“पाइल्स” क्यान्सर पनि हुन सक्छ



डा. रामदेव पंडित (आयुर्वेद चिकित्सक) ।

आजको मानिस यति व्यस्त बन्दै गएको छ कि कतिपयलाई दिसा बस्ने समय पनि छैन । बाध्यताले मात्र ऊ दिसा बस्न जान्छ । धेरै समय त ऊ बिर्सन्छ । कतिपयचाहिँ राति दुई–तीन बजेतिर सुत्ने, बिहान नौ–दश बजेतिर उठ्ने गर्छन् । उनीहरु दिसा बस्न दैनिक दुई घण्टा जति लगाउँछन् र त्यहीँ पत्रिका पढ्ने, मोबाइल चलाउने गर्छन् ।

अर्का थरी मानिसलाई चाहिँ दिसा त्याग गर्न शौचालय जानुअगाडि खैनी, चुरोट, गुट्खा, चिया वा औषधिजस्ता व्यसनको सहारा लिनै पर्ने हुन्छ ।

धेरैले क्यान्सरलाई पनि पाइल्स भन्दै बस्न सक्छन् । बिरामीको तौल घट्ने, शरीरमा रक्तअल्पता हुने, शरीर कमजोर हुने, खान मन नलाग्ने जस्ता क्यान्सरका लक्षण हुन् ।

आयुर्वेद चिकित्सालय नरदेवी र आयुर्वेद शिक्षण अस्पताल कीर्तिपुरस्थित शल्य विभागले सामान्यतः एनोरेक्टल डिजिज ९पाइल्स अर्श, फिस्टुला­भगन्दर, फिसर­परिकर्तिका आदि० को चिकित्सा गर्ने गर्दछ । तथ्याङ्कअनुसार ती दुवै संस्थामा प्रतिदिन ५० जना जति परामर्श र चिकित्सा सेवा लिन आउँछन् । यसभन्दा बढी संख्यामा एनोरेक्टल डिजिजका बिरामीहरु आयुर्वेदका निजी क्लिनिकहरुमा र ऐलोप्याथी अस्पतालहरुमा जाने गरेको पाइन्छ । अतः यस्ता बिरामीको संख्या निकै छ ।

विश्व स्वास्थ्य संगठनको भनाइअनुसार १० प्रतिशत जनसंख्यामा पाइल्सको समस्या हुन सक्छ । मानव शरीरमा लाग्ने धेरै रोगको कारण अस्वस्थ खाना र अस्तव्यस्त जीवनशैली नै हो ।

पाइल्स मलद्वारमा हुने हुँदा धेरै व्यक्ति रोग लागे पनि समयमा नै चिकित्सकलाई देखाउन जाँदैनन् । यसले गर्दा पाइल्स बढ्दै गई पछि अन्य समस्या पनि देखिन सक्छ । दिसा गर्दा असह्य पीडा हुने, मलद्वारबाट रगत बग्ने, मलद्वारवरिपरि गाँठो वा मासुको डल्लो भएको महसुस हुने, चिलाउने, रातो हुने तथा पोल्ने लगायतका लक्षण देखा प¥यो भने पाइल्स हो भनेर बुझ्न सकिन्छ ।

पाइल्स के हो ?

पाइल्स (हेमोरोइड) मानिसमा मात्रै देखिने रोग हो । हिमको अर्थ ब्लड र सर भनेको रगतको फ्लो हो । नेपालमा यसलाई अर्श वा हर्ष पनि भनिन्छ । मानव शरीरको ठूलो आन्द्राको अन्तिम भागमा मलद्वार हुन्छ । लगभग चार सेन्टिमिटर लामो मलद्वार सुन्निएमा पाइल्स हुने गर्छ । पाइल्स भएमा मलद्वारको भित्री भाग तथा बाह्य भागमा मासुको डल्लोजस्तो गाँठो पर्ने गर्छ । यसबाट बेला–बेलामा रगत निस्कने गर्दछ । दबाब दिएर दिसा बस्दा मलद्वारबाट मासुको डल्लोसमेत निस्कने गर्छ ।

