बिरामीको सेवा नै नर्सको दायित्व



परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पताल थापाथलीलगायत विभिन्न अस्पतालमा विगत ३४ वर्षदेखि विभिन्न जिम्मेवारीमा रही नर्सिङ सेवा प्रदान गर्दै आउनुभएकी आशालक्ष्मी प्रजापती हाल प्रसूति गृह अस्पतालमा नर्सिङ डाइरेक्टर हुनुहुन्छ । चितवनको गौरीगन्जमा जन्मनुभएकी प्रजापतीले त्रि.वि. चिकित्साशास्त्र अध्ययन संस्थान, नर्सिङ कलेजबाट ब्याचलर र पद्मकन्या क्याम्पसबाट स्नातकोत्तर गर्नुभएको छ । उहाँले शुरुमा स्टाफ नर्सका रुपमा पाटन अस्पतालमा केही वर्ष काम गरेर अनुभव सँगाल्नुभएको छ । प्रसूति गृहमा उहाँले पहिला पोस्ट वार्डको इन्चार्ज, त्यसपछि लेबर वार्डको इन्चार्ज, मेट्रोन, इन्टेन्सिप केयर युनिटमा स्टाफ नर्स, नर्सिङ अधिकृत, सुपरभाइजर हुँदै हाल नर्सिङ प्रमुखको रुपमा काम गरिसक्नुभएको छ । आफ्ना दाजु–भाउजूको सल्लाहले नर्सिङ विषयको पढाइ शुरु गरेको बताउने आशालक्ष्मी प्रजापतीलाई यस अंकको साधनामा नर्स अफ द मन्थका लागि छनोट गरेका छौं । उहाँसँग साधना प्रतिनिधि भगवती तिमल्सिनाले गर्नुभएको कुराकानीको सार :

हामी पनि मान्छे नै हो । दुःख लाग्छ । आँखाबाट आँसु झर्न थालेपछि एउटा कोठामा गएर रुन्छु अनि मुख धोएर फेरि अर्को बिरामीको सेवामा जुट्छु । डाक्टर, नर्स भनेका कडा स्वभावका हुन्छन् भनिन्छ तर त्यस्तो हुँदैन । कतिपय घटनामा आफैंलाई परेको महसुस हुन्छ ।

नर्सिङ पेसामा गरेको लामो अवधिको सेवालाई कसरी सम्झनुहुन्छ ?

आफूले लिएको जिम्मेवारी पूरा गर्न समयको पालना महत्वपूर्ण हो भन्ने कुरा मैले पाटन अस्पतालबाट सिकेकी थिएँ । मैले बिरामीको सेवा नै नर्सको दायित्व हो भन्ने कुरा बुझेर काम गरेँ । जिम्मेवारी बहन गर्ने सिलसिलामा धेरै अप्ठ्याराहरु पनि आए तर मैले धैर्यताका साथ काम गरेँ, समाधान पनि हुँदै गए ।

मैले काम गरेका अस्पतालहरुमा बिरामीको चापअनुसार नर्सको संख्या कहिल्यै पर्याप्त भएन । एकजना नर्सले १५ देखि २० जनासम्म र कहिलेकाहीँ ३० जनासम्म हेर्नुपर्ने स्थिति आउँछ । एक बिरामीका लागि एकजना नर्स बसिदेओस्, नर्सहरु सधैँ हँसिला होऊन् भन्ने चाहना बिरामी र आफन्तहरुको हुन्छ । तर व्यवहारमा सधैँ त्यो सम्भव भइरहेको छैन । एउटा वार्डमा १२ जना नर्सको ड्युटी हुन्छ, कोही आकस्मिक बिदा बस्नुपर्‍यो भने टिमले मिलाएर काम गरेका हुन्छौँ । साह्रै व्यस्त भइन्छ । कतिपय अवस्थामा हामीले बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म एक कप चियासम्म खान नपाई काम गर्नुपर्ने अवस्था आउँछ । तैपनि हामीले अस्पतालमा उपलब्ध जनशक्तिबाट सकेसम्म मिलाएर अटुट सेवा दिने प्रयास गरेका हुन्छौँ । आकस्मिक तथा जरुरी कामलाई प्राथमिकतामा राखेर गरेका हुन्छौँ ।

प्रसूति गृहमा हाल नर्सिङ जनशक्तिको स्थिति के छ ?

नेपालको केन्द्रीय रिफरल सेन्टर प्रसूति गृह ४ सय १५ बेडको हो । यहाँ २४ घन्टामा ६२ जनाले बच्चा जन्माउँछन् । सार्क मुलुकमा नै धेरै बच्चा जन्माउने अस्पतालका रुपमा चिनिन्छ । नर्सिङ कलेजसमेतको नर्सिङ जनशक्ति १ सय ८२ जना छन् । जसमा स्थायी नर्स ५० को हाराहारीमा छन् भने अन्य कन्ट्याक र करारमा कार्यरत छन् । जनशक्ति नपुगेको बेलामा अन्य नर्सिङ कलेजहरुबाट आउने नर्सिङ टिचर, ट्युटर र विद्यार्थीहरुसँग मद्दत लिएर पनि काम गरेका छौँ ।

बिरामीका आफन्तले प्रसूति गृहका नर्स अन्तका भन्दा छुचा छन् भन्छन नि ?

