बिरामीलाई निरन्तर हेर्ने त नर्सले नै हो



२४ वर्षअघि ओम अस्पतालबाट नर्सिङ सेवा शुरु गर्नुभएकी विद्या राई २०७१ सालदेखि नेसनल क्यान्सर अस्पताल एन्ड रिसर्च सेन्टर, हरिसिद्धिमा नर्सिङ सुपरभाइजरको जिम्मेवारीमा हुनुहुन्छ । सेवा शुरु गरेदेखि उहाँ अनवरतरुपमा नर्सिङ कार्यमा आबद्ध हुनुहुन्छ । बिरामी र नर्सको सम्बन्धलाई आमा र सन्तानको जस्तो अनोन्याश्रित सम्बन्धमा तुलना गर्ने विद्या राई करिब १८ वर्षदेखि अंकोलोजी (क्यान्सर) मा केन्द्रित भएर काम गर्दै हुनुहुन्छ । सेवा भावनाबाट प्रेरित भएर नर्सिङ पेसामा लागेको बताउनुहुने विद्या राईलाई यसपटक हामीले साधनाको नर्स अफ द मन्थ स्तम्भका लागि छनौट गरेका छौँ । प्रस्तुत छ, उहाँसँग साधना प्रतिनिधि भगवती तिमल्सिनाले गर्नुभएको कुराकानीको सार :

नर्सिङ पेसालाई आकर्षक बनाउन के गरे राम्रो होला ?

यसका लागि सर्वप्रथम नर्सहरूको भूमिका प्रभावकारी हुनुपर्छ । अस्पतालमा हरेक क्षण आउने बिरामी नयाँ हुन्छन् र उनीहरूले छिटो सेवा पाइयोस् र चाँडो निको भएर फर्किन पाइयोस् भनेर अपेक्षा गरेका हुन्छन् । नर्सहरूले बिरामीको यो चाहनालाई बुझेर इम्प्याथी (समानुभूति) र सिम्प्याथी (सहानुभूति) को भावनासहित काम गर्नुपर्ने हुन्छ ।

आफ्नै परिवारको सदस्य बिरामी भयो भने कस्तो हुन्छ भन्ने बुझेर बिरामी पक्षसँग व्यवहार गर्दा पारिवारिक सम्बन्धको विकास हुन्छ । यसबाट कहिलेकाहीँ अस्पताल, नर्स र बिरामीका बीचमा आउने असन्तुष्टि, अस्पतालमाथि हुने आक्रमणमा पनि कमी आउँछ । यसका लागि अस्पतालले पनि सहज वातावरण बनाइदिनुपर्छ । कतिजना नर्सले कतिजना बिरामी हेर्दा ठीक हुन्छ भन्ने निर्धारण गरेर त्यही अनुसार वातावरण बनाइयो भने सेवा प्रभावकारी हुन्छ । यसले स्वास्थ्य संस्था र नर्सहरूप्रति हेर्ने दृष्टिकोण राम्रो हुन्छ । उपचारका लागि नर्सको भूमिका अत्यन्तै महत्वपूर्ण हुन्छ । नर्सहरूले आफ्नो जिम्मेवारी राम्रोसँग निर्वाह गर्न सकेमा अस्पताल र नर्सिङ पेसाप्रति नै सर्वसाधारणको आकर्षण वृद्धि भएर जान्छ भन्ने मेरो विश्वास छ ।

बिरामीबाट आउने असन्तुष्टिहरूलाई नर्सले सकारात्मकरुपमा लिनुपर्छ । बिरामी पक्षले आफ्नो पीडा बोलेको हो भनेर बुझ्नुपर्छ र संयमता अपनाउनुपर्छ । बिरामी पक्षका पीडा के–के हुन् र कसबाट पीडादायी व्यवहार भयो भन्ने कुरा सूक्ष्मरुपमा बुझ्ने क्षमता नर्समा हुनुपर्छ ।

डाक्टर र नर्समा कसको भूमिका बढी महत्वपूर्ण हुन्छ ?

डाक्टर र नर्स नङ र मासुजस्तो एक–अर्काका पूरक हुन्, डाक्टर मात्र वा नर्स मात्रले उपचार पूरा हुँदैन । डाक्टरले ओपीडी, शल्यक्रिया र राउन्डमा गएर बिरामीलाई हेर्नुपर्ने हुन्छ । डाक्टरले एउटै बिरामीलाई लामो समय दिन सम्भव हुँदैन । डाक्टरले काम सकेपछि बिरामीलाई निरन्तर हेर्ने भनेको नर्सले नै हो । बिरामीका लागि पहिलो सहयोगी व्यक्ति डाक्टर नै हो, उहाँहरू अभिभावक हो । नर्सले २४ सै घण्टा अस्पतालमा खट्नुपर्छ । डाक्टरहरूले अभिभावकको भूमिका खेल्दा राम्रो मार्गनिर्देशन दिएको हुनुपर्छ । किनभने बिरामीसँग अधिकांश समय बस्नुपर्ने र निगरानी गर्नुपर्ने दायित्व नर्सको हुन्छ । बिरामीको अवस्थाको अध्ययन गरी डाक्टरहरूलाई सूचना दिने काम नर्सको हुन्छ । उहाँहरूलाई कसरी सूचना दिने, बिरामीलाई छिटो रिकभर कसरी गर्ने भन्नेमा नर्सको भूमिका ठूलो हुन्छ । बिरामीलाई कस्तो औषधि उपचार दिने भन्ने निर्णायक भूमिका डाक्टरको हुन्छ ।

नर्सहरू बिरामीको उपचारका लागि निरन्तर खटिरहेका हुन्छन्, तर पनि कहिलेकाहीँ बिरामीले कडा आलोचना गर्छन् । यस्तो बेला के गर्दा उचित हुन्छ ?

