ढिलो विवाह : सहज छैन दाम्पत्य जीवन



डा. सुमनराज ताम्राकार, स्त्रीरोग विशेषज्ञ ।

नेपालमा गरिएको पछिल्लो जनसंख्या तथा स्वास्थ्य सर्वेक्षणअनुसार नेपाली किशोरीहरुले साढे १७ वर्ष तथा किशोरहरुले करिब २१ वर्षमा विवाह गरेको देखिन्छ । यो विवाह गर्ने सालाखाला उमेर हो । ग्रामीण तथा दुर्गम एवं नेपालका कतिपय क्षेत्रमा बालविवाह अझैँ व्याप्त भए पनि काठमाडौं उपत्यका तथा शहरी क्षेत्रको परिदृश्य भने फरक छ । नारी होस् वा पुरुष, सितिमिति २५ वर्षभन्दा अगाडि विवाह गरेको देखिँदैन । त्यस्तै परे ३० नाघेपछि मात्र विवाहको सुरसार गर्नेको जमात बढ्दो छ । बढ्दो शहरीकण एवं आधुनिक विकासक्रमको अँध्यारो पाटो नै मान्नुपर्ला, उमेर ढल्केपछि मात्र विवाह गर्ने प्रचलन ।

जीवनकालमा पढाइ, उच्च शिक्षा, राम्रो जागिर अनि क्यारियर, प्रमोसन भन्दाभन्दै उमेरले नेटो काटेको चालै पाउँदैनन् । झट्ट हेर्दा के नै फरक पर्ला र जस्तो लाग्ला तर कालान्तरमा नेपालले पनि विकसित मुुलुकले भोगिरहेको नियति भोग्नुपर्ने दिन आउन सक्छ । उमेर गुज्रेसँगै शारीरिक एवं यौनिक सबलतामा शिथिलता आउन थाल्छ । अझ महिलाको उमेर ३५ नाघेपछि डिम्ब उत्पादन तथा निष्कासनमा ठूलो ह्रास आउन थाल्छ ।

निःसन्तानको समस्या समाधानको सवालमा पैसा हुँदैमा आफ्नो इच्छामुताबिकको नतिजा पाइन्छ भन्ने हुँदैन । त्यसमाथि नेपालमा निःसन्तान अर्थात् कृत्रिम गर्भाधानको उपचार निकै खर्चिलो छ । तर विकसित मुलुकमा सामाजिक सुरक्षाको व्यवस्था भने फरक छ ।

ढिलो विवाह गर्दा गर्भाधानको शुरुवातीतिर नै समस्या निम्तिन सक्छ । त्यसो भएर उमेर ढल्केपछि गर्भाधान हुने कार्यलाई उच्च जोखिमको गर्भमा राखिन्छ । स्त्री तथा प्रसूति रोग विशेषज्ञहरुको विश्वव्यापी संस्था (फिगो) का अनुसार कुनै पनि महिला ३५ वर्षपछि पहिलोपटक गर्भवती भएकी छिन् भने पनि त्यस्तो गर्भलाई जोखिमपूर्ण मानिन्छ ।

इजरायलकै उदाहरण लिने हो भने, जति पटक कृत्रिम गर्भाधान गर्न चाहे पनि राज्यको तर्फबाट निःशुल्क उपलब्ध छ । युरोपेली मुलुक अस्ट्रियामा तीनपटकसम्म बिमा कम्पनीले जतिसुकै खर्च पनि व्यहोरिदिन्छ । त्यसो भएर अहिलेको घडीमा नेपालमा युरोपेली तथा विकसित मुलुककै देखासिकी गर्न सम्भव छैन । र, विकसित मुलुकमा कृत्रिम गर्भाधानको सवालमा विविधता उपलब्ध छ । कृत्रिम गर्भाधानको क्रममा आवश्यकताभन्दा बढी उत्पादित डिम्ब, निषेचित डिम्ब, भ्रूण तथा विर्य तरल नाइट्रोजनको सहयोगमा चिसो अवस्थामा भण्डारण गरेर राख्न सकिन्छ र पछि पुनः प्रयोगमा ल्याउन सकिन्छ । नेपालमा कम्तीमा १०–१५ वर्षसम्म यस्तो सुविधाको कल्पना पनि गर्न सकिन्न ।

ढिलो विवाह गर्दा गर्भाधानको शुरुवातीतिर नै समस्या निम्तिन सक्छ । त्यसो भएर उमेर ढल्केपछि गर्भाधान हुने कार्यलाई उच्च जोखिमको गर्भमा राखिन्छ । स्त्री तथा प्रसूति रोग विशेषज्ञहरुको विश्वव्यापी संस्था (फिगो) का अनुसार कुनै पनि महिला ३५ वर्षपछि पहिलोपटक गर्भवती भएकी छिन् भने पनि त्यस्तो गर्भलाई जोखिमपूर्ण मानिन्छ । यस्तो परिस्थितिमा गर्भ राम्रो नै हुन्छ भन्ने निश्चित छैन । तर कसै–कसैमा ढिलो गरी विवाह गरेको भए पनि, उर्वरा शक्ति बढी भए पनि, विवाह गरेको धेरै समय भइसके पनि गर्भ आउनचाहिँ ढिलो भएको हुन सक्छ । कारण जे भए पनि उमेर ढल्केपछि गर्भधारण गर्नुचाहिँ स्वास्थ्यको दृष्टिले राम्रो मानिदैन । पछिल्लो समय शहरी क्षेत्रमा ढिलो विवाह गर्ने चलनले यस्तो समस्या बढ्दो छ ।