मलद्वारबाट रगत मात्रै बग्ने पाइल्सलाई पहिलो चरणको पाइल्स भनिन्छ । धेरै जोडसँग दिसा गर्दा वा कडा व्यायाम गर्दा सुन्निएका नसाहरु (मासुको डल्लो) बाहिर झर्छ र दिसा गरिसकेपछि आफैं भित्र जान्छ भने त्यसलाई दोस्रो चरणको पाइल्स भनिन्छ ।

दिसा गर्दा मासुको डल्लो तल झर्छ तर त्यो आफैँ भित्र जाँदैन, हातले भित्र पठाउनुपर्छ भने त्यसलाई तेस्रो चरणको पाइल्स भनिन्छ । यस्तै चौथो चरणको पाइल्समा मासुको डल्लो मलद्वारबाट बाहिर निस्कन्छ तर जति कोशिश गरे पनि भित्र जाँदैन । पाइल्सको समयमा उपचार भएन र धेरै लामो समयसम्म रगत बग्यो भने बिरामीमा एनिमिया अर्थात् रक्तअल्पता हुन सक्छ ।

नेपालमा २० वर्षभन्दा माथि उमेरका मानिसलाई यो रोग बढी देखिएको छ । ३५ वर्ष काटेका व्यक्तिहरुमा यो समस्या अलि धेरै देखिएको छ ।

के कारणले हुन्छ ?

कब्जियत पाइल्सको मुख्य कारण हो । महिलाहरु गर्भवती भएको वेलामा, पेटको दबाब वृद्धि भएको अवस्थामा र बच्चा जन्मिएपछि ज्यादा मासु सेवनको कारणले पाइल्स हुन सक्छ । त्यस्तै प्रोस्टेट गन्थि वृद्धि, मूत्रनली साँघुरो भएको कारणले पिसाब गर्दा कन्नुपर्ने अवस्थामा र उच्च रक्तचापको कारणले पनि पाइल्स हुन सक्छ । यस्तै वंशाणुगत कारणले पनि पाइल्स हुन सक्छ ।

एकै ठाउँमा धेरै बेरसम्म उभिराख्नुपर्ने सेना, ट्राफिक प्रहरी, सुरक्षा गार्ड आदिलाई पाइल्स हुने सम्भावना धेरै हुन्छ । गर्भावस्थामा पाचन समस्या हुने महिलालाई पनि पाइल्सको सम्भावना हुन्छ ।

लक्षण र उपचार

दिसा बस्दा दिसामा रगत आउने, मलद्वारमा मासु पलाउने, पानी बग्ने एवं चिलाउने पाइल्सका मुख्य लक्षण हुन् । मलद्वारबाट पलाएको मासु च्यापिएको अवस्थामा अत्यधिक दुखाइ हुन्छ । दिसा गर्ने ठाउँ अर्थात् मलद्वारवरिपरि चिलाउनु, मलद्वारबाट सिँगानजस्तो बग्नु पाइल्सका शुरुवाती लक्षण हुन् ।

दिसामा रगत आउनासाथ चिकित्सककहाँ जानुपर्छ । आयुर्वेदिक, होमियोप्याथी, एलोप्याथी जुन उपचार विधि अपनाए पनि समयमै उपचारमा जान जरुरी हुन्छ ।

सामान्यतया पहिलो र दोस्रो चरणको पाइल्सको औषधिबाट उपचार गर्न सकिन्छ । तेस्रो र चौथो अवस्थामा क्षारसूत्र विधिबाट उपचार गरिन्छ । मलद्वारबाहिर रहने पाइल्सको उपचार औषधि वा क्षारसूत्रबाट गर्न सकिन्छ । पाइल्स रोगमा आयुर्वेद उपचार पद्धति उत्तम मानिन्छ ।