सबै पक्षले आ–आफ्नो ठाउँबाट बुझिदिने हो भने समस्या आउने थिएन । बिरामीबाट आउने असन्तुष्टिहरूलाई नर्सले सकारात्मकरुपमा लिनुपर्छ । बिरामी पक्षले आफ्नो पीडा बोलेको हो भनेर बुझ्नुपर्छ र संयमता अपनाउनुपर्छ । बिरामी पक्षका पीडा के–के हुन् र कसबाट पीडादायी व्यवहार भयो भन्ने कुरा सूक्ष्मरुपमा बुझ्ने क्षमता नर्समा हुनुपर्छ । समस्याको जरो पहिल्याएर बुद्धिमतापूर्ण तरिकाले समस्या समाधान गर्नेतर्फ नर्स लाग्नुपर्छ । अनावश्यक प्रतिवाद गर्ने र अरुलाई दोष दिने काम नर्सले गर्नुहुँदैन ।

१८ वर्षदेखि क्यान्सरका बिरामीसँग नजिक भएर काम गर्दै हुनुहुन्छ, अन्य बिरामी र क्यान्सरका बिरामीमा के भिन्नता पाउनुभयो ?
क्यान्सरका बिरामी र अन्य बिरामीमा धेरै फरक छ । टन्सिल भएको, सामान्य शल्यक्रिया गर्नुपर्ने जस्ता बिरामी एकपटक मात्र उपचार गर्दा पुग्छ । क्यान्सरको बिरामीले बारम्बार अस्पताल आउनुपर्ने हुन्छ । बिरामी र नर्सका बीच बारम्बारको भेटपछि दुवै पक्षको आनिबानीका बारेमा थाहा हुन्छ । लामो समय उपचार गर्नुपर्ने हँुदा आनिबानी थाहा हुँदा उपचारमा सहजता आउँछ । बिरामी पक्षलाई पनि सहज महसुस हुन्छ । तैपनि लामो उपचार गर्नुपर्ने हुँदा दुवै पक्षमा धैर्यता र सकारात्मक सोचको आवश्यकता हुन्छ । अन्य बिरामीहरूभन्दा क्यान्सरका बिरामी बढी गम्भीर हुने भएकाले त्यसै अनुसार व्यवहार गर्नुपर्ने हुन्छ । नेपालजस्तो मुलुकमा क्यान्सरको पहिचान हुनै समय लाग्छ । चेतनाको कमीका कारण जबसम्म समस्या हुँदैन तबसम्म हामीमा स्वास्थ्य परीक्षण गराउने बानी प्रायः छैन । अरु बिरामीलाई भन्दा पनि क्यान्सरका बिरामीलाई हौसला, प्रेरणा र सहयोगको बढी खाँचो पर्ने मैले महसुस गरेकी छु ।

क्यान्सर समयमै पहिचान हुँदा उपचारमा हुने सहजताबारे यहाँको अनुभव कस्तो छ ?

रोग छिटो पहिचान भयो भने उपचार सम्भव छ । ढिलो हुँदा जटिलता थपिँदै जान्छ र रोग नियन्त्रणमा हुँदैन । यस्तो अवस्थामा क्यान्सरले एकबाट अर्को अंगमा असर गर्छ । यसको न्यूनीकरण गर्नका लागि बिरामी बारम्बार अस्पताल आउनुपर्ने हुन्छ । हामी अहिले पनि भन्छौँ, रोगलाई शुरुवाती अवस्थामा नै उपचार गर्नुपर्छ । त्यसका लागि बेला–बेलामा परीक्षण गर्नुपर्छ । नेपाली समाजमा युरोप, अमेरिकामा जस्तो शुरुवातमै क्यान्सर पहिचान भइरहेको पाइँदैन । प्रायः माथिल्लो स्टेजमा पुगेपछि मात्र रोक निदान हुन्छ । यस्तो अवस्थामा लामो समय उपचार गर्नुपर्ने हुन्छ र उपचारबाट क्यान्सर निको पार्न सकिन्छ नै भन्ने हुँदैन । बिरामीलाई उपचार गर्दा कसैलाई निरन्तर भर्ना गर्नुपर्ने हुन्छ । अन्य रोग संक्रमणको खतरा पनि त्यत्तिकै हुन्छ । रोग शुरुवातमै पहिचान हुँदा निको पार्न सकिने सम्भावना धेरै हुन्छ ।

