जिम : आवश्यकता कि फेसन ?



लक्ष्मण अधिकारी ।

आ-आफ्नो स्वास्थ्यका लागि सधैँ सजग रहने कालिमाटीका जीवन कुमार पहिला मर्निङवाक गर्दै कहिले कीर्तिपुर, कहिले स्वयम्भु पुग्थे भने कहिले टुँडिखेलमा चक्कर लगाउँथे । प्रदूषणका कारण लगातार रुघाखोकी र श्वासप्रश्वासको बिरामी हुन थालेपछि उनी चार वर्षदेखि इन्डोर एक्सरसाइजतिर मोडिएका छन् । त्यसमा पनि उनको पहिलो रोजाइमा परेको छ, जिम । जिम जान नभ्याएको बेला उनी घरमै योग अभ्यास गर्छन् ।

जीवन कुमार मात्र होइन, शहरको धुवाँ, धूलो र सवारी दुर्घटनाका डरले अहिले राजधानीका धेरै मानिस इन्डोर एक्सरसाइजतिर ढल्किएका छन् । यसैको परिणामस्वरुप अहिले विशेष गरी शहरी क्षेत्रमा जिम निकै लोकप्रिय बनिरहेको छ । काठमाडौंमा त प्रायः सबै ठूला मलहरुमा अहिले फिटनेस सेन्टर एवं जिमखाना सञ्चालन भइरहेका छन् र त्यहाँ मानिसको भीड लागेको देखिन्छ ।

जिम गर्नेले प्रोटिन सप्लिमेन्ट खानुपर्छ भन्ने गलत बुझाइ रहेको पाइन्छ । सप्लिमेन्ट भनेको नै सहायक हो, यो मुख्य होइन । जिम गर्दा थप प्रोटिनको आवश्यकता त पर्छ तर यसको आपूर्ति अण्डा, दूध, मासु, गेडागुडीजस्ता प्राकृतिक स्रोतबाट नै लिनुपर्छ ।

परम्परागतरुपमा जिम भनेको शरीरका मसल बढाउने र बल वृद्धि गर्ने क्रियाकलाप मानिन्थ्यो तर अहिले जिम त्यतिमा सीमित रहेन । जिम अहिले समग्र शारीरिक, मानसिक स्वास्थ्य राम्रो बनाउने साधनका रुपमा परिचित बनेको छ । शरीरको तौल घटाउने, मुटुसम्बन्धी रोगहरु, उच्च रक्तचाप, मधुमेह (टाइप २), उच्च कोलेस्ट्रोल, डिप्रेसन, तनावसम्बन्धी रोगहरुबाट मुक्त हुनका लागि पनि जिम उपयोगी साबित भएको छ । नियमित जिम गर्नाले मसलको मजबुती बढाउन, मसलको सन्तुलन र लचकतामा वृद्धि गर्न, अस्टियोपरोसिसबाट बचाउनसमेत सहयोग गर्छ । साथै यसले तनावबाट मुक्ति दिलाउन, मूड सन्तुलित गर्न र निद्राको गुणस्तर सुधार गर्न पनि सहयोग गर्छ । जिममा धेरै किसिमका मानिस आउने भएकोले भेटघाट र सामाजिकीकरणका लागि पनि राम्रो मानिएको छ । जिमखानाहरु परम्परागत

वेट लिफ्टिङमा मात्र सीमित नभएर जुम्बा, सउना, जाकुजी, पौडीलगायत विविध किसिमका क्रियाकलाप गर्ने समग्र फिटनेस सेन्टरका रुपमा विकास भएकाले पनि अहिले लोकप्रिय बनिरहेका छन् ।

जिम भनेको के हो त ?

आममानिसको बुझाइमा जिम जाने भनेको मसल फुलाउन, बडी बिल्डिङ गर्नको लागि नै हो । तर सिटिसी मल फिटनेस पार्कका प्रशिक्षक सरोजकुमार लामा भन्छन्, ‘जिम जाने भन्नेबित्तिकै स्वस्थता, तन्दुरुस्ती तथा फिटनेसका लागि भन्ने हुन्छ । बडी बिल्डिङ भनेको चाहिँ शरीरका मांसपेशी फुलाएर देखाउने खेलकुदको एउटा विधा मात्र हो । यसले पनि स्वस्थ राख्न नै मद्दत गर्छ । तर फिटनेस भनेको चाहिँ स्वस्थ जीवन जिउने समग्र तरिकाहरु हुन् । फिटनेसका लागि जिमखाना नै जानुपर्छ भन्ने छैन तर त्यसभित्र विभिन्न उपकरण र सुविधासहित प्रशिक्षकको व्यवस्था गरिएको हुन्छ र वैज्ञानिक तरिकाले सिकाइन्छ । त्यसै कारणले नै आज जिमखानाप्रति मानिसको आकर्षण बढिरहेको हो ।

