डा. अरुणा उप्रेती (जनस्वास्थ्य विज्ञ) ।
हामी धेरैले बिहान उठेर सूर्यलाई ‘भगवान्’ ठानेर नमस्कार गर्छौं तर सूर्यको किरणको प्रयोग भने धेरै गर्दैनौं । हरेक दिन १५ देखि २० मिनेटसम्म घाममा बस्दा स्वस्थ रहन मद्दत पुग्छ । घामले हामीलाई भिटामिन ‘डी’को आपूर्ति गर्न सहयोग गर्छ । तर यसतर्फ कमैको मात्र ध्यान पुग्ने गर्छ ।
७० वर्षीया ज्योति शर्मा भन्छिन्, ‘मैले ३० वर्षसम्म स्वदेश–विदेश धेरै ठाउँमा काम गरें । ढाड दुख्ने समस्या हुँदा सहेर पनि काम गरिरहेँ । डाक्टरलाई देखाउँदा भिटामीन ‘डी’को कमी भएर ढाड दुखेको भन्दै नियमित घाममा बस्ने सल्लाह दिए तर मैले फुर्सद पाइनँ । अहिले त मेरो ढाड, घुँडा सबै दुख्छ ।
औषधिले पनि कम हुँदैन । मैले दैनिक केही समय घाममा बसेको भए यस्तो दुखाइ हुँदैन थियो होला भनेर पछुताइरहेकी छु ।’विशेष गरी महिलाहरू भन्ने गर्छन्, ‘घाममा बस्ने फुर्सद नै हुँदैन, कतिखेर बस्नु ?’
यस्तो भनाइले उनीहरू स्वास्थ्यप्रति उति सचेत छैनन् भन्ने बुझिन्छ ।
तराईतिर हरेक वर्ष धुमधामसँग ‘छठ’ पर्व मनाइन्छ र सूर्यको पूजा गरिन्छ । यसमा महिलाहरूको सहभागिता प्रमुखरुपमा नै भएको देखिन्छ ।
तर सूर्यको पूजा गरे पनि स्वास्थ्यका लागि यसको किरणको उपयोग भने गरेको देखिन्न । प्रायः फुर्सद नै हुँदैन भनिन्छ तर दैनिक १५ मिनेट घाममा बस्न पनि फुर्सद हुँदैन भन्नु जीवनप्रतिको बेवास्ता हो ।
दैनिक १५ मिनेट घाममा बस्ने समय निकाल्न बेवास्ता गर्दा १५ दिनसम्म थला परेर ओछ्यान परिन्छ । लामो समय औषधि उपचार गर्नुपर्ने हुन्छ । यस अवधिमा खर्च पनि धेरै हुन्छ र सास्ती पनि धेरै पाइन्छ । भिटामिन ‘डी’को कमी हुँदा शारीरिक मात्र नभएर मानसिक समस्या पनि पर्छ ।
अहिले धेरै औषधि कम्पनीहरूले क्याल्सियम र भिटामिन ‘डी’को अधिकतम प्रयोग गर्नुपर्छ भन्ने खालका भ्रमपूर्ण कुराहरू बाहिर ल्याइरहेका छन् । विदेशमा पनि स्वास्थ्यकर्मीले महिलालाई २०–२५ वर्षको उमेरदेखि नै क्याल्सियम र भिटामिन ‘डी’का चक्कीहरू दिन शुरु गर्छन्, जुन युक्तिसंगत छैन ।
भिटामिन ‘डी’ वास्तवमा भिटामिन होइन, एक हर्मोन हो । ब्रिटेनको एक अस्पतालमा कार्यरत एक नर्स भन्छिन््, ‘जुन मानिसले पर्याप्त मात्रामा सूर्यको किरण पाउँदैन, उसलाई मात्र भिटामिन ‘डी’को चक्की चाहिन सक्छ । प्रत्येक दिन हात, पाखुरा कपडाले नछोपी र सनस्क्रिन पनि नलगाई केही बेर घाममा बस्ने हो भने पर्याप्त मात्रामा शरीरमा भिटामिन ‘डी’ पुग्छ ।’
