तपाईँका घरमा हाम्रा डाक्टर



मलाई ग्यास्टिकको समस्या छ । औषधि पनि खाइरहेको छु । बेला–बेलामा मेरो शरीरको मांसपेशी बाउँडिने गर्छ । पिँडुला बाउँडिने त सामान्य हो, कहिलेकाहीँ पेटको मांसपेशी पनि बाउँडिन्छ । के ग्यास्टिकको समस्याले गर्दा यस्तो भएको हो ? समाधानको उपाय बताइदिनुहुन्थ्यो कि ?
– विदुर थापा, चापागाउँ, ललितपुर ।

विदुरजी, ग्यास्टिक हुनु र मांसपेशी बाउँडिनु अलग कुरा हो । ग्यास्टिक हुँदा पेट दुख्छ, पोल्छ । अमिलो–पिरो खानुभएन, नियमित औषधि सेवन गर्नुपर्‍यो, पथपरहेजमा रहनुपर्‍यो । यो ग्यास्टिकको पाटो भयो । त्यस्तै मांसपेशी बाउँडिने कारणमा खानामा लवणको कमी, क्याल्सियम, म्याग्नेसियम, पोटासियममध्ये कुनै–कुनै भिटामिनको कमी हुन सक्छ । पानीको कमी हुन पनि सक्छ । थकावट धेरै भएर पनि यस्तो हुन सक्छ । मांसपेशीकै खास रोग भएर पनि यो समस्या आउन सक्छ । त्यसैले पहिले साधारण परीक्षणबाट हेर्न मिल्ने कारणहरु पत्ता लगाएपछि निश्चित उपचार विधि अपनाउनुपर्ने हुन्छ । यदि समस्याले अति नै सताएको छ भने एकपटक नजिकको फिजिसियनलाई देखाएर परामर्श लिनुहोस् ।

म ४६ वर्षको भएँ । मेरो हातगोडा दुखिरहन्छ । बेलुका सुत्ने बेलामा एकछिन् नमिचे निदै्र लाग्दैन । हाम्रो गाउँमा यस्तो समस्यालाई हातगोडा करकर खायो भनिन्छ । यो कस्तो रोग हो र के गर्दा मुक्ति पाउन सकिएला ?
– दानबहादुर राउत, ओखलढुंगा ।

दानबहादुरजी, हातगोडा दुख्ने धेरै कारणले हुन सक्छ । स्नायु रोग, रक्तनलीको रोग, मांसपेशीको रोग, रगतमा लवण वा भिटामिनको कमी, थकावट, मानसिक तनाव आदि जे कारणले पनि यस्तो हुन सक्छ । कतिपय अवस्थामा कारण नै थाहा नलाग्न पनि सक्छ । हाललाई भिटामिन ‘बी’ कम्प्लेक्स र भिटामिन ‘ई’ खाँदै गर्नुस् । अनि एकपटक काठमाडौंको वीर अस्पताल वा शिक्षण अस्पतालमा आएर फिजिसियनसँग परामर्श गर्नुस् । त्यसपछि मात्रै सही निदान र उपचारको लागि बाटो खुल्नेछ ।

मलाई बेला–बेलामा टाउको दुखिरहन्छ । दही खाएपछि यो समस्या झनै बढ्छ । हेल्थपोस्टमा गएर देखाउँदा त्यहाँका स्वास्थ्यकर्मीले पिनास भएको हुन सक्ने बताए । पिनास भनेको कस्तो रोग हो र यसको उपचार कसरी गरिन्छ ?
–जमुना थापा, गुल्मी ।

जमुनाजी, टाउको दुख्ने धेरै कारणमध्ये पिनास एउटा हो । आँखाको कमजोरी, उच्च रक्तचाप, तनाव, माइग्रेन, टाउकोभित्र रक्तश्रावले पनि टाउको दुख्ने हुन सक्छ ।

त्यस्तै ट्युमर र घाँटीको नसा च्यापिएमा पनि टाउको दुख्ने हुन सक्छ । तसर्थ राम्रोसँग निदान गरेमा मात्र सही उपचार भई राम्रो नतिजा हासिल हुन सक्छ । जहाँसम्म पिनासको कुरा छ, हाम्रो टाउको हलुका पार्न प्रकृतिले टाउकोको हड्डीमा केही खालि प्वालहरु बनाएको हुन्छ, जसले हाम्रो स्वरमा मिठास ल्याउने, टाउको हलुङ्गो पार्ने जस्तो काममा मद्दत गर्छ । यसलाई प्यारानजल सैनोसेस भनिन्छ । यदि तिनैमध्ये कुनै वा केही वा सबैमा संक्रमण भएमा पिनास भएको भनिन्छ । जसमा ती प्वालहरु ब्लक हुने, पिप जम्ने भएर टाउको भारी हुने, गरुङ्गो हुने, दुख्ने गर्छ । यस्तो भएमा एक्सरे गरेर हेर्न सकिन्छ अनि निदान गरी एन्टिबायोटिकको कोर्स खाएमा सन्चो वा नियन्त्रणमा आउन सक्छ । यसको लागि नाक, कान, घाँटी रोग विज्ञ देखाउन राम्रो हुन्छ ।

