तपाईँका घरमा हाम्रा डाक्टर



म २१ वर्षीय युवा हुँ । मलाई अहिले सुगर भएको त छैन तर बुबालाई सुगर भई किड्नीसमेत फेल हुन गएकोले मैले अहिलेदेखि नै सुगरबाट बच्नका लागि कुनै सावधानी अपनाउनुपर्ला कि ?
– मनोज बाँस्तोला, सुनसरी ।

मनोजजी, बुबालाई सुगर भएकोले तपाईंलाई हुने सम्भावना २५ प्रतिशत हुन्छ । त्यस्तै बाबुआमा दुवैलाई भएमा सुगर हुने सम्भावना ५० प्रतिशत हुन्छ । त्यसैले अहिलेदेखि नै जीवनशैली सुधार्दै जानु आवश्यक हुन्छ । साथै बेला–बेलामा रगत परीक्षण गर्दै रहनुपर्छ । सुगरले मृगौला फेल मात्रै होइन, हृदयघात हुने, आँखाको समस्या हुने, घाउ–खटिरा आउने, पाक्ने, सन्चो नहुने, जीउ दुख्नेजस्ता अनेक समास्या देखिन सक्छन् । त्यसैले बेलैमा ख्याल गर्नु अति नै आवश्यक रहन्छ ।

जीवनशैली सुधार्ने भन्नाले शरीरमा सुगरको लोड कम गर्न गुलियो कमभन्दा कम खाने, चिल्लो पनि नियन्त्रण गर्ने, तौल ठिक्क राख्ने, सक्रिय हुने, नियमित व्यायाम गर्ने, धूमपान–मद्यपान नगर्ने, सकारात्मक सोच्ने आदि क्रियाकलाप पर्छन् । यसका लागि एकजना फिजिसियनको सम्पर्कमा रहनुभएमा सही परामर्श पाउनुहुनेछ ।

मेरो नाक र कानमा केही उठेका कोठी छन् । बढेको, दुखेको त छैन । कसै–कसैले बेलैमा काट्नुपर्छ भन्छन् । यसबारेमा सही सल्लाहका लागि अनुरोध गर्दछु ।
– रमण कार्की, जोरपाटी, काठमाडौं ।

रमणजी, मान्छेको शरीरको विभिन्न स्थानमा कोठी हुन सक्छन्, यो नर्मल नै हो । यदि ती कोठीहरू बढ्ने, दुख्ने, फैलिने भएमा डर हुन्छ ।
क्यान्सरको डर पनि हुन्छ । यदि त्यत्तिकै रहेमा डराउनुपर्ने केही हुँदैन । आत्तिएर काट्नै पर्ने हुँदैन । जहाँसम्म सुन्दरताको सवाल भएमा यस्ता कोठी काटेर हटाउने कस्मेटिक शल्यक्रिया पनि गरिन्छ । त्यस्तै सिद्धान्त तपाईंको कोठीमा पनि अपनाउन सक्नुहुन्छ । यदि कोठी बढेको र दुखेको छैन भने यसको चिन्ता नगर्नुस् ।

मलाई बिहान–बिहान वाकवाक लाग्ने, अमिलो पानी आउने, खाना खाएपछि पेट फुल्ने समस्या भएको दुई वर्ष जति भयो । औषधि खाएको छैन । यसका लागि मैले के गर्दा ठीक पर्ला, सल्लाह पाऊँ ।
– रोशन केसी, पाल्पा ।

रोशनजी, तपाईंलाई सबैले बुझ्ने भाषामा ‘ग्यास्टिक’ भएजस्तो छ । यसलाई शुद्धरुपमा चिकित्सकीय भाषामा ‘ग्यास्ट्राइटिस’ भनेर बुझिन्छ । साधारणतया हाम्रो खाना खाने चलन, तरिका, समय र खानाको परिकार (चिल्लो, पिरो, अमिलो, मसालेदार) ले गर्दा यो समस्या धेरैमा भेटिने गरेको छ । यो समस्या बिग्रेमा पेटमा घाउ हुने, रक्तश्राव हुने, आमाशय वा आन्द्रामा प्वाल नै पर्नेसम्मको डर हुन्छ । यसको रोकथाम, नियन्त्रण तथा उपचारको लागि पहिलो पाइला त खानपिनमा सुधार ल्याउने नै हो । अमिलो, पिरो, चिल्लो नखाने अनि खालि पेट नबस्ने जस्ता साधारण उपाय अपनाउँदा रोकथाममा सहयोग पुग्छ । साथै पेट अथवा आमाशयको अम्लीय पदार्थको उत्पादन नियन्त्रण गर्ने र ग्यास्ट्राइटिस गराउने कीटाणु मार्ने खालका औषधि सेवन गर्नुपर्ने हुन्छ । गुणात्मक परामर्शको लागि एकपटक पेटरोग विशेषज्ञ भेटेर सल्लाह लिनुहुन सुझाव दिन्छु ।

