डा. सुमनराज ताम्राकार (स्त्रीरोग विशेषज्ञ)
ने पालजस्तो विकासोन्मुख देशमा मात्र होइन, कतिपय विकसित देशहरुमा पनि महिला र पुरुषबीच हरेक क्षेत्रमा भेदभाव व्याप्त छ । यी मानवसृजित विभेदबाहेक प्रकृति (भगवान्) ले पनि मानव सृष्टिका क्रममा महिला शरीरलाई तुलनात्मकरुपमा कमजोर बनाइदिएको हो कि भन्ने जस्तो लाग्छ । त्यसैले पनि मानव संरचनाको दृष्टिले कतिपय रोग वा स्वास्थ्य समस्या पनि महिलाहरुमा अलि बढी हुने गरेको पाइन्छ । यस सन्दर्भमा पिसाब नली एवं पिसाब थैलीको संक्रमण पनि एक हो । पिसाब नली भन्नाले मिर्गौलाबाट पिसाब थैलीसम्म जोडिएको नली वा पिसाब थैलीबाट योनिद्वारमाथिको प्वालसम्म बुझ्नुपर्दछ । थप प्रस्टताको लागि क्रमशः भित्री वा बाह्य पिसाब नली बुझौं ।
पुरुषहरुको दाँजोमा महिलाहरुको बाह्य पिसाब नली छोटो हुन्छ । पुरुषहरुको बाह्य पिसाब नली २० से.मि. लामो हुन्छ भने महिलाहरुको बाह्य पिसाब नलीको लम्बाइ केवल ४ से।मि। मात्र हुन्छ । महिलाहरुको पिसाब आउने प्वाल संरचनागतरुपमा मलद्वारको नजिक भएका कारण पनि महिलाहरुमा पिसाब नलीको संक्रमण तारन्तार भइराख्छ ।
पिसाब नलीको संक्रमणको आशंका हुनासाथ पिसाबको साधारण जाँचबाट यो रोग खुट्टिन्छ । पिसाबको कल्चर गराएमा कारक कीटाणु पनि निक्र्यौल हुन्छ । आवश्यकता हेरी रगतको कल्चर, हेमोग्लोबिनको मात्राका साथै मिर्गौलाको काम गराइ हेर्न अल्ट्रासाउन्डको पनि जरुरत पर्दछ ।
यसको अलावा स्त्री जननेन्द्रिय अर्थात् योनिमार्गको सतही क्षेत्र निकै फराक हुन्छ । उचित सरसफाइको अभावमा यसमा हुने योनिरस तुरुन्तै संक्रामक हुन सक्छ । साथै महिना चक्रअनुसार योनिरसको अम्लीयपनामा आउने परिवर्तनले त्यहाँ कीटाणुहरुको वृद्धिलाई प्रभावित पारिरहेको हुन्छ । महिलाहरुको बाह्य पिसाब नली योनिमार्गको भित्तासँगै जोडिएका कारणले योनिमार्गको संक्रमण बाह्य पिसाब नलीतिर छिट्टै फैलिन सक्छ । साथै यौनसम्पर्कपूर्व पुरुष लिंग राम्ररी सरसफाइ गरिएको छैन भने महिलामा योनिमार्गको संक्रमण अनि पिसाब नलीको संक्रमण हुने सम्भावना बढी हुन्छ । त्यसैले पनि अविवाहित किशोरीको दाँजोमा भर्खरै विवाह गरेका किशोरीहरुमा पिसाब नली वा पिसाब थैलीको संक्रमण अलि बढी हुने गरेको पाइन्छ । यसलाई मेडिकल भाषामा हनिमुन सिस्टाइटिस भन्ने गरिन्छ ।
जननेन्द्रियको संरचनाको हिसाबले पनि पुरुष लिंको सरसफाइ गर्न जति सजिलो हुन्छ त्यसको तुलनामा महिलाको योनिमार्गको सरसफाइ गर्न अलि अप्ठ्यारै हुन्छ । त्यसमा पनि सबै पुरुषहरुले यौनक्रियापूर्व आफ्नो यौनांग सफा गरेका हुँदैनन् । त्यसमाथि हतारमा वा आकस्मिकरुपमा यौनसम्पर्क राख्नेको त कुरै छाडौं । यसको प्रत्यक्ष मार भने महिलालाई परिरहेको हुन्छ । यसले महिलामा संक्रमणको
