स्वास्थ्य मन्त्रालयको आगामी कार्यदिशा



स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘राष्ट्रिय स्वास्थ्य नीति २०७६’ र १५औं योजनालाई यसै आर्थिक वर्षदेखि कार्ययोजना बनाई कार्यान्वयन गर्ने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आर्थिक वर्ष २०७५/७६ मा गरेका मुख्य उपलब्धिहरु जानकारी गराउने क्रममा मन्त्रालयको आगामी कार्यदिशाबारे जानकारी दिँदै सो कुरा बताइएको हो । सो अवसरमा दिइएको जानकारीअनुसार स्वास्थ्य मन्त्रालयको कार्यसम्पादनलाई प्रभावकारी बनाउन महाशाखाहरुको संरचना र कार्य विवरणलाई परिमार्जन गर्ने भएको छ । यस्तै गरी अस्पताल व्यवस्थापनमा विशेष ध्यान दिइने, आईसीयुको बेड संख्या वृद्धि गर्ने र सरकारी अस्पतालमा अप्रेसन गर्न कुर्नुपर्ने अवस्थाको अन्त्य गर्ने कार्ययोजना बनाएको छ । मन्त्रालयले डिजिटल प्रविधिको प्रयोग गरी केन्द्रीय अस्पतालहरूको गतिविधि मन्त्रालयबाट हेर्न सकिने प्रबन्ध गर्न लागेको पनि सो अवसरमा जानकारी दिइएको थियो ।

स्वास्थ्य मन्त्रालयले स्वास्थ्य सेवाका अधिकतम क्षेत्रलाई समेट्दै मुलुकभरि स्वास्थ्य सेवाको पहुँच बढाउन संघ, प्रदेश र स्थानीय सरकार तथा गैरसरकारी सेवाप्रदायक संस्थाहरुसँग साझेदारी कार्यक्रम सञ्चालन गर्नेसमेत जनाएको छ ।

अस्पतालहरूलाई मागको आधारमा नभई अनुगमन गरी आवश्यकताका आधारमा अनुदान रकम दिने, राष्ट्रिय स्वास्थ्य महासभाको आयोजना गर्ने, विभागीय तथा महाशाखा प्रमुखहरूसँग कार्यसम्पादन सम्झौता गरी कामकारबाही प्रभावकारी बनाउने कार्यक्रम पनि तय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्