हर्निया भनेको के हो ? यसबारेमा छोटकरीमा जानकारी पाउन सकिन्छ कि ?
– रामभरोस चौधरी, सप्तरी ।

रामभरोसजी, हाम्रो पेटभित्रमा धेरै अंगहरु छन्– आन्द्रा, कलेजो, मृगौला, फियो आदि । यी अंगहरु पेटको छाला अनि छालामुनिको मांसपेशी र झिल्लीका पत्रहरुद्वारा सुरक्षित हुन्छन् । पेटमा केही प्राकृतिकरुपमा दबाब पनि हुन्छ । यो दबाब धेरै भए अर्थात् खोक्दा, कन्दा पेटभित्रको भाग सानो डल्लो भएर वा अलि ठूलो भएर मुखअनुसार बाहिर निस्कने प्रक्रिया नै हर्निया हो । त्यस्तै शरीरको बाह्य भागमा कहीँ–कतै कमजोर क्षेत्र देखिए पनि पेटभित्रको भाग बाहिर निस्कने हुन्छ । साधारणतया काछ, जाँघ, नाभी क्षेत्रमा यसरी बाहिर निस्कन सक्छ । यो समस्या ठूलो, सानो, अप्ठेरो, डर लाग्दो जस्तो पनि हुन सक्छ । हर्नियाको समस्या भएको शंका छ भने शल्यचिकित्सकलाई देखाउनुस्, बढी नै स्पष्ट भइन्छ र उपचारका लागि चाल्नुपर्ने पाइलाहरु निक्र्योल हुन्छ ।

निमोनिया भएर बालबालिका धेरै मर्ने गरेको खबर सुनिन्छ । यसबाट बालबालिकालाई कसरी बचाउन सकिन्छ होला ?
– सरिता केसी, गणेशस्थान, भरतपुर ।

सरिताजी, आजकल बाल मृत्युदरको अवस्था पहिलेभन्दा सुधारोन्मुख छ । कारण औषधि, चिकित्सक तथा जनचेतनामा सुधार आएकोले नै हो । पहिले निमोनिया भएमा धामीझाँक्रीकोमा जाने प्रचलन थियो भने आजकल कमसे कम स्वास्थ्य संस्थामा जाने प्रचलन बढेको छ । अझै पनि त्यो अपुग छ, अझै विकसित मुलुकको भन्दा हाम्रो अवस्था तथा नतिजा निराशाजनक नै छ । चिसोमा जाडोबाट बचाउने, सन्तुलित खाना खुवाउने, अलि–अलि बिरामी हुँदै अर्थात् शुरुमै चिकित्सककोमा लैजाने तथा आवश्यकताअनुसार खोप लगाउने गरेमा धेरैभन्दा धेरै बालबालिकालाई बचाउन सकिन्छ ।

म १७ वर्षको भएँ । मलाई बेला–बेलामा नाकबाट रगत आउने समस्या छ । यस्तो किन हुन्छ र निको पार्ने उपाय बताइदिनुहुन अनुरोध छ ।
– विश्वास श्रेष्ठ, हाँडीगाउँ, काठमाडौं ।

विश्वासजी, नाकबाट रगत आउने अनगिन्ती कारणमध्ये उच्च रक्तचाप मुख्य हो । नाकबाट रगत आउने अन्य कारणमा रगत जम्ने क्रियामा कमी हुनु, नाक सुख्खा हुनु, नाक कोट्याउने बानी हुनु, रक्तनलीको रोग हुनु आदि पर्दछन् । यहाँको उमेर मात्रै १७ वर्ष हुनाले उच्च रक्तचाप होइन कि भन्ने लाग्छ । एकपटक नाक, कान, घाँटी विशेषज्ञ तथा फिजिसियन भेटेर सल्लाह गर्नुस् । रगत आउनुको कारण र उपचारको निक्र्योल हुनेछ ।

