चकलेटसरि गर्भपतनका औषधि



डा. सुमनराज ताम्राकार
(स्त्रीरोग विशेषज्ञ) । 

काखे नानीको छेउमा गोमन सर्प फणा उठाएर बसेको देख्दा जसरी आमाबाबुको आङ सिरिङ्ग हुन्छ, त्यसरी नै औषधि पसलेले गर्भ तुहाउने औषधिहरू निस्फिक्री बेचेको देख्दा अनुभवी चिकित्सकहरूको आङ सिरिङ्ग हुने गर्छ । नेपालमा मेडिकल एबोर्सनका लागि औषधिहरू खुलेआमरुपमा किन्न पाइन्छ । तर यस्ता औषधिहरू बेच्दा धेरै कुराको हेक्का राख्नुपर्छ ।

करिब डेढ दशकअघिसम्म नेपालमा महिला मृत्युदर अत्यधिक थियो । यसका प्रमुख कारणहरूमा सुत्केरीपश्चात् हुने अत्यधिक रक्तश्राव, असुरक्षित गर्भपतन र गर्भावस्थामा देखापर्ने उच्च रक्तचापका जटिलतालाई मानिएको थियो । यसैलाई मध्यनजर गरी नेपाल सरकारले सुरक्षित गर्भपतनलाई कानुनी मान्यता दिएको थियो । परिणामस्वरुप असुरक्षित गर्भपतनका कारण हुने अकाल मृत्युमा कमी आयो ।
पहिले गर्भपतन गैरकानुनी हुँदा लुकिछिपी असुरक्षित रुपमा गर्भपतन गराउँथे । त्यसको अनुगमन पनि गर्न सकिन्नथ्यो । तर अहिले सूचीकृत संस्थाहरूबाट मात्र गर्भपतन सेवा दिनुपर्ने कानूनी व्यवस्था छ, तर वास्तविकता त्यस्तो छैन ।

नेपालमा नीतिहरू तय हुँदा कागजमा राम्ररी लिपिबद्ध गरिन्छ, तर नियमन प्रभावकारी हुन्न । अनुगमन गर्दा कसैलाई दोषी पाइयो भने कारबाही गर्नुको सट्टा प्रायः घूसबाटै केस मिलाउने गरिन्छ ।

औषधि विक्रेतामा औषधिबाट उत्पन्न हुन सक्ने जटिलताबारे ज्ञानको कमी देखिन्छ । साथै उनीहरूमा क्षणिक आयको लोभ र सेवाग्राहीहरूमा पनि त्यस्ता औषधिले पार्न सक्ने असरबारे ज्ञान नहुँदा औषधिकै कारण महिलाहरूको स्वास्थ्यमा जटिलताहरू थपिँदै छन् ।

विशेषतः शहरी क्षेत्रका महिला एवं किशोरीहरू अनिच्छित गर्भ रहँदा गर्भ तुहाउनका लागि जथाभावी औषधिको प्रयोग गर्छन् । औषधि विक्रेतामा औषधिबाट उत्पन्न हुन सक्ने जटिलताबारे ज्ञानको कमी देखिन्छ । साथै उनीहरूमा क्षणिक आयको लोभ र सेवाग्राहीहरूमा पनि त्यस्ता औषधिले पार्न सक्ने असरबारे ज्ञान नहुँदा औषधिकै कारण महिलाहरूको स्वास्थ्यमा जटिलताहरू थपिँदै छन् ।

नेपाल उपभोक्ता आपैंmले औषधि मागेर किन्न पाइने केही मुलुकहरूमध्ये एक हो । विकसित देशमा प्रेस्क्रिप्सनविना सिटामोल पनि किन्न पाइँदैन । २०७५ भाद्रमा आएको मुलुकी संहितामा विनाप्रेस्क्रिप्सन औषधि बिक्री गर्ने औषधि पसलेलाई सजाय, जरिबानाको व्यवस्था गरेको छ । तर उचित कार्यान्वयन हुन भने सकेको छैन ।

सुरक्षित चक्र

नवविवाहित वा विवाहपूर्व यौनसम्पर्क राख्न हतारिएका कतिपय जोडीलाई महिनावारीको कतिऔं दिनदेखि शारीरिक सम्पर्क राख्दा गर्भ रहन सक्छ भन्ने ज्ञान हुँदैन । परिवार नियोजनका साधन अपनाउन नचाहने जोडीका लागि सुरक्षित चक्र राम्रो विकल्प हो । नियमितरुपमा महिनावारी हुने महिलामा मासिक श्रावको १२ औंदेखि १६ औं दिनसम्म डिम्ब निस्कन्छ भन्ने सिद्धान्तमा आधारित सुरक्षित चक्रको कतिऔं दिनमा साधनविना यौनसम्पर्क राखे गर्भ रहँदैन भन्ने लेखाजोखा गर्न सकिन्छ ।

