“नर्स कहिल्यै बेरोजगार हुँदैनन्”



निजामती कर्मचारी (सिभिल) अस्पताल, नयाँ बानेश्वरमा ११ वर्ष (स्थापनाकाल) देखि प्रसूति र स्त्री वार्डका साथै मेडिकल वार्डको समेत इन्चार्जका रुपमा काम गरिसक्नुभएकी माया अधिकारीले त्यसअघि झन्डै ८ वर्ष विभिन्न अस्पतालमा काम गरिसक्नुभएको छ । कैलालीमा जन्मनुभएकी माया अधिकारी हाल सिभिल सर्भिस अस्पतालमा हाउस किपिङ इन्चार्ज हुनुहुन्छ । उहाँसँग साधना प्रतिनिधि भगवती तिमल्सिनाले गरेको कुराकानीको सार :

नर्सिङ पढ्न कसरी प्रेरित हुनुभयो ?

शिक्षाशास्त्र पढाउन बुबाले झापाको दमक पठाउनुभएको थियो तर मलाई नर्सिङ पढेर बिरामीको सेवा गर्ने चाहना थियो । घरमा थाहै नदिई साथीहरुसँगै गएर नर्सिङ क्याम्पस विराटनगरमा प्रवेश परीक्षा दिएँ, पास पनि भएँ । नर्सिङ पढ्न होस्टल बस्नुपर्ने भएपछि घरमा खबर गरेँ । हजुरआमाले ‘बाहुनकी छोरी भएर नर्स पढ्ने ? दुनियाँलाई छुनुपर्छ’ भनेर गाली गर्नुभयो । बुबाले चाहिँ सहमति दिनुभयो । नर्सिङ पढ्दा न्यूनतम शुल्क तिर्नुपर्ने र २ सय रुपियाँ छात्रवृत्ति पाइने भएर पनि मलाई पढ्न सजिलो भयो ।

नर्सिङ सेवाको शुरुवात कहाँबाट गर्नुभयो ?

मैले पीसीएल नर्सिङ सक्दा धरानमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान भर्खरै खुलेको थियो । त्यस बेला नर्सको आवश्यकता बढी भएकोले सजिलै जागिर पाइयो । २ वर्ष १० महिना त्यहाँ काम गरेपछि घरायसी कामले काठमाडौंमा आएर नेपाल मेडिकल कलेज जोरपाटीमा काम गरें । त्यसपछि २ वर्ष विदेशमा काम गरेपछि ब्याचलर अध्ययन गर्ने चाहनाले जागिर छोडेर आएँ । पूर्वाञ्चल विश्वविद्यालयअन्तर्गत पर्ने काठमाडौं मोडल अस्पताल स्कुल अफ नर्सिङबाट ब्याचलर सकेपछि २०६६ साल माघदेखि सिभिल अस्पतालमा काम शुरु गरें । अहिले सिभिलमा काम गर्दै फुड एन्ड न्युट्रिसनमा मास्टर्स डिग्री पनि गर्दै छु ।

अस्पतालमा काम गर्दाको बारम्बार सम्झने कुनै क्षण छ ?

एकपटक सिभिल अस्पतालमा काम गर्ने एक कर्मचारीको नर्मल डेलिभरी नहुँदा शल्यक्रिया गर्नुपर्‍यो । शल्यक्रियापछि पोस्ट अपरेटिभ कक्षमा ल्याइयो । उनलाई गाह्रो भएछ, सिस्टरहरुले बिरामीको अवस्था हेरेर डाक्टरलाई बोलाउनुभएछ, बिरामीलाई थप गाह्रो हुँदै गयो ।

डाक्टर आएर परीक्षण गर्दा पुनः अप्रेसन गर्नुुपर्छ भनेर अप्रेसन थिएटरमा लगियो । वार्डको इन्चार्ज भएको मलाई पनि बोलाइयो । बिरामीको आन्तरिक रक्तश्राव भएको रहेछ, रोकिँदै रोकिएन । तत्काल रगत चाहियो । स्टक राखेको रगतले नपुग्ने भयो । मेरो रगत समूह बिरामीसँग मिल्ने रहेछ । मैले मेरै रगत पनि दिएँ । सकेजति कोशिश गरियो । जति गर्दा पनि रक्तश्रावमा सुधार भएन । अप्रेसन सकिएपछि बिरामीलाई आईसीयुमा लगेर भेन्टिलेटरमै राख्नुपर्‍यो । म रातिको अनिदोमा काम गरिरहेकी थिएँ । बिहान भैसकेको थियो, साथीहरुले आराम गर भन्दै थिए । तर बिरामीलाई झन् गाह्रो भैरहेको थियो । अन्त्यमा अर्को दिन उनको मृत्यु भयो । उनको परिवार मात्र हैन, अस्पताल परिवार नै शोकमा डुब्यो । यो क्षण मैले कहिल्यै बिर्सन्न ।

