ब्रेन स्ट्रोकलाई बेवास्ता नगरौँ



लक्ष्मण अधिकारी

डा. पंकज जलान

उज्ज्वललाई कस्तो छ अंकल ?

मेरो दुविधायुक्त प्रश्नको जवाफमा उहाँले सरल पारामा भन्नुभयो, ‘ऊ बितेको एक महिना भो, तिमीले थाहा पाएनौ ? गयो, राम्रै भो, बाँचेर के गर्नु त्यस्तो बिजोग ? आफू मात्र होइन, परिवारको लाइफ पनि चौपट भाथ्यो ।’ सुनेर मेरो छाती निकै भारी भो, बोल्नै सकिन । उहाँले नै थप्नुभयो, ‘उसका हातखुट्टा चल्नै सकेनन्, बोली आउँदै आएन, खानेकुरा निल्न सकेन, आँखा ट्वाल्ल पारिरहन्थ्यो, अलि–अलि मात्र देख्थ्यो, दिसा–पिसाब नियन्त्रणमा थिएन । यस्तो लासजस्तो भएर बाँच्नुभन्दा …!’ यति भनेपछि उहाँको पनि गला अवरुद्ध भयो ।

मस्तिष्कघातलाई कसरी चिन्ने ?
ब्रेन स्ट्रोक अर्थात् मस्तिष्कघात एक्कासी हुन्छ । एक्कासी देखिने लक्षणको आधारमा ब्रेन स्ट्रोक हुन लागेको थाहा पाउन सकिन्छ । मस्तिष्कघातको लक्षण चिन्न सहज होस् भनेर न्युरोलोजिस्टहरूले समुदायका लागि ‘बी फास्ट’(BE FAST)  भन्ने फर्मुला तयार गरेका छन् ।

५१ वर्षकै उमेरमा ब्रेन स्ट्रोक अर्थात् मस्तिष्कघात भएर ढलेको मित्र ठीक होला भन्दाभन्दै करिब दुई वर्षको कठिन निष्क्रिय जीवनपछि बितेछ । आफ्नै बाबुले ‘मरेकै ठीकै भो’ भन्ने स्थितिमा पुग्नु भनेको ऊ स्वयंले कति पीडा पाइरहेको थियो, परिवारलाई कति तनाव भइरहेको थियो, अनुमानसम्म गर्न सक्थेँ ।

स्वस्थ हुँदा पनि ऊ छिटो धनी हुने महत्वाकांक्षाले सधैँ तनाव लिएर काममा व्यस्त हुन्थ्यो । चुरोटको धुवाँ फुरुरु उडाउँदै मदिरापान गर्न रमाउने उज्ज्वल अब केवल सम्झनामा मात्र रह्यो । उज्ज्वलजस्ता कैयौँ मानिस बर्सेनि यसै गरी मस्तिष्कघातको सिकार हुन्छन्, त्यसमध्ये केही आफ्नै खराब जीवनशैलीका कारण… ।

चिकित्सकहरू भन्छन्, ‘हृदयघात र मस्तिष्कघात प्रायः उस्तै प्रकृतिबाट हुन्छ तर हृदयघातले तत्काल मृत्यु हुने सम्भावना धेरै हुन्छ भने मस्तिष्कघातले लामो समय लाससरह जीवन जिउनसमेत बाध्य पार्न सक्छ, परिवारको जीवन पनि क्षतविक्षत पारिदिन्छ ।

उपचारकै हिसाबले पनि मस्तिष्कघातको उपचार हृदयघातको भन्दा कम खर्चिलो छैन ।’ तर पनि आममानिस मस्तिष्कघातको बारेमा उति सचेत देखिँदैनन्, किन होला ?

नर्भिक इन्टरन्यासनल हस्पिटलका वरिष्ठ न्युरोलोजिस्ट डा. पंकज जलान भन्नुहुन्छ, ‘ब्रेन स्ट्रोकलाई मस्तिष्कको गम्भीर रोग मानिन्छ । यो एउटा इमर्जेन्सी अवस्था हो । मस्तिष्कघात भनेको हृदयघातजस्तै नै हो । मुटुमा आउने अट्याक र मस्तिष्कमा आउने अट्याकको कारण लगभग उस्तै हुन्छ ।

