लक्ष्मण अधिकारी ।
विश्वमा मानव मुटु सफलरुपमा प्रत्यारोपण गरेको करिब ५२ वर्ष पुगिसकेको छ तर नेपालमा यससम्बन्धमा अझै सुरसार भएको देखिँदैन । सुविधा र प्रविधिको हिसाबले नेपालमा आँखा उपचारपछि मुटुको उपचार राम्रो मान्न थालिएको छ तर पनि मुटु प्रत्यारोपणको कार्य भने शुरु हुन सकेको छैन । के यसको आवश्यकता र सम्भावना नै नभएको हो त ?
डा. भगवान काेइराला
मानिसको शरीरका दुईवटा मिर्गौलामध्ये एउटा अरुलाई दान गर्न सकिन्छ भने स्वस्थ मानिसको कलेजोको टुक्रा निकालेर बिरामी मानिसमा प्रत्यारोपण गर्न सकिन्छ । तर मुटु एउटा मात्र हुने र काटेर टुक्रा प्रत्यारोपण गर्न पनि नमिल्ने भएकोले यसका लागि अर्को मानिस मर्नै पर्ने स्थिति हुन्छ ।
वरिष्ठ मुटु सर्जन डा. भगवान कोइराला भन्नुहुन्छ, ‘नेपालमा मुटु प्रत्यारोपणको आवश्यकता पनि छ र सम्भावना पनि छ । यसका लागि हामी पूर्वाधार तयारी गर्दै छौँ । तर बहुसंख्यक नेपाली बिरामीलाई मुटु प्रत्यारोपण गरेर फाइदा होला र त्यस्ता दिन आऊलान् भन्ने मलाई अहिले नै लाग्दैन । संख्याको हिसाबले यो सीमित नै रहन्छ । तर प्रविधिको हिसाबले, राष्ट्रिय गौरवका हिसाबले, दक्षताको हिसाबले यो गर्न सकिन्छ र गर्नुपर्छ पनि । हामी गर्ने तयारी गर्दै छौँ । आजको दिनमा भन्ने हो भने यसको कानुनी आधार तयारी हुँदै छ । मुटु निकालेपछि मानिस सिद्धिने नै हुनाले र कसलाई कसरी दिने भन्ने कानुन बनिनसकेकाले मात्र मुटु प्रत्यारोपणमा ढिला भएको हो ।’
‘ब्रेन डेथ भएको मानिसको अंग लिन सकिने ऐन बनेको छ । कलेजो, मिर्गौला लिन सकिने नियमावली पनि बनेको छ तर मुटु लिन सकिने नियमावली नबनेकोले मुटु प्रत्यारोपणको कार्य शुरु हुन नसकेको हुँदा हाल मुटु प्रत्यारोपणसम्बन्धी नियमावली बनाउने तयारी हुँदै छ । नियमावली बन्यो भने प्रविधिगतरुपमा मुटु प्रत्यारोपणका लागि हामी सक्षम छौँ’, डा. कोइरालाले भन्नुभयो ।
भ्रूण अवस्थामा सर्वप्रथम बन्ने महत्वपूर्ण मानव अंग मुटु नै हो । गर्भ रहेको करिब पाँच हप्तादेखि मुटु बन्न थाल्छ । मानिसको छातीको बीचमा अलिकता बायाँतिर ढल्केर बसेको मुटुको आफ्नै विशेषताहरू छन् । मुटुको आफ्नै स्वचालित विद्युतीय प्रवाह हुन्छ, जसका कारण मुटुका मांसपेशीहरू स्वचालितरुपमा खुम्चिने र फुल्ने हुन्छ । मुटुमा पाँच मिली भोल्ट जतिको विद्युत् प्राकृतिकरुपमा आफैँ उत्पन्न भइरहेको हुन्छ, जुन स्वतः रिले स्टेसनमार्फत प्रवाह हुन्छ र मुटु चल्छ । यसैको भरमा मानिसको जीवन चलिरहेको हुन्छ । मुटु निश्चित समयमा ढुकढुक गर्ने हुन्छ । धेरै छिटो–छिटो वा धेरै ढिलो चल्न थाल्यो भने मानिस मृत्यु निकट हुँदै जान्छ । मुटुको मूल काम भनेकै रगत पम्प गर्नु हो । कुनै कारणले मुटु बन्द भयो भने शरीरमा रगत पम्प हुन छोड्छ । रगत प्रवाह नभएको केही मिनेटमा सबै अंग बन्द हुन्छन् र मानिसको मृत्यु हुन्छ ।
