योगमय जीवनशैली



डा. क्षितिज बराकोटी, पाकृतिक चिकित्सक । 

हिजोआज योग विज्ञानको चर्चा विश्वव्यापीरुपमा सकारात्मक दिशामा अगाडि बढिरहेको छ । अनेकौं शारीरिक तथा मानसिक रोगहरुको बाढी आइरहेको र औषधिहरुले पनि राम्ररी काम गर्न नसकिरहेको परिप्रेक्ष्यमा प्राचीनतम् बहुआयामिक स्वास्थ्यका पक्षलाई संरक्षण गर्ने उपायका रुपमा योगलाई रुचाइएको हो । तर योगको लोकप्रियता बढेसँगै यसमा विकृतिहरु पनि बढ्दै जाने हो कि भन्नेतर्फ ध्यान जानुपर्ने देखिएको छ ।

के हो योग ?

शरीरलाई स्वास्थ्यसँग, मनलाई चेतनासँग, व्यवहारलाई सात्विक कर्मसँग र आत्मालाई परमात्मासँग जोड्ने अभ्यास नै योग हो । योगलाई पतञ्जलिले चित्तका वृत्तिहरुको निरोधकका रुपमा लिएका छन् भने महायोगी कृष्णले समताको स्थिति प्राप्त गर्ने र कर्ममा कुशलता सृजना गर्ने उपायको रुपमा परिभाषित गरेका छन् । समग्रमा योग एक महाविज्ञान हो, जसले शारीरिक शोधन, लचकता, लयबद्धता तथा स्वास्थ्यलाई उच्च प्राथमिकता दिँदै मानसिक स्वास्थ्य, चेतना र शान्ति वृद्धि गर्दछ एवं सामाजिक एकता र सुसम्बन्धलाई स्थापित गर्दै विचारहरुको व्यवस्थापनका साथ चेतनाको विकास गरी व्यक्तिलाई अन्तज्र्ञानको मार्गमा अगाडि बढाउँछ ।

योग सिकुन्जेल जुनसुकै समय भए पनि पछि नियमित गर्दा बिहान ४ देखि ७ बजेको समयमा योगाभ्यास गरिसक्नुपर्छ । यदि सो समय अनुकूल नभएमा अरु समयमा पनि गर्न नहुनेचाहिँ होइन ।

कस्तो हुन्छ योग ?

योगका शारीरिक, मानसिक, सामाजिक तथा आध्यात्मिक पक्षहरु छन् । यी कुरालाई विश्व स्वास्थ्य संगठनले स्वास्थ्यका आयामहरुको रुपमा लिएको छ । साथै यी विषयहरु एक–आपसमा जोडिएर समेत रहेका हुन्छन् । योगले यी सबैमा सकारात्मक प्रभाव उत्पन्न हुने गरी कार्य गर्दछ । योग विभिन्न खालका छन्, जसलाई निम्नानुसार वर्गीकरण गर्न सकिन्छ :

शरीरयोग : शरीरलाई सञ्चालन गर्ने खालका योगहरु शारीरिक योग हुन् । अंग–अंगलाई चलायमान गर्ने खालका यौगिक सूक्ष्म व्यायाम वा अंगशक्ति विकासक क्रिया, स्थुल व्यायाम वा यौगिक ऊर्जाशील व्यायाम, आसन, प्राणायाम तथा प्रत्याहारजस्ता प्रत्यक्षरुपमा शारीरिक क्रियाहरु प्रधान भएका योगविधिहरु शरीर वा शारीरिक योगका उदाहरण हुन् । शरीरको आन्तरिक तथा बाह्य शोधनका विधिहरु जस्तै– नेति, धौति, वस्ति, नौलि, त्राटक, र कपालभाँतिजस्ता षटकर्म तथा अग्निसार, शंखप्रक्षालन क्रियाहरु पनि यसअन्तर्गत पर्दछन् ।