फरक के छ भने, मस्तिष्कघात हुँदा दुख्दैन । हृदयघात हुँदाचाहिँ छातीमा एकदमै दुख्छ । शरीरका कुनै अंग दुख्यो भने मानिसले त्यसलाई गम्भीरतापूर्वक लिन्छन्, नदुख्नेमा त्यसरी लिँदैनन् । तर मस्तिष्कघात पनि अत्यन्तै गम्भीर केस हो, बिरामीलाई तुरुन्तै इमर्जेन्सीमा लान आवश्यक हुन्छ ।

बी (B) भनेको ब्यालेन्स हो । हिँड्दा शरीरको सन्तुलन एक्कासी बिग्रियो, एक्कासी हुत्तियो भने यो स्ट्रोकको लक्षण हुन सक्छ । ई(E) भनेको आई अर्थात् आँखा हो । एक्कासी आँखा हेर्न गाह्रो भयो, तिर्मिरायो, हेर्दा कालो भयो भने पनि स्ट्रोकको लक्षण हुन सक्छ ।

एफ (F) भनेको फेस । कुरा गर्दागर्दै मुख बांगियो, मुख असन्तुलित भयो भने पनि स्ट्रोकको लक्षण मान्न सकिन्छ । ए(A) भनेको आर्म अर्थात् हात हो । हातहरू चलाउँदा एक्कासी लुलो भयो, झमझम भयो भने त्यो स्ट्रोकको लक्षण हुन सक्छ । एस (S) भनेको स्पीच अर्थात् बोल्दा एक्कासी बोली लरबरायो भने स्ट्रोकको लक्षण हुन सक्छ । टी (T) चाहिँ टाइम हो । स्ट्रोकको उपचारमा सबैभन्दा महत्वपूर्ण समय हो । ‘टाइम इज बे्रन’ पनि भन्ने गरिन्छ । ब्रेन स्ट्रोकका लक्षणहरू देखिएमा सकेसम्म छिटो उपचार गर्न जानुपर्छ । मस्तिष्कघात भएको साढे चार घण्टा वा सो भन्दा जति छिटो पुग्न सक्यो त्यति नै क्षति कम र लाभ बढी हुन्छ ।

तुरुन्त उपचार नपाउँदा यसले अरु रोगले भन्दा बढी अशक्ततता ल्याउँछ । मस्तिष्कघात भएको सात दिनभित्र मृत्यु हुने सम्भावना धेरै हुन्छ । प्यारालाइसिस भएर पछि बेडसोर हुने र त्यसैले मृत्यु हुन सक्छ ।

यस बेला खान गाह्रो हुन्छ, खानाहरू सर्कियो भने निमोनिया भएर मृत्यु हुन सक्छ । बे्रन ह्यामरेज एकदम धेरै भयो भने तत्कालै मृत्यु हुन पनि सक्छ । ब्रेन स्ट्रोक खतरनाक समस्या भएकाले यसलाई गम्भीररुपमा लिनुपर्छ ।’ डा. जलानका अनुसार ‘मस्तिष्कघात दुई प्रकारको हुन्छ ।

एउटा हो मस्तिष्कको कुनै भागमा रगतको कमी भएर हुने र अर्कोचाहिँ रगत बढी भएर हुने । केही गरी गिदीमा रगत लाने नसा जाम (ब्लक) भयो र रगत प्रवाह हुन सकेन भने त्यसलाई इस्केमिक स्ट्रोक (ischemic stroke)  भनिन्छ ।

इस्केमिक स्ट्रोक धेरै कमन छ । ७० देखि ८० प्रतिशत मस्तिष्कघात यही कारणले हुने गर्छ । ‘कुनै कारणबाट रगतको नसा फुटेर गिदीमा रगत जम्यो भनेचाहिँ त्यसलाई ब्रेन ह्यामरेज ( Hemorrhagic stroke ) भनिन्छ ।

२० देखि ३० प्रतिशत मस्तिष्कघात रगतको नसा फुटेर हुने गर्छ’, डा जलान भन्नुहुन्छ ।जीवनशैली परिवर्तनका कारण करिब दुई दशकयता डायबिटिज, उच्च रक्तचाप, कोलेस्टेरोल आदि दीर्घरोगहरू बढिरहेकोले पनि नेपालमा मस्तिष्कघातको समस्या बढ्दै गएको चिकित्सकहरूको भनाइ छ ।

काठमाडौं मेडिकल कलेजले गरेको अध्ययनअनुसार अस्पताल भर्ना भएका एक हजार बिरामीमध्ये ६० जनामा मस्तिष्कघात भएको पाइएको थियो । यसलाई उच्च दर मानिन्छ ।

