माघको जाडोमा के खाने ?



डा. अरुणा उप्रेती
जनस्वास्थ्य विज्ञ

केही वर्षअघि म अमेरिका जाँदा एक परिचित महिलाले भनिन्, ‘मोलासेस (Molasses) स्वास्थ्यको लागि एकदम राम्रो हुन्छ । त्यसैले म हरेक दिन एकचम्चा खाने गर्छु । यसले गर्दा मेरो हड्डी पनि बलियो भएको छ । मेरो शरीरमा रगतको कमी पनि भएको छैन ।’ उनको भनाइ सुनेर मैले भनें, ‘यो त बडो राम्रो कुरा रहेछ, म पनि किनेर नेपाल लैजान्छु ।’

माघ १ गते खाइने खाद्यवस्तुले शरीरमा न्यानो दिने भएकाले सांकेतिकरुपमा यी खाना खाइन्छ तर अन्य बेलामा पनि यस्ता पदार्थको प्रयोग गरे रक्तअल्पता र कुपोषण कम हुन्छ ।

अनि उनले सिसीमा राखेको मोलासेस देखाइन् । मैले चम्चा लिएर चाखें । त्यो त चाकुको जस्तै स्वादको थियो । तर चाकुमा यस्ता औषधीय गुण त छैनन् होला भन्ने विचार गरें । पछि गुगलमा सर्च गरेर हेर्दा मोलासेस भनेको त ‘चाकु’ नै रहेछ ।

अनि मैले चाकुका बारेमा विभिन्न पाठ्य सामग्रीहरु खोजेर अध्ययन गरें । अनि मलाई राम्ररी थाहा भयो कि हामीले कहिलेकाहीँविशेष चाडपर्व तथा समयमा खाने चाकु त ‘रगत बढाउने, हड्डी बलियो बनाउने’ तत्व पो रहेछ । जाडो महिना विशेष गरी माघ १ गते अर्थात् माघे संक्रान्तिमा चाकु खाने गरिन्छ । चाकु, सखर, चिनी सबै उखुबाट बन्ने गर्छ ।

चाकु र सखरले स्वास्थ्यमा धेरै फाइदा पुर्याउँछ । तर चिनीले चाहिँफाइदाभन्दा बढी बेफाइदा गर्छ ।चाकु र सखरमा पर्याप्त मात्रामा क्याल्सियम पनि हुन्छ । साथै यसले शरीरमा पर्याप्त मात्रामा ऊर्जा दिन्छ । विभिन्न किसिमका तागत दिने बजारका औषधि होइन कि प्राकृतिक प्रक्रियाबाट बनेको चाकु खाँदा शरीरमा बढी ऊर्जा मिल्छ ।

माघे संक्रान्तिमा चाकु, सखरका अलावा खिचडी खाने चलन छ । मासको दाल, चामल हालेर पकाइने खिचडी सजिलोसँग पच्ने गर्छ । मासको दालमा भएको लौहतत्वले रगत बढाउँछ । माघे संक्रान्तिमा खाइने तिलको लड्डु बजारमा प्रायः माघ महिनाभरि नै पाइन्छ । गाउँघरतिर तिलले बनेको तिलौरी खाने गरिन्छ ।

त्यस्तै गरेर सेतो तिलले बनाएको मिठाई तराईतिर जाँदा खाइन्थ्यो । त्यसलाई खुटिया भनिन्थ्यो । जनकपुरतिर तीर्थ गएर आउने धेरै आफन्तहरूले खुटिया उपहारमा ल्याउँथे । तिल एक उत्तम पौष्टिकताले भरिपूर्ण खाद्यवस्तु हो । तिलमा पर्याप्त मात्रामा क्याल्सियम पाइन्छ । चाकु वा सखर मिलाएर बनाएको तिलको लड्डुमा क्याल्सियम, लौहतत्व प्रशस्त हुन्छ ।

खिचडी, चाकुमा धेरै पौष्टिक तत्व भएको थाहा पाएर नै यी खाद्यवस्तु खाने विशेष चाडपर्व नै प्रचलनमा आएको हुनुपर्छ । गर्भवती, सुत्केरीलाई चाकु र घिउ दिने चलन पनि यी वस्तुमा भएको विशेष पौष्टिक गुणहरुकै कारणले भएको हुनुपर्छ ।

तिलको तेल प्रायः भगवान्लाई पूजा गर्दा प्रयोग गरिन्छ । विभिन्न धार्मिक क्रियाकलापमातिल नभई हुँदैन । विवाह, व्रतबन्धमा मात्र होइन कि श्राद्धमा समेत तिल चाहिन्छ । छालालाई नरम राख्न, कपालबाट चाया हटाउन तिलको तेल प्रयोग गरिन्छ ।तिलको तेल, दही, कागती मिलाई नुहाउनुभन्दा दुई घण्टाअगाडि कपालमा लगाएर मसाज गरेपछि कपाल राम्रो र स्वस्थ हुन्छ ।