मनोयोग : मनलाई नियन्त्रण, विचारलाई शुद्धीकरण र भावहरुलाई शान्त राख्ने र चेतनालाई उच्च बनाउने खालका यौगिक अभ्यास मनोयोग हो । मनलाई नियन्त्रण गर्न शारीरिक अभ्यासको पनि अत्यन्तै ठूलो भूमिका रहन्छ । मनको प्रभाव मस्तिष्कमा र मस्तिष्कको नियन्त्रण शरीरको हरेक अंगहरुमा पर्छ भन्ने यौगिक अवधारणाअन्तर्गत नै उच्चतम् मानसिक अवस्था वा एकाग्रता तथा चेतनाका लागि शारीरिक शोधन र क्रियाहरुलाई महत्व दिइएको हो । त्यसैले जबसम्म शारीरिक अभ्यासलाई मनसँग जोडिँदैन र मानसिक अभ्यासका लागि शरीरलाई तयारी अवस्थामा राखिँदैन तबसम्म योग हुँदैन । हठयोग, राजयोग, कुण्डलिनीयोग, मन्त्रयोग, तन्त्रयोग आदि मनोयोगका उदाहरण हुन् । समग्रमा अष्टाङ्गयोग अर्थात् यम, नियम, आसन, प्राणायाम, धारणा, ध्यान तथा समाधि मनोयोगको लक्ष्यलाई परिपूर्ति गर्ने हिसाबले बनेको छ ।

समाज योग : समाजमा हुने विसंगतिहरु तथा समाजका रोगहरु भनेको असमानता, हिंसा, असत्य, चोरी, ठगी , व्यभिचारी आदि हुन् । योगले व्यक्तिमा सद्गुणहरुको विकास गरी सदाचार, समानता, नैतिकता, सद्व्यवहार तथा सत्कर्ममा लाग्न प्रेरित गर्छ । व्यक्तिमा यस्ता गुणको विकास गर्न सघाउने अनगिन्ती अभ्यास विधिहरु योगमा छन् ।

अध्यात्म योग : योगको अन्तिम लक्ष्य भनेको अन्तज्र्ञान र उच्चतम चेतनाको प्राप्ति हो । आध्यात्मिक जागरण गर्नु नै अन्तिम योग हो । आत्मसाक्षात्कार गरी परमचैतन्यसँगको एकाकार हुनु सामान्य होइन । विशिष्ट साधनाको माध्यमले यो सम्भव छ भन्ने कुरालाई योगले सिकाउँछ । शरीरयोग र मनोयोगको निरन्तर साधनाबाट अध्यात्म योगसम्म पुग्न सकिन्छ ।

 

ध्यान दिनुपर्ने कुराहरु

शुरुमा योग सिक्दा सकेसम्म दक्ष योगगुरुको प्रत्यक्ष निगरानीमा सिक्नुपर्छ । क्रियात्मक योग गर्दा कहिले विशेष परिस्थितिमा बाहेक दैनिक योगाभ्यास गर्नुपर्छ । योगाभ्यासीले सात्विक तथा अभ्याससँग तालमेल गर्ने खालका भोजन गर्नुपर्छ । सामान्यतया ठोस खाना खाएको ३/४ घण्टापछि र झोलिलो, फलफूल वा तरकारीको रस खाएको १ घण्टापछि मात्र योगाासनको अभ्यास गर्न सकिन्छ । योग गरेको १५–२० मिनेटपछि खाना खान सकिन्छ ।

बच्चा तथा वृद्ध, गर्भवती, अप्रेसन गरेको र निको भएको ३ महिना नकटेका व्यक्ति, हाड भाँचिएको इतिहास भएका व्यक्ति, रोगको जटिल तथा तीव्रावस्था, अत्यधिक कमजोरी, पखाला, रक्तअल्पता तथा अशक्त अवस्था, अत्यधिक बढी मोटोपन, बनावटका समस्या आदिमा विश्रामात्मक तथा ध्यानात्मक योगभन्दा अरु विधिहरु अपनाउनुपरेमा योगविज्ञ एवं योग तथा प्राकृतिक चिकित्सकको सल्लाह अनिवार्य लिनुपर्छ ।

