तपाईँका घरमा हाम्रा डाक्टर



म ३२ वर्षको भएँ । यात्राको क्रममा गाडी चढ्नासाथ सधैँ बान्ता हुन्छ र आलसतालस बनाउँछ । एभोमिन औषधिले पनि छुँदैन । बान्ता रोक्ने कुनै अचुक उपाए भए बताइदिनुहुन अनुरोध छ ।
-शेखर, नुवाकोट ।

शेखरजी, तपाईंलाई जस्तै कोही–कसैलाई यातायातको साधन चढ्नै नहुने, चढ्यो भने उल्टी हुने गर्छ । यसरी उल्टी हुँदा कोहीलाई हल्का समस्या हुन्छ भने कोहीलाई अत्ति साह्रो हुन सक्छ । यसलाई मोसन सिक्नेस भन्ने गरिछ । यसको खास औषधि एभोमिन नै हो । यात्रा गर्नुभन्दा कमसेकम आधा घण्टा वा धेरै समयअघि यो औषधि खानुपर्छ । अनि मात्रै औषधिले काम गर्न थाल्छ, होइन भने गाडी चढ्ने बेलामा खायो भने औषधिले काम गर्नै पाउँदैन अनि उल्टीसँगै औषधि पनि बाहिर आउँछ । अनि समस्या जस्ताको त्यस्तै रहन्छ । धेरै बिक्ने हुनाले आजकल नक्कली एभोमिन बजारमा छ्यापछ्याप्ती पाइन्छ । ओरिजनल पाउन मुस्किल हुन्छ । तपाईंको परिवेशमा माथिकै कुरामध्ये प¥यो कि ! गाडीमा बस्दा झ्यालतिर बस्ने, अगाडिको सिटमा बस्ने, समयमै औषधि सेवन गर्ने, मुखले श्वास लिने अनि नाकले बाहिर फ्याँक्ने जस्ता गतिविधिले उल्टी आउने कम भएर जान्छ ।

म छ महिनाकी गर्भवती छु । मलाई काठमाडौंबाहिर जानुपर्ने जरुरी काम परेको छ । लामो यात्रा गर्नु कसो होला ? बताइदिनुहुन अनुरोध छ ।
– मैया मानन्धर, हाल : कलंकी ।

मैयाजी, लामो यात्रा सुरक्षित, असुरक्षित जे पनि हुन सक्छ । तपाईंको गर्भको स्वास्थ्य अवस्था, यातायातको साधन र त्यसको अवस्था, बाटोको अवस्था हेरेर अनुमान गर्ने कुरा हो यो । यदि कच्ची बाटो, उबडखाबड बाटो, लामो गाडीको पछाडिको सिट भए असुरक्षित हुन्छ । त्यस्तै सानो गाडी वा ठूलोको पनि अगाडिको सिट, सम्म र चिल्लो बाटो अनि बेला–बेलामा आराम गरेर जाने हो भने बढी सुरक्षित हुन सकिन्छ । मुख्य कुरा गर्भको बच्चाको अवस्था राम्रो हुनुप¥यो । तुलानात्मकरुपमा पहिलो त्रैमासिक र अन्तिम त्रैमासिकमा भन्दा त यो ६ महिनाको समयमा बढी सुरक्षित पनि मानिन्छ । यी सबै कुरा विचार गरेर निर्णय गर्ने जिम्मा तपाईं आफ्नो ।

किशोरी भएपछि रजश्वला शुरु हुने समय र पछि उमेर ढल्कँदै जाँदा रजश्वला बन्द हुने समयमा शारीरिक स्वास्थ्यमा देखिने लक्षणहरू के–के हुन सक्छन् ? त्यस अवस्थामा सहज अनुभूतिका लागि के कुरा अपनाउन सकिन्छ । बताइदिनुभए हरेक महिलाले सहजताको महसुस गर्ने थिए ।
– एक किशोरी, काठमाडौं ।