 

फिटनेस पार्ककै कुरा गर्ने हो भने यहाँ जिम, किक बक्सिङ, जुम्बा, कार्डियो (स्वाँ–स्वाँ हुने गरी मुटुको धड्कन बढाउने), एरोबिक्स, योगलगायत सउना, ज्याकुजी, जुम्बा, स्टीम आदि सुविधाहरु उपलब्ध छन् र त्यसमध्ये के–के गर्ने हो, छानेर गर्न पाइन्छ । तर जिम क्लबहरुमा छिरेर जति उफ्रिए पनि, जति एक्सरसाइज गरे पनि खाना राम्रो छैन, रेस्ट राम्रो छैन र निद्रा राम्रो छैन भने त्यसले फाइदा गराउँदैन ।’

पहिला जिम भनेको छोरा मानिसले मात्र गर्ने भन्ने थियो । जिम गर्‍यो भने उचाइ बढ्दैन, पछि हड्डी दुख्छ भन्ने भ्रम थियो । अहिले यो भ्रम हट्दै गएको छ र जिममा पुरुषहरुको संख्या अलि बढी भए पनि महिलाको उपस्थिति बढ्दै गएको छ ।

दैनिक कति समय गर्ने ?

प्रशिक्षक सरोज लामा जिमलाई एक्सरसाइजका लागि धेरै राम्रो विकल्पको रुपमा लिन्छन् । उनका अनुसार सामान्य स्वस्थताका लागि साधारण मानिसलाई हप्तामा पाँच दिन जिम गर्नुपर्छ र नसक्दा तीनदेखि चार दिन दैनिक ४५ मिनेटदेखि बढीमा ७५ मिनेटसम्म गर्न आवश्यक छ । जिम गर्नुको उद्देश्य उमेरअनुसार फरक हुन्छ । बडी बनाउन चाहने, मसल बढाएर देखाउन चाहनेले अलि बढी गर्नुपर्छ भने युवा र भर्खरै शुरु गरेकाहरुका लागि पनि समयावधि फरक हुन्छ । हरेक मानिसको फरक क्षमता हुने भएकोले सबैलाई एकैनास गर्न मिल्दैन । यो कुरा खाना र रेस्टमा पनि लागू हुन्छ ।

कुन उमेरमा कति गर्ने ?

अहिले खासगरी इन्टरनेट र टेलिभिजनहरुको व्यापकताले गर्दा सबै उमेरका मानिसको रुचि जिमतर्फ देखिन्छ । काठमाडौंका जिमहरुमा कलिला केटाकेटीहरु पनि जिम गर्न गएको देखिन्छ । तर के सबै उमेरका लागि जिम उपयुक्त हो त ? प्रशिक्षक लामा भन्छन्, ‘यो सबै उमेरका मानिसका लागि उपयोगी भए पनि १८ वर्षपछि मानिसको सम्पूर्ण शरीरका अंगहरु, टिस्युहरु विकास भएर शरीर परिपक्व हुने भएकाले शुरुवातचाहिँ १८ वर्षको उमेरपछि गर्दा हानि गर्दैन । त्यो उमेरभन्दा अघि गर्दा कतिपयलाई हानि गरेको पाइएको छ । तर त्यो तत्काल थाहा हुँदैन । विकसित देशमा १८ वर्षअघि जिममा छिर्नै दिँदैनन् ।

बुढेसकालमा चाहिँ हेभी खालको नगर्ने मात्र हो तर क्षमताअनुसार बिस्तारै गर्नुपर्छ । नियमित गर्नेलाई पछि गाइड पनि चाहिँदैन । तर बुढेसकालमा जिम शुरु गर्ने हो भने गाइडको जरुरत पर्छ ।

