बच्चाका लागि पोषण



प्रा. जया प्रधान , (पीएचडी/पोषण) । 

शिशुहरुको शारीरिक बनावट र तौल उनीहरुले प्राप्त गर्ने खानाको गुणस्तरमा निर्भर हुन्छ । हुन त जन्मदाखेरिको तौलले पनि शारीरिक विकासमा प्रभाव पर्छ । भर्खर जन्मेको शिशुको तौल ठीक छ वा छैन भन्ने कुरा मुख्यतः आमाले खाएको खानाको प्रकार तथा स्तरमा भर पर्छ । गर्भमा छँदादेखि नै उनीहरुको शारीरिक विकास एवम् वृद्धिको लागि पौष्टिक पदार्थ आवश्यक पर्छ, जुन उनीहरुले आमाले खाएको खानाबाट प्राप्त गर्छन् । त्यसकारण गर्भावस्थामा पोषिलो भोजन प्रशस्त खान पाएका आमाहरुबाट जन्मेका शिशुहरुको शारीरिक बनावट पनि अरु साधारण शिशुको भन्दा पुष्ट र गहकिलो हुन्छ ।

गर्भावस्थामा पोषिलो भोजन प्रशस्त खान पाएका आमाहरुबाट जन्मेका शिशुहरुको शारीरिक बनावट पनि अरु साधारण शिशुको भन्दा पुष्ट र गहकिलो हुन्छ ।

जसरी गर्भमा रहेको शिशुलाई स्वस्थ राख्न आमाको भोजनले मद्दत पुर्‍याउँछ, त्यसरी नै जन्मेपछि उसको पहिलो खाना आमाको दूध हुन्छ । जन्मेदेखि केही महिनासम्म आमाको दूधले उनीहरुलाई निरोगी राख्न र ठीक रुपमा शारीरिक वृद्धि विकासमा सहयोग पुर्‍याउँछ । यदि आमा स्वस्थ छिन् र प्रशस्त दूध आउँछ भने शिशुलाई जन्मेदेखि ५–६ महिनासम्म राम्ररी बढ्न आमाको दूध खुवाए पुग्छ । शिशुले आमाको दूधबाट आवश्यक पौष्टिक पदार्थ प्राप्त गर्नुको साथै रोग–प्रतिरोेधात्मक शक्ति बढाउँछ । जसले गर्दा दिसा–पखाला र अरु रोग लाग्नबाट बचाउँछ । विश्व स्वास्थ्य संघले पनि शिशुहरुको शारीरिक तथा मानसिक विकासका लागि जन्मेदेखि ६ महिनासम्म आमाको दूध मात्र खुवाउन सिफारिस गरेको छ । हाम्रो सामाजिक तथा सांस्कृतिक प्रचलनअनुसार शिशु ५–६ महिना पुगेपछि अन्नप्राशन गरी ठोस खाना खुवाउने गरिन्छ ।

विशेषतः ५/६ महिनाको उमेरमा आमाको दूधबाट मात्र उसको पोषण आवश्यकता पूर्ति नहुने भएकोले थप ठोस खानेकुरा दिनुपर्ने हुन्छ । यसरी अन्य खानेकुरा दिने अवस्थामा विशेष सतर्कता र सजगता अपनाउन नसकेमा यही समयमा शिशुको पोषण अवस्था बिग्रने र कुपोषणको समस्या देखिने हुन्छ ।

किन शिशु ५–६ महिनाको भएपछि मात्र आमाको दूधसँगै अन्य ठोस खाना दिनुपर्छ :

प्रथमतः शिशुहरुलाई पहिलो ४ महिनासम्म दैनिक करिब ७२० मि.लि. आमाको दूध आवश्यक हुन्छ, यदि यस समयमा ठोस खाना खुवाएमा उनीहरुले दूधबाट प्राप्त हुने पौष्टिक तत्वबाट वञ्चित हुनपुग्छन् ।

दोस्रो: ५/६ महिना पुगेपछि मात्र शिशुले ठोस खाना निल्ने प्रतिक्रिया देखाउँछ, जबकि त्यस अगाडि उसले मुखमा राखेको खाना जिब्रोले घचेट्ने वा बाहिर फ्याँक्ने गर्दछ ।

तेस्रो: ५/६ महिना पुगेपछि मात्र पाचनक्रियामा परिपक्वता आउने भएकोले चाँडै ठोस खाना दिँदा पचाउन नसक्ने हुन्छ । यसै गरी अगाडि नै ठोस खाना शुरु गर्दा खानाको एलर्जी हुन सक्छ, साथै खाना अड्किने सम्भावना हुन्छ ।

साधारणतया शिशु जन्मेदेखि ६ महिनासम्म आमाको दूध प्रशस्त खुवाउनुपर्छ र ६ महिनापछि अन्य खानाको शुरुवातसँगै २ वर्षसम्म स्तनपान गराउनुपर्छ भन्ने कुरामा व्यापक प्रचारप्रसार भए तापनि ६ महिनापछि खुवाउने खानेकुराको स्तर–प्रकारबारे पर्याप्त जानकारी नहुनाले यस समयदेखि बालक २ वर्ष नपुगुन्जेल देखिने कुपोषणको प्रमुख कारण मान्न सकिन्छ । यस उमेरमा प्रत्येक महिना शिशुको तौल लिन अझ बढी जरुरी हुन्छ । लगातार २ महिनासम्म तौल बढेको पाइएन भने केही कुरा अर्थात् स्वास्थ्यमा गडबड छ भन्ने कुरा बुझ्नुपर्छ ।

