नेपाल भ्रमण वर्ष र पर्यटकको स्वास्थ्य



नारायण घिमिरे, खाद्य वैज्ञानिक । 

नेपाल सरकारको भिजिट नेपाल २०२० अभियानको शुरुवात भएको छ । विभिन्न सभा, सोसियल मिडिया र मास मिडियामा ठूला कुरा गर्ने र आत्मरतिमा रमाउने पुराना गतिविधिले हामीमा क्रमभंगता पाउन सकेको छैन । राज्यले गर्ने काम के हो र निजी क्षेत्रले गर्ने काम के हो भन्नेमा राज्यले नीतिगत तहमा महसुस गरेको देखिएन । हामी ‘प्रभावकारी काम गरिरहेका छौं कि हल्ला मात्र’ भन्ने कुराको मापन संसारका ९० प्रतिशत पर्यटकका परामर्शदाताहरूले सूचनाको स्रोतको रूपमा लिने गाइड बुकहरुमा रहेको सूचनाले गर्नेछ ।

नेपालको पर्यटनबारे समर्पित प्रायः गाइड बुकहरुमा आज पनि लेखिएको छ, ‘तपाईं जस्तोसुकै उच्चस्तरको होटेलमा बसेको किन नहुनुहोस्, कम्तीमा नुहाउँदा आफ्नो मुख राम्रोसँग बन्द गर्नुहोला । यदि त्यसो हुन सकेन र तपाईंको मुखमा नुहाउने पानी पस्यो भने तपाईंको हिमालय पैदल यात्रा स्थगित गर्न तयारी गर्नुहोस् । किनकि नेपालका होटेलका पानी गियारडिना इन्टेसटिनालिस नामक सूक्ष्म परजीवीहरूद्वारा प्रदूषित हुने गर्दछ । तपाईं पखाला, बान्ता, पेट दुख्ने, पेट कराउने र ज्वरो आउने समस्याको सिकार बन्न सक्नुहुन्छ ।’

तपाईं नेपालको भ्रमणमा हुनुहुन्छ भने कोठाको तापक्रममा दिइएका पाकेको खाना भए पनि नखानुहोस् । राम्रोसँग धुन सकिने स्थिति छैन भने काँचो सलादलगायत तरकारी र खाना अस्वीकार गर्नुहोस् । सिल गरिएको बोतल वा क्यानका पेयपदार्थ मात्र पिउनुहोस् । पानी पनि उमालेको वा रासायनिक औषधिबाट कीटाणुरहित गरिएको मात्र सुरक्षित हुन्छ ।

संसारकै ट्राभल एड्भाइजरीहरुले आफ्नो सन्दर्भ सामग्रीका रूपमा लिने अमेरिकाको ‘सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन’ले लेखेको छ, ‘तपाईं नेपालको भ्रमणमा हुनुहुन्छ भने कोठाको तापक्रममा दिइएका पाकेको खाना भए पनि नखानुहोस् । राम्रोसँग धुन सकिने स्थिति छैन भने काँचो सलादलगायत तरकारी र खाना अस्वीकार गर्नुहोस् । सिल गरिएको बोतल वा क्यानका पेयपदार्थ मात्र पिउनुहोस् । पानी पनि उमालेको वा रासायनिक औषधिबाट कीटाणुरहित गरिएको मात्र सुरक्षित हुन्छ । बन्द बोतलबाट अथवा कीटाणुरहित पानीबाट बनेको निश्चित नभएसम्म बरफ पनि नखानुहोस् ।’

ट्राभल एड्भाइजरीहरुबाट नेपालबारे लेखिएका यस्ता कुराहरू आजसम्म पनि किन हट्न सकेनन् ? तिनको चुरो कारणमा नपुगी स्थायी समाधान हुन सक्तैन ।

भिजिट नेपाल २०२० मनाउँदै गर्दा राज्यको राम्रो ध्यान पुग्न नसकेको अर्को अहम् विषय हो नेपालका रेस्टुरेन्ट वा भोजनालयहरूमा उपलब्ध हुने खानाको गुणस्तर । नेपालका मुख्य शहरी क्षेत्रमा रहेका होटेल र रेस्टुरेन्टहरू नेपाल आउने पर्यटकले चाहेअनुरूपको खाना तथा पेय उपलब्ध गराउन सक्ने क्षमता राख्छन् । तर नेपालका प्रायः मुख्य शहरहरूमा राज्यले हाल गुणस्तरीय पिउने पानी उपलब्ध गराउन नसक्दा शहर काकाकुल बनेको अवस्था छ । पिउने पानीका रूपमा हुने गरेका सीमित आपूर्तिको पानी प्रदूषित भेटिन्छ, जुन पिउन सुरक्षित हुँदैन । खाद्य उद्योग, होटेल र भोजनालयहरूमा गुणस्तर व्यवस्थापन गर्न सरसफाइ गर्ने पानीको रूपमा पनि पिउने पानी नै प्रयोग गरिनु जरुरी हुन्छ ।

