ब्याड टाइमले राइट ठाउँमा ल्याउँदो रहेछ



श्वेता

मानिसले जीवन जीउन धेरै उतारचढाव पार गर्नुपर्छ । ती उतारचढाव पार गर्न हिम्मत, आँट र साहस चाहिन्छ । लड्नु असफलता होइन, बरु लडेर उठ्न नसक्नुचाहिँ असफलता हो । यस्तै लाग्छ, नायिका तथा महिला व्यवसायी श्वेता खड्कालाई चिन्ने जो–कोहीलाई ।

फिल्म कहाँ भेटिएलाबाट फिल्मी करिअर शुरु गरेकी श्वेता थोरै फिल्ममा काम गरेर पनि लोकप्रियताको उचाइ चुम्ने थोरै नायिकामध्येकी एक हुन् । औँलामा गन्न सकिने फिल्ममा काम गरे पनि उनको फ्यान र फलोअर्स असंख्य छन् । रिल लाइफमा मात्र नभई श्वेता रियल लाइफकै हिरोइन हुन् । श्वेताको जीवन हेर्ने हो भने कुनै सिनेमाको कथाभन्दा कम कारुणिक र पीडादायी छैन । फिल्म कहाँ भेटिएलामा सँगै काम गर्दा नजिकिएका नायक स्व. श्रीकृष्ण श्रेष्ठ र श्वेता श्रीमान्–श्रीमती र कोहिनुरमा सँगै अभिनय गरेपछि विवाहबन्धनमा बाँधिए ।

तर बिहेवारी भएको एक महिनामै उनले पति वियोग सहनुपर्रयो, जसले उनलाई लामो समयसम्म विक्षिप्त बनायो । पति वियोगबाट सम्हालिँदा सम्हालिँदै, शारीरिक र मानसिक स्वास्थ्यमा आएका विभिन्न समस्यालाई जित्दै अगाडि बढिरहेकी छिन् उनी । उनकै शब्दमा भन्दा उनी आफ्नो दोस्रो जिन्दगी जिइरहेकी छिन् ।

पति वियोगपछि बेहोस अवस्थामा भारतबाट नेपाल ल्याइएकी श्वेतालाई करिब एक महिना ग्यास्ट्रिकले सतायो भने ३ महिनापछि अस्पताल जाँदा उनले आफू डिप्रेसनको सिकार भएको थाहा पाइन् । त्यसपछि करिब एक वर्षसम्म बेड रेस्टमा बस्दा उनलाई ब्याक पेनको समस्याले गाँज्यो । ‘कक्षा १० पछि नै स्कुटर चलाउन शुरु गरेको थिएँ । धेरै यङ हुँदा नै स्कुटर चलाएका कारण मलाई ब्याक पेनको समस्या शुरु भएको थियो । एक वर्षको बेड रेस्टपछि समस्या फेरि बल्झिएछ । स्वास्थ्यमा विभिन्न समस्या आउन थालेपछि उपचारको लागि मलाई परिवारले अमेरिका लग्यो । त्यहाँ मैले ३ महिनासम्म औषधि सेवन गरें । साथै थरोपीहरु गरें । त्यसपछि समस्या कम हुँदै गयो’, श्वेताले सुनाइन् ।

विभिन्न परिस्थिति र स्वास्थ्य समस्यासँग जुध्दै जाँदा करिब २ वर्ष बितिसकेको थियो । त्यसपछि सामान्य अवस्थातिर फर्किंदै श्वेताले नयाँ जिन्दगीको शुरुवात गरिन् । केही समयअघि मात्र पनि देब्रे गर्दनमा देखिएको ट्युमरको दिल्लीस्थित बीएलके सुपर स्पेसियालिटी अस्पतालमा सफल शल्यक्रियापश्चात् नेपाल फर्केपछि उनलाई पक्षघातको समस्या देखियो । जसको समाधानका लागि फिजियोथेरापी पद्धतिबाट ३ महिनासम्म उपचार गराएकी उनी अहिले उक्त समस्याबाट पूर्णरुपमा मुक्त भएकी छिन् । दिल्लीमा डा। सुरेन्द्रकुमार दबासले रोबोटिक सर्जरी गरेको र नेपालबाट डा। पंकजको समन्वयमा शल्यक्रिया भएको उनले बताइन् ।