यस अवस्थाको शुरुमा दिइने कुनै पनि प्रकारको ठोस, अर्धठोस वा झोल खानेकुराले आमाको दूधको लागि पौष्टिक आवश्यकता पूरा गर्न सहयोग गर्छ । त्यसैले थप दिइने खानाको प्रकार, परिमाण पकाउने विधि, कतिपटक दिने, कसरी दिने आदिबारेमा थाहा पाउन जरुरी छ । साथै सरसफाइमा पनि विशेष ध्यान पुर्‍याउनुपर्ने हुन्छ । अन्यथा पौष्टिक आवश्यकता पूरा गर्ने उद्देश्यले दिएको खानाले प्रतिकूल प्रभाव पर्न सक्छ । यसले गर्दा बालबालिकालाई धेरै रोग लाग्ने तथा कुपोषणको सम्भावना हुन सक्छ । नेपालमा विशेष गरी यस उमेरमा प्रोटिन र क्यालोरीको कुपोषण देखिएको छ ।

पहिलो एक वर्षमा दिइने खाना आमाको दूधको लागि पूरकको रुपमा हुन्छ भने दोस्रो वर्षमा दिइने खानामा आमाको दूध पूरकको रुपमा हुन्छ ।

बालबालिकाको पोषणस्तर सुधार्न आमाको दूधको साथै हरेक खाद्यसमूहबाट उचित परिमाणमा ठीक तवरले न्यूनतम कतिपटक खुवाउनुपर्छ र कति प्रकारका खाद्यपदार्थ समावेश गर्नुपर्छ भन्ने बारे जानकारी हुनु जरुरी हुन्छ ।

यसरी थप खानेकुरा खान दिँदा स्थानीय रुपमा उपलब्ध खाद्यपदार्थलाई प्राथमिकता दिनु उपयुक्त हुन्छ । जस्तै– स्थानीय रुपमा पाइने अन्न, दाल, गेडागुडीको उचित समिश्रणबाट सर्वोत्तम पीठोको लिटो खुवाउँदा सुलभ तवरले शिशुको पौष्टिक आवश्यकता पूरा हुन सक्छ । उमेरको साथसाथै क्रमिकरुपमा अन्य खाद्यपदार्थ– साग–तरकारी, फलफूल, मासु, अण्डा, घिउ ठीक मात्रामा र उचित तवरले दैनिक खानामा समावेश गर्नुपर्छ ।

आमाको दूध खाइरहेका ६–८ महिना उमेरका बालबालिकालाई कम्तीमा पनि ४ खाद्यसमूहबाट (दूध समूहबाहेक) खानेकुराको छनोट गरी दैनिक दुईपटक, त्यसै गरी ९–२३ महिनाको लागि तीनपटक खुवाउनुपर्छ । यदि बालकलाई आमाको दूध खुवाएको छैन भने अन्य दूघको प्रकार दुईपटक र ६ प्रकारका खाद्यपदार्थको छनोट गरी उपयुक्त तवरले खुवाउनुपर्छ ।

आमाको दूधका साथै नयाँ थप खाना खुवाउँदा ध्यान दिनुपर्ने कुरा : 

१. अन्य खाना खुवाउनुअगाडि सधैँ आमाको दूध खुवाउनुपर्छ ।

२. बच्चालाई दिइने थप खानेकुरामा पनि हरेक खाद्यसमूहबाट उचित समिश्रण हुनुपर्छ ।

३. बालकलाई दिइने खाना सफा हुनुको साथै नरम, स्वादिलो र सजिलो पचाउन सक्ने किसिमको हुुनुपर्छ ।

४. खुवाउने समय मिलाई आमाको दूधको साथै थोरै–थोरै गरी पटक–पटक खुवाउनुपर्छ ।

५. हरेक महिना बच्चाको वृद्धि ठीक छ वा छैन, सोको जाँच गर्नुपर्छ ।

६. एकपटकमा एउटै किसिमको मात्र खानेकुरा खान दिनुपर्छ ।

७. ५–६ महिनापछि बच्चालाई पानी सफा चम्चा वा गिलासबाटै खान दिनुपर्छ ।

८. विशेष गरी पकाउने, खुवाउने भाँडो सफा हुनुको साथै खुवाउने व्यक्तिले सरसफाइमा ध्यान दिनुपर्छ ।

९. बजारमा उपलब्ध तयारी शिशु आहारभन्दा घरमा नै तयार गरिएको लिटो, सर्वोत्तम पीठो, जाउलो, ताजा फलफूलको रस तथा तरकारीको झोललाई प्राथमिकता दिनुपर्छ ।

१०. बच्चालाई खुवाउने खाना राम्ररी पकाउनुको साथै नरम, गिला, प्युरी, मुछेको हुनुपर्छ । किनकि निल्न नजाने घाँटीमा अड्किने डर हुन्छ ।

प्रतिक्रिया दिनुहोस्