उमेरका हिसाबले चाहिँ ५९ देखि ६२ वर्ष उमेरका मानिसलाई मस्तिष्कघात बढी भएको पाइएको छ । विकसित देशहरूमा बढी उमेरका मानिसलाई मस्तिष्कघात धेरै हुने गरेको पाइए पनि नेपालमा चाहिँ बढी उमेरका साथै २५ देखि ४५ वर्षका युवाहरूमा पनि मस्तिष्कघात प्रशस्तै देखिने गरेको न्युरोलोजिस्ट डा. जलानको अनुभव छ ।

उहाँका अनुसार नेपालमा मुटुको रोग ‘¥युम्याटिक हार्ट डिजिज’ धेरैलाई हुने गरेको र यसका कारण पनि युवा अवस्थामा धेरैलाई मस्तिष्कघात हुने गरेको छ । उहाँ भन्नुहुन्छ, ‘मुटुको भल्भ खराब भयो भने मुटुमा रगत जमेर रगतको चोक्टा दिमागमा गइदिने हुन्छ । यसले पनि मस्तिष्कघातको सम्भावनालाई बढाइदिन्छ ।’

मस्तिष्कघात खतरनाक एवं पीडादायी रोग हुँदाहुँदै पनि चेतनाको अभावले गर्दा मानिसहरूले यसलाई महत्व नदिएजस्तो देखिन्छ । सञ्चारमाध्यममा यसबारेमा तुलनात्मकरुपमा कम चर्चा हुन्छ । साथै सरकारले पनि मस्तिष्कघातलाई मुटुरोगलाई जति प्राथमिकतामा राखेको देखिन्न ।

तर मस्तिष्कघात पनि अहिले मानिसको मृत्युको प्रमुख पाँचवटा कारणमध्ये एउटा भइसकेको छ । त्यसैले मस्तिष्कघातलाई अरु विकसित देशहरूले जस्तै नेपालमा पनि महत्व दिन आवश्यक छ ।

नियन्त्रणमा आफ्नै भूमिका

मस्तिष्कघातबाट बच्नको लागि यसका महत्वपूर्ण पाँचवटा रिस्क फ्याक्टरहरूमध्ये चारवटालाई परिवर्तन गरेर मस्तिष्कघातबाट धेरै हदसम्म जोगिन सकिन्छ । डा. पंकज जलान भन्नुहुन्छ, ‘हाम्रो उमेर जति बढ्दै गयो, स्ट्रोक हुने सम्भावना त्यति नै बढ्दै जान्छ ।

उमेर अपरिवर्तनीय हो । उमेरका कारणले हुने मस्तिष्कघातबारे सचेत रहने र लक्षण देखिनासाथ उपचारमा जाने हो भने पीडाबाट धेरै हदसम्म बच्न सकिन्छ । तर अरु चारवटा महत्वपूर्ण रिस्क फ्याक्टरलाई परिवर्तन गर्न सकिन्छ । जस्तो– नियमितरुपमा रक्तचाप, डायबिटिज र कोलेस्टेरोल जाँच्ने र आवश्यक परे औषधि खाएर नियन्त्रण गर्न सकिन्छ ।

पाँचौं रिस्क फ्याक्टर भनेको धूमपान हो, जसको त्यागबाट मात्र पनि मस्तिष्कघातको जोखिम घट्छ । यसबाहेक मदिरा, प्रदूषण, मुटुका रोगहरू, तनावलगायतका अरु पनि थुप्रै रिस्क फ्याक्टरहरू छन्, जसलाई हामी घटाउन वा परिवर्तन गर्न सक्छौँ ।

वंशाणुगतरुपमा रगत बाक्लो छ भने पातलो पार्न सकिन्छ, बाथ मुटुका रोग समयमै उपचार गरेर नियन्त्रण गर्न सकिन्छ, जसले गर्दा मस्तिष्कघातको जोखिम कम गर्न सहयोग पुग्छ ।’

मस्तिष्कघातबाट बच्नका लागि जीवनशैली सुधारलाई महत्वपूर्णरुपमा लिइन्छ । आधुनिक जीवनशैलीका कारण उच्च रक्तचाप, सुगर, कोलेस्टेरोल आदि बढिरहेकोले यस्ता रोगको नियन्त्रणका लागि खानामा चिल्लोको मात्रा घटाउने, नियमित व्यायाम गर्ने र फलफूल, हरियो तरकारी खानामा सधैँ समावेश गर्नुपर्ने डा. पंकज सुझाव दिनुहुन्छ ।

