नदुखे पनि पत्थरीबाट क्यान्सर



डा. सुमन श्रेष्ठ
सर्जन

मासु एवम् धेरै चिल्लो पदार्थ खानेह्रूमा बढीजसो पत्थरी हुने गरेको पाइन्छ । अर्को कुरा, आमाबुबालाई पत्थरी छ भने छोराछोरीलाई पनि हुने सम्भावना हुन्छ । कसैलाई दुखेपछि स्वास्थ्य जाँच गर्दा पत्थरी भएको थाहा हुन्छ भने कसैलाई त्यत्तिकै अरु प्रयोजनका लागि अल्ट्रासाउन्ड गर्दा पत्थरी देखिएका घटना छन् । यसको मतलव नदुख्दा पनि पत्थरी भेटिएको छ ।

पत्थरी :

महिलालाई बढी प्रायः पत्थरी केटीह्रूमा बढी हुने गरेको छ । किनकि उनीह्रूमा इस्ट्रोजन हर्मोन बढी हुन्छ । बच्चा जन्माउँदा यो हर्मोन चल्छ र बिस्तारै थिग्रिन्छ । यस क्रममा पत्थर बन्छ ।

अर्को कुरा भनेको रगत टुक्र्याउने रोग पनि हुन्छ, जसलाई हामी हेमोलाइटिक जन्डिस पनि भन्छौं । यो बच्चाह्रूलाई हुन्छ । बच्चाले जन्मजात नै यो रोग लिएर आएको हुन्छ । त्यसैले बच्चादेखि नै सजग हुनुपर्छ ।

अर्को भनेको पित्तथैलीमा इन्फेक्सन भयो भने सुन्निन्छ । सुन्नियो भने केही पदार्थ थिग्रिन्छ । बिस्तारै त्यही वस्तु स्टोन बन्दै जान्छ । गर्भवती अवस्थामा पनि स्टोन हुन्छ । कसै–कसैको बच्चा जन्माइसकेपछि हराएर जाने पनि हुन्छ ।

अर्को कुरा, बढी चिल्लो खाने गरेको मानिस मोटो हुन्छ । मोटो मानिसमा ट्राइग्लिसेराइड कोलेस्टेरोल बढेको हुन्छ । यसले गर्दा यस्ता मानिसमा पनि स्टोन पाइने गरेको छ ।

अहिलेको सन्दर्भमा पत्थरी हुनेह्रूको संख्या बढेको जस्तो देखिएको छ । किन यसरी बढ्यो त ? पहिलो कुरा त पौष्टिक तत्वह्रूको परिवर्तन भयो, अर्को कुरा भनेको मानिस सजग भएकाले स्वास्थ्य जाँच गराइरहन्छन् ।

एकथरी रोग लाग्यो भनेर स्वास्थ्य जाँच गराउँदा स्टोन देखा पर्ने गरेको अवस्था छ । पहिले–पहिले स्टोन भए पनि बिरामी र उसका परिवारलाई थाहा नहुने अवस्था थियो तर अहिले त्यो अवस्था रहेन । त्यसैले पत्थरीको समस्या हुनेह्रूको संख्या बढी देखिने गरेको छ ।

अन्य जाँच गर्दा पत्थरी

अन्य रोगको जाँच गर्दा स्टोन देखा पर्ने गरेका उदाहरण धेरै छन् । यस्तो अवस्थालाई लक्षण नै नदेखीकन स्टोन देखा परेको भनिन्छ । यस्तो अवस्थामा दुखेको हुँदैन । अनि किन अप्रेसन गर्ने भन्नेह्रू धेरै हुन्छन् ।

तर अब शरीरमा रहेको स्टोनले दुःख नदिए पनि उपचार गर्नुपर्छ भन्ने सोच हामीमा आइसकेको छ । किनकि भोलि रोगले दुःख दिन थाल्यो भने गाह्रो हुन्छ ।

अर्को कुरा भनेको एउटा रोगले दुःख दिइरहेको छ, फेरि स्टोन किन पाल्ने भन्ने पनि हुन्छ । आखिर पछि भए पनि शरीरबाट त्यो स्टोन नफाली हुँदैन । स्वास्थ्य जाँचपछि पत्थरीको आकार र अवस्थितिअनुसार उपचारका लागि योजना बनाउनुपर्छ ।

पित्तथैली नै फाल्नुपर्छ

पित्तथैली वा मृगौला, जहाँको भए पनि स्टोन निकाल्नुपर्ने हुन्छ । पित्तथैलीको स्टोन मात्र निकाल्यौं र पित्तथैली सिलाइदियौं भने अर्को वर्ष फेरि स्टोन बन्न शुरु गर्छ । किनभने त्यस व्यक्तिको पित्त पत्थरी बनाउने खालको भयो ।

फेरि पित्तथैली सिलाएर पहिलाको जस्तो बनाउनु जटिल कार्य पनि हो । त्यसकारण यस्तो अवस्थामा पित्तथैली नै निकाल्नु उचित हुन्छ । किनभने यसो गरेपछि पुनः स्टोन बन्ने सम्भावना रहँदैन । त्यसैले पत्थरी भएको अवस्थामा पित्तथैली नै फाल्नुको विकल्प छैन । त्यसो भएपछि पित्तको काम नै छैन त भन्ने कुरा पनि आउँछ ।

शरीरमा पित्तको काम छैन त ?