२४ वर्ष लामो नर्सिङ सेवाको दौरानमा बिर्सनै नसक्ने दुःख र खुशी प्राप्त गरेको क्षण कुनै छ कि ?
आफूले सिकाएका बहिनीहरूले बिरामीलाई राम्रो नर्सिङ केयर गरिदिएका कारण बिरामीले सन्तुष्टि व्यक्त गर्दा सुखद महसुस हुन्छ । त्यो भन्दा आनन्दको क्षण केही हुनै सक्दैन जस्तो लाग्छ । भर्खरको बच्चा भएको, घरव्यवहार सम्हाल्नुपर्ने जिम्मेवारी काँधमा भर्खर आएको युवा, आफ्ना बालबालिकालाई शिक्षादीक्षा दिनुपर्ने अभिभावक आदिको उपचारकै क्रममा मृत्यु हुँदा अत्यन्तै दुःख लाग्छ ।

अस्पतालको उपचारलाई कसरी अझ राम्रो बनाउन सकिएला ?

अस्पतालको उपचारलाई अझ राम्रो बनाउनका लागि डाक्टर र नर्स मात्र नभई बिरामीका परिवारको पनि महत्वपूर्ण भूमिका हुन्छ । अस्पतालमा गरिने उपचार टिमवर्क हो, सबै पक्षको उत्तिकै महत्वपूर्ण भूमिका हुन्छ । सबै पक्षको सहकार्यले मात्र उपचारको राम्रो परिणामको अपेक्षा गर्न सकिन्छ ।

आर्थिक अभावका कारण उपचार नपाएर बिरामीको मृत्यु भएको पाउनुभएको छ ?

त्यस्तो स्थिति नआउने होइन, उपचारका क्रममा बिरामीले पैसा छैन भनेको सुन्दा साह्रै दुःख लाग्छ । मनमा गहिरो चोट लाग्छ । केका लागि हामीले यत्रो दायित्व निर्वाह ग¥यौँ जस्तो लाग्छ । यो बिरामीका लागि यति पनि गर्न सकेनौं भन्ने अनुभूति हुन्छ । बिरामी पक्षलाई सबै कुरा डाक्टरले बुझाइसकेपछि पनि कहिलेकहीँ पैसाकै अभावमा बिरामी पक्ष गलत निर्णय लिएर हर्बल, आयुर्वेद उपचारतिर मोडिन्छन् । राम्रो हुन खोज्दाखोज्दै पनि आफन्तले गलत निर्णय लिँदा बिरामीको अवस्था नराम्रोतर्फ जान्छ । समस्या पहिचान भइसकेपछि अन्य स्रोतहरू जुटाएर पनि प्रभावकारी उपचार रोज्नुपर्छ, त्यसका लागि विभिन्न बाटाहरू छन् ।

नर्सिङ कलेज र नयाँ आउने नर्सहरूलाई के सन्देश दिन चाहनुहुन्छ ?

अबको समयमा नर्सको संख्यामा भन्दा गुणस्तरमा ध्यान दिनुपर्छ । शैक्षिक केन्द्रहरूले गुणस्तरलाई प्राथमिकता दिनुपर्छ । कलेजहरूले गुणस्तरीय जनशक्ति उत्पादन नगरेको परिणाम अस्पतालहरूले भोग्न बाध्य हुनुपर्छ । गुणस्तरको विषयमा सरकारको पनि ध्यान पुग्नु जरुरी छ । मुलुकले लगानी गरेर उत्पादन गरेका नर्सहरू बाहिरिने क्रम बढ्दो छ । नर्स तथा डाक्टरहरू नेपालकै लागि आवश्यक छन्, यसमा सरकारको ध्यान पुग्न आवश्यक छ । नर्सिङ फिल्डमा आउने नर्सहरूले प्रतिबद्ध र कटिबद्ध भएर आउनुपर्छ ।

क्यान्सरबाट बचाउनका लागि के गर्दा उचित हुन्छ भन्ने ठान्नुहुन्छ ?

सर्वप्रथम सर्वसाधारणमा क्यान्सरका बारेमा जनचेतना फैलाउनुपर्छ । जनचेतना नभई क्यान्सरको वृद्धि कम गर्न सकिन्न । जिम्मेवार निकायले यसमा यथाशीघ्र कदम चाल्नुपर्छ । हाम्रो अस्पतालले पनि बेला–बेलामा जनचेतना क्याम्प गर्ने गरेको छ ।स्वास्थ्य सबैभन्दा ठूलो धन हो । रोग लागिहालेमा शुरुकै क्रममा उपचार गराउनुपर्छ । अहिले अस्पतालमा एड्भान्स मेसिन, जनशक्ति, उपचार पद्धति उपलब्ध छन् । सबै उपचार एकै ठाउँमा हुन्छ । त्यसको फाइदा लिनुपर्छ । हामी कोही पनि भ्रममा नपरौँ र हरेक वर्ष सामान्य परीक्षण गराऔं । अरुको नक्कल नगरौं, स्वस्थ खाना र स्वस्थ जीवन जिउनतर्फ लागौं ।

प्रतिक्रिया दिनुहोस्