योगले गडबड मनोदशालाई नियन्त्रण गर्छ । तथापि मन बढी तनावग्रस्त, छटपटी, कतै हिँड्नुको हतारो आदि छ भने त्यस्तो अवस्थामा कठिन प्रकृतिका योगाभ्यासहरु गर्नुहुँदैन । मनलाई सामान्य बनाउने खालका सजिला योगविधिहरु अभ्यासहरू गर्नुपर्छ । योगाभ्यासको लागि शान्त, शुद्ध हावा छिर्ने, समतल स्थलको चयन गर्नुपर्छ । योग सिकुन्जेल जुनसुकै समय भए पनि पछि नियमित गर्दा बिहान ४ देखि ७ बजेको समयमा योगाभ्यास गरिसक्नुपर्छ । यदि सो समय अनुकूल नभएमा अरु समयमा पनि गर्न नहुनेचाहिँ होइन । पानी पिएर शौचपश्चात् खालि पेटमा योग गर्नुपर्छ ।

शरीरको जुनसुकै अंग चलाउन मिल्ने गरी सजिलो, खुकुलो वा तन्किने आरामदायी लुगा लगाउनुपर्छ । बढी गरगहना, नाडीघडी, पेटी आदि फुकालेर सजिलो हुने गरी योगाभ्यास गर्नुपर्दछ । व्यायाम गर्दै नगरेको वा व्यायाम नियमित गरिराखेको अवस्थामा केही दिन वा हप्तासम्म बानी छुटेका व्यक्तिले योग गर्दा शुरुका एक–दुई हप्ता वा शरीर लचिलो नहुन्जेल जोर्नी चलाउने, सजिलो खालको आसनहरु गर्ने गर्नुपर्छ ।

यौगिक सूक्ष्म, स्थुल व्यायाम वा आसन गरिरहँदा वा गरिसकेपछि त्यसबाट प्राप्त हुने लाभ र सकारात्मक परिवर्तनको अनुभव गर्नुस् । प्रायः प्रत्येक योगाभ्यासमा मन, शरीरको अभ्यास र श्वासको लयबद्धतालाई एकसाथ जोड्दै एकाग्रताको सृजना गर्नुपर्छ । श्वास फेरेको नमिलेमा त्यसले छाती, पेट, ढाड आदि दुखेको अनुभव हुन्छ, घोच्न पनि सक्छ । योगाभ्यासी जहिले पनि शान्त हुनुपर्छ । उसको अनुहारमा खुशीको भाव झल्किनुपर्छ । योगाभ्यासका क्रममा बढी थकाइ लाग्नुहुँदैन । त्यसैले विश्रामदायी आसनको लागि पनि समय दिनुपर्छ ।

योग गर्ने समय

आरामदायी वा विश्रामात्मक र ध्यानात्मक आसनहरु जतिखेर पनि गर्न सकिन्छ । तर कुनचाहिँ आसन, प्राणायाम, ध्यान वा शोधनक्रिया छान्ने भन्ने कुरा अभ्यास गर्ने व्यक्तिको शरीरको अवस्था, उमेर, रोगको प्रकार र गम्भीरता, शरीरको क्षमता र महिलाहरुमा गर्भावस्था, प्रसूति अवस्था आदिलाई ध्यान दिनुपर्छ । त्यसैले आवश्यकतानुसार विज्ञको सल्लाहमा गर्नुहोस् । विशेष परिस्थितिमा गर्न मिल्ने विशेष आसनहरू विशेषज्ञको सल्लाह लिएर मात्र गर्नुपर्छ । ज्वरो, पखाला, कमजोरी रिंगटा लाग्दा र कुनै पनि शारीरिक रोगको तीप्रावस्थालगायत कडा दुखाइ हुने समस्यामा पनि विज्ञको सल्लाहमा आराम गर्ने खालका मात्र अभ्यास गर्नुपर्छ । योग गर्दा जोखिम हुँदैन ।

