डा. अरुणा उप्रेती, जनस्वास्थ्य विज्ञ ।
गहत पौष्टिकताले भरिपूर्ण दलहन भएर पनि प्रायः नेपाली भान्छामा त्यति स्थान पाउन सकेको छैन । अझ ‘जात फाल्नु गहतकोे झोलमा’ भनेर यसलाई अपहेलना नै गरिएको छ । सुदूर पश्चिमका जिल्लाहरुमा चाहिँ गहत र मासको दाल मिसाएर जाडोको बेलामा खाइने एक विशेष परिकार गहतानी बनाइन्छ । यसमा अमिलो, पिरो पनि मिसाइन्छ र भातसँग खाँदा एकदम स्वादिष्ट हुन्छ, शरीरमा तातो दिन्छ ।
गहत र मास दुवैमा प्रोटिनसहित सूक्ष्म पोषक तत्व भएकाले यसले स्वास्थ्य राम्रो पार्न पनि भूमिका खेल्छ । ‘आयुर्वेद र परम्परागत सिद्धान्तअनुसार यसको तातोपनले ढुंगा पनि फुटाउन सकिन्छ भन्ने मान्यता छ । त्यसैले मृगौलामा स–साना पत्थरी भएकाहरूलाई गहतको झोल खाँदा फाइदा गर्छ भनेर गाउँघरमा प्रयोग गर्ने चलन छ । सुदूर पश्चिमतिर गहतलाई भुटेर, पिसेर, पानीमा मिसाएर पकाइन्छ । यसलाई ‘घुर्रे’ भनिन्छ । यो भात वा रोटीसँग खान सकिन्छ । साथै पकाउँदा अलिकति तरकारी, मकैको पीठो र घिउ हालेपछि यो तातो सुपको रूपमा पनि खान सकिन्छ ।
गहत र मास दुवैमा प्रोटिनसहित सूक्ष्म पोषक तत्व भएकाले यसले स्वास्थ्य राम्रो पार्न पनि भूमिका खेल्छ । आयुर्वेद र परम्परागत सिद्धान्तअनुसार यसको तातोपनले ढुंगा पनि फुटाउन सकिन्छ भन्ने मान्यता छ ।
कतिपय ठाउँमा यसलाई मूलासँग पकाएर पनि खाइन्छ । साना बालबालिकालाई प्रोटिनको कमी नहोस् भनेर तरकारी वा दालमा गहत पिसेर, दानाकै रूपमा हालेर र गलाएर खान दिने गरिन्छ । यसो गर्दा शिशुको स्वास्थ्य राम्रो हुन्छ । गहतलाई हेप्ने होइन, यसलाई भान्छामा दालजस्तै गरेर खाए राम्रो हुन्छ । स्पेनमा त यसलाई सुपर फुड भनिन्छ ।
चना नेपाली भान्छामा महत्वपूर्ण दलहनको रुपमा प्रयोग गरिन्छ । चनामा प्रोटिन र रेसादार पदार्थ पर्याप्त हुन्छ । यसबाट बनेको पीठो अर्थात् बेसन प्रोटिनले भरिपूर्ण हुन्छ । बेसनको साथै चामल, कोदो, फापर आदिको पीठो मिलाएर रोटी, हलुवा बनाउँदा बालबालिकाका लागि स्वस्थकर र स्वादिष्ट खाजा बन्छ । साथै अण्डासँग विभिन्न थरीका पीठो र बेसन मिसाएर अमलेट पनि बनाउन सकिन्छ । यसलाई कतिपयले ‘प्यान केक’ पनि भन्छन् । बेसनको पीठोको पकौडा, हलुवा आदि पनि बन्छ । चनालाई टुसा उमारेर खाँदा यसको पौष्टिकता झन् धेरै बढ्न जान्छ । टुसा उमारेको चनालाई पिसेर अनेक परिकार बनाउन सकिन्छ ।