प्रश्न सोध्ने एक कोशोरी, रजश्वला शुरु हुने समयमा तथा सुक्ने समयमा धेरै फरक खालका लक्षण देखिन्छन् । महिलाले यी अवस्थामा सहजता महसुस गर्नु जरुरी हुन्छ । त्यो सहजता सहनशीलता वा सुझबुझ भएपछि मात्रै प्राप्त हुन्छ । रजश्वलाको शुरुमा शरीरमा शारीरिक विकास हुने, स्वर परिवर्तन हुने, स्तन बढेर आउने, गुप्तांगमा रौँ देखिन थाल्ने आदि हुन्छ । सेकेन्डरी यौनजन्य अन्य लक्षणहरू पनि विकास हुन सक्छ । त्यसैले आमाले छोरीलाई यसबारे समसामयिक परामर्श गरिरहनु वाञ्छनीय हुन्छ । यो प्रजननको सम्भावनाको लक्षण हो । त्यस्तै युवावस्थाको शुरुको लक्षण हो यो ।

त्यसै गरी महिनावारी रोकिने बेलामा महिला हर्मोनको गिरावटका कारण पसिना आउने, चिटचिटाहट हुने, गाह्रो हुने, बेचैन हुने, गर्मी हुनेलागयत अन्य लक्षण देखिन सक्छन् । जुन उमेर पाको भएकाहरूलाई हुने भएकाले त्यही समयमा पनि यसबारे व्याख्या गर्न सकिने हुन्छ । जे होस्, महिलाहरूलाई उमेरको हरेक तहमा एडजस्ट, एडप्ट धेरै नै हुनुपर्ने हुनाले उनीहरूलाई सबै कुराको समसामयिक परामर्श आवश्यक देखिन्छ ।

म मधुमेहको रोगी हुँ । एक वर्षअघिदेखि औषधि खाँदै आएको छु । ५–६ घण्टा जति खानेकुरा खाइएन भने मेरो शरीरमा चिटचिट पसिना आउँछ । न हातगोडाले काम गर्छ, न त दिमागले नै । शरीरमा सुगर लेस भएर यस्तो भएकोले चकलेट खाइहाल्नुपर्छ भनिन्छ । के चकलेट खानु समस्या समाधान हो त ? यसबारेमा सल्लाह चाहन्छु ।
– प्रविन श्रेष्ठ, मन्थली, रामेछाप ।

प्रविनजी, शरीरमा चिनीको मात्रा आवश्यकभन्दा कम भएमा त्यस्तो हुन्छ । त्यस्तो अवस्थामा चकलेट, चिनी वा केरा जे खाए पनि हुन्छ । तर तुरुन्तै खाएर चिनीको मात्रा शरीरमा खतराभन्दा माथि ल्याउनुप¥यो । यो इमर्जेन्सी उपाय मात्रै हो । समाधानका लागि खाइरहेको नियमित औषधिमा थप–घट गरेर त्यस्तो अवस्था आउन नदिने व्यवस्था गर्नु जरुरी हुन्छ । किनभने चिनीको मात्रा बरु अलि बढी नै राख्नु बेस हुन्छ, घट्नु धेरै नै खतरा हो । चिनिरोगका औषधिमध्ये कुनैले चिनीको मात्रा शरीरमा धेरै नघटाउने हुन्छन् भने कुनैले धेरै घटाएर तल नै पु¥याउने खालका हुन्छन् । त्यसैले बिरामीलाई औषधि मिलाएर, बिरामीको सुझबुझको अवस्था हेरेर मात्रै औषधि दिनुपर्ने हुन्छ । चिटचिट पसिना आउनु, रिँगटा लाग्नु, छाती खालि महसुस हुनु, वाकवाक लाग्नु त यसका शुरुवाती लक्षण हुन् । चिनीको मात्रा धेरै घटेमा त सुतेको सुत्यै हुन पनि सकिन्छ । त्यसैले यस्तो अवस्था आउन दिनुहुँदैन ।

यात्राका क्रममा पहाड–तराई गर्दा मलाई सधैँजसो रुघाखोकीले सताउने गर्छ । यस्ता समस्याबाट बच्ने केही उपाय छन् कि ?
– शुभशंकर पराजुली, नक्साल, काठमाडौं ।

शुभशंकरजी, यात्रामा धूलो, धुवाँ अनि हावाको प्रभाव सीधै पर्ने हुँदा रुघाखोकी लाग्न सक्छ । त्यसमा हाम्रा बाटोघाटो, यातायातका साधनको अवस्था, झ्यालको सिसा फुटेको, खिड्की नलाग्ने गाडीहरू भएपछि यी सबैले प्रभाव पार्ने नै भए । मास्क लगाउने, सीधै हावाको झोक्काबाट बच्ने, चिसो पेय नपिउने गरेमा केही मात्रामा भए पनि सुरक्षित हुन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्