पिउनयोग्य पानी आपूर्तिको राज्यद्वारा ग्यारेन्टी गर्न नसक्नुले नेपालका होटेल र रेस्टुरेन्टहरूमा बेजोड स्वादमा बनाइएका खानपानको खाद्य सुरक्षा र गुणस्तर चुनौतीपूर्ण बनेको छ ।

अझै पनि हाम्रो शहरका बाक्लो आवासीय इलाकाहरूबाट निस्कने फोहोर पानी विनाप्रशोधन सतहका पानीमा मिसिइरहेको भेटिन्छ । शहरमा रहेका उद्यम र अन्य स्रोतको फोहोरले सतहको पानी प्रदूषित बनाइरहेको देखिन्छ । प्रदूषणयुक्त सतहको पानी नदी र तालमा मिसिन पुग्छ । साथै माटोको भित्री भागमा समेत पुगी कुनै न कुनै रूपमा पिउने पानीको मूल वा स्रोत बन्ने गर्छ । सतहमा प्रदूषित भएको पानी घुमिफिरी हाम्रै भान्सामा पुग्छ । यसलाई नदेखेजस्तै गरिन्छ ।

कुखुरा हलक्क बढाउन दानामै मिसाएर नियमित एन्टिबायोटिक दिने गरिएको बोइलर कुखुराको मासुमा विषादी र स्टेरोइडको मात्रा अनुगमन नगरिएकाले खानयोग्य नरहेको शंका गर्ने धेरै आधार देखिन्छ ।

यस्तै गरी खाद्यवस्तुको स्वच्छतामा पनि ढुक्क हुने स्थिति देखिँदैन । २०६४ तिर नेपालका विभिन्न खाद्यवस्तुहरूमा कीटनाशक विषादीको अवशेष हेर्दा १२ प्रतिशत नमुनामा कीटनाशक पदार्थको अवशेष भेटिएको थियो । यसमा कन्दमूलजस्ता तरकारीमा ११.९५ प्रतिशत र हरियो सागपातमा १०.९५ प्रतिशत नमुनामा कीटनाशक विषादीको प्रदूषण देखिएको थियो । २०७२ मा आइपुग्दा ५८ प्रतिशत तरकारीका नमुनाहरूमा मात्र निगरानीमा रहेका कीटनाशक विषादी भेटिएन ।

बिगडाटा एग्रिकल्चरको २०७५ को अनुसन्धानमूलक रिपोर्टअनुसार नेपालको स्थानीय बजारमा बेच्ने प्रयोजनका लागि उत्पादित तरकारी र नगदे बालीमा विषादीको भारी प्रयोग हुने गरेको छ । सबैभन्दा धेरै फंगिसाइड, त्यसपछि इनसेक्टिसाइड अनि हर्बिसाइड प्रयोग हुने गरेका छन् ।

बिगडाटाका अनुसार सिन्थेटिक कीटनाशकको तुलनामा जैवकीटनाशक वा बोटानिकल कीटनाशकको प्रयोग नगण्य छ । कीटनाशकको प्रयोग तराई क्षेत्रमा सबभन्दा उच्च छ । बजार क्षेत्र र राजमार्गको वरपर क्षेत्रमा कीटनाशकको प्रयोग द्रुत गतिमा बढ्दै गरेको देखिन्छ । भन्टा, टमाटर, जरा तरकारी, सागपातहरूमा अत्यधिक कीटनाशक विषादीको प्रयोग भइरहेको देखिन्छ । २०७४÷७५ मा कालीमाटीमा रहेको रेपिड बायोएस्से पेस्टिसाइड रेसिड्यु विश्लेषण इकाइको १९०३ वटा परीक्षण गरिएका नमुनामध्ये ५ वटा क्वारेन्टाइन गर्नुपर्ने र २२ वटा तुरुन्तै फाल्नुपर्ने भेटिएका थिए ।