डुा. कुमुद धिताल
नेपालमा हाल सरकारीलगायत निजी अस्पतालहरूबाट पनि मिर्गौला प्रत्यारोपणका कार्यहरू भइरहेका छन् भने मानव अंग प्रत्यारोपण केन्द्र र त्रि.वि. शिक्षण अस्पतालमा कलेजो प्रत्यारोपणको कार्य भइरहेको छ । चिकित्सा विज्ञानले विकास गरेको मुटु प्रत्यारोपण प्रविधिलाई नेपालले पनि भविष्यमा भित्र्याउने आशा गर्न सकिन्छ ।
मुटु निष्क्रिय भएका कारण मानिसको मृत्यु नहोस् भन्ने उद्देश्यले मुटुलाई स्वस्थ राख्न अनेक प्रयत्न गरिन्छ र रोग लागिहालेमा विभिन्न विधिबाट उपचार गरिन्छ । तर उपचार गर्दागर्दै पनि मुटुले काम गर्न नसक्ने भयो भने अहिले चिकित्सा विज्ञानले मुटु नै प्रत्यारोपण गर्ने अर्को विकल्प पनि तयार गरेको छ । सन् १९६७ मा दक्षिण अफ्रिकाको केपटाउनको एक अस्पतालमा पहिलोपटक सफलरुपमा मुटु प्रत्यारोपण गरिएको थियो । त्यसपछि विश्वका विभिन्न मुलुकमा मुटु प्रत्यारोपण भइरहेको छ । अस्ट्रेलियामा रहेका नेपाली डा. कुमुद धिताल केही वर्षदेखि त्यहीँको एक अस्पतालमा मुटु प्रत्यारोपण कार्यमा सम्लग्न हुँदै आएका छन् । हाल नेपालमै कार्यरत कतिपय डाक्टरहरूले पनि मुटु प्रत्यारोपणसम्बन्धी विदेशमा अल्पकालीन तालिमहरू लिइसकेका छन् ।
नेपालमा हाल मिर्गौला, कलेजो, आँखा प्रत्यारोपण गरिँदै आएको भए पनि कानुनीलगायतका कारणले गर्दा मुटु प्रत्यारोपणको कार्य भने शुरु हुन सकेको छैन ।
विकसित देशहरूमा मुटु प्रत्यारोपण थुप्रै भइसकेका छन् । विकसित मुलुकमा मुटु प्रत्यारोपण रुटिन कामका रुपमा आइसकेको छ । तर त्यहाँ पनि मुटु दाताहरू पर्याप्त नहुँदा समस्याचाहिँ आउने गरेको छ । मानिसको शरीरका दुईवटा मिर्गौलामध्ये एउटा अरुलाई दान गर्न सकिन्छ भने स्वस्थ मानिसको कलेजोको टुक्रा निकालेर बिरामी मानिसमा प्रत्यारोपण गर्न सकिन्छ । तर मुटु एउटा मात्र हुने र काटेर टुक्रा प्रत्यारोपण गर्न पनि नमिल्ने भएकोले यसका लागि अर्को मानिस मर्नै पर्ने स्थिति हुन्छ । त्यसका लागि मस्तिष्क मृत्यु भएका मानिसको मुटु निकाल्ने अभ्यास विश्वमा चलेको छ । त्यसैले मुटुको लागि दाता नपाउनु मुटु प्रत्यारोपणका लागि ठूलो चुनौतीको रुपमा रहेको छ ।
यसै कारणले अहिले विश्वमा मुटुको सट्टा काम गर्ने अरु डिभाइसहरू विकास गरी प्रयोगमा ल्याउन थालिएको छ । क्रित्रिम मुटुहरू पनि बनेका छन् । हाल संसारमा विभिन्न ब्रान्डका कृत्रिम मुटुहरू प्रचलनमा आइसकेका छन् । ब्याट्रीबाट चलाउने कृत्रिम मुटुको प्रयोग भई नै रहेको छ । तर नेपालमा यो प्रविधि प्रयोगमा आइसकेको छैन ।