महिनावारी भएको आठौंदेखि बाइसौं दिनसम्म यौनसम्पर्क राख्दा गर्भ रहन सक्छ । यस अवधिमा यौनसम्पर्क राख्नुपर्ने भए कन्डम, फेमिडोम (महिला कन्डम), कमल चक्कीजस्ता अस्थायी साधनहरू अपनाउन आवश्यक हुन्छ । तर महिनावारी अनियमित हुने, महिनावारीको लगत राख्न नसक्ने, गलत तरिकाले हिसाब गर्ने गरेमा यो विधि त्यति भरपर्दो हुँदैन । त्यस्तै सुत्केरीपश्चात्को समयमा पनि यो विधि उपयुक्त छैन । यो विधि अपनाउने सय दम्पतीमा २१ जनामा गर्भ रहन सक्छ ।

कानुनी तवरले नेपालमा १२ हप्तासम्मको गर्भपतन गराउन सकिने भए पनि यसबाट पर्न जाने आर्थिक भार, मानसिक तनाव हुने एवं असुरक्षित ठाउँमा गर्भपतन गराएको खण्डमा पाठेघरको भित्री तह पाक्ने, संक्रमण हुन सक्ने कारणले गर्दा सुरक्षित तरिकाले यौनसम्पर्क राख्नु नै बुद्धिमानी हुन्छ ।

गर्भ रहने क्रममा डिम्ब निष्कासन, यौनसम्पर्क, वीर्य स्खलन, डिम्ब निशेचन तथा डिम्बरोपणको तारतम्य मिल्नुपर्दछ । त्यसो त प्राकृतिक र चिकित्सकीय नै भए पनि थुप्रै खालका गर्भ निरोधका उपायहरू हुँदाहुँदै पनि सतर्कता नअपनाएर, परिवार नियोजनका साधन बेलैमा उपलब्ध नभएर वा फेल खाएर, यसको प्रयोगमा आलस्यता गरेर तथा महिनावारीको सुरक्षित चक्रबारे ठोस ज्ञान नभएर पनि अनिच्छित गर्भ रहने गरेको पाइएको छ । कन्डम फुट्नु, नियमितरुपमा पिल्स चक्की खान बिर्सिनु तथा बलात्कारजस्ता असुरक्षित यौनसम्पर्क हुनु अनिच्छित गर्भ रहने केही उदाहरणहरू हुन् ।

आकस्मिक गर्भ निरोध

यसअघि इस्ट्रोजेन र प्रोजेस्टेरोन दुवै हर्मोन भएको पिल्स चक्की पाइन्थ्यो भने आजकल यसका लागि प्रोजेस्टेरोन नामक हर्मोन मात्र भएको पिल्स चक्की पनि पाइन्छ । यी पिल्स चक्कीमा पनि साधारण पिल्स चक्कीकै हर्मोनहरू हुने हो तर हर्मोनको मात्रा भने बढ्ता हुन्छ । युज्पे विधिमा लेभोनोरजेस्टे«ल तथा इथिनाइल इस्ट्राडिओलयुक्त पिल्स चक्की शारीरिक सम्पर्क भएको यथाशक्य चाँडो दुई चक्की खानुपर्दछ । त्यसको १२ घण्टापछि पुनः थप दुई चक्की खानुपर्दछ । त्यसै गरी लेभोनोरजेस्ट्रेल (प्रोजेस्टेरोन मात्र) भएको पिल्स चक्की पनि १२ घण्टाको फरकमा दुई मात्रा वा एकै मात्रा गरेर पनि खान सकिन्छ ।

खासमा यस्ता खाले हर्मोनयुक्त औषधिहरूको प्रयोग असुरक्षित यौनसम्पर्कअगाडि वा शारीरिक सम्पर्कको ७२ घण्टाभित्र गरिसक्नुपर्ने भए पनि विश्व स्वास्थ्य संगठनले परिवार नियोजनका साधन फेल खाएको परिस्थितिमा ५ दिनसम्म पनि यी साधनहरू प्रयोग गर्न सकिने सल्लाह लिइएको छ । इमर्जेन्सी कन्ट्रासेप्सनकै रुपमा असुरक्षित यौनसम्पर्कको ७२ घण्टाभित्र माथि उल्लिखित पिल्स चक्कीहरू खान भ्याइएन भने पाँचौं दिनभित्र पाठेघरमा राखिने कपर टी राख्न सकिन्छ र यसै उद्देश्यका लागि मिफेप्रोस्टोन, प्रिमारिन, इथिनाइल इस्ट्राडिओलजस्ता औषधिहरू भए पनि त्यति प्रचलनमा छैन ।