यसका साथै जिम शुरु गर्नुअघि कुनै एक्सरसाइज गरे वा नगरेको वारे, रक्तचापको स्थिति, जोर्नीहरु दुख्ने, ढाड दुख्ने, हृदयघात भइसकेको भए सो बारे प्रशिक्षकलाई जानकारी दिनुपर्छ । यस्तो थाहा भएन भने सामूहिकरुपमा गराइन्छ र शरीरले नधानेर ढल्ने स्थिति आउँछ । जिम गर्दा आफूलाई कतिसम्म गर्दा शरीरलाई सहज महसुस हुन्छ, त्यति मात्र गर्नुपर्छ ।’

प्रोटिन सप्लिमेन्ट र कमिसनको चक्कर

जिम अलि कडा खालको एक्सरसाइज भएकोले यसको लागि उपयुक्त खाना खान जरुरी हुन्छ । त्यसमा पनि जिम प्रशिक्षकहरुले प्रोटिनयुक्त खाना बढी खान सल्लाह दिने गर्छन् भने कतिपयले बजार वा जिमखानामा नै उपलब्ध प्रोटिन सप्लिमेन्ट खान सिफारिस गरेका हुन्छन् । यो खान थालेपछि नियमित खानुपर्ने सल्लाह दिएको पाइन्छ । तर के यस्तो प्रोटिन सप्लिमेन्ट खान जरुरी छ त ? प्रशिक्षक लामा भन्छन्, ‘जिम गर्नेले प्रोटिन सप्लिमेन्ट खानुपर्छ भन्ने गलत बुझाइ रहेको पाइन्छ । सप्लिमेन्ट भनेको नै सहायक हो, यो मुख्य होइन । जिम गर्दा थप प्रोटिनको आवश्यकता त पर्छ तर यसको आपूर्ति अण्डा, दूध, मासु, गेडागुडीजस्ता प्राकृतिक स्रोतबाट नै लिनुपर्छ । कार्बोहाइड्रेड पनि प्राकृतिक स्रोतबाट नै लिनुपर्छ । तर मानिसहरु प्रोफेसनलहरुले बजारमा किनिएका प्रोटिन सप्लिमेन्टहरु खाएको युट्युबमा देख्छन् ।

त्यो उसले खाएको भन्दा पनि विज्ञापन गरेको हो । उसले प्रशस्त मात्रामा प्राकृतिक स्रोतबाट लिएको प्रोटिनचाहिँ भिडियोमा देखाइएको हुँदैन । प्राकृतिक स्रोतबाट लिँदा पुगेन भने थप सहयोगका लागि मात्र सप्लिमेन्ट लिने हो । नत्र यो खानुपर्छ भन्ने जरुरी छैन । बडी बिल्डिङलगायत हेभी खालको एक्सरसाइज (हाइ इन्टेस्ड) गरिरहेका तथा एड्भान्स लेबलमा पुगेकाहरुलाई आवश्यक पर्न सक्छ, सबैलाई होइन । यसमा पनि भर्खर शुरु गरेकाहरुले त लिनै पर्दैन । तर जिमका कतिपय ट्रेनरहरुले कमिसनको लोभमा शुरुदेखि नै प्रोटिन सप्लिमेन्ट लिनुपर्छ भनेर कर लगाउँछन् । यो ठीक होइन । यो सप्लिमेन्ट खान थालेपछि छोड्न नमिल्ने पनि होइन । तर कतिपय प्रशिक्षकले नियमित खानुपर्छ भन्ने गरेको पनि पाइएको छ ।’

जिम प्रशिक्षक लामा फिटनेस तथा स्वस्थ रहनका लागि सकेसम्म प्राकृतिक खानामा जोड दिनुपर्ने, जंकफुडहरु खान छोड्नुपर्ने बताउँछन् । उनका अनुसार जिमखानामा आउनेहरुलाई जंक फुडलगायत, मैदाबाट बनेका चाउचाउ, चाउमिन, बिस्कुट, मम खान पनि छोड्न लगाउने गरिएको छ । मैदामा कार्डोहाइड्रेड धेरै हुने र यसले बोसो बढाउने भएकाले सकेसम्म फाइबरयुक्त आँटा खानु उपयुक्त हुन्छ । साथै चिनी, चकलेट, आइसक्रिम, जेरीलगायतका मिठाईहरुमा कार्बोहाइड्रेड धेरै हुने र यसले छिटै बोसो बढाउने भएकाले यस्तो खानेकुरा खान नहुने, शरीरका लागि आवश्यक गुलियो आपूर्ति पनि फलफूलबाट नै गर्नुपर्ने, जुस पनि फ्रेस जुसभन्दा पूरा फल नै खानुपर्ने र पाकेटमा आउने जुस नखानु नै उपयुक्त हुने उनको सुझाव छ । उनी भन्छन्, ‘मासु खाँदा पनि नेपालीमा मासु धेरै खाने चलन छ तर मासुका साथ अरु तरकारी, फलफूल पनि उत्तिकै मात्रामा खाए मात्र खाना सन्तुलित हुन्छ ।’

