चाडपर्वमा मदिरा र मासु



डा. रामदेव पंडित
(आयुर्वेद चिकित्सक) ।

हिजोआज चाडपर्व मनाउने शैली बदलिएको छ । त्यस कारण विभिन्न खाले विकार, विकृति एवं रोग पनि थपिँदै गएको छ । मासु–मदिराको अत्यधिक र अव्यवस्थित प्रयोग ह्वात्तै बढेर गएको छ । परिणामस्वरुप चाडपर्व समापनसँगै धेरै मानिसहरू अस्वस्थ हुने र अस्पताल धाउने अवस्थामा पुगेका हुन्छन् । बिदा एवं चाडपर्व मनाएर फर्किंदा मानिसहरू तेजिलो र फूर्तिलो हुनुपर्नेमा धेरै मानिस ओज र तेज गुमाएर आउँछन् ।

आयुर्वेद विज्ञानअनुसार सके मासु नखानु नै आरोग्यका लागि सर्वोत्तम हुन्छ । तर पनि मासु र मदिरा खाने वा छोड्ने यो व्यक्ति विशेषको विवेक, धर्म, संस्कृति आदिमा भर पर्ने कुरा हो । तर मासु–मदिरा पोषण र मानसिक सन्तुष्टिसँगै आरोग्यसँग पनि जोडिएकोले यो कसरी खाने भन्ने कुरा चिकित्सकीय सरोकारको विषय पनि हो ।

आयुर्वेदको चरक संहिताको ऋतुचर्यामा वर्णन भएअनुसार नेपालीको मुख्य चाडपर्व पर्ने शरद ऋतुमा त्यसै अनुसारको दिनचर्या अपनाउनु स्वास्थ्यका लागि लाभदायक हुन्छ । वर्षा ऋतुमा शरीरमा पित्त (अग्नि)को सञ्चय हुन्छ र शरदको आगमनसँगै उक्त सञ्चित पित्त प्रकुपित हुने हुन्छ । आयुर्वेदमा वर्णन भएअनुसार पित्त प्रकुपित हुँदा ४० प्रकारका रोगहरू लाग्छन् । जस्तै– अपच, अम्लपित्त, जन्डिस, शरीरबाट अत्यधिक पसिना आउने, आँखा पाक्ने, गुदाद्वार पाक्ने, मूच्र्छा पर्ने आदि । पित्त वृद्धि भएको यस ऋतुमा स्वाभाविक रुपमा सन्ताप हुने, छाला, दिसा–पिसाब, आँखामा पहेँलो हुने, शीतल आहारको इच्छा हुने, कम निद्रा लाग्ने, मूच्र्छा पर्ने, इन्द्रियहरूको दुर्बलता, शरीर तातो भइरहने, बढी रिस उठ्ने आदि प्रवृत्ति हुने हुन्छ । यी वृत्तिहरूलाई पनि झेल्न हामी मनोवैज्ञानिक रुपमा
सचेत रहनुपर्दछ ।

शरद ऋतु (दशैं, तिहार, छठ) भरि हितकारी आहारहरू भनेको अन्नमा पित्त (अग्नि) शामक जौ, गहुँ, शाली चामल, घिउ, मुंग, सख्खर, परबर, अमला, अंगुर, तीतो फलफूल, उमालेर सेलाएको पानी आवश्यक पर्छ । यस ऋतुमा हितकारी बानीबेहोरा भनेको स्वच्छ वस्त्र धारण, माला धारण, साँझको समयमा चन्द्रमाको किरण पान आदि क्रियाकलाप पर्छन् ।

यस शरद ऋतुभरिका अहितकारी आहारमा कडा मदिरा, अत्यधिक झोल पदार्थ, नउमालेको पानी, पेट टम्म हुने गरी खाने, बोसो, तेल, क्षार, दही आदि हुन् । यस ऋतुका लागि अहितकारी बानीबेहोरा भनेको दिउँसो सुत्नु, पूर्वी वायुको सेवन आदि पर्छन् । आयुर्वेदअनुसार यस ऋतुमा गरिने विशेष औषध चिकित्सा भनेको विरेचन (पखाला लगाई पेट सफा गराउने) र रक्तमोक्षण (दूषित रगत बाहिर निकाल्ने) हो ।
मासुमा हुने मायोग्लोबिनको मात्राको आधारमा मासुलाई रातो मासु र सेतो मासुको रुपमा वर्गीकरण गरिएको छ । रातो मासु हुने पशुमा खसी, बोका, भैंसी, राँगा, भेडा, बाख्रा पर्छन् भने पन्छीमा हाँस, परेवा आदि । सेतो मासु हुनेमा माछा र कुखुरा पर्छन् ।

रातो मासु राम्रो कि सेतो ?