कृत्रिम मुटु भनेको पानी फाल्ने पम्प राखेको जस्तै नै हो । विद्युत्का लागि ब्याट्री राखिएको हुन्छ । अहिले ब्याट्री भित्र राखेर बाहिर रिमोर्टबाट चार्ज गर्ने प्रविधि पनि आइसकेको छ । कृत्रिम मुटु भनेको मेटलकै मुटु हुने भएकाले यो मुटुले गर्ने रेस्पोन्समा पहिलेको मुटुले गर्ने प्रतिक्रियामा भन्दा भिन्नता आउने चिकित्सकहरूको भनाइ छ । डा. कोइराला भन्नुहुन्छ, ‘कृत्रिम मुटुले बाहिरको परिस्थितिको आधारमा मस्तिष्कले पठाएको संकेतका आधारमा ढुकढुकी बढाउने काम गर्दैन । जुन हिसाबले सेट गरिएको छ, त्यसै अनुरुप मात्र चल्छ । प्रकृतिले बनाएको मुटुमा मस्तिष्क र मुटुको संयोजन गर्ने क्षमता हुन्छ भने कृत्रिम मुटुमा यो क्षमता हुँदैन । त्यसकारण कृत्रिम मुटुले प्राकृतिक मुटुले जस्तो प्रतिक्रिया गर्न सक्तैन ।’
परम्परागतरुपमा भावनाहरूको स्रोत अंगको रुपमा मुटुलाई व्याख्या गरिएको थियो । प्राचीन इजिप्सियनहरूले मुटुलाई सत्यता छुट्याउने अंगको रुपमा व्याख्या गरेका थिए । मुटुले सत्य कुरा के हो भन्ने पत्ता लगाउन सघाउँछ भन्ने विश्वास थियो । कसैले कुनै कुरामा कस्तो अनुभव गरिरहेको छ भन्ने सत्य कुरा मुटुले देखाउँछ भन्ने मान्यता थियो । यदि कसैले ढाँटिरहेको छ भने उसको मुटुको ढुकढुकीको गति बढ्छ, मुटुको ढुकढुकी हेरेर यथार्थ पत्ता लाग्छ भन्ने गरिन्थ्यो । तर आधुनिक चिकित्सा विज्ञानले भावना र अनुभूतिहरूको उत्पत्ति मुटुबाट नभई मस्तिष्कबाट हुन्छ भन्ने व्याख्या गरेको छ ।
वरिष्ठ मुटु सर्जन डा. भगवान कोइराला भन्नुहुन्छ, ‘मुटु मेकानिकल वस्तु नै हो, भावनात्मक वस्तु होइन । मुटु आफैँमा स्वचालित छ र यसले प्रतिक्रिया पनि गर्ने भएकाले इन्टेलिजेन्ट छ जस्तो लाग्छ तर बाहिरको परिस्थितिको आफैँले मूल्याङ्कन गरेर प्रतिक्रिया दिन सक्तैन । मस्तिष्कले बाहिरको परिस्थितिको आँकलन गरेर स्नायु र हर्मोनहरूमार्फत मुटुलाई संकेतहरू पठाउँछ । यी संकेतहरूको आधारमा मुटुले बाहिरको प्रतिक्रिया मस्तिष्कमार्फत मात्र गर्छ । मुटुले जे गर्छ सामान्यतया मस्तिष्कको निर्देशनमा नै गर्छ । कुनै कुरा देख्दा, सुन्दा मानिसलाई एकदमै पीर पर्न सक्छ, मस्तिष्क आँत्तिन सक्छ । मस्तिष्क आँत्तिदा मुटु पनि आँत्तिन्छ र मुटुमा दबाब पर्छ,, अनि हृदयघात हुन सक्छ । त्यसकारणले पनि मुटु र मस्तिष्कको अन्तरसम्बन्धचाहिँ छ ।’
नेपालमा हाल सरकारीलगायत निजी अस्पतालहरूबाट पनि मिर्गौला प्रत्यारोपणका कार्यहरू भइरहेका छन् भने मानव अंग प्रत्यारोपण केन्द्र र त्रि.वि. शिक्षण अस्पतालमा कलेजो प्रत्यारोपणको कार्य भइरहेको छ । चिकित्सा विज्ञानले विकास गरेको मुटु प्रत्यारोपण प्रविधिलाई नेपालले पनि भविष्यमा भित्र्याउने आशा गर्न सकिन्छ ।