यस्तै गरी पारिवारिक भेटघाट र अन्तरक्रिया बढी गरेर, घुम्न गएर तनाव घटाउन सकिन्छ । आज मानिसहरू कम्प्युटरसँगको व्यस्तता र मोबाइलसँगको मौनतामा धेरै समय व्यतीत गरेर तनाव वृद्धि गरिरहेका छन् । यसलाई घटाएर पारिवारिक अन्तरक्रिया र शारीरिक क्रियाकलापलाई बढावा दिन जरुरी छ ।

यस्तै गरी आफूखुशी औषधि नखाने, रगत पातलो पार्ने औषधि खाएको छ भने नियमित रगत परीक्षण गर्ने र जंक फुडको सट्टा ताजा गेडागुडी र फलफूलमा जोड दिने, योग तथा अध्यात्मतिर लागेर आफूलाई रिल्याक्स अवस्थामा राख्ने प्रयास गर्दा मस्तिष्कघातको खतरालाई आफैंले धेरै हदसम्म घटाउन सकिने डा. जलानको भनाइ छ ।

क्षति कम गर्न छिटो अस्पताल

मस्तिष्कघात भइहालेमा यसबाट हुन सक्ने मृत्यु र दीर्घकालीन असरहरूबाट बच्न सकेसम्म सिटिस्क्यानको सुविधा भएको अस्पतालमा भरसक छिटो पुग्नुपर्ने चिकित्सकहरूको सुझाव छ ।

नर्भिक अस्पतालको स्ट्रोक टिम

बे्रन स्ट्रोक भएको साढे चार घण्टाभित्र अस्पताल पुग्न सकेमा टीपीए (Tpa) नामक विशेष औषधि दिएर ब्रेन स्ट्रोकको कारण हुन सक्ने क्षति कम गर्न सकिने डा. जलान बताउनुहुन्छ ।

यदि साढे चार घण्टाभित्र बिरामी अस्पताल पुग्न सकेन र मस्तिष्कमा रगत जमेको चोक्टा देखियो भने २४ घण्टाभित्र मस्तिष्कमा तार छिराएर चोक्टा निकाल्ने प्रविधि पनि हाल नेपालमा आइसकेको डा. जलानले जानकारी दिनुभएको छ ।

हालै नेपाल भित्रिएको नयाँ प्रविधिको यो ‘न्युरो इन्टरभेन्सन’ अन्य केही ठूला अस्पताललगायत नर्भिक अस्पतालमा पनि उपलब्ध रहेको सोही अस्पतालको मेडिकल डाइरेक्टरसमेत रहनुभएका डा. जलानले जानकारी दिनुभएको छ ।

यदि बिरामीले साढे चार घण्टाभित्र उपचार गर्न पाएन भने रक्तनली बन्द भएर मस्तिष्कको जुन भागले रगत नपाएको वा नक्तनली फुटेर मस्तिष्कको जुन भागमा रगत पोखिएको हो, त्यो भाग ड्यामेज हुन्छ ।

ब्रेनका न्युरोनहरू (ब्रेनका नसा) मर्दै जान्छन् । यसरी मरेका न्युरोनहरू अरु घाउजस्तो उपचारले निको हुँदैनन् । यसरी मरेका न्युरोनहरूले शरीरको कुन अंगलाई नियन्त्रण गर्ने हो, त्यो अंगमा गडबडी हुन्छ ।

जस्तो– बोलीसँग सम्बन्धित न्युरोनमा क्षति पुगेको भए बोली लर्बरिन्छ, हातखुट्टासँग सम्बन्धित न्युरोनमा क्षति पुगेको भए हातखुट्टा चल्दैनन्, प्यारालाइसिस हुन्छ ।

यति भएर पनि फिजियो थेरापीबाट सुधार हुन सक्छ । तर उच्च रक्तचाप, कोलेस्टेरोल, डायबिटिज भएको, धूमपान, मद्यपान गर्ने मानिसमा चाहिँ सुधार हुन कठिन हुन्छ । उमेर बढी भएको बिरामीमा पनि उपचार त्यति धेरै प्रभावकारी नहुने डा. जलान बताउनुहुन्छ ।

नेपालमै स्तरीय उपचार

नेपालमा न्युरोलोजीसम्बन्धी उपचार सेवाको विकास हुन थालेको केही वर्ष मात्र भएकोले आवश्यकताअनुसार अस्पतालहरूको विस्तार हुन नसके पनि उपचार प्रविधिको हिसाबले हाल विश्वमा मस्तिष्कघातको उपचारमा जुन प्रविधिको प्रयोग भइरहेको छ नेपालमा पनि सोही प्रविधिको प्रयोग भइरहेको डा. पंकजको भनाइ छ ।