विभिन्न धार्मिक र सामाजिक उत्सवमा गुलियो खाने चलन छ । त्यस्तो बेलामा चनाको पीठो अर्थात् बेसनको लड्डु बनाउँदा काजु, बदाम, गुड वा सखर राखेर बनाउँदा झनै स्वस्थकर एवं पोषिलो हुन्छ । बालबालिकालाई पत्रु खाना (जंक फुड) दिनुको सट्टा बेसनबाट बनाएका विभिन्न परिकार दिन सकियो भने दुईवटा फाइदा हुन्छ । यो स्वस्थकर र स्वादिष्ट त हुन्छ नै, कुपोषण भएर बिरामी भएपछि हुने स्वास्थ्य समस्यालाई रोक्न पनि सकिन्छ । सम्पूर्ण परिवारको स्वास्थ्यमा पनि सकारात्मक असर पर्छ ।
मेरी हजुरआमाले चना भिजाई उमारेपछि पिस्ने अनि त्यसलाई पानीमा घोली पकाएर फाँडो बनाउनुहुन्थो । अहिले पनि मेरी आमाले भोज गर्नुभयो भने उहाँको हातबाट बनेको बेसनको फाँडोसँग भात मुछेर खाँदा मज्जा नै बेग्लै हुन्छ ।
नेपालका केही भागमा अहिले चना उमारेर त्यसलाई पिस्ने समय नभएकाहरुले बेसन नै किन्छन् । बेसनको पीठो अमिलो मोहीमा घोलेर पकाउँदा मीठो फाँडो वा कढी पनि बन्छ । बनाउन सजिलो कढी भात वा रोटीसँग खाइन्छ । यसमा बेसनकै पकौडा पनि हालिदियो भने त झनै मीठो हुन्छ । गुजरातीहरूको खानामा कढी अनिवार्य हुन्छ । बालबालिकालाई ख्वाउने विभिन्न थरीका दाल वा उसिनेर मिचेको आलुमा राम्ररी भुटेको एक–दुई चम्चा बेसन र एक चम्चा घिउ हालेमा शिशुलाई स्वाद र प्रोटिन दुवै हुन्छ । चना भिजाई बोक्रैसमेत पिसेर पनि पकाउन सकिन्छ ।
बालबालिकाको खानेकुरामा गुलियो पनि हुनुपर्छ, अमिलो पनि हुनुपर्छ, ताकि बिस्तारै–बिस्तारै बालबालिकाले विभिन्न स्वाद लिन सकून् । बेसनको बुनियालाई यदि केही मसला र नून मिसाएको दहीमा हालिदियो भने यो रायता बन्छ । यदि त्यही बुनियालाई अलिकति चास्नी वा सखर मिसाइयो भने यो मीठो, गुलियो, स्वादिलो, पौष्टिकताले भरिपूर्ण गुलियो परिकार बन्न सक्छ । बेसन भुटेर मसिनो गरी काटेको आलु अनि केही हरियो तरकारी पनि हालेर पकाइयो भने बेसनको भिन्नै परिकार बन्छ ।
बेसारमा रहेको तत्वको बारेमा थाहा पाएर नै बेसारको क्याप्सुल, पाउडर आदि बनाएर पश्चिमका देशमा यसको प्रयोग गरिन्छ । नेपालमा त यो तरकारी, दाल आदिमा हालेर खाइन्छ ।
हाम्री हजुरआमाले हामी सानो छँदा खुट्टा मर्कियो भने बेसारलाई दूधमा मिसाएर अनि रुघाखोकी लाग्यो भने पानीमा बेसार पकाएर खान दिनुहुन्थ्यो । त्यसै गरी बालबालिकाको छालामा घाउ हुँदा हजुरआमा र आमाले तेल, घिउ वा तरमा बेसार मिलाएर लगाइदिनुहुन्थ्यो । उहाँहरूले नपढे पनि थाहा पाउनुभएको थियो कि बेसार छालामा राम्रोसँग शोषण हुनलाई चिल्लोको जरुरत पर्छ ।
