जाडोमा यस्तो जीवनशैली अपनाउने



डा. क्षितिज बराकोटी, (प्राकृतिक चिकित्सक)

जाडो महिना शुरु हुँदै छ भने कतै त जाडो आई नै सक्यो । चिसो मौसममा पनि जीवनशैली गडबडी भयो भने त्यसबाट स्वास्थ्य समस्या आउँछ । जाडो महिना पनि स्वास्थ्यको दृष्टिकोणमा एक संवेदनशील समय हो । कतिपय दीर्घरोगमा यो मौसम जोखिमपूर्ण हुन्छ भने जीवनशैलीको गडबडीबाट समस्या नभएकाहरुलाई पनि थपिन सक्छ । त्यसैले जाडोमा स्वस्थ जीवनशैली अपनाउनु जरुरी हुन्छ ।

अल्छी बानीले समस्या

जाडो याममा कठ्यांग्रिँदो चिसोको कारण स्वभावैले ओछ्यान छोड्न मन नलाग्ने, छिट्टै निद्रा लाग्ने, अल्छी बढी लाग्ने, बढी आराम गर्ने बानी हुन्छ । खानपानमा पनि बढी भोक लाग्ने हुन्छ । रात लामो हुने भएकोले बढी सुत्ने बानी पर्ने हुँदा बढी क्यालोरी ग्रहण गर्ने तर त्यसको उचित खपत नहुने भएकोले मोटोपन बढ्ने हुन्छ ।

काम गर्न मन नलाग्ने, व्यायाम तथा योग गर्न मन नलाग्ने, प्रातः भ्रमण (मर्निङ वाक) पनि इच्छा नहुने, नहाइधुवाइमा पनि इच्छा कम हुने हुन्छ । जाडोमा यस्तै बानीले स्वास्थ्य समस्याहरु आइपर्ने सम्भावना धेरै हुन्छ । अझ केटाकेटी र बूढाबूढीहरुमा छातीको संक्रमण हुने हुन्छ । चिसोमा आलस्यका कारणले दिसा रोक्ने बानी र पानी कम पिउनाले पनि कैयौंलाई (खासगरी बच्चाहरुमा) कब्जियतको समस्या हुने गर्छ ।

रक्सीले क्षणिकरुपमा सतहको रक्तनली फुलाउने र छालामा ताप प्रसार गर्ने हुन्छ । यसरी क्षणिक गर्मी उत्पन्न गरी पसिना निकाल्ने हुन्छ र त्यसपछि शरीरमा तातो हुनुको सट्टा चिसो भई शरीरको सामान्य ताप पनि अझै घटेर हाइपोथर्मिया हुने सम्भावना हुन्छ ।

जाडो याममा पनि व्यायाम, योगाभ्यास आदिलाई नियमित गर्नुपर्छ । नुहाउन मनतातो पानी प्रयोग गर्ने र अन्तिममा चिसो पानी एकपटक खन्याउने गर्न सकिन्छ । शहरतिर नेचुरोपेथी सेन्टर, हेल्थ क्लब, स्पा आदि खुलेका छन् । जसमा जाडोभरि हप्तामा एक–दुईपटक गएर साउनाबाथ, स्टिमबाथ आदिको सेवा प्रयोग गर्न सकिन्छ ।

जाडोका समस्या र समाधान

नाकका समस्याहरु : जाडोमा रुघा लाग्ने, नाकभित्रको मासु बढ्ने, एलर्जीको समस्या बढ्ने हुन्छ । नाकका समस्याहरु बढ्दै गएर घाँटी, छाती, कान आदिमा समेत रोग प्रसार हुने हुन्छ । यस्तो अवस्था आउन नदिन न्यानो लुगा लगाउने, टोपी तथा गलबन्दी र मास्कले टाउको, कान र नाकलाई छोप्ने गर्नुपर्छ ।

यदि समस्या भैहालेमा गरम मसलाहरु (जस्तै– पिप्ला, अदुवा, ज्वानो, मरिच, बेसार, दालचिनी आदि) पानीमा पकाएर नून र कागतीसमेत मिसाई पिउन सकिन्छ । पानीको बाफ लिने, तातो पानीमा खुट्टा डुबाएर १५–२० मिनेट बस्ने, नूनपानीले गरर्र गर्ने, तातोले सेक्ने आदि गर्नुपर्छ ।