मस्तिष्कघातको उपचारमा समय धेरै महत्वपूर्ण हुने भएकाले जहाँ स्ट्रोक भयो त्यहीँ उपचार सुविधा हुनुपर्ने हो तर यस हिसाबले अस्पतालहरूको विस्तार भएको छैन । हाल काठमाडौंका प्रमुख अस्पतालहरू, विराटनगर, पोखरा र बुटवलमा पनि मस्तिष्कघातको महत्वपूर्ण औषधि टीपीए दिन सकिने सुविधा उपलब्ध छ ।

नर्भिक इन्टरन्यासनल हस्पिटलमा महिनामा तीन–चार जना बिरामीले टीपीए औषधि लिने गरेको डा. जलान बताउनुहुन्छ ।

मस्तिष्कघातको उपचारका लागि यस अस्पतालमा न्युरोलोजिस्ट, न्युरो सर्जन, रेडियोलोजिस्ट न्युरोइन्टेन्सिभिस्ट र नर्ससमेतको डेडिकेटेट स्ट्रोक टिम रहेको र सो टिमले साढे चार घण्टाभित्र अस्पताल पुगेको बिरामीलाई परीक्षण, एमआरआई, सिटी स्क्यान गरेर ६० मिनेटभित्र टीपीए(Tpa) औषधि दिने/नदिने निर्णय गर्न सहयोग गर्ने गरेको डा. जलान बताउनुहुन्छ ।

तर यो औषधिलाई डेढ लाखसम्म पर्ने हुँदा बिरामीलाई औषधि उपभोग गर्न कठिन भइरहेको छ । त्यसैले नेपाल एकेडमी अफ न्युरोलोजी र नेपाल स्ट्रोक एसोसिएसनले टीपीए औषधिलाई निःशुल्क वितरण गर्न सरकारसँग अनुरोध गरिरहेको बुझिएको छ ।

यो लाइफ सेभिङ मेडिसिन भएकाले विश्व स्वास्थ्य संघले यसलाई आत्यावश्यक औषधिको सूचीमा राखेको छ ।

सरकारले टीपीए औषधि निःशुल्क दिने व्यवस्था गरेमा बिरामीहरूलाई ठूलो राहत हुने डा. जलान बताउनुहुन्छ । उहाँका अनुसार यदि यो औषधि मस्तिष्कघातको बिरामीलाई समयमै दिन सकियो भने फिजियो थेरापी, अस्पताल भर्ना भएर बस्दा लाग्ने खर्चमा कमी आउँछ भने यसकै कारण हुने मृत्युदरमा पनि कमी आउँछ ।

मस्तिष्कघातबाट बच्न सबैभन्दा महत्वपूर्ण जीवनशैली सुधार र दीर्घरोगहरूको नियन्त्रण हो, जुन आफैँले गर्न सकिन्छ । आफूलाई तनावमुक्त राख्नु, शारीरिक क्रियाकलापलाई वृद्धि गर्नु, मनोरञ्जन र घुमघामलाई पनि समय छुट्याउनु उत्तिकै महत्वपूर्ण छ ।

उमेर बढेसँगै मस्तिष्कघातप्रति सचेत रहने र लक्षणहरू देखिनासाथ उपचारमा जानाले धेरै हदसम्म क्षति न्यूनीकरण गर्न सकिन्छ । उपचार धेरै महँगो भएकाले रोग लाग्न नै नदिन प्रयास गर्नु सबैभन्दा राम्रो उपाय हो ।

सरकारले यसको उपचारका लागि आत्यावश्यक लाइफ सेभिङ मेडिसिन निःशुल्क उपलब्ध गराएर, यससम्बन्धी उपचार सेवाको विस्तार र स्तरीकरण गरिदिए आमनागरिकलाई धेरै राहत पुग्ने देखिन्छ ।

ब्रेन स्ट्रोकका लक्षणहरू देखिएमा सकेसम्म छिटो उपचार गर्न जानुपर्छ । मस्तिष्कघात भएको साढे चार घण्टा वा सो भन्दा जति छिटो पुग्न सक्यो त्यति नै क्षति कम र लाभ बढी हुन्छ ।

 

प्रतिक्रिया दिनुहोस्