ब्रिटेनमा त्यसो भनिन्छ भने, नेपालमा मात्र किन भिटामिन ‘डी’को चक्की खानुप¥यो ? यहाँ त ब्रिटेनमा जस्तो वर्षमा केही महिना मात्र घाम लाग्ने होइन, वर्षभरि नै घाम लाग्छ । मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मी पनि दैनिक केही समय घाममा बस्ने हो भने भिटामिन ‘डी’को चक्की दिनुको कुनै औचित्य नभएको बताउनुहुन्छ ।
जुन समस्यालाई पनि औषधिले मात्र समाधान गर्ने हाम्रो बानीले गर्दा हामीले प्राकृतिक स्रोतको उपयोग गर्न बिर्सिंदै गएका छौँ र महँगो औषधि किन्न बाध्य भइरहेका छौँ ।
अहिले त स्वास्थ्य मन्त्रालयले सबै गर्भवती महिलालाई भिटामिन ‘डी’ दिनुपर्छ भनेर वकालत गरिरहेको छ, तर के वास्तवमा त्यो सही तरिका हो र ? हामीले खाने खानामा जति नै मात्रामा क्याल्सियम तथा फोस्फोरस भए पनि हाम्रो शरीरमा भिटामिन ‘डी’को मात्रा नभएमा वा कमी भएमा खानामा निहित ती क्याल्सियम र फोस्फोरस तत्व हाम्रो शरीरले ग्रहण गर्न सक्दैनन् । अनि त अनेक किसिमका समस्या पैदा हुन्छन्, सबैले यो बुझ्नै पर्छ ।
किशोरीलाई आवश्यक पर्ने भिटामिन ‘डी’को मात्रामध्ये ८०–९० प्रतिशत भिटामिन ‘डी’ सूर्यको किरणबाट प्राप्त हुन्छ भने १०–२० प्रतिशत मात्र खाना वा अन्य पौष्टिक तत्वबाट प्राप्त हुन्छ । धेरै आमाबाबुहरू घाममा राखेर तेल लगाउँदा बच्चा कालो हुन्छ भन्ने डर मान्छन् ।
यो गलत सोचाइ हो, किनभने भिटामिन ‘डी’ले बालबालिकामा दम र स्वासप्रश्वास रोगको समस्या घटाउन सहयोग गर्छ, हड्डी बलियो बनाउँछ । साथै शरीरको प्रतिरक्षा प्रणाली पनि बलियो बनाउँछ । अर्थात् रोगसँग लड्ने क्षमतालाई वृद्धि गर्छ ।
बच्चाको रोगसँग लड्ने क्षमता वृद्धि गर्ने र निःशुल्क उपलब्ध हुने सूर्यको किरणलाई बेवास्ता गरेर महँगा औषधिका चक्कीहरूमा बाबुआमाले किन पैसा खर्च गर्ने ? म व्यक्तिगतरुपमा बजारमा पाइने भिटामीन ‘डी’ र क्याल्सियम दुवै खान्न, पोषणयुक्त खाना खाने र घाममा बस्ने गर्छु ।
सूर्यबाट प्राप्त हुने किरणले हाडसम्बन्धी समस्या कम गर्नुका साथै महिलामा हुन सक्ने बाथरोगको जोखिम कम गर्छ । चिसो ठाउँमा बसेर काम गर्ने व्यक्तिलाई हुने दुःखाइलाई पनि कम गर्छ । घाममा बसेर मालिस गर्नु शरीर स्वस्थ राख्ने उत्तम उपाय हो भन्ने परम्परागत चलन नै छ ।
आजकल स्वास्थ्यकर्मीहरूले भिटामिन ‘डी’संँगै क्याल्सियम पनि दिने गर्छन् । क्याल्सियम प्राप्त गर्नका लागि चक्की किनेर खानै पर्दैन । ज्वानो, आलस, मही, चीज, भटमास, तिल, पालुंगो, कोदो, फापर, मागुनो, चिनो आदिमा प्रशस्त क्याल्सियम पाइन्छ ।