जाडोको बेलामा सम्पूर्ण शरीरमा तिलको तेल लगाउँदा महँगा क्रिमले भन्दा राम्रो काम गर्छ । माघ १ गते कन्दमूल (तरुल, पिँडालु, सखरखण्ड) खाने चलन छ । यी सबैमा पर्याप्त पौष्टिक ऊर्जा दिने तत्व हुन्छ । यी वस्तुहरु वर्षभरि जुनसुकै बेला पनि खाएर स्वस्थ रहन सकिन्छ । तरुलमा पर्याप्त मात्रामा कार्बोहाइड्रेड हुने हुनाले यसलाई शक्तिवद्र्धक खानेकुराको रुपमा लिइन्छ ।

जाडो मौसममा शरीरलाई न्यानो राखिराख्न धेरै शक्ति चाहिन्छ, जुन तरुलमार्फत पूरा हुन्छ । यो रेसादार तरकारी हुनाले कब्जियतको समस्या कम गर्न मद्दत गर्छ । तरुलमा मानवशरीरलाई आवश्यक सूक्ष्म पोषक तत्वहरु म्याग्नेसियम, क्याल्सियम, फस्फोरस आदि पनि पाइन्छ । अफ्रिकातिर त यसलाई प्रमुख खाद्यान्नकै रुपमा प्रयोग गरिन्छ ।

तरुलमा पाइने सूक्ष्म पोषक तत्वले चिसोबाट बचाउन मद्दत गर्छ । तरुलको नियमित सेवनले बाथरोग भएका व्यक्तिलाई निकै लाभ मिल्छ । साथै तरुलमा एन्टिअक्सिडेन्ट, भिटामिन ‘सी’ तथा ‘बी’, क्यारोटिन नामक तत्वहरु हुन्छन् । ती तत्वले शरीरमा पौष्टिक तत्व पुर्याउनुका साथै विभिन्न रोगबाट बच्न पनि सहयोग गर्छन् ।

पिँडालु र तरुल दुवै उसिनेर अलिकति नून राखेर स–साना नानीहरुलाई दिन सकिन्छ । तरुल र पिँडालु दुवै तरकारी बनाएर भात, रोटी, चिउरासँग खान सकिन्छ । यसरी पकाउँदा टुसा उम्रेका गेडागुडी हालेपछि त यस्तो तरकारीको पौष्टिकता झनै बढ्न जान्छ । बालबालिकाको छिटो बढ्ने शरीरका लागि बाहिरका क्याप्सुल होइन, यस्ता प्राकृतिक खाना उपयुक्त हुन्छ । सखरखण्ड भिटामिन ‘ए’ र ऊर्जाको राम्रो स्रोत हो ।

थारुहरुले पनि माघी धुमधामसँग मनाउँछन् । यो दिन नयाँकामको थालनी गर्न शुभ मान्छन् । त्यसै गरी उनीहरुको समाजमा नयाँनाइके छान्ने, मीठा परिकार खाने चलन पनि छ । माघ १ गते खाइने खाद्यवस्तुले शरीरमा न्यानो दिने भएकाले सांकेतिकरुपमा यी खाना खाइन्छ तर अन्य बेलामा पनि यस्ता पदार्थको प्रयोग गरे रक्तअल्पता र कुपोषण कम हुन्छ ।

यस्ता वस्तुहरुमा पर्याप्त मात्रामा रेसादार पदार्थ हुन्छन् । त्यसैले कब्जियत हटाउन र शरीरलाई मोटोपनबाट बचाउन पनि यस्ता खाना लाभदायक हुन्छन् ।ेमाघ १ गते खिचडी पकाउने र घिउ मिलाएर दहीसँग खाने परम्परा छ । यो प्रचलन राम्रो हो । दहीका धेरै गुणहरुमध्ये एक प्रभावकारी गुण पेटमा स्वस्थ कीटाणु पैदा गर्नु पनि हो ।

दहीले कब्जियत पनि हटाउँछ । झाडापखाला लाग्दा पनि यसले फाइदा गर्छ । दूध नपच्नेहरुलाई पनि दही सजिलो गरी पच्छ । क्याल्सियमको एक राम्रो स्रोत दही, भिटामिन ‘ए’को राम्रो स्रोत घिउ र ऊर्जाले भरिपूर्ण खिचडीले बालबालिका, वृद्धवृद्धा, किशोरकिशोरी सबैलाई स्वस्थ राख्छ ।

हामी शक्ति पाउनका लागि विभिन्न अन्न खान्छौं तर कन्दमूलले पनि शक्ति दिन्छ । यसमा भएका विभिन्न खनिज तत्व चामल, गहुँमा भन्दा बढी हुन्छ । त्यसैले माघ १ गते मात्र नभएर यस्ता खाद्यवस्तु हामी वर्षभरि पनि खान सक्छौं । सुदूरपश्चिममा कोदो, गेडागुडी, मकै, भटमास, गहत, मास आदिबाट जाडोमा विभिन्न परिकार बनाएर खाने चलन छ ।

गहतानी (गहतबाट बनाइने परिकार) सहित यस्ता थरी–थरीका पौष्टिकताले भरिएका खाना जाडोमा स्वास्थ्यका लागि लाभदायक हुन्छन् । जाडो भगाउन अनेक थरीका औषधि खानै पर्दैन, यस्ता घरेलु खानेकुरा खाएर नै जाडोमा हुने समस्याबाट बच्न सकिन्छ ।

 

प्रतिक्रिया दिनुहोस्