किशोर-किशोरीको शारीरिक सक्रियता कमजोर



विश्वका किशोर–किशोरीमा शारीरिक सक्रियता कम हुँदै गएकोले स्वस्थ रहनका लागि उनीहरुको शारीरिक सक्रियतामा वृद्धि गर्नुपर्ने हालैको अध्ययनमा उल्लेख गरिएको छ । विश्व स्वास्थ्य संघका अनुसन्धानकर्ताहरुले अध्ययन गरी हालै ल्यानसेटमा प्रकाशित गरिएको ताजा रिपोर्टअनुसार स्कुल जाने उमेरका विशेष गरी ११ देखि १७ वर्ष उमेरका किशोर–किशोरीहरुमा यो समस्या देखिएको हो ।

अध्ययन प्रतिवेदनअनुसार विश्वका ८० प्रतिशतभन्दा बढी उक्त उमेरका किशोर–किशोरीले दैनिक एक घण्टा शारीरिक गतिविधि गर्नुपर्ने भनेर गरिएको सिफारिसलाई पालना नगरेको पाइएको छ । यसरी यो सिफारिस पालना नगर्नेमा ८५ प्रतिशत किशोरी र ७८ प्रतिशत किशोरहरु रहेका छन् ।

यो रिपोर्ट ११ देखि १७ वर्ष उमेरका १४६ मुलुकका १० लाख ६० हजार विद्यार्थीमा सन् २००१ देखि सन् २०१६ सम्म गरिएको अध्ययनमा आधारित छ । अध्ययनकर्ताहरुले किशोर–किशोरीहरुको वर्तमान र भविष्यको स्वास्थ्यका लागि उनीहरुको निमित्त सिफारिस गरिएबमोजिम शारीरिक गतिविधि बढाउने कदम तत्काल चाल्नुपर्ने सुझाव दिएका छन् । दैनिक एक घण्टाको शारीरिक गतिविधिले उनीहरुको मुटु तथा फोक्सोको स्वस्थता, मांसपेशीको फिटनेस, हाडको स्वस्थता, तौल नियन्त्रण, पाचनक्रियामा सुधार र सामाजिकीकरणमा वृद्धि हुने तथा यसले पछिसम्म निरन्तरता पाउन सक्ने उल्लेख गरिएको छ ।

अध्ययनकर्ताहरु भन्छन्– खेल खेल्न पाउनु किशोर–किशोरीहरुको अधिकार हो र उनीहरुको शारीरिक एवं मानसिक स्वास्थ्य सुधारका लागि यो अधिकारको उपयोग गर्ने अवसर उनीहरुलाई उपलब्ध गराउनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्