केही वर्षअघि मैले विदेशमा ‘टर्मरिक ल्याट्टे’को उपहार पाएकी थिएँ । त्यसमा बेसारको साथै दालचिनी, कालो मरिच, सुकुमेल मिसाएको ६० ग्राम धूलो रहेछ । यसको झन्डै १५ डलर अर्थात् नेपाली झन्डै १५ सय रुपियाँ पर्दाे रहेछ । त्यो हिसाबले एक किलोको झन्डै रु. २० हजार पर्ने रहेछ ।
नेपालका पसलहरुमा एक किलो बेसारको रु. ४ सयदेखि ५ सय पर्छ । एक किलो कालो मरिचको ७ सय देखि ८ सय पर्छ । जब बेसार, मरिच प्याकेटको रुपमा तयार हुन्छ, तब त्यसको मूल्य २० औं गुणा बढ्छ । बेसार र कालो मरिचको धूलोको औषधीय महत्व छ । बेसारमा रहेको ‘करकुमिन’ भन्ने तत्वको कारणले नै बेसारमा संक्रमण र रोगसँग लड्ने शक्ति हुन्छ । बेसारमा थोरै तेल, थोरै मात्रामा प्रोटिन र सूक्ष्म मात्रामा भिटामिन ‘ए’ पनि पाइन्छ । शरीरमा विभिन्न संक्रमण भइरह्यो भने मुटुको रोग हुने सम्भावना हुन्छ । साथै उमेर बढ्दै जाँदा हुने समस्या निम्तिन्छ । ‘करकुमिन’ मानव कोषिकाभित्रसम्म पुगेर संक्रमणसंँग लड्छ । आयुर्वेदमा बेसारलाई महाऔषधिको नाम दिइएको यसैले होला । आयुर्वेदिक औषधि विज्ञानमा यसलाई ‘गौरी’, ‘कुमकुम’ भनेर पनि चिनिन्छ ।
बेसारमा एन्टिबायोटिक गुण पनि हुन्छ । त्यसैले विभिन्न सौन्दर्य प्रसाधन बनाउने कम्पनीले पनि बेसार प्रयोग गर्छन् । साबुनमा पनि बेसारको प्रयोग हुन्छ । बेसार हालेर बनाएको क्रिम र साबुनको प्रचार रेडियो, पत्रपत्रिकाबाट हुने गरेको हामीले थाहा पाएकै कुरा हो ।
तराईतिर विवाह समारोहको ‘हल्दीकी रसम’ त एउटा महत्वपूर्ण संस्कार नै हो । यसमा वर–वधूको अनुहारमा मान्यजनबाट बेसार लगाइन्छ । यसले गर्दा उनीहरूको छालामा संक्रमण हट्छ र चमक आउँछ ।
केही वैज्ञानिक अनुसन्धानअनुसार बेसारमा मानवमस्तिष्कलाई सक्रिय पार्ने र मुटुका मांसपेशीको क्रियाकलापलाई सुचारुरुपले चलाएर मांसपेशी सुदृढ पार्न सक्ने तत्व पाइन सक्ने सम्भावना छ । साथै विभिन्न औषधिहरुको कुप्रभाव कसरी कम गर्न सकिन्छ भनेर पनि बेसारका अनेक विषयमा अध्ययनहरु भइरहेका छन् । बेसारको प्रयोग गर्दा मरिचसँग मिलाएर गरियो भने राम्रोसँग आन्द्रामा सोसिन्छ भन्ने वैज्ञानिकले सिद्ध गरेका छन् ।
बेसारमा रहेको तत्वको बारेमा थाहा पाएर नै बेसारको क्याप्सुल, पाउडर आदि बनाएर पश्चिमका देशमा यसको प्रयोग गरिन्छ । नेपालमा त यो तरकारी, दाल आदिमा हालेर खाइन्छ ।