रोग नियन्त्रणमा सफलता



विश्व स्वास्थ्य संगठनले नेपाललाई सार्वजनिक स्वास्थ्यमा उपलब्धि हासिल गरेबापत सम्मान गरेको छ । हेपाटाइटिस बीको नियन्त्रणमा सफलता प्राप्त गरेबापत संगठनले नेपाललाई सम्मान गरेको हो ।

विश्व स्वास्थ्य संगठनको दक्षिणपूर्वी एसिया क्षेत्रीय कमिटीको ७२औँ सेसनमा स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले प्रशंसापत्र ग्रहण गर्नुभएको थियो । विश्व स्वास्थ्य संगठनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेपाल दक्षिण–पूर्वी एसिया क्षेत्रमा हेपाटाइटिस ‘बी’माथि नियन्त्रण प्राप्त गर्ने पहिलो मुलुक बनेको छ ।’ नेपालसहित यस क्षेत्रका अन्य ३ मुलुक पनि हेपाटाइटिस ‘बी’ नियन्त्रणमा पहिलो बनेका छन् ।

नेपालसहित दक्षिण–पूर्वी एसिया क्षेत्रका भूटान, थाइल्यान्ड र बंगलादेशलाई हेपाटाइटिस ‘बी’को नियन्त्रणमा सफलता हासिल गरेबापत प्रशंसापत्र प्रदान गरिएको हो । उल्लिखित देशले ५ वर्षभित्रका बालबालिकामा हेपाटाइटिस ‘बी’को संक्रमण १ प्रतिशतभन्दा कममा झारेको र त्यसमार्फत क्रोनिक इन्फेक्सन र लिभर क्यान्सरका कारणहरुलाई न्यूनीकरण गरेको बताइएको छ ।

त्यसै गरी विश्व स्वास्थ्य संगठनले आमाबाट बच्चामा सर्ने एचआईभी र सिफिलिस उन्मूलन गरेबापत माल्दिभ्सलाई र दादुरा उन्मूलन गरेबापत श्रीलंकालाई पनि सम्मान गरेको छ । नेपालले हेपाटाइटिस ‘बी’माथि नियन्त्रण पाउनुमा सरकारले चलाएको यसविरुद्धको खोप कार्यक्रमको सफलतालाई नै मुख्यरुपमा लिइएको छ ।

प्रतिक्रिया दिनुहोस्