 

स्वस्थता, मनोरञ्जन र भेटघाट

पहिला जिम भनेको छोरा मानिसले मात्र गर्ने भन्ने थियो । जिम गर्‍यो भने उचाइ बढ्दैन, पछि हड्डी दुख्छ भन्ने भ्रम थियो । अहिले यो भ्रम हट्दै गएको छ र जिममा पुरुषहरुको संख्या अलि बढी भए पनि महिलाको उपस्थिति बढ्दै गएको छ । जिम भनेको स्वास्थ्यका लागि आवश्यक र लाभदायक हो भन्ने बुझ्न थालिएकोले अहिले सबै उमेरका मानिस जिम धाउन थालेको देखिन्छ । फिटनेस पार्कमा युवा पुस्ताहरु बढी संख्यामा आउने गरेको भए पनि बच्चाका आमाहरु, ६० वर्षभन्दा बढी उमेरका मानिसले पनि जिम गरिरहेको प्रशिक्षक लामा बताउँछन् । पेसागत हिसाबले भन्नुपर्दा राजनीतिज्ञ, कलाकार, डाक्टर, व्यापारी, कर्मचारी, सबै पेसाका मानिस आउने गरेको उनको भनाइ छ । यो फिटनेस पार्क आधुनिक उपकरणले सुसज्जित पहिलो र अन्तर्राष्ट्रिय स्तरको भएका कारणले पनि उच्च वर्गका मानिस बढी आउने गरेको लामाको भनाइ छ ।

जिमप्रति मानिसको रुचि बढ्दै गए पनि सबै मानिस जिममा आएर पूरा समय जिम नै गर्छन् भन्ने छैन । जिम जानु, जिममा छु भनेर अरुलाई फोन गरेर सुनाउनु फेसनजस्तै भएको छ । कतिपय मानिस जिम गर्ने भनेर आउँछन्, आपसमा गफ गर्छन्, फोन गर्छन्, मोबाइल चलाउँछन्, कफी खान्छन् र जान्छन् । दुई–चारजना यस्ता मानिस जुनसुकै जिममा पनि हुने गरेको लामाको अनुभव छ । उनका अनुसार यस्ता मानिसलाई जिममा छु, जिममा गएँ भनेर देखाउने मात्र चाहना हुन्छ । कोहीचाहिँ जिममा भेटघाट गर्ने, कुराकानी गरेर व्यापारिक सम्बन्ध बढाउने उद्देश्यले पनि आएका हुन्छन् ।

वास्तवमा जिम भनेको शारीरिक तथा मानसिकरुपमा फिट रहनका लागि एक्सरसाइज गर्ने ठाउँ नै हो । खासगरी शहरी क्षेत्रमा आउटडोर एक्सरसाइजमा विभिन्न चुनौती थपिँदै गएको वर्तमान अवस्थामा जिम एउटा राम्रो विकल्पका रुपमा देखिएको छ । सबै मानिस बडी ठूलो बनाऊँ भन्ने उद्देश्यले मात्र जिम गइरहेका हुँदैनन् । कसैले साधारण एक्सरसाइज गरेर स्वस्थ हुने उद्देश्य राखेका हुन्छन् भने कसैले डायबिटिज, उच्च रक्तचाप, कोलेस्ट्रोल, युरिक एसिडजस्ता रोग नियन्त्रण गर्ने उद्देश्य राखेका हुन्छन् । त्यस्तै गरी कसैले खाना पचाउने, कसैले तौल घटाउने त कसैले हेभी खालका एक्सरसाइज गरेर खेल क्षेत्रमा अब्बल हुने उद्देश्य राखेका हुन्छन् । कोही दिनभरिको तनाव कम गर्ने उद्देश्यले सउना, जाकुजी, स्टीम बाथ आदि गरेर फ्रेस हुने उद्देश्यले जिम क्लब गएका हुन्छन् भने कोही जुम्बा नृत्यमा सहभागी भएर मनोरञ्जन र व्यायाम सँगै गर्ने उद्देश्यले पनि गएका हुन्छन् । कसै–कसैको मुख्य उद्देश्य भनेको भेटघाट नै हुन्छ ।

