तपाईँका घरमा हाम्रा डाक्टर



दसैँमा प्रायः खुट्टा तथा जोर्नी दुख्ने समस्या हुन्छ । यो दसैँमा त्यस्तो हुन नदिन केही सुझाव पाउँछु कि ?
– जीवन, जोरपाटी ।

जीवनजी, दसैँमा धेरैको खुट्टा तथा जोर्नी दुख्ने समस्या देखिनुको कारण अधिक प्रोटिनयुक्त खानेकुरा खानाले हो । जस्तो– मासु, गेडागुडी, अण्डा, रक्सीको अत्यधिक उपयोग । प्रोटिन तथा रक्सी खानामा धेरै हुनासाथ युरिक एसिड रगतमा बढ्ने हुन्छ, जुन अत्यधिक हुनासाथ जोर्नी, हड्डी अनि मांसपेशीमा थिग्रिने हुन्छ । अनि जोर्नीमा ज्वलन हुने, पीडा हुने, दुख्ने, सुन्निने, रातो हुने हुन सक्छ । त्यस्तै अत्यधिक प्रोटिन सेवनले सो प्रोटिन पाचनपछि अन्य धेरै र्‍याडिकलहरु बन्ने र आफ्नो प्रभाव देखाएर जोर्नी अनि हड्डी दुख्ने हुन सक्छ । त्यस्तो हुन नदिन साधारणतया युरिक एसिडको मात्रा मापन गरी उच्च भएमा मासु, रक्सी सेवन नगर्ने अनि पानी धेरै पिउने गर्नुपर्छ । उच्च नभएमा पनि माथिल्लो तहतिर देखिएमा यिनीहरुको उपयोग नियन्त्रितरुपमा गर्ने र पानी प्रशस्त पिउने गर्नुपर्छ । अरुले पनि अत्यधिक मासु, अण्डा, रक्सीको उपयोग नगर्ने र पानी येथेष्ट पिउने गरेमा यस्ता समस्याबाट जोगिन सकिन्छ ।

म ५१ वर्षको भएँ । उच्च रक्तचाप र कोलेस्टेरोलको समस्या छ । दसैँमा घरमा प्रायः खसीको मासु नै खाइन्छ । रोग बढ्न नदिन मैले खानेकुरामा के–कस्तो सावधानी अपनाउनुपर्ला ?
– सरोजकृष्ण, नवलपरासी ।

सरोजकृष्णजी, उच्च रक्तचाप तथा उच्च कोलेस्टेरोलको समस्या अधिकत्तर जीवनशैलीका उपज हुन् भने केही मात्रामा वंशाणुगत हुन पनि सक्छन् । यस्तो अवस्थामा नून र चिल्लो नियन्त्रण गर्ने तथा शारीरिक सक्रियता बढाउने सल्लाह दिने गरिन्छ । जहाँसम्म दसैँको निहुँमा खसीको मासुको अत्यधिक सेवन यी दुवैका लागि राम्रा कुरा होइन । यदि माथि भनेजस्तो खानपानमा सावधानी अपनाएर चिल्लो कम, नून कम, शारीरिक व्यायाम नियमित गरेमा यी समस्याबाट बच्न सकिन्छ । यसका लागि एकदमै नियन्त्रितरुपमा थोरै मासु खाने, ज्यादा सलाद र फलफूल खाने गरेमा सुरक्षित रहन सकिन्छ ।

म काठमाडौंमा बस्छु । दसैँको बेलामा चाहिँ सधैँ तराईको घरमा जान्छु । फर्किंदा प्रायः मलाई लुतो र अरु चिलाउने खालका छालाका रोगले सताउँछ । यसबाट बच्ने कुनै उपाय छ कि ?
– किशोरी लाल, हाल : नयाँ बजार, काठमाडौं ।

किशोरीलालजी, सम्भवतः तपाईंको तराईको घरको पानी इनारको होला वा ट्युबवेलको होला । सो पानी सफा नहुन पनि सक्छ । त्यसैले सरसफाइ गर्दा, घिनाएर चिलाउने हुन सक्छ । त्यो पानी कसरी हुन्छ सफा पारेर, उमालेर वा फिट्किरी हालेर प्रयोग गर्नुपर्ने हुन्छ । पानी शुद्धीकरण गरेपछि मात्र साबुन लगाएर सो पानीले हातगोडा पखाल्ने, नुहाउने गर्नु तपाईंलाई हुने समस्याबाट बच्ने उपाय हो ।

