मुटु कहाँ छ ?



डा. प्रकाशराज रेग्मी, मुटुरोग विशेषज्ञ ।

मान्छेको मुटु शरीरको कुन ठाउँमा छ ? यो प्रश्न सोधेको सुन्दा कसै–कसैलाई अचम्म लाग्ला । कस्तो साधारण प्रश्न सोधेको जस्तो लाग्ला । छातीभित्र हरपल ढुकढुक गरिरहने मुटु ‘छातीको बायाँपट्टि त छ नि’ भन्ने उत्तर ७० प्रतिशतभन्दा बढी व्यक्तिको मुखमा आइहाल्छ ।

२० प्रतिशत व्यक्तिले मान्छेको मुटु पेटको माथिल्लो मध्यभागमा छ भनी उत्तर दिन्छन् । उनीहरुको तर्क रहन्छ कि मुटु दुख्दा पेटको माथिल्लो मध्यभागमा दुख्ने गर्छ । यसकारण मुटु त्यही ठाउँमा हुनुपर्छ । हार्ट अट्याक (हृदयघात) हुँदा मुटुको दुखाइ बायाँ हाततर्फ सर्छ, यसकारण मुटु पक्कै पनि बायाँ हातको नजिक काखीमुनि वा बायाँ कुमनजिक हुनुपर्छ भनी ५ प्रतिशत व्यक्तिले हातले देखाउने गर्छन् । बाँकी ५ प्रतिशत व्यक्तिहरु अलमलमा पर्छन् र भन्छन्– हामीले पढेको र सुनेको त छातीको बायाँपट्टि नै हो ∕ आखिर मान्छेको मुटु शरीरको कुन ठाउँमा छ त ?

यो प्रश्न मैले यत्तिकै उठाएको होइन । हिजोआज हृदयघात भएर मर्नेहरुको संख्या एकदमै धेरै छ । यसको एउटा मुख्य कारण हो मान्छेलाई आफ्नो मुटु शरीरको कुन ठाउँमा छ भनी जानकारी नहुनु । धेरैलाई लाग्छ, मुटु छातीको बायाँतर्फ छ । हामीले पुस्तकहरुमा, चित्रहरुमा, कविका कविताहरुमा मुटु छातीको बायाँतर्फ भएको वर्णन पाउँछौं । हामीलाई डर लाग्दा ठूलो–ठूलो आवाजमा मुटु धड्केको अनुभूति पनि छातीको बायाँतर्फ नै गर्छौं । प्रेमी–प्रेमिकाले एक–अर्काको मुटु सुन्दा छातीको बायाँपट्टि कान पर्ने गरी टाउकोलाई बायाँ छातीमा बिसाउने गर्छन् । यी सबैजनालाई मुटुले झुक्याएको छ । वास्तवमा मान्छेको मुटु छातीको बायाँपट्टि छैन ।

मुटु रहेको वास्तविक ठाउँको ज्ञान नहुँदा हृदयघात भएको बेला मान्छेले रोगको गम्भीरताको अनुमान लगाउन सक्दैन । छातीको बायाँतर्फ सुइरोले रोपेजस्तै दुख्यो र साथै बायाँ हात निदाएको लक्षण लिएर अस्पतालको इमर्जेन्सीमा वा डाक्टरको क्लिनिकमा हतार गर्दै पुग्नेहरु धेरै हुन्छन् । धेरैजसो अवस्थामा यी लक्षणहरु नसा, मांसपेशी र हड्डीको रोगसँग सम्बन्धित छन् । छातीको बायाँतर्फ पीडा भएको हुनाले कसैलाई लाग्छ– शायद हृदयघात भयो होला । त्यसैले ऊ आत्तिन्छ । तर छातीको बीच भागमा दुख्दा वा पोल्दा मान्छेलाई लाग्छ– ग्यास्टिक भयो । ऊ आत्तिदैन । तातो पानी पिउने, डाइजिन झोल खानेतर्फ लाग्छ । धेरै दुख्यो भने आराम गर्छ, पेनकिलर खान्छ, तर अस्पताल जानेतर्फ सोच्दैन । किनकि उसलाई लाग्छ– यो मामुली छातीको दुखाइ मात्र हो । ग्यास बढ्यो होला, साधारण समस्या होलाजस्तो उसलाई लाग्छ । अनि उपचारको अभावमा घरमै उसको मृत्यु हुन्छ । पछि थाहा हुन्छ, उसलाई त हृदयघात पो भएको रहेछ ।

हृदयघातबाट मृत्यु हुनेहरुमध्ये ५० प्रतिशत व्यक्तिको मृत्यु घरमा वा कार्यकक्षमा हुन्छ । कारण हृदयघात भयो भन्ने जानकारीको अभाव र उपचारमा ढिलाइ । मुटु कहाँ छ भन्ने थाहा नपाउँदा अज्ञानतावश यस्तो लापरबाही हुन पुग्छ ।

मुटु छातीको बायाँपट्टि होइन, यो त छातीको बीच भागमा छ । छातीको बीचमा रहेको एक बित्ताको हड्डीको पाताको ठीक मुनि मान्छेको मुटु बसेको हुन्छ । मुटुको तल्लो एक चौथाइ भाग छातीको बायाँ र तलतर्फ ढल्किएको हुन्छ । छोटकरीमा भन्दा मुटु छातीको बीच भागमा रहेको हुन्छ । मुटुको धड्कनको विशेषता यो छ कि धड्कन छातीको बायाँतर्फ सुनिन्छ । यसकारण मान्छेलाई लाग्छ कि मुटु छातीको बायाँतर्फ छ । तर यो भ्रम मात्र हो ।

छातीको बीच भागमा अत्यधिक पीडा हुनु, जलन हुनु हृदयघातको मुख्य लक्षण हो । यस्तो लक्षण देखिएमा घरमा होइन, तुरुन्त अस्पतालको इमर्जेन्सीमा पुग्नुपर्छ । किनकि यो हृदयघात हुन सक्छ । यस्तो अवस्थामा जति चाँडो उपचार ग¥यो बाँच्ने सम्भावना त्यति नै बढी हुन्छ । मान्छेको मुटु छातीको बीच भागमा छ भन्ने ज्ञान सबैलाई रहोस् ।

प्रतिक्रिया दिनुहोस्