जे भए पनि अहिले जिम क्लबहरु स्वास्थ्य लाभ प्राप्त गर्ने, बडी बिल्डिङ एवं खेलक्षमता विकास गर्ने, मनोरञ्जन प्राप्त गर्ने र पब्लिक रिलेसन विकास गर्ने थलोको रुपमा दु्रत गतिमा विस्तार भइरहेको देखिन्छ ।

उपयोगी जानकारी

‘मानिसको एज भनेको नम्बरिङ मात्र हो । इम्युनिटी पावर र विल पावर भयो भने मानिस सधैँ उस्तै हुन्छ । तर उमेर ढल्कँदै गएपछि जिम गर्दा धेरै हेभी वेट उचाल्ने, हेभी एक्सरसाइज गर्ने गर्नुहुँदैन । शरीरले नै त्यो सहन सक्तैन ।

कसै–कसैले मसल फुलाउने, रगतको फ्लो बढाउने स्टेरोइड इन्जेक्सन लगाएर पनि मसल प्रदर्शन गर्ने गर्छन् । विदेशमा चिकित्सकको सल्लाह सुपरीवेक्षणमा यस्तो इन्जेक्सन लगाउने अभ्यास भए पनि नेपालमा आफूखुशी लगाउने गरेको पाइएको छ । यस्तो इन्जेक्सनले स्वास्थ्यमा प्रत्यक्ष हानि पुग्ने भएकाले चिकित्सकको सल्लाहविना यो इन्जेक्सन नलगाउन मेरो सुझाव छ ।

अर्को महत्वपूर्ण कुरा के छ भने, जिम वा फिटनेसका लागि लामो समय गरिएको कुनै पनि एक्सरसाइज मानिसको जीवनशैली बनिसकेको हुन्छ । शरीर नै त्यसको लतमा परेको हुन्छ । त्यसैले उमेर ढल्कियो भनेर पछि एक्सरसाइज छोड्दा शरीर दुख्ने हुनसक्छ । त्यसैले उमेरअनुसार एक्सरसाइज घटाउँदै शरीरले सहन सक्ने जति मात्र गर्नु ठीक हुन्छ । चटक्कै छोड्नुहुँदैन । सामान्य भए पनि एक्सरसाइज जीवनभर गरिरहँदा फाइदा पुग्छ । जीउ दुख्ने हुँदैन र यसले योङ देखिन सहयोग गर्छ ।

जिम गर्दा तीनवटा कुरालाई विशेषरुपमा ध्यान दिनुपर्छ । जिम प्रशिक्षकको निर्देशनमा हुनुपर्छ । खाना कति क्यालोरी आवश्यकता पर्ने हो, त्यसका आधारमा खानुपर्छ । साथै निद्रा पर्याप्त हुनुपर्छ । यी तीनवटा कुराको कम्बिनेसन भएन भने जिम गरेको अर्थ हुँदैन ।’

(जिम प्रशिक्षक सरोजकुमार लामाले ४७ सालमा मार्सल आर्टसबाट खेल क्षेत्रमा प्रवेश गरी २०५४ सालमा ब्लाकबेल्ट लिएका हुन् । उनले २०५० देखि जिम अभ्यास शुरु गरी आईएफ विविबाट जिमसम्बन्धी छोटो अवधिको प्रशिक्षक तालिम र इन्टरन्यासनल पर्सनल ट्रेनिङ फिटनेस एकेडमी (हङकङ) बाट ब्रन्च लेवल (तेस्रो तह) को एकबर्से अन्तर्राष्ट्रिय अनलाइन प्रशिक्षण पनि लिएका छन् । उनी करिब पाँच वर्षदेखि व्यावसायिक प्रशिक्षकका रुपमा कार्यरत छन् ।)

प्रतिक्रिया दिनुहोस्