश्वव्यापी भोकमरी भएको जनाएको छ । यसबाट विश्वका करिब आधा बालबालिका प्रभावित छन् । सहारा अफ्रिका र दक्षिण एसियाका मुलुकमा भोकमरीको अवस्था सबैभन्दा उपल्लो तहमा रहेको देखाइएको छ ।

उक्त प्रतिवेदन तयारकर्ताहरुले ती मुलुकलाई विश्व भोकमरी घटाउन तथा बालकुपोषणको सामना गर्न आह्वान गरेका छन् । विश्व भोकमरी सूचकांक अन्तर्राष्ट्रिय खाद्य नीति शोध संस्था र कन्सर्न वल्र्डवाइडले तयार गरेको हो ।

राष्ट्रसंघीय खाद्य तथा विश्व संगठनले दैनिक १ हजार ८ सय किलो क्यालोरीभन्दा कम पोषण पाउनेलाई भोकको स्थिति भनेको छ । स्वस्थ र उत्पादनमूलक जीवनका लागि न्यूनतम १ हजार ८ सय किलो क्यालोरी आवश्यक पर्छ ।

सन् १९९० देखि २०१० सम्मको बीचमा कुपोषणग्रस्त मानिसको संख्या घटे पनि हालैका वर्षमा यसको संख्या निरन्तर बढिरहेको उक्त प्रतिवेदनमा उल्लेख गरिएको छ । सन् २०१९ को तथ्यांकले संसारमा १ अर्ब मानिसले पेटभर खान नपाएको देखिन्छ । विश्वव्यापी स्वास्थ्य सूचकांकले १ सय २२ वटा विकासशील र संक्रमणकाल दोहोरिएका मुलुकहरुलाई समेटेको छ । विशेष गरी २ वर्षभन्दा माथि उमेरका बालबालिकामा कुपोषणको असर उल्ट्याउनै नसक्ने खालको छ । भारतमा करिब ३० करोड बालबालिकालाई अल्पपोषणका कारण मानसिक विकासमा हानि पुगिरहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

स्रोत : विश्व स्वास्थ्य संगठन

प्रतिक्रिया दिनुहोस्