लिभर अर्थात् कलेजोमा पित्त बन्छ अनि त्यो पित्तथैलीमा जम्मा भएर बस्छ । हामीले विभिन्न खाना खान्छौं । खाएपछि पित्तरसमा मिसिएर पच्ने गर्छ । पित्तरसबाट नै पचाउने हो । मुख्यतया चिल्लो पदार्थ पचाउने यसैले नै हो ।

तर पित्त जम्मा हुने थैली नै निकालिसकेको अवस्थामा कसरी पचाउने कार्य होला ? भन्ने जिज्ञासा जाग्नु स्वाभाविक नै हो । पित्तथैली नभएपछि पहिले नै पित्तरस आन्द्रामा गएर बसिसकेको हुन्छ । अनि खाना पचाउँछ ।

लिभरमा पित्त बनेपछि सोझै आन्द्रामा गएर बस्छ । त्यसैले पत्थरीको अप्रेसन गरेका केही मानिस दिसा लागेको जस्तो हुन्छ भनेर सिकायत गर्न अस्पतालमा आउँछन् ।

किनकि त्यो पित्तरस सोझै आन्द्रामा जाने भएकाले मानसिकरूप्मा छिटो–छिटो पखाला लागेको जस्तो हुन्छ । तर यस्तो धेरैलाई चाहिँ हुँदैन ।

पत्थरीले निम्त्याउने जटिलता

पत्थरीको उपचार नगरी बस्दा दुखाइ बढ्दै जान्छ । आराम गर्यो भने निको भएजस्तो पनि हुन्छ । नदुख्ने औषधि खायो भने सन्चो भएको अनुभूति हुन्छ । कहिले पित्तथैली सुन्निने हुन्छ भने कहिले सुक्ने हुन्छ । सुक्दै जाँदा खुम्चिँदै जाने हुन्छ ।

यस्तो अवस्थामा निकाल्न गाह्रो हुन्छ । यसलाई हामी क्रोनिक पोलिथाइसिस भन्छौं । कहिलेकाहीँ पत्थरी ठूलो भएर अवरोध हुँदा पित्तले अन्तै बाटो बनाएको पनि हुन सक्छ । यस्तो अवस्थामा उपचार पनि जटिल हुन्छ । जता–जता प्वाल परेको छ, त्यो–त्यो ठाउँमा सिलाउनुपर्ने हुन्छ ।

सानो पत्थर हुँदै सामान्य अवस्थामा अप्रेसन गर्न सजिलो हुन्छ । नत्र डाक्टरलाई पनि गाह्रो, बिरामीलाई पनि गाह्रो । शुरुमै सामान्य हुँदै अप्रेसन गर्यो भने एकदिन अस्पतालमा बस्दा हुन्छ ।

तर पत्थर ठूलो भएर जटिल अवस्था पुगेपछि अप्रेसन गर्दा भने लामो समयसम्म बिरामीलाई अस्पतालमै राख्नुपर्ने हुन्छ । स–सानो स्टोन छ भने नलीमा गएर अड्किई अवरोध सृजना हुन्छ । यस्तो हुँदा

जन्डिस हुने अवस्था आउँछ । नलीमा स्टोन बसेको अवस्थामा बिरामीलाई दुखाइ असह्य हुन्छ । यसरी स्टोन पालिरह्यो भने फरक किसिमका रोग देखा पर्छन् । त्यसैले शरीरमा स्टोन छ भन्ने थाहा पाउनासाथ उपचार गरिहाल्नुपर्छ । पछि रोगले दुःख दिने गरी बस्नुहुँदैन । शुरुमै अप्र्रेसन गरेर स्टोन फालिदियो भने जटिलताबाट बच्न सकिन्छ ।

नदुखे पनि अपरेसन गर्नुपर्छ

स्टोनले दुःख नदिएसम्म अप्रसेन नगर्ने भनेर बस्नेह्रू धेरै हुन्छन् । ४२ सालमा पत्थरी देखा पर्यो, ६३ सालसम्म दुखेको छैन, त्यसैले किन अप्रेसन गर्नुपर्यो भन्नेह्रू पनि हुन्छन् । २० वर्षसम्म स्टोन राख्दा त्यहाँ क्यान्सर भएको पनि हुन सक्छ ।

त्योपत्थरीले एक–दुई दिनमा क्यान्सर बनाउने होइन, लामो समयसम्म राख्दा क्यान्सर गराउने हो । त्यसैले २० वर्षसम्म स्टोनले दुःख नदिए पनि क्यान्सर भयो भने के गर्ने ?

क्यान्सर भयो भने निको पार्न मुस्किल पर्छ । त्यसकारण स्टोनले दुःख दिएको छैन भनेर बस्नु हुन्न । नदुखीकनै क्यान्सर भइसकेछ भने त्यतिखेर पश्चात्ताप गर्नुको विकल्प हुँदैन । त्यसैले पत्थरी भएको थाहा पाउनासाथ अप्रेसनको योजना बनाउनुपर्छ ।

तुरुन्तै भनेर आजको भोलि इमर्जेन्सी अप्रेसन गर्नुपर्छ भन्ने पनि होइन, समय मिलाएर गर्न सकिन्छ । लामो अवधिसम्म स्टोन नपाल्नु भन्ने मात्र हो । अहिले स्टोन पालेर पछि पछुताउनुभन्दा अहिले नै यसलाई किन नफ्याँक्ने ?

 

प्रतिक्रिया दिनुहोस्