नर्सिङ सेवा गर्दाको ज्यादै खुशी लाग्ने क्षण कुनै छ कि ?

धरानको घटना : भर्खर नर्सिङ पढाइ सकेर काम गर्दै थिएँ । एनआईसीयुको नजिकै रहेको नर्सरी कक्षमा एकजना आमाले बच्चालाई दूध खुवाएर उत्तानो सुताउनुभएको रहेछ । बच्चालाई बान्ता भएर दूध सर्किएछ । बच्चा तत्काल नीलो भएछ । आमा रुँदै यताउता भौंतिरिएको देखें । मैले तत्कालै बच्चालाई कोल्टो सुताएँ र घोप्टो पारेर सुम्सुम्याएपछि नाक र मुखबाट सर्केको दूध निक्लियो । बच्चालाई बचाउन सफल भइयो । ती आमाले अहिले बच्चा ठूलो भैसक्दा पनि बेला–बेलामा भेट गराउन ल्याउनुहुन्छ । यो मेरो ज्यादै खुशीको क्षण हो ।

नर्स र डाक्टरमध्ये कसको काम महत्वपूर्ण हो भन्ने लाग्छ ?

दुवै आ–आफ्नो भूमिकामा उत्तिकै महत्व हुने हुन्छ । डाक्टरले मियोको काम गर्छन् भने नर्सले दाइँ गर्ने काम गर्छन् । बिरामीका लागि नर्स र डाक्टर दुवैको भूमिका महत्वपूर्ण हुन्छ । दुवै एक–अर्काका परिपूरक हुन् । नर्स भनेको शुरुदेखि अन्तिमसम्म बिरामीका साथमा रहेर उपचारका साथै पारिवारिक भूमिका निर्वाह गर्ने दायित्व बोकेका स्वास्थ्यकर्मी हुन् । डाक्टरले रोग निदान गर्ने र उपचार योजना बनाउने गर्छन् । नर्सले बिरामी र डाक्टरका बीचमा पुलको काम गर्छन् ।

सिभिल अस्पतालमा बिरामी आगमनको स्थिति कस्तो छ ?

शुरुमा निजामती कर्मचारीको लागि मात्र खोलेको अस्पताल भन्ने बुझाइ भएकोले बिरामीको चाप कम थियो । अहिले बिरामीले यो अस्पताल सर्वसाधारणको लागि समेत हो भन्ने बुझे, चाप बढ्यो । पब्लिकले सोचेजस्तो व्यस्थापन भएन भन्ने गुनासो पनि बढ्यो । यसलाई ध्यानमा राखी अनलाइन टिकटको व्यवस्थाका साथै निजामती कर्मचारीलाई छुट्टै काउन्टरको व्यवस्था छ । १ सय ३२ बेड रहेकाले भर्नाका लागि बेड संख्या कम छ । काठमाडौंको केन्द्रमा अस्पताल भएकाले दैनिक ८ सयदेखि १३ सयको हाराहारीमा ओपीडीमा बिरामी हुन्छन् । विशेषज्ञ सेवा भएकोले रिफर केसहरु बढी हुन्छन् ।

नर्सहरुलाई स्वयंसेवीका रुपमा काम गराइन्छ भन्ने गुनासो सुनिन्छ, के हो ?

हाल यो अवस्था छैन । तर ४–५ वर्षअगाडि नर्स आफैंले प्रयोगात्मक अभ्यास कम भएका कारण जागिर नपाएकाले सिकाइका लागि भए पनि स्वयंसेवी सेवा गर्छु भनेर प्रवेश गरेका हुन्थे । स्वास्थ्य संस्थालाई पनि दक्ष नर्सलाई पूरा तलब दिएर काम लगाउनुभन्दा स्वयंसेवीलाई पकेट खर्च दिएर लामो समय काम गराउँदा फाइदा हुने हुनाले यस्तो स्थिति थियो ।

प्रयोगात्मक अभ्यास त कलेजले अध्ययनकै क्रममा पूरा गराउनुपर्ने होइन र ?

