स्वास्थ्य स्वयंसेविकाको योगदान



‘गाउँनगरमा महिला स्वास्थ्य स्वयंसेविका स्वास्थ्य प्रवद्र्घनमा अहम् भूमिका’ भन्ने मूल नाराका साथ १६ औं महिला स्वास्थ्य स्वयंसेविका दिवस गत मंसिर १९ गते मुलुकभर मनाइयो ।

२०४५ सालदेखि शुरु भएको महिला स्वास्थ्य स्वयंसेविका कार्यक्रमले नेपालमा मातृ तथा शिशु स्वास्थ्य, परिवार नियोजन सेवा, प्राथमिक स्वास्थ्य सेवाको उपयोग तथा महिला सशक्तीकरण सुधारको क्षेत्रमा योगदान पुगेकोे छ ।

स्वयंसेविकाहरूले विशेष गरी समुदायस्तरमा मातृ तथा बालस्वास्थ्यमा सुधार ल्याउन प्रत्यक्ष योगदान गरिरहेका छन् । उनीहरुले सुरक्षित मातृत्वका लागि सुत्केरीको रक्तश्राव रोक्न मातृ सुरक्षा चक्की, परिवार नियोजनका अस्थायी साधनहरू, गर्भवती महिला र सुत्केरीपश्चात् आइरन चक्की वितरण गर्ने जस्ता कामहरू गर्दै आएका छन् ।

यस अतिरिक्त बालस्वास्थ्यअन्तर्गत भिटामिन ‘ए’, झाडापखाला लागेका बच्चाहरूलाई जीवनजल तथा जिंक चक्की र जुकाको औषधिको वितरणलगायत स्वास्थ्यसम्बन्धी जनचेतना जगाउने कामहरू गर्दै आएका छन् । हाल देशभर ५१ हजार ४ सय २३ महिला स्वास्थ्य स्वयंसेविकाहरू छन् ।

प्रतिक्रिया दिनुहोस्