डेंगुबाट बचौँ



डेंगु मुलुकका तराई र पहाडका प्रायः सबै जिल्लामा फैलिँदै गएको पाइएको छ । यो रोग मुलुकको राजधानी काठमाडौंमा पनि संक्रमण भइरहेको छ । सरकारले यो रोगको नियन्त्रणमा सफलता हासिल गरी नसकेकोले जनस्तरबाट पनि रोग नियन्त्रणका लागि पहल गर्नुपर्ने देखिएको छ ।

यो रोग यस वर्ष जेठ महिनामा धरानमा पहिलोपटक संक्रमण भएको पाइएको थियो । त्यसपछि मुलुकभर फैलिन लागेको छ । काठमाडौंमा भदौबाट यो रोग देखिन थालेको हो । अहिले डेंगुको आशंकामा अस्पताल पुगेकामध्ये करिब आधा बिरामीमा यो रोगको संक्रमण भेटिएको छ । स्थानीय, प्रदेश र संघीय सरकारका बीच उचित समन्वय हुन नसकेको, उच्चपदस्थ स्वास्थ्य अधिकारीहरुले रोग नियन्त्रणका लागि बेलैमा सचेतता नअपनाएको, जनचेतनामा कमीलगायतका कारणले यो रोग हाल महामारीका रुपमा फैलिन थालेको छ ।

डेंगु रोगबाट बच्नका लागि यो रोग सार्ने लामखुट्टेको नियन्त्रण गर्नुपर्ने चिकित्सकहरुको सुझाव छ । यो रोग मानिसबाट मानिसमा सर्दैन, एडिस जातको पोथी लामखुट्टेले टोकेर रोग फैलाउँछ । घरवरिपरि पानी जम्न नदिने, झुल लगाएर सुत्ने हो भने यो रोगबाट धेरै हदसम्म बच्न सकिन्छ । यो रोग सार्ने लामखुट्टेले प्रायः बिहान–बेलुका टोक्ने गर्छ ।

यो रोग लाग्दा टाउको दुख्ने, शरीरमा मसिना बिमिरा आउने, ज्वरो आउने, शरीरको पछाडिको भाग दुख्ने आदि लक्षण देखिन्छन् । कतिपय बिरामीलाई चक्कर लाग्ने हुन्छ । खानाको स्वाद फरक लाग्ने, भोक कम लाग्ने, पखाला लाग्ने, टाउको एवं कम्मर दुख्ने जस्ता लक्षण देखिन्छन् । यस्ता लक्षण देखिएमा अस्पताल वा चिकित्सकको सम्पर्कमा जानुपर्छ ।

प्रतिक्रिया दिनुहोस्