फिल्म क्षेत्रमा होमिएपछि श्वेतालाई धेरैले नयिकाको रुपमा चिने पनि त्यसअघिदेखि नै उनी व्यवसायीको रुपमा अघि बढिरहेकी थिइन् । व्यवसायमा रुचि राख्ने उनी फिल्म क्षेत्रमा पछि मात्र लागेकी हुन् । समाजशास्त्र र अर्थशास्त्रमा स्नातक गरेकी श्वेताले आफ्नो पढाइभन्दा परको क्षेत्र रोजिन् । जुन क्षेत्रमा सफलताको साथ अगाडि बढाइरहेकी छिन् । उनले १० वर्षअघि सञ्चालन गरेको एमआरएस इन्जिनियरिङ कम्पनी अहिले राम्रोसँग चलिरहेको छ ।

‘कलेज पढ्दा एक इन्टेरियर इन्जिनियरिङ कम्पनीमा काम गरेकी थिएँ । त्यहीँ काम गरेको अनुभवकै आधारमा आफ्नै कम्पनी खोलेको हुँ’, दुखैदुःख र पीडा नै पीडाले भरिएका क्षणहरुलाई जित्दै आइरन वुमनका रुपमा कहलिएकी श्वेताले आफ्नो सफलतको कथा शेयर गरिन्, ‘मेरो लाइफमा जुन घटना भयो, त्यसपछि मेरो बिजनेस लथालिंग र भताभुंग भइसकेको थियो । धेरै कर्मचारीले काम छोड्नु पनि भयो । करिब २ वर्षपछि मैले फेरि व्यावसायिक जीवनलाई निरन्तरता दिएँ ।’

दरबारमार्गस्थित राइजिङ मलमा हिमालयन जाभाको फ्रेचाइन्जी शुरु गरेको ३ वर्षपछि श्वेताले हालै बालुवाटारमा हिमालयन जाभाकै अर्को आउटलेटसमेत विस्तार गरेकी छिन् । ‘शुरुमा विभिन्न मिटिङ, इन्टरभ्युका लागि मानिसहरु भेटिरहनुपर्ने भएकोले आफ्नै कफी सप भयो भने भेटघाटको लागि सजिलो हुन्छ भन्ने हिसाबले हिमालयन जाभा खोलेकी थिएँ । पछि बिजनेस पनि राम्रो हुन थाल्यो । यहाँ फ्यानहरु पनि भेट्न आउनुहुन्छ’, श्वेता भन्छिन् ‘अहिले आफ्नो व्यसायिक जीवनलाई पछाडी फर्किएर हेर्दा खुशी लाग्छ । एस आई डीड ईट भन्ने फिल हुन्छ ।’ कलाकार भएको नाताले व्यवासायमा निकै सजिलो भएको श्वेताको अनुभव छ । ‘मलाई धेरैले चिन्नुहुन्छ । सबैले विश्वास र माया गर्नुहुन्छ । त्यसकारण कामहरु लिन पनि सजिलो भइरहेको छ ।’

सुन्दरता र कौशलताकी धनी श्वेता मनकी पनि धनी छिन भन्ने सबैलाई थाहा छ । समाजसेवा उनको अर्को रुचिको क्षेत्र हो । ‘समाज सेवा गर्छु भनेर गरिने होइन, आफ्से आफ गरिने कुरा रहेछ । मेरो कारणले कसैको जिन्दगीमा खुशी मिल्छ भने मलाई त्यसैमा आनन्द मिल्छ । त्यसकारण आवश्यकता परेका मानिसलाई सकेजति सहयोग गरिरहेकी हुन्छु’, उनी भन्छिन् ।

२०७२ सालको प्रलयकारी भूकम्पपछि टहरामा जीवन गुजारिरहेका सिन्धुपाल्चोकको ठूलो सिरुबारीस्थित माझी समुदायका निम्ति आफ्नो र पति श्रीकृष्ण श्रेष्ठको नाम जोडेर श्वेताश्री फाउन्डेसन स्थापना गरी सरकारसँग सहकार्य गर्दै ५३ घरसहितको बस्ती निर्माणको शुरुवात गरेकी श्वेताले माझी बस्ती निर्माण कार्यलाई अन्तिम चरणमा पुर्रयाएकी छिन् । यसबाहेक बाढीपीडितका लागि समेत सहयोग गरेकी उनी क्यान्सरपीडितको उपचारको सहयोगमा पनि जुटिरहेकी छिन् । सामाजिक कार्यमा निरन्तर सक्रिय श्वेताले हालै फिल्म महोत्सवको लागि वीरगन्ज पुग्दा त्यहाँको शान्तिटोलका दलित बालाबालिकालाई शैक्षिक सामग्री वितरणसमेत गरिन् । स्थानीय बालबालिकालाई विद्यालय जानको लागि अभिप्रेरित गर्ने उद्देश्यले शैक्षिक सामग्री प्रदान गरेकी उनले स्थानीय महिलाहरु बचत समूहमार्फत विभिन्न आयआर्जनका कार्यमा सहभागी भएको देखेर उनीहरुलाई हौसला प्रदान गर्ने हेतुले आर्थिक सहयोग गरिन् ।