यिनै खाद्यवस्तु खाने गरेमा पर्याप्त मात्रामा क्याल्सियम प्राप्त हुन्छ । तर सरकारी तथा निजी स्वास्थ्यकर्मीहरूले यस्ता कुरा आममानिसलाई सिकाउँदैनन् । बरु यसको साटो स्वास्थ्य चौकीहरूबाट क्याल्सियम चक्की बाँडिन्छ ।
कतिपय स्वास्थ्यकर्मीले त एक महिनाको शिशुलाई पनि हड्डी बलियो बनाउनका लागि भनेर झोल क्याल्सियम लेखिदिने गरेको पाइन्छ । यो ठीक होइन । किनभने आमाको दूधमा भएको क्याल्सियमले शिशुलाई पुग्ने भएको हुँदा आमाको दूध खुवाउन नै प्रोत्साहित गर्नुपर्छ ।
बच्चालाई घाममा राखेर मालिस गर्दा उसलाई आवश्यक पर्ने भिटामिन ‘डी’ उपलब्ध हुन्छ र हड्डी बलियो हुन्छ ।भिटामिन ‘डी’को बारेमा छलफल गर्दा क्याल्सियमको बारेमा कुरा गर्न जरुरी छ । प्रायः भिटामीन ‘डी’ र क्याल्सियमको गोली सँगै खाने सल्लाह दिइन्छ ।
तर म घरेलु पौष्टिक तत्वबाट नै पर्याप्त क्याल्सियम प्राप्त हुन्छ भन्ने कुरामा विश्वस्त छु । १ सय ग्राम गहतमा २ सय ८७ मि.ग्रा. क्याल्सियम पाइन्छ, १ सय ग्राम तिलमा १ हजार ४ सय ५० ग्राम क्याल्सियम प्राप्त हुन्छ ।
त्यस्तै गरी गहत, आलस, ज्वानो, भटमास, गुन्द्रुक, मस्याङ, तोफु, दही, मही आदि खाँदा शरीरलाई पर्याप्त मात्रामा क्याल्सियम प्राप्त हुन्छ । तर धेरैलाई यस्ता खाद्यवस्तु छोडेर औषधि नै खानुपर्छ भन्ने भ्रम छ ।
यो भ्रमबाट मुक्ति पाउन महिलाहरूले हाम्रा पुर्खाहरूले कसरी घाममा बसेर आफ्ूलाई स्वस्थ राख्थे भन्ने कुरा विचार गर्नुपर्छ । औषधिको भरमा मात्र सबै समस्या समाधान हुन्छ भन्ने विचार ठीक होइन ।
घामको के महत्व छ भनेर मैले नेदरल्यान्ड बस्दा अझ बढी बुझेकी थिएँ । २० वर्षअगाडि सन् १९९८ को डिसेम्बरमा १६ महिनाको लागि त्यहाँ पढ्न गएकी थिएँ । जाडो महिनामा त्यहाँ प्रायः घाम लाग्दैन । त्यहाँ गएको दुई–तीन हप्तापछि मलाई मनमा उदासी छाएको जस्तै भयो ।
केही साथीहरूले घर छोडेर आएकाले त्यस्तो भएको होला भने । तर छलफलको दौरानमा त्यहाँका समाजशास्त्र एवं जनस्वास्थ्य विज्ञले भने, ‘अफ्रिका र एसियाबाट आएका कतिपय विद्यार्थीलाई नेदरल्यान्डको अँध्यारो मौसम, धेरै घाम नलाग्ने जाडोको मौसमले मन उदास गराउन सक्छ ।
यदि धेरै नै उदासी भएर दैनिक जीवन नै चल्न गाह्रो भए उपचार गर्नुपर्ला, नत्र घरमा गएपछि ठीक भैहाल्छ ।’अफ्रिका र एसियामा जनस्वास्थ्य विज्ञको रुपमा काम गरेका ती प्रोफेसरको कुराले मैले बुझें, मलाई घामको कमीले उदासीपन भएको रहेछ । महिलाले स्वास्थ्यलाई राम्रो पार्न घाममा मजासँग बस्ने गरौँ ।