दम, खोकी र ब्रोङ्काइटिस : जाडोमा दम बढ्ने समस्या बढी हुन्छ । चिसोमा श्वासनली खुम्चिने, कफ वृद्धि हुने र खोकी बढ्ने हुँदा दम, ब्रोङ्काइटिस आदिले च्याप्ने हुन्छ । कडा बिमारीमा अक्सिजनको अति नै कमी (हाइपोक्सिया) भई जीवन नै खतरामा पर्दछ । यस्तो अवस्थामा दम, ब्रोङ्काइटिस हुनेले न्यानो लुगा लगाउने, गुम्म परेको ठाउँमा नबस्ने, दिउँसो घाम लागेको छ भने घाम ताप्ने, बेलुकाको खाना घाम छँदै खाने, भोक लागेमा राति तरकारीको तातो सूप खाने गर्नुपर्छ ।

यस्तो बेला कफकारक (जस्तै– दही, दूध, मही, घिउ, गुलियो आदि) तथा चिल्लो र चिसो खानेकुरा खानुहुँदैन । यसका साथै रुघा लाग्दा अपनाउने घरेलु उपचार विधि (माथि उल्लिखित) दमखोकीमा पनि दैनिक एक–दुईपटकसम्म पनि गर्न सकिन्छ । महमा अदुवा, मरिच, पिप्ला, सुठो बराबर मिसाई दैनिक खाना वा खाजापछि तीनपटक खाने गर्दा कफ निस्कन सजिलो हुन्छ । दैनिक छाती र ढाडमा तातो मालिस गर्ने, श्वास लामो गर्ने खालका प्राणायाम गर्ने जस्ता विधिहरु पनि अपनाउनुपर्छ ।

मुटु र रक्तनलीका रोगहरु : जाडोयाम मुटु तथा रक्तचापका बिमारी तथा अन्य रक्तनलीजन्य रोगमा खतरा हुन सक्छ । यसरी नै लिपिड प्रोफाइल (कोलेस्टेरोल तथा ट्राइग्लिसराइड) बढी हुँदा रक्तनलीलाई अत्यधिक चिसोले खुम्च्याउने, रगतमा भएका चिल्लो तत्वहरुले रक्तनलीमा जमेर अवरोध गर्ने, रगत बाक्लो हुने, रगतले अक्सिजन ओसार्ने कार्यमा अवरोध बढ्ने जस्ता समस्याहरु आउने हुन्छ । यस अवस्थामा रक्तचाप बढ्ने र बढी चिसोका कारण हृदयाघात हुने, मस्तिष्काघात हुने आदि हुन्छ । जाडोमा हृदयाघात बढी हुने कारण पनि यही हो । त्यसैले यस्तो अवस्थामा मुटु तथा रक्तनलीका समस्या हुनेहरुले डाक्टरको सल्लाहमा नियमित उपचार गराउनुपर्छ ।

न्यानो लुगा लगाउने, हल्का खालका व्यायाम घरमै बसेर गर्ने, योग (सूक्ष्म व्यायाम, सरल आसन, प्राणायाम, ध्यान) योगविज्ञसँग सिकी अभ्यास गर्नुपर्छ । तातो पिउने, आफैंले लुगामाथिबाटै हातगोडा र छातीमा तातोले सेकेर मालिस गर्ने, तनाव घटाउने यौगिक तथा अन्य उपचारहरु अपनाउने आदि गर्न सकिन्छ । चिल्लो, नुनिलो, मांसाहार कटौती गरी रसिला फलफूलहरु र सादा खानपान खाने गर्नुपर्छ । हृदयरोग विज्ञको पनि सल्लाह लिनुपर्छ ।

बाथरोग : हाडजोर्नी, रगत, नसा र मांसपेशीका समस्यालगायत बाथरोगहरुमा जाडोले सताउँछ । यस अवस्थामा प्रभावित भागहरुलाई तातोले सेक्ने, तातोमा डुबाउने, तातोचिसो पालैसँग सेक्ने, गरम पट्टीहरु लगाउने, बाफले सेक्ने, हल्कासँग मालिस गर्ने, खानपान बार्ने (मांसाहार, गेडागुडी, पुरानो अचार आदि नखाने) आदि नियमहरु पालना गर्नुपर्छ ।

ताप व्यवस्थापनका प्राकृतिक उपाय

जाडोमा स्फूर्ति ल्याउन र शरीरलाई तरोताजा (एक्टिभ) बनाउन तातो पानी, हट लेमन, तुलसी चिया वा जडीबुटी चिया, मरिच तथा अदुवा मिसाई पकाएको पानी आदि एक–दुई गिलास पिउनुपर्छ । त्यसपछि कोठामै बसी शरीरका अंगप्रत्यंंग चलाउने दौडेजस्तो गर्ने, उफ्रने, हातसमेत चलाउँदै झ्यालअगाडि बसेर यथास्थानमा जगिङ गर्ने, उठबस गर्ने गर्नुपर्छ । तर कुनै विशेष रोग भएको अवस्थामा वा अवधिमा भने चिकित्सकको निर्देशनअनुसार मात्र शारीरिक अभ्यास गर्नुपर्छ ।

