विश्व स्वास्थ्य समाचार



भिटामिन ‘ए’को बढी प्रयोग हानिकारक

विश्व स्वास्थ्य संगठनको अनुसन्धान दलका वैज्ञानिकहरुको खोजअनुसार कुनै महिलाले आफूले गर्भधारण गरेको केही दिनमै भिटामिन ‘ए’को बढी सेवन गरिन् भने उनीबाट जन्मने शिशु अपांग हुने सम्भावना धेरै हुन्छ । यससम्बन्धमा अनुसन्धानरत चिकित्सक डा. रायन ब्रुम भन्छन्, ‘कुनै पनि गर्भवती आमाले तागतका लागि भन्दै भिटामिन ‘ए’को अधिक सेवन गर्नुहुँदैन ।

भिटामिन ‘ए’को सेवन गर्दा भ्रूण विकारहरु आउन थाल्छन् । यसले गर्भवती महिलाको वजन बढाउँछ भने अर्काेतिर वजन कम भएको शिशु जन्मिने, अपांग हुने, शिशुको मृत्यु हुन सक्ने खतरा ४० गुणा बढी हुन्छ ।’

त्यसैले चिकित्सकहरु भन्छन्, ‘भिटामिन ‘ए’ विनाआवश्यकता गर्भवती महिलाले लामो समयसम्म सेवन गर्दा बोसोमा घोलिएर शरीर र बच्चा दुवैलाई नोक्सान पुर्याउँछ । भिटामिन ‘ए’को प्रयोग त्यति बेला मात्र गर्नुपर्छ जति बेला यसको आवश्यकता पर्छ । अन्यथा यसको प्रयोग शरीर र नवजात शिशु दुवैका लागि नोक्सानदायक हुनसक्छ ।’

धूमपानले मधुमेह निम्त्याउने

अमेरिकाको बोस्टन विश्वविद्यालयका अनुसन्धान दलका वैज्ञानिकहरुको खोजअनुसार अत्यधिक धूमपानले मानिसलाई मधुमेह र उच्च रक्तचापको जोखिम बढ्ने हुन्छ । धूमपानले मधुमेह रोग लागेमा मुटुमा घाउ लाग्नुको साथै शरीरको अंग नचलेर मूर्दाजस्तो जीवन बिताउनुपर्ने चेतावनी वैज्ञानिकहरुले दिएका छन् ।

यस मामिलामा एक वैज्ञानिक डा. एरिक फिल्ड भन्छन्, ‘अहिलेका धेरैजसो युवायुवती रेस्टुराँमा गएर हुक्का तान्ने र चुरोट सल्काउने दुव्र्यसनमा लागेका देखिन्छन् । त्यसले स्वास्थ्यलाई नकारात्मक प्रभाव पार्नुको साथै क्यान्सरजस्ता प्राणघातक रोग निम्त्याउने गर्दछ ।

अझ हुक्कामा प्रयोग गरिने नक्कली बास्नादार वस्तुले श्वास–प्रश्वासका रोग, रक्तधमनी र रक्तकणहरुमा आउने शिथिलताका रोग, मुटुको रोग, पेटको अल्सरजस्ता कष्टदायक रोग पैदा गरिदिन्छ ।’विश्व स्वास्थ्य संगठनको हालैको मेडिकल जर्नलमा सो अध्ययन प्रतिवेदन प्रकाशित गरिएको छ ।

सो प्रतिवेदनमा धूमपानले क्यान्सरबाट मर्नेको संख्या ४०, श्वास–प्रश्वास रोगले मर्नेहरुको संख्या ३० र हृदयघातबाट मर्नेहरुको संख्या ३० प्रतिशत रहेको पुष्टि गरिएको छ । ३० देखि ७० वर्ष उमेरका व्यक्तिहरुमा गरिएको यस अनुसन्धानमा जसले दैनिक २० खिलीभन्दा बढी र १० मिनेटभन्दा बढी हुक्का तान्ने गर्दछ उसले एउटा मात्र होइन अनेकौं रोगहरुको सामना गर्नुपरेको उल्लेख छ ।

 शक्तिको भण्डार हरियो सागपात

हरियो सागपात खानु स्वास्थ्यको लागि ज्यादै लाभदायक हुन्छ भन्ने कुरा विज्ञान जगत्ले स्वीकार गरिसकेको छ । हरियो सागपातले पेट सफा गर्ने, कोलेस्टेरोल बढ्न नदिने, रक्तसञ्चारमा अवरोध आउन नदिने तथा शरीरलाई आवश्यक पर्ने सम्पूर्ण पोषक तत्वहरु आपूर्ति गर्ने काम गर्दछ भन्ने निष्कर्ष विश्व स्वास्थ्य संगठनका चिकित्सक वैज्ञानिकहरुले हालैको एक प्रतिवेदनमा सार्वजनिक गरेका छन् ।

उनीहरुका अनुसार हरियो सागपातको सेवनले रगतका खराबी हटाउने, रक्तअल्पता हुन नदिने, रगतमा चिनीको मात्रा बढ्न नदिने जस्ता महत्वपूर्ण कार्य गर्दछ ।

यस अनुसन्धानमा संलग्न डा. जेफ रिचर्ड भन्छन्, ‘हरियो सागपातको सेवन महिलाहरुका लागि पनि ज्यादै लाभकारी साबित भएको छ । गर्भाशयको विकार, रजश्वलाको गडबडी आदि समस्यामा हरियो सागपात नियमितसँग सेवन गरेमा ती सबै रोगबाट छुटकारा पाइन्छ ।

साथै ५० वर्षदेखि ७० वर्ष नाघेका मानिसको आँखाको दृष्टिशक्ति कम हुनेहरुले पनि नियमितरुपले हरियो सागपात खाने गरे उनीहरुको समेत आँखाको ज्योति तन्दुरुस्त भइरहन मद्दत मिल्छ ।’

यस अध्ययनमा संलग्न चिकित्सक बोनिस भन्छन्, ‘हरियो सागपातको सेवनले आँखाको ज्योति नष्ट हुनबाट बचाउँछ । मानसिक शक्ति प्राप्त गर्न, पेट र आन्द्राका सबै रोगबाट मुक्ति पाउन र मुटुको भल्भ सफा गर्ने जस्ता काममा पनि हरियो सागपातको सेवन उपयोगी र लाभदायक बन्दछ ।’

स्रोत : विश्व स्वास्थ्य संगठन

प्रतिक्रिया दिनुहोस्