म ४२ वर्षको भएँ । मलाई सिँढी चढ्दा खुट्टा फतक्क गलेर आउँछ । पिँडुलाको मांसपेशी नै दुखेजस्तो हुन्छ । पाइलै अगाडि बढाउन सक्तिन । तर तेर्सो जति पनि हिँड्छु । यसको उपचार के होला ?
– शिवकुमार दाहाल, धुलिखेल, काभ्रे ।

शिवकुमारजी, तपाईंको समस्या बुझ्दा खुट्टाको स्नायुको समस्या हुन सक्छ । जुन स्थानीय रुपमा रोग लागेर वा कम्मर/ढाडमा नसा च्यापिएर हुन सक्छ । अथवा रक्तनलीको अवरोधको कारणले पनि यो समस्या आउन सक्छ । रक्तसञ्चारमा कमी भई अक्सिजन कम हुँदा यसरी दुख्न सक्छ । खास कारण पत्ता लगाएर उपचार गर्न एकपटक फिजिसियन भेट्नुस् । सम्बन्धित विशेषज्ञ भेटेर उपचार गराउन चाहेमा काठमाडौंको वीर अस्पताल वा शिक्षण अस्पताल वा त्यहीँ धुलिखेल अस्पतालमा पनि सम्पर्क गर्न सक्नुहुन्छ । त्यसपछि परामर्श र सहयोग मिल्ने नै छ ।

म १८ वर्षको मात्र भएँ । मेरो अनुहारमा डन्डिफोर आएर हैरान भएको छु । अहिलेसम्म मैले केही औषधि गरेको छैन । म के गरौं ?
– अजय सापकोटा, सिमरा

अजयजी, युवा उमेरमा डन्डिफोर आउने त हुन्छ नै, तर छालाको प्रकृतिअनुसार चिल्लो छाला हुनेलाई बढी आउन सक्छ । त्यस्तै मसालेदार, चिल्लो तथा गुलियो अधिक खानेलाई पनि यसले सताउन सक्छ । धेरै साह्रो डन्डिफोर आएमा तथा विरूप नै पारेमा त्यसलाई ‘एक्ने भल्गारिस’ भन्ने अलग्गै नामकरण गरिन्छ । त्यसको उपचार अलि लामो अनि जटिल पनि हुन्छ । हालको लागि चिल्लो, गुलियो तथा मसला कम खाने, पानी प्रशस्त पिउने, साबुनले अनुहार धुने गर्नुस् र एकपटक छालारोग विशेषज्ञ भेटेर परामर्श लिनुहोस् । फाइदा हुने नै छ ।

म ४५ वर्षको भएँ । कुनै तनावमा त छैन तर पनि राति ब्युँझिएपछि निदाउनै सक्तिन, राति राम्रो निद्रा पर्ने कुनै उपाय भए बताइदिनु हुन्थ्यो कि ?
– शिवशंकर, हेटौँडा ।

शिवशंकरजी, निद्रा नपर्नु राम्रो कुरा होइन । साधारणतया चिन्ता, पिर, समस्याले गर्दा हो मान्छे नसुत्ने । तर पनि कोही–कोहीलाई निद्रा पटक्कै नलाग्ने गरेको घटना पनि यदाकदा सुन्नमा आउँछ । शरीर तथा दिमागको कामको लागि सुत्न अति नै आवश्यक हुन्छ । निदाउने परिवेश मिलाउने, सुत्ने बेलामा दूध पिउने, हल्का म्युजिक बजाउने, सुत्दा सय–हजारसम्म गन्ने, ध्यान गर्ने आदि गर्दा पनि भएन भने चिकित्सकको सहयोग लिनु जरुरी छ । चिकित्सकको सल्लाहअनुसार औषधि नै सेवन गरेर भए पनि सुत्ने सल्लाह दिन चाहन्छु । नसुत्नाले हुने बेफाइदा सुत्ने औषधि खाएर पर्ने बानीको बेफाइदाभन्दा ज्यादा हुनाले चिकित्सकको सल्लाह लिनै पर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्