जटिलता : गर्भधारणको सवालमा पुरुषको उमेरको प्रत्यक्ष प्रभाव नभए पनि महिलाको उमेर भने निकै प्रभावकारी हुन्छ । माथि उल्लेख गरेझैँ गर्भधारण गर्नमै समस्या आउँछ । गर्भधारण गरिहाले पनि गर्भावस्थाको शुरुवातीमा गर्भ तुहिने सम्भावना निकै बढी हुन्छ । उमेर बढेसँगै महिलामा मोटोपना, उच्च कोलेस्टेरोल, उच्च रक्तचाप, मधुमेह, मुटु अनि थाइरोइडको समस्या देखा पर्ने हुनाले यी सबै खाले मेडिकल समस्याले गर्भावस्थालाई नकारात्मक असर पुर्‍याउँछ । त्यसै गरी ढल्कँदो उमेरमा पाठेघरमा मासु पलाउने, डिम्बाशयमा ट्युमर पलाउने तथा महिनावारी गडबडी हुने समस्या पनि हुन सक्ने हुनाले गर्भाधान कार्यमा प्रतिकूल प्रभाव पर्दछ ।

उमेर ढल्केकी महिलाले पहिलोचोटि गर्भधारण गर्दा व्यथा नलाग्दै साल छुट्टिने, समयमै व्यथा नलागी महिना नाघ्ने, गर्भको शिशुको वृद्धि कम हुने सम्भावना बढी हुन्छ । महिना नपुग्दै व्यथा लाग्ने, प्रसवको क्रममा सुत्केरी व्यथा लामो हुने, आमा तथा गर्भे शिशुलाई सकस हुने, शल्यक्रियाजन्य उपचार बढ्ता चाहिने, सुत्केरीपछि साल अड्किने सम्भावना बढी हुन्छ । सुत्केरीपश्चात् शल्यक्रियाजन्य उपचारका जटिलता थपिने, आमाको दूध उत्पादनमा समस्या आई स्तनपान सफल नहुने, सुत्केरीपश्चात्को समयमा उच्च ज्वरो आउने तथा संक्रमण हुने सम्भावना पनि उत्तिकै हुन्छ ।

यसको अलावा उमेर ढल्केकी गर्भवती महिलामा रोगव्याधी लाग्ने तथा मातृ मृत्यु हुने सम्भावना तुलनात्मकरुपमा बढी हुन्छ । महिना नपुगी प्रसव हुने कारणले कम तौलको बच्चा जन्मिने, वंशाणु अंशमा गडबडी आई जन्मजातरुपमा शारीरिक विकलाङ्ग देखा पर्ने बढ्ता सम्भावना हुन्छ । यसका साथै उमेर ढल्केकीमा गरिने शल्यक्रियाजन्य उपचारका कारण नवजात शिशुको मृत्यु हुने सम्भावना बढी हुन्छ ।
गर्भावस्थाको प्रसूतिपूर्व, सुत्केरी व्यथा तथा प्रसूतिपश्चात्को अवधिमा आउन सक्ने यी सबै जटिलता जुनसुकै उमेरकी महिलामा हुन सक्ने भए पनि उमेर ढल्केकी महिलामा सम्भावना निकै बढी छ । गर्भवती बेलामा हुन सक्ने जटिलता सम्भावना उमेर ढल्केकी महिलामा बढी मात्र हुने नभई यसको व्यवस्थापन पनि चुनौतीपूर्ण हुन्छ ।

व्यवस्थापन : गर्भावस्था तथा प्रसवका क्रममा महिला तथा शिशुमा देखा पर्न सक्ने जटिलताका कारण उमेर ढल्केकी महिलाको उच्च जोखिमपूर्ण गर्भवती अवस्थालाई व्यवस्थापनको क्रममा अनुभवी विशेषज्ञ डाक्टरहरुको सामूहिक निगरानी आवश्यक हुन्छ । अझ गर्भपूर्व नै चिकित्सकको परामर्श लिनु बुद्धिमानी हुन्छ । गर्भावस्थाका बेला निम्तिने विभिन्न समस्याका कारण बढी पटक गर्भवती जाँच र थप ल्याब परीक्षण आवश्यक हुन्छ । उमेर ढल्केकी गर्भवती महिलाको सुत्केरी अस्पतालमै गराउनुपर्दछ । सुत्केरीपश्चात्को समयमा पनि विभिन्न मेडिकल समस्याको उचित व्यवस्थापनमा ध्यान पुर्‍याउनुपर्दछ ।

दाम्पत्य जीवनका समस्याः उमेर र अनुभवसँगै खारिन थालेपछि आ–आफ्नो हठी स्वभावमा कडापन आउँदा दाम्पत्य जीवन नै धरापमा पर्न सक्छ । गर्भधारणको क्रममा हुन सक्ने थप आर्थिक व्ययभार, पटक–पटक गर्भ खेर जाने समस्या, बढ्दो उमेरसँगैको मेडिकल समस्याको व्यवस्थापनको झमेला, गर्भावस्थाको बेलामा तारन्तार अस्पताल धाउनुपर्ने जोखिम, ख्याउटे एवं रोगी बच्चा जन्मिने जोखिमले गर्दा दम्पतीमा टेन्सनको वातावरण बन्दछ । यसरी पटक–पटकको सन्तान प्राप्तिको इच्छामा आशातीत सफलता नमिल्दा आपसी सम्बन्धमा खटपट सिर्जना हुन सक्छ । त्यसो भएर जोसुकैलाई (विशेषतः शिक्षित जमातले कल्पना गर्ने गरेजस्तै) पैसा, गाडी, बंगला अनि क्यारियरको खाँचो भएजस्तै उमेर छँदै विवाह गर्न पनि त्यत्तिकै आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्