पति स्व. श्रीकृष्ण श्रेष्ठले देखाएको बाटो पछ्याउँदै दुई वर्षअघि श्वेताले आफू शीर्ष भूमिकामा रहेर कान्छी नामको फिल्म निर्माण गरिन्, जसबाट दर्शकको अपार माया बटुल्न सफल भइन् । दर्शकहरु उनको अर्को फिल्मको प्रतीक्षामा रहेको बेला श्वेता भन्छिन्, ‘अहिले फिल्ममा काम नगर्नुको अर्थ मैले यो क्षेत्रलाई माया मारेको वा छोडेको होइन, अहिले माझी बस्तीलाई नै समय दिइरहेकी छु । माझी बस्ती निर्माण सम्पन्न भइसकेपछि पक्कै पनि फिल्ममा आउने नै छु ।’

समाज सेवादेखि व्यवसाय र फिल्म क्षेत्रमा उत्तिकै सक्रिय श्वेताले यी सबैका लागि कसरी समय व्यस्थापन गर्छिन् होला रु ‘सबै टिम वर्क हो । मलाई साथ दिने कर्मचारीदेखि परिवारको सपोर्टका कारण पनि समयको म्यानेज भइरहेको छ’, श्वेताले सुनाइन् । श्वेता आफ्नो जीवन, समय र स्वास्थ्य तीन कुरालाई महत्वपूर्ण मान्छिन् । भन्छिन्, ‘लाइफ एकचोटि पाउने कुरा हो । त्यसकारण यो प्रिसियस छ । म जुनसुकै बेला जिन्दगीलाई खुशीका साथ बाँच्ने प्रयास गर्छु । त्यस्तै समय पनि मूल्यवान् कुरा हो । समयलाई चिनेर त्यही अनुसार काम गरियो भने सफल हुन सकिन्छ । अर्को कुरा, स्वस्थ शरीरविना केही पनि गर्न सकिँदैन । त्यसकारण हेल्थ कन्सियस हुन थालेकी छु भने स्किन हेल्थको लागि सुहाउँदो प्रोडक्टको प्रयोग गर्छु । सुन्दरताकै लागि भनेर स्पेसल केही पनि गर्दिन । सकारात्मक सोचाइ राख्नुको साथै खुशी भइरहेको हुन्छु ।’

आफ्नो सफलताको श्रेय आफ्नो लगनशीलता, परिश्रम र निरन्तरतालाई दिने श्वेताले हालसम्म आइपुग्दा जीवनमा जस्तो परिस्थिति आइपरे पनि सामना गर्नुपर्दो रहेछ र आफ्नो लागि मात्र नभई अरुको लागि पनि सोच्नुपर्ने रहेछ भन्ने अनुभव गरेको बताइन् । ‘स्ट्रङ र ह्याप्पी भएर जीवन अगाडि बढाउनुपर्दो रहेछ’, उनले भनिन् । नायक पति स्व। श्रीकृष्ण श्रेष्ठको निधनपछि उनले जुन आँट र साहस बटुलेर जीवनलाई अगाडि बढाइरहेकी छिन्, त्यो हरकोहीको लागि उदहारणीय छ । ‘हामीलाई ब्याड टाइमले नै राइट ठाउँमा पुर्रयाउँदो रहेछ’, नेल्सन मण्डेलाको भनाइ सापटी लिँदै श्वेता भन्छिन्, ‘कहिल्यै नलडेर बाँच्नुभन्दा पटक–पटक लडेर उठ्नुमा जीवनमा धेरै खुशी मिल्छ ।’

प्रस्तुति : रश्मी थापा

प्रतिक्रिया दिनुहोस्