योगका फाइदा

योगले शरीरका लगभग हरेक अङ्ग तथा प्रणालीलाई चाहिने मात्रामा शान्त वा सक्रिय पार्नुका साथै ऊर्जावान्, बलियो बनाउँछ । हाडजोर्नी, मांसपेशी, फोक्सो, मुटु, कलेजो, मृगौला, फियो, मस्तिष्क तथा स्नायु, रक्तनली, अन्तःस्रावी ग्रन्थि, यौन–प्रजननांग, छाला, पाचन–निष्कासनका भागहरु आदिलाई सक्रिय, बलियो र स्वस्थ बनाउन सघाउँछ । योगले मनलाई संयमित, एकाग्र र सुदृढ बनाउनुका साथै स्मरण क्षमता वृद्धि गर्छ । नियमित योगाभ्यास गर्नाले शरीरमा रोगप्रतिरोधक क्षमता बढ्ने, नसर्ने रोगहरूको जोखिम कम हुने वा मधुमेह, उच्च रक्तचाप, दम, मुटुरोग, हाडजोर्नी, नसासम्बन्धी, पिनास, एलर्जिक राइनाइटिस, गलग्रन्थि रोग लागिसकेको भए पनि नियन्त्रणमा सहयोग गर्ने काम योगले गर्दछ । योगले मनमा एकाग्रता, शान्ति, आनन्द, उमंग, उत्साह र उर्जा एवं चेतनाको जागरण गर्छ । मानसिक समस्याहरूको व्यवस्थापनमा योगले सकारात्मक भूमिका खेल्दछ ।

दैनिक कस्तो योग गर्नुपर्छ ?

योगबाट पूरा फाइदा लिन दैनिक निम्न प्रकारका योगाभ्यासहरुलाई सामेल गर्नुपर्छ :

यौगिक शोधन क्रियाहरु : जलनेति, जलधौति, नेत्रप्रक्षालन, मुखशोधन, त्राटक, नौलि, वस्ति र कपालभाँतिमध्ये केही विधिहरु कुनैलाई दैनिक वा आवश्यकताअनुसार ७–१५ दिनमा एकपटक गर्नुहोस् ।

सूक्ष्म व्यायामहरु : खुट्टादेखि टाउकोसम्मका जोर्नी चलाउने खालका सजिला अंगव्यायामहरु जस्तै– खुट्टा, कम्मर, हात, छाती, मेरुदण्ड, काँध, टाउको, अनुहार तथा आँखाका व्यायामहरु ।

आसनहरु : उत्तानो सुतेर (उत्तानपादासन, नाभीदर्शनासन, नौकासन, पवनमुक्तासन, शवासन, बालासन, सर्वांगासन, मत्स्यासन), घोप्टो सुतेर (सलभासन, भुजंगासन, धनुरासन, नाभ्यासन, मकरासन, बालसयनासन), बसेर (सुखासन, वज्रासन, शशंकासन, मण्डूकासन, पद्मासन वा अर्धपद्मासन, अर्धमत्स्येन्द्रासन), उठेर (ताडासन, तीर्यकताडासन, कटिचक्रासन, वृक्षासन, अर्धचन्द्रासन, हस्तपादासन,
त्रिकोणासन वा परिवृत त्रिकोणासन) नियमित गर्नुहोस् ।

यौगिक क्रियाहरु : मुद्रा (दुई–चारवटा हस्तमुद्रा तथा शरीरमुद्रा जस्तै– ज्ञान, चीन, हृदय, साम्भवी, नासिकाग्र, महाभेद), अग्निसारक्रिया, त्रिबन्ध (जालन्धर, उड्डियान र मूलबन्ध), अश्विनीक्रिया पनि दैनिक अभ्यास गर्नुहोस् ।

प्राणायाम : सूर्यभेदी, चन्द्रभेदी, भस्त्रिका, अनुलोमविलोम र भ्रामरी प्राणायाम नियमित गर्नुहोस् ।

ध्यान : दैनिक कमसेकम १५ मिनेट वा बढीमा इच्छानुसारको समय ध्यानलाई छुट्याउनुस् ।

(यस वर्षको योग दिवस विभिन्न कार्यक्रमको आयोजना गरी २०७६ माघ १ गते भव्यरुपमा मनाइयो ।) योग मोडेल : मिरी बराकोटी

प्रतिक्रिया दिनुहोस्