हो, तर यो एउटा समस्याको विषय छ । अध्ययनको क्रममा एक सयजना बिरामी भएको बेडमा प्राक्टिस गर्नुपर्ने भन्ने नेपाल नर्सिङ काउन्सिलले नियम बनाएको छ तर व्यवहारमा एकदम न्यून बिरामीमा अभ्यास गर्नुपर्ने अवस्था हुन्थ्यो । त्यसमा पनि धेरैवटा कलेज आएका हुन्थे । प्रयोगात्मक अभ्यास भनेको हुन्छ, तर फाइल पढेर र अरुले गरेको हेरेर फर्किनुपर्ने अवस्था पनि आएको सुनिन्थ्यो । यो गुणस्तरीय हुन सक्दैन । यो कुरालाई मध्यनजर गरेर नेपाल नर्सिङ काउन्सिलले हाल हरेक नर्सिङ कलेजको आफ्नो अस्पताल अनिवार्य हुनुपर्ने भनेर अस्पताल नभएका कलेजहरुलाई विद्यार्थी भर्नामा रोक लगाएको छ ।

तपाईंले पढाइ शुरु गर्दा पनि यस्तै थियो ?

होइन, यस्तो भद्रगोल थिएन । त्यस बेला एउटै त्रिभुवन विश्वविद्यालयका जम्मा ७ वटा नर्सिङ कलेज थिए । शिक्षा र तालिम दुवै गुणस्तरीय थियो । कलेजका प्राध्यापकहरु अत्यन्तै जिम्मेवार थिए । काउन्सिलले तोकेबमोजिम पढाइ र प्राक्टिकल सही तरिकाले हुन्थ्यो । अहिले च्याउ उमे्रझैँ नर्सिङ र मेडिकल कलेज खुलेका छन् तर गुणस्तरीय शिक्षाभन्दा नाफामुखी उद्योगका रुपमा चलेका छन् । एउटा शिक्षकले कति विद्यार्थीलाई तालिम दिने, स्थान, बिरामी संख्या, विद्यार्थीको क्षमता सबै जाँचेर मात्र परीक्षामा प्राक्टिकल नम्बर दिने हो । तर पछिल्लो समय बिरामी भाडामा ल्याउने, शिक्षक भाडामा ल्याउने भन्ने कुरा सुन्नमा आउँछन् । यस्तो विकृति बढेको सुन्दा दुःख लाग्छ ।

नर्सिङ कलेजहरुको आफ्नै अस्पताल हुनुपर्छ कि पर्दैन ?

सम्बन्धन लिँदा अस्पतालसहित कलेज हुनुपर्ने भन्ने उल्लेख गरिएको छ । तर पछि यसो गर्दा अस्पताल भएकाले मात्र पढाउँदा नर्सिङ पढ्न चाहनेहरु पढ्नबाट बञ्चित हुने भए भनेर सरकारले लचकता देखाएझैँ गरेकै कारण नर्सिङ शिक्षाको गुणस्तरमा भद्रगोल भएको हो । पहिला त्रिवि शिक्षण अस्पतालमा प्रसूति वार्ड थिएन, थापाथलीमा मात्र थियो । त्यसका लागि छुट्टै समय लिएर प्रसूति गृहमा प्राक्टिस गराइन्थ्यो । त्यो कोर्समा नै डिजाइन गरेर सुनिश्चित गरी पढाइन्थ्यो । अहिलेका विद्यार्थीलाई प्याकेजमा भन्दै आफ्ना अनुकूलका प्राइभेट अस्पतालहरुमा कुदाएर प्राक्टिसका नाममा शुल्क मात्र बढी असुल्दा विद्यार्थी मारमा परेका छन् । कलेज सञ्चालन गर्न स्वीकृति दिने मात्र हैन, उत्पादनका आधारमा रोजगारी सृजना गर्ने दायित्व पनि सरकारको हो । विदेशमुखी पढाइले देशलाई फाइदा हुन्न ।

पछिल्लो समय चिकित्सा शिक्षा र मेडिकल कलेज शिक्षण अस्पताल भनेका नाफा कमाउने संस्था भए भनिन्छ, तपाईं एकजना नर्सको नाताले के भन्नुहुन्छ ?