छाला कालो हुन्छ भन्ने पिर नगरौँ । हड्डी बलियो बनाउनुचाहिँ महत्वपूर्ण हो । किशोरीहरूले छाला कालो हुन्छ भनेर घाममा बसेनन् भने उनीहरूको शरीरमा भिटामिन ‘डी’को कमी हुन्छ र प्रजनन स्वास्थ्यमा पनि असर पर्छ ।
घाममा बस्दा पुठ्ठाको हड्डी बलियो हुन्छ । किशोरीहरूको हड्डी बलियो भयो भने गर्भावस्था र प्रसूतिको बेलामा पनि स्वास्थ्य राम्रो रहन्छ । उमेर ढल्कँदै गएर रजोनिवृत्ति भएपछि पनि हड्डी दुख्ने समस्या कम हुन्छ ।
हड्डी कमजोर हुँदै नजाओस् भनेर खाना, घाम र हिँडाइ तीनैवटामा ध्यान दिन जरुरी छ ।८० प्रतिशत भिटामिन सूर्यको किरणबाट पाइन्छ । वास्तवमा भिटामिन ‘डी’लाई ‘सनसाइन’ भिटामिन अर्थात् सूर्यको प्रकाशबाट पाइने भिटामिन पनि भनिन्छ । त्यसैले आफ्नो स्वास्थ्य ठीक गरौं, घाममा बसौं, भिटामिन ‘डी’को चक्की नकिनौं ।
भिटामिन ‘डी’को चक्की किनेर खाँदा खासै फाइदा गर्दैन भन्ने सिद्ध भएको छ । घाममा बस्दा छालाले घाम सीधै छोएको हुनुपर्छ । जाडोमा घाममा बसेर सुन्तला र बदाम खाँदा आनन्द आउँछ र शरीरमा भिटामिन ‘डी’, प्रोटिन, क्याल्सियम, भिटामिन ‘सी’ आदि पौष्टिक तत्व पनि पुग्छ । यस्तो सहज तरिकाले पाइने पौष्टिक तत्व छोडेर किन औषधि किनेर खाइरहने ?
हड्डी कमजोर
शरीरमा भिटामिन ‘डी’ पुगेर क्याल्सियमको राम्रोसँग शोषण होस् भनेर प्रत्येकले व्यायाम, हिँडाइ, योगासन आदि गर्नै पर्छ ।
एकै ठाउँमा बसेर काम गरिरहने व्यक्तिहरू र धेरै ‘वतानुकूलित’ कोठा वा अफिसमा काम गरिरहने व्यक्तिको हड्डी छिट्टै कमजोर हुन्छ ।
मधुमेह र भिटामिन ‘डी’
हालैका दिनमा अध्ययनकर्ताहरूले मधुुमेह र भिटामिन ‘डी’का बीच केही सम्बन्ध रहेको उल्लेख गर्न थालेका छन् । यसअघि यसबारेमा खासै चर्चा हुने गरेको थिएन ।
भारतमा गरिएको एक अध्ययनअनुसार ८४.२ प्रतिशत टाइप–२ मधुमेहका बिरामीमा भिटामिन ‘डी’को कमी भएको पाइएको छ । मुम्बई शहरका धेरै मानिस अफिसमा बसेर धेरै बेर काम गर्ने भएकाले गर्दा ती मानिसमा भिटामिनको कमी पाइएको उल्लेख छ ।
भारतका हाड–जोर्नी विशेषज्ञ डा.बी.एस. राजपूूत भन्छन्, ‘भिटामिन ‘डी’ र मधुमेहका बारेमा अन्तर्राष्ट्रिय स्तरमा भएका अध्ययनअनुसार भिटामिन ‘डी’को कमीको कारणले टाइप–२ मधुमेह हुने सम्भावना बढी हुन्छ ।’
उनका अनुसार ‘मुम्बईजस्तो शहरमा समेत भिटामिन ‘डी’को समस्या धेरै रहेको छ । धेरैजसो समय अफिसमा काम गर्ने र बिहानको समयमा घाममा नबस्ने कारणले आउँदा दिनहरूमा भिटामिन ‘डी’को कमीले हुने समस्या अरु बढ्न सक्छ । यस्ता व्यक्तिहरूले दूधबाट उत्पादन हुने खानेकुरा, हरिया सागपात आदि बढी खानुुपर्दछ ।’