डा. अरुणा उप्रेती (जनस्वास्थ्य विज्ञ) ।
अमेरिकाबाट आएकी ३३ वर्षीया शोभाले ‘ह्विट ब्रान’ खाने गरेकी रहिछन् । अमेरिकामा त्यसको मूल्य प्रतिकिलो १ हजार ३ सय नेपाली रुपियाँ पर्दो रहेछ ।
‘नेपालमा पनि ब्रान त पाइन्छ होला नि ! अमेरिकाबाट ल्याएको ‘ब्रान’ सिद्धिन लाग्यो, यहीँ किन्नुपर्ने भएको छ, मिलमा गएर किन्नुपर्ला ।’ शोभाका कुरा सुनेर उनकी दिदीले भनिन्, ‘तिमीले खाएको जस्तो अमेरिकन ढुटो, चोकर त यहाँ गाईवस्तुलाई खान दिन्छन् । मान्छेका लागि भनी सफा गरेर बेचिँदैन ।’
अमेरिकाको खानेकुरामा प्रायः रेसादार पदार्थ नहुने र पत्रु खाना (जंक फुड) हुने हुनाले उनीहरुले भुस, ढुटो, चोकर त औषधिको रुपमा खानुपर्छ । हामीले खाने आटा, कोदो, फापर, दाल, हरियो तरकारीमा पर्याप्त रेसादार पदार्थ हुन्छ । त्यसैले हामीले त्यस्तो ढुटो, चोकर खानै पर्दैन । तैपनि शोभाकी दिदीले सोचिन्, ‘प्रतिकिलो १ हजार ३ सय रुपियाँ पर्ने हो भने शोभाले ल्याएको ढुटोको खानेकुरा पक्कै रामै्र होला ।’
तर हामीले खाने दाल–चामलमा नै यो चोकर पाइन्छ भन्नेचाहिँ उनलाई थाहा थिएन । नेपालीहरु पहिले–पहिले प्रायः रेसादार पदार्थ भएका दाल, भात, तरकारी, चिउरा, गेडागुडी, कोदो आदि प्राकृतिक खाना खान्थे । त्यसैले कब्जियतको समस्या हुँदैन थियो । तर अहिले पत्रु खाना, अस्वस्थ जीवनशैली आदिले गर्दा नेपालीलाई पनि कब्जियतको समस्या धेरै देखिन थालेको छ । यसले गर्दा अहिले कब्जियत हटाउने औषधि खाने नेपालीहरूको संख्या पनि बढ्न थालेको छ, जुन दुःखद कुरा हो ।
अहिले नेपालमा मैदाबाट बनेका खानेकुराहरुः रोटी, मिठाई, पाउरोटी, सेतो चामल आदि खानेहरुले खासमा पौष्टिक तत्वहरु पाएका हुँदैनन् । खानामा रेसादार पदार्थ, भिटामिनको कमी हुन जाँदा उनीहरुलाई विभिन्न औषधि किनेर खानुपर्ने स्थिति आउँछ । अन्नमा भएको ‘चोकर’ पहिले नष्ट गर्ने, अनि त्यही चोकरमा भएको पौष्टिक तत्वचाहिँ किनेर खानुपर्ने स्थिति ज्यादै लाजमर्दो र अविवेकपूर्ण हो ।
केही महिनाअघि म अमेरिका जाँदा ‘डाक्टर नभएमा’ नामक विश्वप्रसिद्ध किताब लेख्नेहरुमध्येकी एक लेखिका जेन म्यक्सवेलले भनेकी थिइन्, ‘अमेरिकाको प्रायजसो घरमा कब्जियत हटाउने केही न केही औषधि हुन्छ । किनभने यहाँको खानामा प्रायः ढुटो तथा चोकर हुँदैन । हरियो तरकारी कम खान्छन् । अनि कब्जियत भएपछि हटाउन छुट्टै चोकर खान्छन् ।’
त्यसैले होला शोभाले पनि कब्जियत धपाउन ‘ढुटो’ किनेर खाने गरेकी रहिछन् । नेपालमा बस्दा उनलाई अमेरिकामा भन्दा केही कम मात्र समस्या भएछ । नेपालमा धेरै हरियो तरकारी तथा गेडागुडी खाने भएकोले यसो भएको हो । साथै यहाँ त दाल, चामल, आँटा आदिमा पनि पर्याप्त चोकर पाइन्छ ।
‘नेपालमा कसैले मूर्ख काम गर्यो भने वा कसैलाई गाली गर्नुपर्दा ‘ढुटो खाने बुद्धि’ भन्ने पनि गरिन्छ । तर अमेरिकामा चाहिँ मानिसले ढुटो वा चोकर प्रतिकिलो १३ सय रुपियाँ हालेर किनेर खान्छन्’, शोभालाई मैले भनें ।
