ब्युटी र पर्फेक्सनको कुनै परिभाषा हुँदैन : स्वस्तिमा खड्का



केही महिनाअघि श्रीलंकामा सम्पन्न सार्क फिल्म फेस्टिबलमा जुरीको तर्फबाट ‘द बेस्ट पर्फमर जुरी अवार्ड २०१९ गोज टु नेपाल… स्वस्तिमा खड्का’ भन्दै सर्वोत्कृष्ट अभिनय विधाको अवार्डको लागि आफ्नो नाम उद्घोष भइरहँदाको क्षण शब्दमा व्यक्त गर्नै सक्दिनन् अभिनेत्री स्वस्तिमा खड्का । फिल्म क्षेत्रमा पाइला राखेको आधा दशक पुग्नै लाग्दा स्वस्तिमाले उत्कृष्ट अभिनयको लागि अवार्ड पाइन् । त्यो पनि विदेशी भूमिमा । ‘नेपालमा त प्रायः अवार्ड पाउँदै छ भन्ने कुरा पहिले नै थाहा हुन्छ तर विदेशमा भएको अवार्ड समारोहमा अचानक आफ्नो नाम आउँदा सरप्राइज्ड भएँ, बेग्लै प्रकारको खुशीको क्षण थियो त्यो, जुन म शब्दमा व्यक्त गर्नै सक्दिन’, चलचित्र बुलबुलबाटै राष्ट्रिय अवार्डसमेत चुमेकी स्वस्तिमाले साधनासँग शेयर गरिन् ।

फिल्म होस्टेल रिटन्र्सबाट आफ्नो अभिनय करिअर शुरु गरेकी स्वस्तिमाले केही महिना प्रशिक्षण लिई चलचित्र बुलबुलमा महिला टेम्पो ड्राइभरको भूमिकामा सशक्त अभिनय गरेर नेपाललाई अन्तर्राष्ट्रिय अवार्ड दिलाउन सफल भइन् । नेपाल सरकारबाट प्रदान गरिने राष्ट्रिय चलचित्र अवार्डमा पनि स्वस्तिमाले त्यही चलचित्रको सोही भूमिकाबाट बाजी मारेकी थिइन् । ‘कुनै पनि फिल्म राम्रो हुनको लागि त्यसको सम्पूर्ण टिमको उत्तिकै मेहनत हुन्छ, फिल्म बुलबुलमा मैले जस्तो काम गरें त्यसको लागि मलाई निर्देशक विनोद पौडेल दाइले निकै सहयोग गर्नुभयो, त्यसमाथि आफ्नो मेहनत त छँदै छ’, स्वस्तिमाले भनिन् ।

फिटनेसको लागि भनेर डाइट प्लान गर्दिन, वर्कआउट पनि गर्दिन । तर स्वास्थ्य बिगार्ने खानेकुरा कहिल्यै खाँदिन । सकेसम्म खानामा फलफूल तथा ताजा जुस प्रयोग गर्छु भने पानी बढी पिइरहेको हुन्छु ।

सैनिक आवासीय महाविद्यालय, भक्तपुरबाट विद्यालयस्तरको पढाइ पूरा गरेकी स्वस्तिमाले थापाथली इन्जिनियरिङ क्याम्पसबाट आर्किटेक्ट इन्जिनियरिङ विषयमा अध्ययन पूरा गरेकी हुन् । तर उनी चिनिइन् आफूले पढेको विषयभन्दा परको फिल्म क्षेत्रबाट । मिस टिन २०१३ को उत्कृष्ट ५ सम्म पुगेकी स्वस्तिमाले सानैदेखि फिल्म क्षेत्रमा रुचि भए पनि यसबारे कसैलाई भनिनन् । स्वस्तिमाको भनाइ छ, ‘एक्ट्रेस बन्छु भन्ने भित्री चाहना थियो तर बाहिर कसैलाई भन्दैनथें । त्यो बेला स्थिति नै त्यस्तो थियो । फिल्म खेल्छु भन्दा मान्छेहरु हाँस्थे । अहिलेजस्तो फिल्म क्षेत्रलाई सिरियस्ली हेरिँदैनथ्यो र यो क्षेत्रलाई प्रोफेसनल्ली लिइँदैनथ्यो । त्यसमाथि मेरो परिवारको कोही पनि कला क्षेत्रमा हुनुहुन्थेन । इन्जिनियरिङ पढे पनि फिल्म क्षेत्रमा आबद्ध भएँ । पढेको कुरा प्रोफेसनमा डाइरेक्ट प्रयोग नभए पनि डेली लाइफमा कुनै पनि बेला काम लागिरहेको हुन्छ । आफ्नै या अरु कसैको घर निर्माण गर्दा बेसिक आइडिया दिन सकिन्छ । मानिसले जससुकै विषयमा पढोस् तर पढेको कुरा खेर जाँदैन ।’

