तपाईँका घरमा हाम्रा डाक्टर



जाडो शुरु भयो । यो मौसममा मेरो हातगोडा असाध्यै फुट्ने गर्छ । ओठ फुटेर त्यत्तिकै हैरान पार्छ । यसको औषधि के होला रु डा। साबले बताइदिनुभएमा मजस्ता अन्य व्यक्तिलाई पनि राहत पुग्ने थियो ।
–बबिता शर्मा, धुलिखेल, काभ्रे ।

बबिताजी, जाडो मौसममा धेरैको हात, गोडा, ओठ फुट्ने समस्या देखा पर्ने गर्दछ । यो स्वाभाविक पनि हो । तर आफ्नो छालाको स्याहार गरेर नफुट्ने, कम फुट्ने, फुटेकोलाई सन्चो बनाउने गर्न सकिन्छ । भ्यासेलिन, मख्खन, नौनी वा तेलजस्ता चिल्लो पदार्थ लगाउने अनि हावा, चिसो, धूलोजस्ता प्रतिकूल असरबाट जोगाउने गरेमा बच्न सकिन्छ । बिहान–बेलुका हावामा निस्कँदा अनि धूलोको संक्रमण हुने जस्तो भएमा ओठ फुट्न नदिन क्रिम वा भ्यासेलिन लगाउने गर्नुपर्छ ।

त्यस्तै ओठ फुटिसकेको भएमा पनि यस्ता पदार्थ लगाइरहेमा बिस्तारै सन्चो भएर जान्छ । खुट्टा फुटेमा मनतातो पानीले धोएर सुख्खा हुने गरी पुछ्ने अनि भ्यासेलिन वा तेल लगाउने, मोजा लगाउने, धूलो–चिसोबाट बचाउने गर्नुपर्छ । फुट्न नदिन पनि त्यस्तै नियमित भ्यासेलिन लगाउने, मोजा लगाउने, धुने, सफा राख्ने गर्नुपर्ने हुन्छ ।

म २२ वर्षकी भएँ । मेरो कपालमा असाध्य चाया पर्ने गरेको छ । जाडो मौसममा त यसले झनै सताउने गरेको छ । गतवर्ष साथीको सल्लाहअनुसार निजरल स्याम्पु प्रयोग गरेकी थिएँ । त्यसले केही ठीक भएको थियो । यस्तो स्याम्पु सधैँ प्रयोग गर्न हुन्छ कि हुँदैन । यो समस्यालाई सधैँका लागि निर्मूल पार्ने उपाय बताइदिनुहुन्छ कि ?
–जया कार्की बारबिसे, सिन्धुपाल्चोक ।

जयाजी, यदि ओरिजिनल निजरल स्याम्पु भेटिएमा सधैँ लगाउन पनि मिल्छ, त्यो स्याम्पुले चाया निर्मूल नै गराउन पनि सक्छ भनेर विज्ञहरुले भन्ने गरेको सुनिएको छ । त्यसबाहेक चाया हटाउने अन्य उपाय पनि हुन सक्छन् । त्यसको लागि सम्बन्धित विज्ञले दिएको सल्लाह मान्नुपर्ने हुन्छ । तसर्थ टाढा होइन, एकपटक वीर अस्पताल वा शिक्षण अस्पताल आएर छालारोग विशेषज्ञलाई देखाई गुणात्मक सल्लाह लिनुभएमा फाइदा हुनेछ ।

डाक्टर साब, मेरो बुबालाई जाडोमा दमले सताउने गर्छ । हरेक दुई–तीन महिनामा अस्पताल नै पुर्‍याउनुपर्ने हुन्छ । सधैँ निमोनिया भयो, एन्टिबायोटिक चलाउनुपर्छ, केही उपाय छैन भनिन्छ । सधैँ आराम हुने कुनै औषधि छैन रु जसले गर्दा उहाँलाई आराम होस् ।
–सन्तोष निरौला, भक्तपुर ।

सन्तोषजी, काठमाडौं उपत्यकाको धूलो, धुवाँ, घरमा पहिले–पहिले बालिने गरेको दाउराको धुवाँ, चुरोट–तमाखुको धुवाँ सबैले फोक्सोलाई कमजोर पारेर जाडोमा च्याप्ने जुन समस्या छ त्यसलाई ‘सीओपीडी’ भन्ने गरिन्छ । यस अवस्थामा सधैँजसो संक्रमणले हैरान गर्छ । यस्तो समस्याको न्यूनीकरणको उपायहरुमा धूलो, धुवाँ, चिसोबाट बचाउने, रुघाखोकी नलागोस् भनेर न्यानो लुगा लगाउने, खाना सन्तुलित खाने अनि रुघा नलाग्ने खोप नियमित लगाउने गर्नुपर्छ ।