हो, त्यसो भन्छन् तर कसैलाई पनि छुचो हुन मन हुँदैन । आफूलाई नराम्रो भनेको सुन्ने कसैको पनि चाहना हुँदैन । आफ्नो बारेमा राम्रो भनिदिऊन् भन्ने सबैको चाहना हुन्छ । हामीले त्यही चाहनाअनुसार काम गर्न कोशिश गर्छौं । बिरामीको सेवामा जुट्ने नर्सहरुले हाँसेर बोल्न सिकेका छौँ र सिकाउँछौँ । सिकेको कुरा व्यवहारमा लागू गर्न कोशिश गरेकै हुन्छौँ । बिरामीले सोधेका कुरा सम्बोधन पनि गर्छौं ।

तर कहिलेकाहीँ बिरामीको चाप, हाम्रो भोक, प्यास र थकानले गर्दा बिरामीले अपेक्षा गरे जति सम्बोधन नहुन पनि सक्ला । बिरामीका आफन्तलाई शुरुमै सम्झाएका हुन्छौँ । कुरुवा फेरिएपिच्छे पटक–पटक एउटै कुराको जवाफ दिनुपर्दा भने हामीलाई पनि गाह्रै हुन्छ । यस्तो समस्या बिरामीका आफन्तले बुझिदिनुभए काम गर्न सजिलो हुन्थ्यो ।

उपचारकै क्रममा हुने दुःखद घटनालाई कसरी लिनुहुन्छ ?

काम गर्दै जाँदा कहिलेकाहीँ नराम्रा घटना घट्न सक्छन्, यो हाम्रो बसमा हुन्न । दुर्घटना नहोस् भनेर नै काम गर्छौं तर कहिलेकाहीँ भैदिन्छ । त्यस्तो अवस्थामा हामीलाई पनि दुःख लागेको हुन्छ । तर बिरामीका आफन्तले अत्यन्तै नराम्रा शब्द प्रयोग गरेर गाली गर्नुहुन्छ । त्यति बेला साह्रै पीडा महसुस हुन्छ । उहाँहरु हाम्रो ठाउँमा बसेर बोलिदिनुभए हुन्थ्यो भन्ने लाग्छ ।

यस्तो अवस्थामा पीडित पक्षलाई कसरी सम्झाउनुहुन्छ ?

हामीले सकेसम्म बिरामीको नजिकको मान्छे खोज्छौँ र उहाँलाई बुझाउँछौँ । हामीले सबै कुरा बुझाएपछि अधिकांश आफन्तले बुझ्नु पनि हुन्छ । एक–दुई घटनामा बुझाउन टाइम लाग्छ तर प्रत्यक्ष कुराकानी गरेपछि नबुझ्ने हुन्न ।

तपाईंको ३४ वर्षको दौरानमा उपचारका क्रममा भएका बिर्सनै नसक्ने घटना छन् कि ?

यस्ता घटना त धेरै नै छन् । त्यसमध्ये बिर्सनै नसक्ने केही घटना छन् । एकपटक आमालाई राम्रो भइसकेपछि डिस्चार्ज पनि गरिसकेका थियौँ । घर जानुअघि उहाँले सुप खानुभयो । सुप निल्दा फोक्सोमा गएर अड्कियो । हामीले भेन्टिलेटरमा राखेरे सक्दो प्रयास गर्‍याैँ तर उहाँलाई बचाउन सकेनौँ ।

त्यस्तै अर्को घटना : १७ वर्षकी आमाले एकदम छिटो व्यथा लागेर बच्चा जन्माउनुभयो । एउटा बच्चा जन्मिन कम्तीमा १० देखि १२ घण्टा लाग्छ । धेरै छिटो बेथा लागेर बच्चा जन्मनु पनि राम्रो होइन । बच्चा जन्मिने अंगहरुबाट बिस्तारै पार गर्दै आउनुपर्नेमा छिटो–छिटो हुँदा अंगहरु छिया–छिया भयो । धेरै रक्तश्रावका कारण ती आमा बित्नुभयो । त्यो दिउँसो मेरै ड्युटी थियो । राति भएको भए डाक्टर, नर्सको लापरबाही भयो भन्ने आरोप खेप्नुपर्ने हुन्थ्यो होला । दिउँसो सबै डाक्टर, नर्सले अथक प्रयास गर्दा पनि बचाउन सकिएन, जुन घटना म चाहेर पनि कहिल्यै विर्सन सक्तिन ।

त्यस्तो अवस्थामा आफूलाई कसरी सम्हाल्नुहुन्छ ?

