हृदयघातबाट बच्न पैदल यात्रा



यदि हामीले दैनिकरुपमा साइकलमा वा पैदल नै यात्रा गर्‍यौँ भने भविष्यमा हृदयघातको खतराबाट धेरै हदसम्म बच्न सकिने कुरा हालैको अध्ययनबाट पुष्टि भएको छ । युनिभर्सिटी अफ लिड्सले करिब चार करोड ३० लाख मानिसमा गरेको बृहत् अनुसन्धानले यो कुराको पुष्टि गरेको हो । अनुसन्धानकर्ताहरु भन्छन्, ‘मुटुसम्बन्धी खतरा बढाउने मुख्य कारक तत्वहरुमा व्यक्तिको ज्यादा तौल, धूमपानको लत, डायबिटिज र एक्सरसाइजको कमी नै हो । यस्तो अवस्थामा यदि मानिसले आफ्नो दैनिक जीवनमा नियमितरुपमा साइकलमा यात्रा गर्ने वा पैदल नै हिँड्ने गरेमा उसलाई हृदयघातको खतरा उल्लेखनीयरुपमा कम भएर जान्छ ।

अध्ययनकर्ताहरुले यो अध्ययन सन् २०११ मा बेलायतको जनगणनाको तथ्यांकको आधारमा गरेका हुन् । यसमा २५ देखि ७४ वर्ष उमेर समूहका करिब ४ करोड ३० लाख मानिसलाई सहभागी गराइएको थियो । यी सबै मानिसको पेसा नोकरी थियो र उनीहरु कस्तो साधनमा कार्यालय जाने, आउने गर्छन् भन्ने कुरामा विशेष ख्याल गरिएको थियो । यो अध्ययन प्रतिवेदन युरोपियन जर्नल अफ प्रिभेन्टिभ कार्डियोलोजीमा प्रकाशित भएको छ । अध्ययनअनुसार पैदल वा साइकलमा यात्रा गर्नु मुटु–स्वास्थ्यका दृष्टिले महिला र पुरुष दुवैलाई बराबरजस्तै फाइदाकारक पाइएको छ । साइकल चलाएर यात्रा गर्दा वा पैदल नै यात्रा गर्दा रक्तचाप, डायबिटिज, मोटोपन, कोलेस्ट्रोल आदि धेरै हदसम्म नियन्त्रणमा आउँछ ।

सोधकर्ता समूहका प्रमुख लेखक युनिभर्सिटी अफ लिड्सको इन्स्टिच्युट अफ किर्डियोभास्कुलर एन्ड मेटापोलिक मेडिसिन विभागका कन्सल्टेन्ट कार्डियोेलोजिस्ट प्रा. क्रिस गेल भन्छन्, ‘दैनिक पैदल हिँड्ने वा साइकल चलाउनेलाई हृदयघातको खतरा हुँदै हुँदैन हामी भन्दैनौँ तर यसले हृदयघातको खतरालाई चाहिँ उल्लेख्यरुपमा घटाउँछ । काममा सक्रिय हुने बानीले मानिसलाई फाइदा पुग्छ ।’

अनुसन्धानकर्ताहरु भन्छन्, ‘पैदल हिँड्ने वा साइकल चलाउने बानीलाई मानिसको जीवनशैलीमा समावेश गराउने हो भने भविष्यमा कार्डियोभास्कुलर रोगका कारण हुने मानिसको मृत्यु धेरै हदसम्म कम गर्न सकिन्छ । पैदल हिँड्नु सबैभन्दा सजिलो र कुनै खर्च नहुने एक्सरसाइज हो ।’

प्रतिक्रिया दिनुहोस्