माथि वर्णन गरिएका जाडो महिनामा समस्या आउन सक्ने दीर्घरोगहरुमा स्वयंले गर्ने व्यायामभन्दा पनि अरुको सहायताले अंगप्रत्यंग चलाइदिने र लुगाबाहिरबाटै मालिसका विधिहरु प्रयोग गरेर व्यायामको लाभ लिन र शरीरमा तातो उत्पन्न गर्न सकिन्छ । अत्यधिक जाडोका बेला शरीरमा ताप उत्पन्न नगरी घरबाहिर निस्कनुहुँदैन । तातो पानीमा हातगोडा डुबाउँदा पनि रगत तात्तिएर न्यानो हुन्छ ।

कतिपय पहाडी तथा हिमाली भेगमा हिउँ पर्ने पनि हुन्छ । यस्तो बेला पञ्जा, जुत्ता, मोजा, न्यानो कपडा, टोपी आदिको अनिवार्य आवश्यकता पर्छ । जाडोमा यात्रा गर्दा पनि यस्ता कुराहरुमा निकै नै सावधानी अपनाउनुपर्छ । कोदो, फापर, मह, चाकु, क्वाँटी, तिल, ज्वानो, गरम मसलाहरु आदिले शरीरमा ऊर्जा र न्यानोपन बढाउन सहयोग गर्छ ।

झोल सिरक” गलत

मैले कतै–कतै सुनेको छु, जाडोमा जीउ तताउन कतिपय व्यक्ति झोल सिरक ओढ्ने भन्दै रक्सी पिउने गर्दछन् । नियमित यसरी जाडो छल्ने बहानामा रक्सी पिउने गर्दा अर्को मौसमसम्म त बानी नै हुन्छ र सदाबहार मद्यपानी हुने हुन्छ र दुव्र्यसनको सिकार हुन्छ । मद्यपान (ह्वीस्की, ब्रान्डी, रम, लोकल आदि) ले शरीरमा तातो बढाउँछ भन्ने आमधारणा छ । तर रक्सीले क्षणिकरुपमा सतहको रक्तनली फुलाउने र छालामा ताप प्रसार गर्ने हुन्छ । यसरी क्षणिक गर्मी उत्पन्न गरी पसिना निकाल्ने हुन्छ र त्यसपछि शरीरमा तातो हुनुको सट्टा चिसो भई शरीरको सामान्य ताप पनि अझै घटेर हाइपोथर्मिया हुने सम्भावना हुन्छ । लठ्ठिने तर शरीरको ताप ज्यादै नै घटेपछि कठ्यांग्रिएर नै मृत्यु भएको पाइन्छ ।

त्यसैले रक्सीले क्षणिक गर्मी बढाए पनि क्षणभरमै सर्दी बढाउँछ । बरु रक्सी नपिएर वा कहिलेकाहीँ पिउनै परे ज्यादै कम (३०–६० एमएल जति) पिएर चित्त बुझाउने गर्नुपर्छ । बरु तातो सूप, फिका चिया, तातो दूध, तातो पानीमा मह–कागती राखी पिउँदा न्यानोपन पाउन सकिन्छ ।

खानपानको लगाम

जाडोमा शरीरको तापक्रम व्यवस्थापनको लागि शरीरले अतिरिक्त ऊर्जा माग गर्दछ । त्यसकै परिपूर्तिका लागि बढी भोक लाग्छ । खाना प्रायः रुच्ने हुन्छ । तर खाँदा बढी जीउ लाग्ने गरी खानुहुँदैन । बढी चिल्लो, मिठाईहरु, बढी मांसाहार आदि गर्नुहुँदैन । फल तरकारीहरु बढी खानुपर्छ । कसैलाई यस मौसमका फलहरु खाँदा चिसो लाग्ने हुन्छ । तथापि रसिला साइट्रस (अमिला) फलहरुले रक्तनली सफा गर्न सहयोग गर्छ र जाडोमा प्रयोग गर्न डराउनुहुँदैन । बरु फलपूmलको प्रयोग गरेपछि तातो पानी पिउनुपर्छ वा घाममा बसेर खानुपर्छ ।

साथै, जाडोमा बाहिर हिँड्दा सावधान हुनुपर्छ । चिसोले रोगहरु छिटो लाग्ने वा दीर्घरोगहरुले च्याप्ने हुन सक्छ । न्यानो लुगा, मास्कको प्रयोग, शीतमा नचिप्लने जुत्ता, न्यानो मोजा, पञ्जा, गलबन्दी आदिको प्रयोग गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्