मेरो घाँटीमा प्रायः खकार जमिरहन्छ । यो खकार पूरै बाहिर निकाल्ने कुनै औषधि पाइन्छ कि ? कुनै अन्य उपाय भए पनि बताइदिनुहोला ।
–अर्जुन महर्जन, सीतापाइला, काठमाडौं ।

अर्जुनजी, घाँटीमा खकार वास्तवमै जमेको हो कि त्यस्तो महसुस मात्र भएको हो ? एलर्जी वा झिन्झिनावट वा इरिटेसन भएर पनि त्यस्तो महसुस भएको हुन सक्छ । त्यो अवस्थाको सही पहिचान अनि उपचारको चिकित्सकसँग छलफल र परामर्श गरेर मात्र सम्भव हुन्छ । काठमाडौंको प्रदूषण, धूलो–धुवाँको असरले पनि त्यस्तो हुन सक्छ । सादा पानीको बाफ लिने अनि फेक्सोफेनाडिन भन्ने औषधि १२० मि.ग्रा. दिनको दुईपटक ५–७ दिन खाएर हेर्नुस् । त्यसपछि पनि कम नभएमा कुनै फिजिसियनलाई देखाएर उपचारतिर लाग्नुहोस् ।

धार्मिक पद्धतिअनुसार सकेसम्म हरेक दिन बिहान नुहाउनुपर्छ । यसको मतलव सधैँ साबुन लगाएर नुहाउनु भनेको होइन, पूरै शरीर पानीले पखालिनुपर्‍यो । दैनिक नुहाएर मात्र खाना खानेहरु अझै पनि कतै–कतै पाइन्छन् । के स्वस्थताका लागि यो कार्य अपरिहार्य छ ? स्वास्थ्य विज्ञानले के भन्छ ? मेरो खुल्दुली मेटाइदिनुहुन्थ्यो कि ?
– रविकुमार पौडेल, हाल : भक्तपुर ।

रविकुमारजी, स्वास्थ्य विज्ञानले भन्छ– सरसफाइ गर्ने, हप्ताको कमसे कम दुईपटक नुहाउने । यो पाश्चात्य अध्ययनले भनेको कुरा हो, जहाँ धूलो–धुवाँ हुँदैन । नेपालमा त त्यसो भनेर किन हुन्थ्यो र ? यहाँ दैनिक नुहाउँदा पनि सफाइ पुग्दैन, सेतो कमिज दिनमै दुईपटक फेर्न पर्ने गरी फोहोर हुन्छ । हाम्रो संस्कृत परम्परामा ब्राह्मणहरुले दैनिक नुहाउने मात्रै नभएर पाठपूजा, मन्त्रोच्चारण सबै गर्नुपर्ने देखिन्छ । त्यसैले यस्ता कुरा आवश्यकता हुन् । आफ्नो स्वस्थता तथा सरसफाइमा ध्यान दिनै पर्ने कुरा हो ।

म केही वर्षदेखि तराईको बासिन्दा भएको छु । गर्मीले हैरान पार्ने गरेकाले आउँदो गर्मीमा बेडरुममै एयर कुलर राख्ने विचार गरेको छु । बेडरुममा एयर कुलर राख्नु कत्तिको हितकर हुन्छ । झ्यालढोका बन्द गरेर रातभरि एसी चलाउँदा स्वास्थ्यमा असर गर्छ कि ? सुझाव पाऊँ ।
– वीरेन्द्र ढकाल, सिमरा

वीरेन्द्रजी, एसी लगाएपछि झ्यालढोका बन्द त गर्नै पर्‍यो, किनभने निश्चित तापक्रमलाई फिक्स गर्न तातो–चिसो भित्र–बाहिर हुन भएन । एसी लगाउँदा बाहिरबाट आउने हावा नै चिसिने हुनाले अक्सिजनको कमी हुँदैन । साथै स्वास्थ्यको लागि पनि एसीले धेरै हानि गर्दैन । चिसो लाग्ने, खोकी लाग्ने, दम हुने, बाथ हुनेको लागि एसी राम्रो नहुन सक्छ । साथै धेरै घण्टा एसीमा मात्रै बस्नु पनि त्यति राम्रो नहोला कि ! गर्मीबाट बच्न एसी बलगाउन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्