त्यस्तै निमोनियाको खोप लगाउने, नियमित मास्क लगाउने, बाफ लिने, भिटामिन ‘बी’ कम्प्लेक्स खाने गरेमा केही मात्रामा रोकथाम हुन सक्ने हुन्छ । रोगले बढी नै च्यापेमा ढिलो नगरी अस्पताल लैजान अत्ति नै जरुरी ठहर्छ ।

जाडो मौसममा हार्ट एट्याक बढी हुन्छ भनिन्छ । त्यस्तै उच्च रक्तचाप अनि दमको रोग पनि जाडो मौसममै बढ्ने खतरा हुन्छ भनिन्छ । के यो सत्य हो रु किन त्यस्तो हुन्छ होला अनि बच्न के–के गर्नुपर्ला ?
–सुनील पोख्रेल, बुटबल ।

सुनीलजी, तपाईंले भनेको कुरा सही हो । जाडो मौसममा दमको रोग, रक्तचाप अनि हार्ट एट्याकको दर अरु मौसममा भन्दा अलि बढी पाइन्छ । त्यस्तै यी समस्याको जटिलता वा मृत्यु पनि अन्य समयमा भन्दा जाडोमा अधिक नै हुन्छ । चिसोको कारणले गर्दा रक्तनलीहरु साँघुरिने, रगत जम्न सक्ने, रुघाखोकीको सम्भावना बढी हुने, ऊनीको कपडा लगाउँदा धूलो बढी हुने, श्वासनली साँघुरिने आदि हुन्छ । तसर्थ यस्ता समस्या हुनेले वा हुने सम्भावना भएकाले पनि आफ्नो स्वास्थ्यको अलि बढी ख्याल गर्नुपर्ने हुन्छ । नियमित चिकित्सकको सम्पर्कमा रहने, रक्तचाप नियन्त्रणमा राख्ने, हार्टको औषधि लिने गरेको छ भने नियमित सेवन गर्ने, बलको काम र जबर्जस्ती मुटुलाई भार पर्ने क्रियाकलाप नगर्ने, धेरै आवेशमा नआउने, नरिसाउने गर्नुपर्छ । समग्रमा भन्दा जीवनशैली सुधारमा ख्याल गर्नुपर्छ ।

मलाई मधुमेह भएको २ वर्ष भयो । औषधि खाइरहेको छु । कुनै दिन खानाभन्दा अगाडि खाने औषधि खान बिर्सिन्छु । खाना खाँदाखाँदै वा खाइसकेपछि जुन बेला सम्झन्छु, तुरुन्त खाइहाल्छु । बिहान खाना खानुअघि र बेलुका खानापछि खाने औषधिको समयमा यताउता हुँदा नरामै्र असर पर्छ कि रु अनि बिहान सामान्य खाजा खाएर खानाचाहिँ दिउँसो खाइयो भने बिहानको औषधि दिउँसो खाँदा हुन्छ कि हुँदैन ? सल्लाह पाऊँ ।
– पवन कार्की, चरिकोट, दोलखा ।

पवनजी, मधुमेह भएको मान्छेले औषधि लिनु जति महत्वपूर्ण छ त्यत्तिकै महत्वपूर्ण छ तोकिएको समयमा औषधि सेवन गर्नु । त्यसैले औषधि खान नबिर्सनुस्, नियमित खानुस् । खानाअगाडि तथा पछाडि खाने भनिएका औषधि त्यसरी नै समयअनुसार खानुपर्ने हुन्छ । किनभने ती औषधिको उपादेयता तथा फाइदा त्यसरी नै खाँदा प्राप्त हुन्छ ।

औषधिको प्रभावकारिता तथा सुरक्षा पनि निश्चित समयमा खानाले मात्रै प्राप्त हुन्छ । तसर्थ जसरी हुन्छ सम्झेर भनेकै समयमा औषधि खानु जरुरी छ । जहाँसम्म बिहानको खाना वा खाजाको कुरा छ, हामी नेपालीलाई युरोप–अमेरिकामा जस्तो बिहानको खाजा अर्थात् ब्रेकफास्टसँग नभएर मुख्य खानासँग औषधिको सम्बन्ध मिलाएर खान आवश्यक छ । किनकि उनीहरुको ब्रेकफास्टजस्तो हाम्रो बिहानको खाजा वजनदार हुँदैन । यदि यहाँ पनि विदेशीको जस्तो वजनदार बिहानको खाजा खाने बानी भएमा त्यस्तै गर्ने सल्लाह दिन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्