मानिस सचेत छ, सजग छैन



वर्तमान मानिसको जीवनशैली बदलिँदै जानाले स्वास्थ्यमा जोखिम बढ्दै छ । बदलिँदो जीवनशैलीले स्वास्थ्यमा असर गर्ने थाहा हुँदाहुँदै पनि मानिस त्यसतर्फ सजग नभएको विश्व स्वास्थ्य संगठनले उल्लेख गरेको छ । हाल विश्वमा धूमपान, मादक पदार्थ सेवन गर्नेको संख्या लगातार वृद्धि हुँदै गएको छ । तर शारीरिक कसरत नगर्ने बानीले गर्दा मानिसको स्वास्थ्यमा जोखिम बढ्दै गएको विश्व स्वास्थ्य संगठनको निष्कर्ष छ ।

विश्व स्वास्थ्य संगठनले गत महिना अमेरिका, बेलायत, फ्रान्स, जर्मनी, इटाली, चीन, भारत, अस्ट्रेलिया, मेक्सिको, रुस, स्पेनलगायतका ठूला मानिएका २० वटा मुलुकमा यससम्बन्धी अनुसन्धान गरेको थियो । यस सन्दर्भमा संगठनले १ लाख मानिससँग अन्तर्वार्ता लिएको थियो । अनुसन्धानको क्रममा कतिपय सहभागीले सातामा १ घण्टा पनि शारीरिक कसरत नगर्ने कुरा बताएका थिए । सहभागीमध्ये ६५ प्रतिशतले लागूऔषध सेवन गर्दै आएको कुरा बताएका थिए भने तीमध्ये एक तिहाइले धूमपान पनि गर्ने गरेको बताएका थिए । सबैभन्दा बढी धूमपान गर्ने मानिस अमेरिकामा पाइएको सो अनुसन्धानमा उल्लेख छ । अमेरिकामा ७० प्रतिशतले धूमपान र मदिरा पिउने गरेको पाइयो भने बेलायतका ४५ प्रतिशतले लागूऔषध र धूमपान गरेको पाइयो । रुसमा चाहिँ ४० प्रतिशतले मात्र धूमपान र मदिरापानलाई अङ्गालेको पाइयो ।

धूमपान गर्नेमध्ये कतिपयले आफूमा क्यान्सरको लक्षण देखिँदै आएको बताए पनि उनीहरूमा धूमपान गर्नु नहुनेतर्फ सजगता नभएको पाइयो । त्यसै गरी २० प्रतिशतले मुटुको समस्या बल्झिरहेको बताए भने १० प्रतिशतले उच्च रक्तचाप र मधुमेहको समस्या देखिएको बताए । उनीहरूमा व्यायाम गर्नेतर्फ पनि सजगता नभएको पाइयो । समयको अभाव र व्यस्त जीवनशैलीका कारण व्यायाम गर्न नभ्याएको उनीहरूले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्