त्यस्तो परिस्थितिमा हामी पनि मान्छे नै हो । दुःख लाग्छ । आँखाबाट आँसु झर्न थालेपछि एउटा कोठामा गएर रुन्छु अनि मुख धोएर फेरि अर्को बिरामीको सेवामा जुट्छु । डाक्टर, नर्स भनेका कडा स्वभावका हुन्छन् भनिन्छ तर त्यस्तो हुँदैन । कतिपय घटनामा आफैंलाई परेको महसुस हुन्छ । धेरै नराम्रो लाग्छ । अरुले आँसु देख्छन् भनेर एउटा कोठामा पसेर रुने र मुख धोएर बाहिर आउनुपर्ने हुन्छ । यसरी जीवन नै सेवामा समर्पण गरिएको हुन्छ ।

बिरामीका आफन्तले आफ्नो बिरामीलाई प्राथमिकता देओस् भनेर कत्तिको दबाब दिन्छन् ?

त्यस्तो दबाब र गुनासो हामी बारम्बार महसुस गर्छौं । प्रसूति गृह सुत्केरी गराउने रिफरल अस्पताल हो । हामीले बिरामीको अवस्था हेरि प्राथमिकतामा राख्छौँ । स्त्रीरोग तथा गर्भवती जो पहिला आयो उसलाई पहिला सेवा भन्ने हुँदैन । जसको पाठेघरको मुख धेरै खुलेको हुन्छ उसको डेलिभरी चाँडै हुन्छ । जसको पाठेघरको मुख नै खुलेको छैन उसलाई कम प्राथमिकता दिन्छौं ।

यहाँ ढिला आउनेले चाँडो र चाँडो आउनेले ढिला सेवा पाउने हुनाको मूल कारण यही नै हो । चिकित्सा शिक्षाको प्रिन्सिपलअनुसार १० देखि १२ घण्टामा मात्र पाठेघरको मुख खुलिसक्ने हुन्छ । कतिपयले नबुझेर ढिलो आएकाको बच्चा भैसक्यो, उसका मान्छे भएर होला भन्छन् । हाम्रा लागि सबै हाम्रा मान्छे । यस्तो गुनासो आउँदा बुझाउने दायित्व हाम्रो नै हो । सकेसम्म मिठो बोल्नुस्, अनावश्यक नबोल्नुस भनेर डाक्टर, नर्सले सिकाएकै हुन्छौँ । अनावश्यक बोल्नुभन्दा कम बोल्नु नै राम्रो हुन्छ ।

बिरामीका बारेमा चिकित्सक, नर्सहरुले एक–आपसमा कसरी जानकारी राख्नुहुन्छ ?

हरेक दिन बिहान ९ बजे बैठक हुन्छ । बैठकमा सहभागी सबैले हिजो के भयो, आज कति बिरामी कुन–कुन अवस्थाका छन् र के–के गर्ने भन्ने बारेमा कामको बाँडफाँड गर्छौं । आकस्मिक, सिजर गर्नुपर्ने र नर्मल के–कति छन्, सबै जानकारी लिएर मात्र काम शुरु गर्छौं ।

प्रसूति गृहमा शल्यक्रिया कति प्रतिशत हुन्छ ?

विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार १५ देखि २५ प्रतिशत सीएस हुनुपर्ने तर प्रसूति गृह नेपालकै केन्द्रीय रिफरल अस्पताल भएकाले विगतका २ वर्ष १८ प्रतिशत थियो । गतवर्ष २९ प्रतिशत थियो । यो बर्ष अझ बढ्दै छ । यो हामीले चाहँदा चाहँदै पनि घटाउन सक्दैनौं र कसैले मलाई सीएस गरिदेऊ भनेर पनि गर्दैनौँ । प्रक्रियामा गर्नै पर्ने भए मात्र गर्छौं । प्रायः रिफरल केसहरु बढी शल्यक्रिया गर्नुपर्ने हुन्छ ।

अन्त्यमा केही भन्नुहुन्छ कि ?

बिहावारी २० वर्ष पारि गरेर मात्र बच्चा जन्माउने गर्नु ठीक हो । दक्ष स्वास्थ्यकर्मीसँग नियमित स्वास्थ्य परीक्षण गराएर स्वास्थ्य केन्द्रमै गई बच्चा जन्माउन अनुरोध गर्दछु । यसका साथै बिरामीका आफन्तहरुले अस्पतालमा कुनै समस्या भयो भने बाहिर गएर भन्नुभन्दा अस्पतालमै जिम्मेवार व्यक्तिलाई भनेर कमी–कमजोरी सुधार्ने अवसर दिए हुन्थ्यो । प्रसूति गृहमा आमा सुरक्षा कार्यक्रम भएको हुनाले बच्चा र आमाको लागि निःशुल्क उपचार गरिन्छ र स्त्रीरोगसम्बन्धी पनि यहाँ निःशुल्क उपचार हुन्छ । सरकारी अस्पतालमा सेवा राम्रो हुन्छ भन्ने मेरो बुझाइ छ ।

प्रतिक्रिया दिनुहोस्