खतरालाई बढाइदिन्छ ।
नेपालको परिप्रेक्ष्यमा महिलामा पिसाब नलीको संक्रमण हुनाको अर्को कारक तत्व हो, यथेष्ट महिला–मैत्री शौचालयको अभाव । पिसाब थैलीको क्षमता ५ सय मिलिलिटरको भए पनि ३ सय ५० मिलिलिटर पिसाब जम्मा भएदेखि नै पिसाब गर्न मन लाग्ने हुन्छ । तर पिसाब च्याप्दैमा सबै महिलालाई सहजरुपमा तुरुन्त पिसाब गर्ने सुविधा उपलब्ध हुँदैन । शौचालयको अभाव, व्यस्तता आदि कारणले केही समय पिसाब च्याप्नुपर्ने अवस्था सिर्जना हुन्छ । पिसाब गर्न मन लागिसकेको अवस्थामा पिसाब रोकिराख्नु पनि पिसाब नली वा पिसाब थैलीको संक्रमणको एउटा कारण हो । पिसाब पनि विकारयुक्त वस्तु भएका कारण ब्याक्टेरियाको वृद्धि हुन सजिलो हुन्छ ।
गर्भवती महिला थप पीडित
पिसाब नलीको संक्रमण गराउने सबभन्दा बढ्ता कारक ‘ई कोलाइ’ नामक ब्याक्टेरिया ९कीटाणु० हो । गर्भावस्थामा अन्य बेलामा भन्दा योनिमार्गमा हाइड्रोजन पेरोक्साइड नामक अम्लीय तत्व उत्पादन गर्ने ल्याक्टोब्यासीलाइको संख्या घट्ने हुनाले ई कोलाइको संख्या बढ्न जान्छ र पिसाब आपैंmले पनि एन्टिसेप्टिकको काम गर्ने हुनाले यसको बहावले पनि संक्रमण घटाउन मद्दत गर्दछ । तर गर्भावस्थामा पिसाब राम्ररी निख्रिँदैन । यो पनि पिसाब नलीको संक्रमणको कारण बन्न सक्छ ।
गर्भवती महिलाहरुमध्ये करिब ८० प्रतिशतमा गर्भावस्थाको शुरुतिर बढिरहेको पाठेघरले थिचिने, पिसाब नलीे खुकुलो हुने, बढ्ता पिसाब उत्पादन हुने तथा गर्भावस्थामा पिसाब थैलीमा रक्तप्रवाह बढ्ने हुनाले पिसाब छिटो–छिटो लाग्छ । गर्भावस्थाको अन्त्यतिर भने गर्भे शिशुको टाउकोले पिसाब थैली थिचिने हुनाले फेरि छिटो–छिटो पिसाब लाग्छ । गर्भावस्थामा मिर्गौलाको आकार १ सेन्टिमिटरले बढ्छ । पिसाब संकलन गर्ने नली खुकुलो हुन्छ । पिसाब नली फुल्छ ।
गर्भावस्थामा मूत्र प्रणालीमा ३५ देखि ६० प्रतिशतले रक्तप्रवाह बढ्छ भने पिसाब पनि ४० देखि ५० प्रतिशतसम्म बढी उत्पादन हुन्छ । पिसाबबाट प्रोटिन र एल्बुमिन पनि बढ्ता खेर जान्छ । त्यसैले पनि गोडा सुन्निन थाल्छ । पिसाबमा ग्लुकोज पनि बढी नै खेर जान्छ । पिसाबमा ग्लुकोजको मात्रा बढ्ने कारण पनि पिसाब नलीको संक्रमण हुने सम्भावना बढी हुन्छ ।
पिसाब नलीको संक्रमण गर्भवती अवस्थामा ब्याक्टेरियाबाट हुने संक्रमणहरुमध्ये सबभन्दा बढी हुने संक्रमण हो । गर्भवती महिलाहरुमध्ये करिब ८ प्रतिशतमा पिसाब नलीको संक्रमण हुन सक्छ । पिसाब नलीको तल्लो वा माथिल्लो भागमा कारक कटिाणुको अत्यधिक वृद्धि भई यस्तो संक्रमण हुन्छ । गर्भावस्थामा मूत्र प्रणालीमा आउने परिवर्तनका कारण पनि पिसाब नलीको संक्रमण