नेपालमा कीटनाशक विषादी प्रयोगका लागि १३२ किसिमका कीटनाशक दर्ता भएका छन् । विगतमा जथाभावी विषादी प्रयोगको क्रम घट्दै गएको देखिए पनि हाल पुनः व्यापकरूपमा बढेको देखिन्छ । २०६४/६५ मा मात्र १३२ टन कीटनाशक आयात हुने नेपालमा २०७४/७५ मा ६३५ टन कीटनाशक विषादी बनाउन प्रयोग हुने एक्टिब पदार्थ आयात गरिएको देखिन्छ । यसरी आयात भएकोमा ८५५ तरकारी तथा फलफूलमा प्रयोग हुने भनिएको छ ।

कीटनाशक विषादीको विकल्प नहुनु नेपालमा विषादीको व्यापक प्रयोग बढ्नुको कारण बनेको छ । बहुराष्ट्रिय कम्पनीका स्थानीय एजेन्टहरू मुनाफाको प्रलोभन दिँदै कीटनाशक विषादी प्रयोगमा बढावा दिन सक्रिय छन् । जैविक र अर्गानिक उत्पादनको बजार मूल्यले रासायनिक कीटनाशक विषादी प्रयोग गरी हुने उत्पादनको मुनाफा कहिल्यै पूर्ति गर्न सक्दैन भन्ने भ्रममा भेटिन्छन् किसानहरू ।कीटनाशक विषादी प्रयोगका दीर्घकालीन प्रभावहरू छन् । यसले वातावरण दूषित गर्ने, गम्भीर स्वास्थ्य समस्याहरू सिर्जना गर्ने हुन्छ ।

हाल हाम्रा होटेल र रेस्टुरेन्टका भान्सामा अत्यधिक धेरै बोइलर कुखुराको मासु प्रयोग हुने गरेको छ । पछिल्लो समयमा छिट्टै हुर्काउने नियतले औषधि, इन्जाइम, भिटामिन, सेनिटाइजर र रसायनहरू मनपरि प्रयोग गरिएको बोइलर कुखुराको उत्पादन अत्यधिक हुने गरेको छ । कुखुरा हलक्क बढाउन दानामै मिसाएर नियमित एन्टिबायोटिक दिने गरिएको बोइलर कुखुराको मासुमा विषादी र स्टेरोइडको मात्रा अनुगमन नगरिएकाले खानयोग्य नरहेको शंका गर्ने धेरै आधार देखिन्छ ।

खानामा हुने कीटनाशकका अवशेषहरूले मानव स्वास्थ्यमा पार्ने प्रभावहरूमा टाउको दुख्ने, वाकवाकी लाग्ने, छाला चिलाउने, छाला पोल्ने, मस्तिष्कमा बेचैनी हुने, चक्कर लाग्ने, बिस्तारै शरीर विषयुक्त बन्ने, सास फेर्न गाह्रो हुने, फोक्सो कलेजो र मुटुको क्षति, दिमागको क्षति हुनेदेखि क्यान्सरजस्ता प्राणघातक रोगले पीडादाइ मृत्यु निम्त्याउने गर्छ ।

अत्यधिक कीटनाशकको प्रयोग भएका कन्दमूल, फलफूल र हरियो सागपात कुनै पनि हालतमा खानुहुँदैन । यसमा शून्य सहनशीलता लिइनुपर्छ । तोकिएको मापदण्ड नाघेका कीटनाशक विषादी रहेको खानाले हाम्रो पर्यटन क्षेत्र नै धराशायी बन्छ । यसले बदनामी निम्त्याउँछ । मुलुक भुक्का टुरिस्ट (पैसा नभएका सस्ता) मय बन्छ । आशा गरौं, नेपालले भिजिट नेपाल २०२० मनाउँदै गर्दा यसको उद्देश्य प्राप्तिसँग प्रत्यक्ष सरोकार राख्ने होटेल र रेस्टुरेन्टहरुमा गुणस्तरीय खाना व्यवस्थापनमा खड्किएका पूर्वाधारहरुको व्यवस्था मिलाउन सरकार सफल हुनेछ ।

(संसारभर जटीबुटी र हर्बल क्षेत्रमा उन्नत अनुसन्धानमा संलग्न हुँदै, उद्यमशीलताको विकासको लागि जरुरी हुने ज्ञान, सीप र प्रविधिको हस्तान्तरणको नेतृत्व गर्दै आउनुभएका लेखक घिमिरे क्यानडा निवासी खाद्य तथा औषधि विज्ञ हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्