त्यो कुरा बुझेर उनले अब हरियो तरकारी खान शुरु गरेकी छिन् । पसलबाट ढुटो किन्न छोडिन् । अमेरिका गएपछि उनले मम, चाउचाउ, चिप्स, चाउमिनलगायतका जंक फुड खान छोडिन् । अहिले उनलाई कब्जियतको समस्या पनि धेरै कम भएर गयो । यो देखेर उनका डाक्टर पनि खुशी छन् । ठूलो समस्याको सहज समाधान भयो ।
यदि हामी नेपालीले सेतो चिल्लो चामल, मैदा र त्यसबाट बनेका खाना खाएनौं भने ढुटो किनेर खानुपर्दैन । यदि विभिन्न फलफूलहरु अम्बा, हलुवाबेद, सुन्तला, कागतीको बोक्रालाई पनि प्रयोग गर्न जान्यौं भने यस्तो समस्या रहँदैन ।
भिटामिनका लागि बट्टाको फलफूलको रस खानुपर्दैन, फलफूल नै खानु उचित हुन्छ । कहिलेकाहीँ फलफूलको रस खान मन लागे घरमै बनाउन सकिन्छ । प्राकृतिक खानेकुरामा नै रेसादार पदार्थ पर्याप्त हुन्छ । रेसादार बढी भएको खानाले पेट छिट्टै भरिन्छ, छिट्टटै भोक लाग्दैन र तौल पनि बढ्न दिँदैन । अनि हर्षा (बबासिर) हुनबाट जोगिन्छ ।
कुनै बालबालिकालाई सानैदेखि कब्जियत भयो भने ठूलो भएसम्म अनेक समस्या पर्छ । पत्रु खाना खाने बच्चाको तौल बढी हुन्छ अनि भविष्यमा समस्या हुन्छ । यस्तो समस्या नहोस् भनेर घरकै खाना खानुपर्छ । रेसादार भएको खाना खानासहित दाल, भात, तरकारी खाने गर्दा फाइदा हुन्छ ।
तौल बढी भएका मानिसहरुको शरीरमा नराम्रो खालको बोसो बढी हुन्छ । रेसादार पदार्थ भएको खानाले मोटोपन पनि घटाउँछ । यसबाट मधुमेहको समस्यामा पनि सुधार गर्न मद्दत पुग्छ । तौल कम भएपछि घुँडा र कम्मर दुख्न पनि कम हुन्छ । यसरी रेसादार पदार्थको नाम एक र कामचाहिँ अनेक छन् ।
आजकल स्कुल जाने बालबालिका र युवायुवतीलाई पनि समयमा दिसा हुँदैन । उनीहरुले पत्रु खाना बढी खाने हुँदा भोजनमा रेसादार पदार्थ कमी हुनाले कब्जियत हुन्छ । उनीहरूलाई कब्जियत नहोस् भनेर रेसादार खाना कसरी खुवाउने भन्ने आमाबाबुले सोच्नुपर्छ । औषधिको भरमा कब्जियत हटाउन खोजे अनेक समस्या हुन्छ, सानैदेखि बालबालिका रोगी बन्छन् । रोगी बालबालिकाले जीवनमा उन्नति गर्न गाह्रो हुन्छ ।
कहिलेकाहीँ चिन्ता, पीर, कुनै औषधिको प्रयोग, ठाउँ परिवर्तन आदिको कारणले पनि कब्जियत हुन्छ तर यस्तो समस्याको समाधान समयसँगै हुन्छ । औषधिहरुको कारणले हुने कब्जियतको बारेमा त डाक्टरहरुले पनि भन्छन् । गर्भवती महिलालाई कब्जियत हुने सम्भावना बढी हुन्छ । उनीहरुले आफ्नो खानामा ध्यान दिनुपर्छ । गर्भवती महिलाले अलि–अलि गरेर दिनको ३–४ पटक स्वस्थ खाना खाने, हरियो तरकारी खाने गर्नुपर्छ ।
विभिन्न बिरामी भएको अवस्थामा हुने कब्जियतको समस्या शायद ‘ढुटो’ले समाधान गर्न सक्दैन । त्यसको बारेमा त विशेषज्ञहरुसँग नै सल्लाह लिनुपर्छ ।
अमेरिकामा कब्जियतले महामारीको रुप नै लिएको छ । यहाँका १६ प्रतिशत मानिस र ६० वर्षमाथिका झन्डै एक तिहाइ मानिसलाई कब्जियतको समस्या छ । सन् २०१७ मा नै त्यहाँ कब्जियतको औषधिको लागि झन्डै १ हजार ३ सय ४ मिलियन डलर खर्च भएको थियो ।