दसैँजस्तो चाडबाडका बेला मासु, चिल्लो अलि बढी नै खाइन्छ । यो बढी खानाले स्वास्थ्यमा असर नगरोस् भन्नका लागि मैले के–कस्तो उपाय अपनाउन सक्छु ? सुझाव पाए आभारी हुने थिएँ ।
– रामशरण कार्की, हाल : बालाजु ।

रामशरणजी, तपाईंले भनेको सत्य हो, दसैँ भन्नासाथ खाली मासु धेरै खाने, त्यसमा पनि खसीको, अझ त्यसमाथि घिउ वा तेलमा मात्रै पकाएको कवाफ खाने÷खुवाउने चलन छ । यसलाई फलफूल तथा सादा खाना खाने चलनले प्रतिस्थापन गर्न अत्ति नै जरुरी छ । हाम्रो देशमा गरिबीको कारणले होला मासु खानु र खुवाउनु इज्जत, गर्व तथा खानदानी संस्कारको रुपमा लिने गरिन्छ । त्यो एकदमै गलत हो । कमभन्दा कम गरिष्ठ खानेकुरा खाने, बढी फलफूल खाने, सागसब्जी–सलाद अधिक लिने, व्यायाम गर्ने, त्यसमै खुशी हुने सल्लाह
दिन सकिन्छ ।

यो वर्षको दसैँ आइसकेको छ । यसपालि डेंगुले धेरैतिर सताएको छ । बसमा हिँड्दा र गाउँतिर घुम्न जाँदा यो रोगबाट कसरी बच्न सकिन्छ होला ?
– बृजेश गिरी, हाल : मंगलबजार, ललितपुर ।

बृजेशजी, डेंगु रोग लागेको लक्षण उच्च ज्वरो आउने, मांसपेशी, हड्डी, हातखुट्टा, टाउकोको पछाडि सबै एकदमै दुख्ने हो । साथै उल्टी हुने, रक्तश्रावले गर्दा शरीरका विभिन्न भागमा नीला–राता डाम आउने हुन सक्छ । यस्ता लक्षण देखिएमा तुरुन्त अस्पतालमा सम्पर्क राख्ने वा चिकित्सक भेट्ने गर्नुपर्छ । यो खास गरी दिनमा टोक्ने लामखुट्टेले सार्ने हुनाले लामखुट्टेको टोकाइबाट बच्नु जरुरी हुन्छ । हिँड्दा, घुम्न जाँदा, यात्रा गर्दा कसरी लामखुट्टेको टोकाइबाट बच्न सकिन्छ भन्ने ख्याल राख्न जरुरी हुन्छ । शरीरमा लगाउने मस्क्युटो क्रिम पाइन्छ । त्यो लगाउन सकिन्छ । त्यस्तै शरीर ढाक्ने गरी लुगा लगाउनुपर्छ ।

चाडबाडका खानाले मानिसहरु झाडापखालाबाट ग्रस्त भएको पनि देखिन्छ । यस्तो समस्या आउन नदिन र भइहालेमा कसरी घरमै उपचार गर्न सकिएला ?
– सरस्वती तामाङ, बौद्ध, काठमाडौं ।

सरस्वती तामाङजी, यस्तो समस्या धेरै खाएर अपच भएमा, सफा खाना नखाएमा वा खाना दूषित भएमा, बासी खाएमा वा फुड पोइजनिङ भएमा हुन सक्छ । यस्तो समस्या आउन नदिनको लागि स्वास्थ्य र सरसफाइमा ध्यान दिने गर्नुपर्छ । खानुअघि, ट्वाइलेट गएपछि, बाहिरी काम गरेपछि साबुन–पानीले हात धुने, गर्नुपर्छ । त्यसै गरी बासी नखाने, जथाभावी झिँगा भन्केको नखाने, ठिक्क र थोरै पाच्य किसिमले खाने आदि कुरामा ध्यान दिनुपर्छ । यदि झाडापखाला लागिहालेमा जीवनजल प्रशस्त पिउनुस् । आफैं नियन्त्रण हुने छाँटकाँट नदेखिएमा तुरुन्तै अस्पतालको सघन कक्षमा सम्पर्क गर्न जरुरी हुन्छ ।

प्रतिक्रिया दिनुहोस्