विपन्नलाई उपचार सहायता



सरकारले विपन्न नागरिकलाई औषधि उपचारबापत आर्थिक सहायता उपलब्ध गराउने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यससम्बन्धी निर्देशिका बनाई लागू गरिसकेको छ । यसका लागि ‘विपन्न नागरिक औषधि उपचार कोष’ नामको एक छुट्टै कोष स्थापना गरिएको छ । विपन्न नागरिक औषधि उपचार कोष निर्देशिका (संशोधित), २०७१ अनुसार विपन्न बिरामीहरुलाई सरकारबाट देहायबमोजिम आर्थिक सहायता उपलब्ध हुनेछ ।

मृगौलाका सम्बन्धमा :

* स्वदेशमा मृगौला प्रत्यारोपण गर्ने भएमा अस्पतालमार्फत रु. २ लाख छुट हुनेछ ।

*हेमोडायलासिस २०८ सेसन निःशुल्क हुनेछ ।

*पेरिटोनियल डायलासिस २ वर्षसम्म निःशुल्क हुनेछ ।

* मेडिकल बोर्डको सिफारिसमा विदेशमा गई मृगौला प्रत्यारोपण गरेमा रु। २ लाख र प्रत्यारोपणपश्चात् औषधि सेवनका लागि रु। १ लाख सम्बन्धित बिरामीबाट बिल भपाई लिई नगदै उपलब्ध गराइनेछ ।

अल्जाइमर्स र पार्किन्सन्सको उपचारका सम्बन्धमा : 

अल्जाइमर्स र पार्किन्सन्सका बिरामीलाई उपचार गरेको बिल भपाई लिई रु. १ लाखसम्म नगद भुक्तानी दिइनेछ ।

मुटु, क्यान्सर, हेड इन्जुरी, स्पाइनल इन्जुरी र सिकलसेल एनिमिया रोगका सम्बन्धमा : 

यी रोगको स्वदेशमा उपचार भएमा अस्पतालमार्फत रु. १ लाख बराबरको औषधि उपचार सेवा निःशुल्क गरिनेछ । विदेशमा उपचार गर्नुपर्ने भएमा रु. १ लाख उपचारपश्चात् सम्बन्धित बिरामीलाई बिल भर्पाइ लिई नगदै भुक्तानी दिइनेछ । तर विदेश गई उपचार गर्नुपर्ने भएमा मेडिकल बोर्डको सिफारिस अनिवार्य हुनुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्