हुन मद्दत पुग्छ ।
संक्रमणका अन्य कारण
विनाकुनै लक्षण पिसाबमा कीटाणु देखिने समस्या, मूत्रथैली वा बाह्य मूत्रनलीको संक्रमण वा सुजन, मिर्गौलाको संक्रमण वा सुजन एवं मूत्र प्रणालीको पत्थरीको समस्याका कारण थरी–थरीका पिसाब नलीको संक्रमण हुने गर्दछ । यसको अलावा मधुमेहका बिरामीमा सुगर नियन्त्रणमा छैन भने पनि तारन्तार योनिमार्गमा बाक्लो सेतो पानी देखा पर्ने र पिसाब नलीको संक्रमण भइरहने हुन्छ ।
समग्रमा पिसाब नलीको संक्रमण हुँदा पिसाब छिटो–छिटो लाग्ने, थोरै हुने, पोल्ने, रातो देखिने, पिपजस्तो देखिने र पिसाब कल्चर गराएको खण्डमा कीटाणुको संख्या निकै बढेको पाइन्छ । मिर्गौला, मूत्रथैली वा बाह्य मूत्रनलीको संक्रमण वा सुजन हुँदा माथि उलिखित लक्षण चिह्नको अलावा काम छुट्ने, ज्वरो आउने, एकातिर वा दुवैतिर कोखा दुख्ने, खान मन नलाग्ने, वाकवाकी लाग्ने, उल्टी आउने, कम्मरको दुखाइ तिघ्रातिर सर्ने, पिसाबमा पिप वा ब्याक्टेरिया देखा पर्ने हुन्छ । यो समस्या ल्याउने कीटाणुले उत्पादन गर्ने टक्सिनको कारण रातो रक्तकण टुक्राउने हुनाले रक्तअल्पता गराउन सक्छ ।
पिसाब नलीको संक्रमणको आशंका हुनासाथ पिसाबको साधारण जाँचबाट यो रोग खुट्टिन्छ । पिसाबको कल्चर गराएमा कारक कीटाणु पनि निक्र्यौल हुन्छ । आवश्यकता हेरी रगतको कल्चर, हेमोग्लोबिनको मात्राका साथै मिर्गौलाको काम गराइ हेर्न अल्ट्रासाउन्डको पनि जरुरत पर्दछ । मिर्गौलाको पत्थरीको समस्या भएको छ भने पनि पिसाब नलीको संक्रमण हुन सक्छ । एक्सरे र मिर्गौलाको काम हेर्ने विशेष एक्सरे (आईभीपी) पटक–पटक गर्न नमिल्ने भए पनि अल्ट्रासाउन्ड ९भिडियो एक्सरे० बाट ६० प्रतिशत पत्थरीको समस्या पत्ता लाग्छ ।
पिसाब नलीको संक्रमणको रोकथामका लागि पानी धेरै पिउने र नून कम खाने गर्नुपर्दछ । नियमित तवरमा पिसाबको साधारण जाँच एवं मिर्गौलाको सामान्यता थाहा पाउन रगतमा क्रियटिनिनको मात्रा जाँच गराइराख्नु राम्रो हुन्छ । पिसाब नलीको संक्रमण हुनासाथै पूर्ण उपचार सम्भव छ । तर तारन्तारको पिसाब नलीको संक्रमणका कारण मिर्गौला नै बिग्रिन गएमा रगतको विकार हटाउन डायलाइसिस वा मिर्गौला प्रत्यारोपणसम्म गराउनुपर्ने हुन्छ । यसकै जटिलतास्वरुप उच्च रक्तचाप विकसित हुने तथा रक्तअल्पता देखा पर्ने हुन सक्छ भने गर्भवती महिलाहरुको गर्भ तुहिने, बेथाअगावै साल छुट्टिने, रक्त विषाक्तता देखिने, मुटुले फेल खाने, महिना नपुग्दै बेथा लाग्ने, गर्भमै शिशुको मृत्यु हुने हुन सक्छ ।