फिल्मभन्दा परको विषय पढे पनि छोटो समयमै आफूलाई फिल्म क्षेत्रकै दरिलो खम्बाको रुपमा उभ्याउन सफल स्वस्तिमा पढेर भन्दा परेर जानिन्छ भन्ने कुरामा विश्वस्त छिन् । ‘फिल्म क्षेत्रमा लागेको ५ वर्षमा जति पनि कुराहरु सिकें, यदि मैले फिल्म नै पढेर आएको भए त्यो कुराहरु पहिले नै सिकेको हुन्थें होला तर पनि आफूले हरेक काम गर्दा त्यसलाई फरक तरिकाले गर्ने कोशिशचाहिँ सधैँ छ । आफूलाई अझ एक्सप्लोर गर्न सकिन्छ कि हेरौं’, उनी भन्छिन् ।

धेरैजसो नायिकाहरुको विवाहपछि फिल्मी करिअर सकिन्छ । स्वस्तिमा भने एकपछि अर्को फिल्मबाट सफलता चुम्दै गइरहेकी छिन् । फिल्म निर्देशक तथा अभिनेता निश्चल बस्नेतसँग विवाहबन्धनमा बाँधिएकी स्वस्तिमाको फिल्मी करिअरले विवाहपछि झनै उचाइ लिँदै गयो भने उनको क्रेज दिन–प्रतिदिन बढ्दो छ । उनी अहिले चपली हाइट ३ को सुटिङमा व्यस्त छिन् ।

सधैँ फिट नायिकाको छवि बनाएकी स्वस्तिमा आफ्नो शरीर छिटो नमोटाउने खालको भएको कारण सधैँ उस्तै देखिएको बताउँछिन् । ‘फिटनेसको लागि भनेर डाइट प्लान गर्दिन, वर्कआउट पनि गर्दिन । तर स्वास्थ्य बिगार्ने खानेकुरा कहिल्यै खाँदिन । सकेसम्म खानामा फलफूल तथा ताजा जुस प्रयोग गर्छु भने पानी बढी पिइरहेको हुन्छु । बिहान खालि पेटमा शरीरलाई असर गर्ने खालका खानेकुरा खान्न र बढी चिल्लो राखिएको खानेकुरा खाँदिन । शरीरलाई हानि नगर्ने खानेकुरा खाएपछि मेन्टेनका लागि खासै केही गर्नुपरेको छैन’, स्वस्तिमाले आफ्नो फिटनेसको रहस्य खोल्दै सुनाइन् ।

स्वस्तिमालाई लाग्छ, सुन्दरताको कुनै परिभाषा नै हुँदैन । ‘ब्युटी र पफेक्सनको कुनै निश्चित परिभाषा हुन्छ जस्तो मलाई लाग्दैन । कुनै पनि व्यक्ति आफैंमा पूर्ण र सुन्दर हुन्छ । कसैसँग कम्पेयर गरियो भने त फरक देखिनु स्वाभाविक नै हो । मानिस आफू जस्तो छ, त्यसमा नै कम्फर्टेबल फिल गर्छ र आफूमाथि कन्फिडेन्स राख्छ भने त्यो नै उसको सुन्दरता हो’, उनलाई लाग्छ । सौन्दर्य कायम गर्नका लागि स्वस्तिमाको आप्mनै जुक्ति छ । ‘सुन्दर देखिनका लागि घरमै बनाएको प्याकहरु लगाउँछु । मेकअप गर्दा फाउन्डेसन बेसिक कुरा भएकोले त्यसको गुणस्तर राम्रो हुन जरुरी छ । यसकारण बाहिरबाट मगाउँछु । कहिलेकाहीँ सामान मगाएको बेला खर्च त भइहाल्छ । तर स्वास्थ्य र सौन्दर्यको लागि भनेर मासिकरुपमा नियमित खर्च हुँदैन । आफ्नो स्किनको बनोटअनुरुप डाक्टरको सल्लाहअनुसार आफूलाई सुट गर्ने स्किन प्रोडक्ट प्रयोग गर्छु । घर बस्दा अनावश्यकरुपमा मेकअप गर्दिन’, उनले भनिन् ।

कामको सिलसिलामा भेटिएका धेरै मानिसबाट प्रभवित हुदै केही न केही सिकिरहेको बताउने स्वस्तिमा आफ्नो कमजोर र सबल पक्ष सुनाउँछिन्, ‘छिट्टै रिसाउने बानी छ, जुन मेरो कमजोरी हो । तर मेरो सबल पक्षचाहिँ म आफ्नो काममा अनेस्ट छु । मलाई कुनै पनि काम गर्न र मानिसहरुसामु आफ्नो कुरा राख्न डर लाग्दैन ।’

प्रस्तुति : रश्मी थापा

प्रतिक्रिया दिनुहोस्