पाइल्सको शुरुवातको अवस्थामा दिसालाई पातलो बनाउने वा खुलाउने औषधिको प्रयोग गरिन्छ । तातोपानीमा नून राखेर मलद्वारलाई सेक्ने गरिन्छ ।

कहिलेकाहीँ पाइल्सजस्तो मानिने क्यान्सर पनि शुरुमा दुख्ने र रगत बग्ने हुन्छ । तर धेरैले क्यान्सरलाई पनि पाइल्स भन्दै बस्न सक्छन् । बिरामीको तौल घट्ने, शरीरमा रक्तअल्पता हुने, शरीर कमजोर हुने, खान मन नलाग्ने जस्ता क्यान्सरका लक्षण हुन् । पाइल्स रोगजस्तो देखिए पनि यस्ता लक्षण भएको खण्डमा क्यान्सरको चिकित्सककहाँ गएर परीक्षण गराउनुपर्दछ । शुरुको अवस्थामा पाइल्स भए पनि यसको उपचार राम्रोसँग नभएपछि क्यान्सर हुन सक्छ ।

क्षारसूत्र विधि

क्षारसूत्र आयुर्वेद चिकित्सा पद्धतिमा शल्यक्रिया गर्ने एक विशेष विधि हो । क्षारसूत्र औषधियुक्त एक विशेष प्रकारको धागो हो । यो धागो तयार गर्न मात्रै २१ दिन लाग्छ । क्षारसूत्र प्रयोग गरेर गरिने उपचारलाई क्षारसूत्र विधि भनिन्छ । यो विधिबाट उपचार गर्दा पाइल्स दोहोरिने सम्भावना एकदमै कम हुन्छ । उपचारपछि बिरामीले तुरुन्त दैनिक काम गर्न सक्ने हुन्छ । यो विधिबाट उपचार गर्दा बिरामीलाई लोकल एनेस्थेसियामा गर्न सकिन्छ । रगत चढाउनुपर्ने अवस्था सामान्यतया आउँदैन । यो उपचार कम खर्चिलो एवं ज्यादै प्रभावकारी छ । पाइल्स रोगको उपचार सकेसम्म आयुर्वेदको शल्य विशेषज्ञ चिकित्सकबाट मात्र लिनु सुरक्षित हुन्छ ।

सावधानी

पाइल्सबाट बच्न मुख्यतया कब्जियतबाट बच्नुपर्छ । सागसब्जी, तरकारी, फलफूल प्रशस्त खानुपर्छ । पानी दैनिक ३–४ लिटर पिउनुपर्छ । आँटाबाट बनेको खानेकुरा खानुपर्छ । गहुँ, जौको सातु वा चिउरा दूधसँग खानु राम्रो हुन्छ । दैनिक व्यायाम गर्नुपर्छ । मासु पलाएको अवस्थामा ‘ओल’ अथवा ‘सुरण’को तरकारीले विशेष फाइदा पु¥याउँछ ।

मासु, माछा, अण्डा, दही, खुर्सानी, अदुवा खानुहुँदैन । अन्य मसलादार खानेकुरा पनि कम खानु राम्रो हुन्छ । बर्गर, पिज्जा खानुहुँदैन ।

मैदाबाट बनेका खानाहरु जस्तै– चाउमिन, चाउचाउ, मम आदि खानुहुँदैन । एकै ठाउँमा धेरै नबस्ने, धूमपान नगर्ने, मद्यपान नगर्ने, दिसा गर्दा धेरै बल लगाएर घण्टौं शौचालयमा नबस्ने गर्दा फाइदा पुग्छ । गर्भावस्था, उमेर र वंशागुणत हुने समस्यालाई परिवर्तन गर्न सकिन्न । त्यसैले खानपान र शारीरिक व्यायामलाई ध्यान दिन जरुरी हुन्छ ।

प्रतिक्रिया दिनुहोस्