खाना र व्यायामको कमीको कारणले गर्दा नै यस्तो समस्या भएको थियो । यति धेरै पैसा कब्जियत हटाउन खर्च गर्नुको साटो स्वस्थकर खाना खाए त राम्रो हुने थियो । नेपाल र भारतमा कब्जियत हटाउन कतिपयले ‘इसबगोलको भुसी’ किनेर खान्छन्, त्रिफला पनि प्रयोग गर्छन् । भारतमा झन्डै १४ प्रतिशत मानिस कब्जियतको समस्याबाट पीडित छन् । मुम्बई र केरलाको कोयम्बुटरका २२ प्रतिशत मानिसहरु कब्जियतबाट पीडित भएको सन् २०१७, जुन १७ को टाइम्स अफ इन्डियामा एक अध्ययन प्रतिवेदन प्रकाशित गरिएको थियो । यसको मुख्य कारण पत्रु खाना खानु, हिँडडुल नगर्नु र पानी कम पिउनु हो भनेर अध्ययनले देखाएको थियो ।
कब्जियत भएपछि अनेक समस्या हुन्छन् । कब्जियत भएका मानिस शारीरिक मात्र होइन मानसिक रुपमा पनि चिन्तित हुन्छन् । पेट ढुस्स फुल्ने, वाकवाक लाग्ने, खान मन नलाग्ने आदि समस्या हुन्छ । यस्तो समस्या समाधान गर्न सहजै सकिन्छ । घरको खाना खाने, पानी पिउने, झोल पदार्थ र दहीमहीको प्रयोग गर्ने अनि चाउचाउ, चिजबल्स, मम आदिको सेवन त्यागिदिने गर्नुपर्छ । साथै कब्जियत हटाउन हिँडाइ र योगासनको पनि धेरै महत्व हुन्छ । यसले सम्पूर्ण शरीरको स्वास्थ्यमा नै सकारात्मक असर पार्छ । यसको लागि पैसा पनि खर्च गर्न नपर्ने हुन्छ । साथै सेवा लिनुपरे पनि सस्तो र सजिलो छ ।
नर्सको चाख लाग्दो अनुभव
यससम्बन्धमा नर्स मेरियम क्रिंचले सुनाएको आफ्नो अनुभव निकै रोचक छ । २०३२ सालतिर ललितपुरको चापागाउँमा धान कुट्ने मिल आएपछि त्यहाँका बासिन्दाले मिलमा कुटेको ‘सेतो चामल’को भात खान थालेका रहेछन् ।
ओखलमा कुटेको रातो चामलको भात खानेहरुलाई ‘सेतो चामल’को भात मीठो लागेछ । तर सेतो चामलको भात खान थालेको केही समयपछि नै चापागाउँका मानिसको मुखभित्र र ओेठको कापकापमा घाउखटिरा आएछ । ‘सेतो चामलको कारणले’ गर्दा भिटामिन ‘बी’ समूहको कमीले यस्तो भएको थियो । किनभने चामलमा रहेको ‘भिटामिन ‘बी’ हुने चोकर अर्थात् ढुटो बिजुलीको मिलले गर्दा चामलबाट हटेको थियो । त्यहाँका समुदायका मानिसले भुस तथा चोकर हटाइएको सेतो चामलको भात खाएका कारण यस्तो समस्या आएको भन्ने मेरियमले बुझिन् । तर ‘तिमीहरुको समस्याको समाधानका लागि भुस खानुपर्छ, चामलको भुस नै औषधि हो’ भन्न मिल्दैनथ्यो । त्यसैले उनले आफ्नै तरिकाले जुक्ति निकालिन् ।
त्यसका लागि उनी चापागाउँ मिलमा गई ढुटो लिएर घर आइन् । उनले त्यसलाई सफा गरेर स–सानो प्लास्टिकको खोलमा राखिन् । अनि त त्यो औषधिजस्तो देखियो । त्यो लिएर उनी फेरि चापागाउँ पुगिन् । त्यो बेलामा चापागाउँ जाँदा दुई–तीनवटा बस फेरेर जानुपथ्र्यो ।
पोषणविद्को रुपमा काम गरेकी उनलाई ढुटोमा विभिन्न पौष्टिक तत्व हुन्छ भन्ने थाहा थियो । उनले समस्या भएका मानिसलाई ढुटोको पुरिया दिएर ‘भातमा यो औषधि छरेर खानू’ भनी सिकाइन् । गाउँलेहरुले आफ्नो चामलबाट निकालिएको ढुटो नै पुरिया बनाएर ल्याएको भन्ने कुरा थाहा पाएनन् । तर ढुटोको त्यो पुरियाचाहिँ खानामा प्रयोग गरे । त्यसपछि केही हप्तामा उनीहरुको समस्या हरायो । धानको बाहिरी भाग तथा मिलमा कुटिएको ढुटोमा रेसादार पदार्थ र भिटामिन हुन्छ भन्ने थाहा नपाएर फालिएको थियो । यसले गर्दा मुखमा समस्या देखियो । पछि विदेशीले सिकाएर खाएपछि समस्या समाधान भयो । शोभाले महँगो मूल्य हालेर किन्ने गरेको ‘ह्विट ब्रान’ पनि यस्तै उपयोगी ढुटो नै हो ।