रातो मासुमा खनिज पदार्थको मात्रा बढी हुन्छ । त्यसमा जिंक, फस्फोरस, लिपोइक एसिडको मात्रा बढी हुने हुनाले दैनिक रातो मासु सेवन गर्दा मुटुरोग र क्यान्सर हुने जोखिम हुन्छ । अतः रातो मासु नियमित र अत्यधिक सेवन गर्नु रोग निम्त्याउनु हो । दीर्घरोग लागेको छ भने त्यस्ता व्यक्तिले रातो मासु खानै हुँदैन ।

साथै रातो मासुको नियमित वा अत्यधिक सेवनले शरीरमा युरिक एसिडको मात्रा बढ्ने र मुटु, रक्तनलीमा गएर समस्या दिने हुन्छ । अतः मासु नखाई नहुने बाध्यकारी अवस्थामा विकल्पको रुपमा सेतो मासु उपयोग गर्नु स्वास्थ्यका लागि हितकर रहन्छ । सम्भावित रोगबाट बच्न चाडपर्वमा मासुसँगै सागपात, फलफूल र रेसादार खानेकुरा खानु बुद्धिमानी हुन्छ ।

कति खाने ?

चाडपर्वमा यति खा, उति खा भन्ने कुरा हुँदैन । त्यसैले कति खानुपर्ने हो, आफैंले विचार गर्ने कुरा हो । एउटा व्यक्तिले कति क्यालोरी लिन्छ, त्यो अनुसार भर पर्छ । साधारण भाषामा भन्ने हो भने एउटा वयष्क व्यक्तिले दिनमा ३ सर्भिङ खानुपर्ने हुन्छ । एक सर्भिङमा ३० ग्राम हुन्छ भने ३ सर्भिङमा ९० ग्राम क्यालोरी प्राप्त गर्न सकिन्छ । वयष्कलाई १ ग्राम पोटिन प्रतिकेजी चाहिन्छ भने बच्चालाई १.५ प्रोटिन प्रतिकेजी चाहिन्छ । १० ग्राम मासुमा २० देखि २२ ग्राम प्रोटिन पाइन्छ । रातो मासु, सेतो मासु दुवै प्रोटिनले भरिपूर्ण हुन्छ । रातो मासुमा कार्बोहाइड्रेट हुँदैन तर क्यालोरी हुन्छ । क्योलोरी कति हुन्छ भन्नेचाहिँ मासुमा भएको चिल्लो पदार्थमा भर पर्छ । चिल्लो पदार्थ भएको मासुले कोलेस्टेरोल बढाउँछ ।

चाडपर्वमा भोजन सन्तुलन मिलाएर खानुपर्छ । यहाँ सन्तुलित भोजन भनेको माछा र मासुसँगै सागसब्जी र फलफूल मिलाएर खाने गर्नुपर्छ भनिएको हो । बोसो र छालारहित मासु वयष्क व्यक्तिले १ सय ५० ग्रामसम्म खान मिल्छ ।

के–के कुरामा ध्यान दिने ?

बोसो नभएको ३० ग्राम मासुमा ५५ ग्राम क्यालोरी हुन्छ । यदि मासुमा चिल्लो पदार्थको मात्रा थोरै छ भने ३० ग्राम मासुबाट हामीले झन्डै ९० ग्राम क्यालोरी प्राप्त गर्न सक्छौँ । यदि मासुमा छाला र बोसो दुवै छ भने ३० ग्राम मासुमा १ सय २० क्यालोरी प्राप्त गर्न सकिन्छ । मासुमा भएको चिल्लोले शरीरको क्यालोरीको मात्रा थपघट गराउने काम गर्छ ।

मासुमा प्रोटिन र चिल्लो पदार्थ दुवै पाइने हुँदा जहिले पनि छाला र बोसोरहित मासु छनोट गर्नुपर्छ । मासुमा पाइने चिल्लो पदार्थले शरीरमा विभिन्न रोग निम्त्याउने गर्दछ । र, बोसो शरद ऋतुमा अहितकर मानिन्छ ।

मासु पकाउने तरिकाले पनि शरीरलाई फाइदा वा बेफाइदा पुर्‍याउने भन्ने हुन्छ । पोलेर खाएको मासु कदापि हितकर हुँदैन । अति धेरै मसालेदार बनाउने, अति धेरै फ्राइ गर्ने, पटक–पटक तताउने, एकपटक पकाएर पटक–पटक खाने आदि बानीले शरीरलाई बेफाइदा मात्र गर्दछ ।

खानासँगै खानुपर्ने परिकार र गर्नुपर्ने केही कार्य
. छाछ वा लस्सी पिउने
. कालो नून प्रयोग गर्ने
. कालो जीरा प्रयोग गर्ने
. गाईको घिउ प्रयोग गर्ने
. बिहान उठ्नेबित्तिकै जमराको जुस वा त्रिफलाको पानी पिउने
. एकै पटक पेट टमाटम हुने गरी नखाने
. धेरै बेर भोकैपनि नबस्ने
. कडा मदिरा नखाने
. हरेक छाकमा साग र सलाद खाने
. दिउँसो नसुत्ने

प्रतिक्रिया दिनुहोस्