यसका जटिलता

एकै पटक धेरै मात्रामा हर्मोन पिल्स चक्की बाध्यतावश खानुपर्दा वाकवाकी लाग्ने (औषधि वा हर्मोनको प्रकारअनुसार घटी–बढी), उल्टी हुने, पेट दुख्ने, आलस्य हुने, टाउको दुख्ने, चक्कर लाग्ने, स्तन भारी हुने हुन्छ । साधारणतया यी साधनको प्रयोगपश्चात् केही समयसम्म अस्थायी तवरले महिनावारीमा गडबडी आउन सक्छ । आपत्कालीन गर्भ निरोधमा प्रयोग गरिने औषधिहरूले महिनावारी केही दिन पर सर्न सक्छ । रगतको मात्रा पनि बढ्ता र अलि पीडादायी हुन सक्छ । यदि डिम्ब निष्कासन हुनुअगाडि नै यी हर्मोनयुक्त पिल्स सेवन गरेको खण्डमा हल्का रगत देखिने वा महिनावारी हुन अलि ढिलो हुने हुन सक्छ ।

मेडिकल एबोर्सन

कानुनीरुपमा १२ हप्तासम्मको गर्भपतन गर्न सकिने भए पनि ९ हप्तासम्मको अनिच्छित गर्भ तुहाउनको लागि औषधि (मिफेप्रोस्टोन र मिजोप्रोस्टोलको कम्बी प्याक) प्रयोग गरिने एबोर्सनलाई मेडिकल एबोर्सन भनिन्छ । किनकि ९ हप्ता नाघेदेखि मेडिकल एबोर्सन फेल खाने दर बढ्दै जान्छ । त्यसो त ९ देखि १२ हप्तासम्मको गर्भको लागि तालिमप्राप्त चिकित्सकले मेसिन (सक्सन वा म्यानुएल भ्याकुम एस्पिरेसन) प्रयोग गरी गर्भपतन गराउँछन् । १२ हप्तामाथिको भ्रूणको आकार ठूलो हुने र हड्डी पनि बन्न थाल्ने हुनाले औषधि वा यी साधारण मेसिनले मात्र गर्भ पूर्णरुपमा तुहाउन सकिन्न । यदि गर्भ तुहाउने कार्य पूर्णरुपमा हुन सकेन भने अधिक रक्तश्राव भई सेवाग्राहीको ज्यान नै जान सक्छ । त्यसो भएर यो औषधि पसले वा हतास सेवाग्राहीले सोचेजस्तो चानचुने कुरा होइन ।

त्यसमाथि तुलनात्मकरुपमा शिक्षा नपाएका, महिनावारी अनियमित हुने, आफ्नो अन्तिम महिनावारी कहिले हो ठ्याक्कै भन्न नसक्ने, अनुमानको आधारमा भन्ने वा महिनावारी रोकिएको अवधि जानाजानी घटाएर भन्ने किशोरीको मात्र भर परेर उपचार दिइयो भने समस्यामा परिन्छ । २०७५ मा जारी मुलुकी संहिताले चिकित्सकहरूलाई पनि सेवा दिन गाह्रो बनाइसकेको परिस्थितिमा ९ हप्तासम्मको हो, होइन भन्ने अल्ट्रासाउन्डबाट निश्चित पार्नु राम्रो हुन्छ ।

श्वासप्रश्वास रोग, मुटु रोग, उच्च रक्तचाप, माइग्रेन, मधुमेह, पाठेघरको क्यान्सरको जोखिम भएका, अनियमित एवं अप्रमाणितरुपमा योनिद्वारबाट रगत बग्ने गरेका, रक्तनली तथा रगतसम्बन्धी विकार भएका, सामान्यतः ३५ वर्ष नाघेका, धूमपान वा मद्यपान गर्ने गरेका, थाइरोइड, क्षयरोग, बाथजोर्नीलगायतका अन्य जीर्ण रोगका लागि औषधि सेवन गरिरहेकाले मिफेप्रोस्टोन र मिजोप्रोस्टोलको कम्बी प्याक बिल्कुलै सेवन गर्नुहुँदैन । त्यसै गरी पहिले सिजेरियन वा कुनै कारणका लागि पाठेघरमा घाउ पारिसकेका, पटक–पटक क्युरेट गरिसकेकामा पनि यी औषधि प्रयोग गर्नुभन्दा गर्भ तुहाउनुपरे सीधै मेसिन (सक्सन वा म्यानुएल भ्याकुम एस्पिरेसन) प्रयोग गर्न आवश्यक हुन्छ । पटक–पटकको कम्बी प्याक सेवन अथवा आकस्मिक गर्भपतनले अहिलेको समस्या त टर्ला तर यही खेलाँचीले पछि निःसन्तान हुन बेर लाग्दैन । यस्तो परिस्थितिमा सौता व्यहोर्नुपर्ने वा पति बहुविवाहको मुद्दामा सजायको भागिदार हुनुपर्ने हुन सक्छ ।

त्यसैले त भनेको, काखे नानीको लागि त टाउको हल्लाउँदै गरेको गोमन त खेलौनाजस्तो लाग्न सक्छ । तर अनुभवी चिकित्सकको लागि त जति बुभ्mयो झन् गाह्रो भनेको हो रहेछ ।

प्रतिक्रिया दिनुहोस्