नाफा कमाउने ठाउँ कलेज र स्वास्थ्य सेवामा हुनुहुँदैन । चिकित्सा शिक्षा र मेडिकल कलेज शिक्षण अस्पताल गुणस्तरीय शिक्षा दिने हैन, नाफा कमाउने संस्थामा रुपान्तरित भएका छन् भन्ने कुरा सुन्नमा आएको पाइन्छ ।सरकारी अस्पतालमा आईसीयु, एनआईसीयुको संख्या बढाउन उदासीन रहने तर निजी स्वास्थ्य संस्थाले व्यवसायका रुपमा नाफा कमाउनकै लागि धेरै भन्दा धेरै आईसीयु (सघन उपचार कक्ष) खोल्ने होडबाजी नै छ । अत्यधिक शुल्क असुल्ने ठाउँ निजी स्वास्थ्य संस्था र आईसीयु बेड भएको छ । यो सरकारले अनुगमन गर्ने विषय हो । सरकारको अनुगमन गर्ने निकाय बलियो भएर मात्र पुग्दैन, उपभोक्ता पनि सचेत हुनुपर्छ जस्तो लाग्छ ।

नर्सिङ संघको चुनावी नाराजस्तै नर्सहरुको हकहितमा काम भएको छ ?

नर्सिङ संघ के हो भन्ने नै धेरै नर्सलाई बुझाउन सकिएको छैन । पछिल्लो चुनावकै समयमा पनि नेपाल नर्सिङ परिषद्को लाइसेन्स लिनेको संख्या ९० हजारको हाराहारीमा पुग्दा नर्सिङ संघमा १५ हजारले सदस्यता लिए । ५ हजारले मात्र निर्वाचनमा भाग लिए । तर अहिलेका युवा नर्स राजनीति मन पराउँदैनन् र विदेशमुखी छन् । तसर्थ तत्काल प्रतिफल खोज्ने हुनाले कम भएको हुन सक्छ ।

नयाँ आउने नर्सलाई के भन्न चाहनुहुन्छ ?

नर्सिङ भनेको सेवा हो तर ज्ञान, सीप, क्षमता, नैतिकता, लगनशीलताका आधारमा अघि बढ्ने पेसा हो । यसका लागि शिक्षा लिँदादेखि नै ध्यान दिनुपर्छ । काम गर्ने बेलामा पनि गम्भीर भएर आफूले पढेका ज्ञान, सीपको प्रयोग गर्नु जरुरी छ । हामीले पढेका र काम गरेका विषयमा अनुसन्धानात्मक दुष्टिकोणले अघि बढाउनुपर्छ । आफूले गरेका काम, शिक्षा, अनुसन्धानलाई सँगसँगै लाने हो भने अन्तर्राष्ट्रिय रुपमै प्रतिस्पर्धाका लागि महत्व राख्छ ।

अन्त्यमा केही भन्नु छ कि ?

सरकारी तबरमा नै नर्सलाई कम महत्व दिने र बिरामीको उपचारमा डाक्टरको मात्र भूमिका ज्यादा हन्छ भन्ने सोच हुन्छ । व्यवस्थापनको यो विभेदपूर्ण व्यवहारले बेला–बेलामा दुःखी बनाउँछ । नेपाल सरकारका अन्य कर्मचारीभन्दा निजामती अस्पतालमा तलब, सेवा सुविधा र वृत्तिविकासका अवसरमा विभेद गरिएको छ । यस अस्पतालको उन्नतिको लागि सिभिल अस्पताल र सम्बन्धित निकायले यहाँ कार्यरत सम्पूर्ण कर्मचारीको वृत्तिविकास र आधुनिकीकरणतिर ध्यान दिनुपर्छ भन्ने मलाइ लाग्छ । बिरामीको ज्यान नै आफ्नो हातमा हुने हुँदैन तर जहाँ भए पनि नर्स कहिल्यै बेरोजगार हुँदैनन् । आफ्नो सीप जुनसुकै परिस्थितिमा पनि देखाउन सक्छन् ।

प्रतिक्रिया दिनुहोस्